पशुपतिनाथ मन्दिर क्षेत्र व्यवस्थापन

indra kumar shresthaइन्द्रकुमार श्रेष्ठ

 


विश्व सम्पदा सूचीमा परेको पशुपति क्षेत्र हाम्रो राष्ट्रिय गौरव हो ।  यस क्षेत्रमा पर्ने पशुपतिनाथ मन्दिर विश्वभरिकै चर्चित हिन्दु तीर्थस्थलका रूपमा लोकप्रिय छ ।  विशेष चाडपर्वमा त यहाँ भक्तजनको घुइँचो हुने भई गयो, यसबाहेक दिनहुँ यहाँ भक्तजनको भीड लाग्ने गर्छ ।  नेपाली पुजारी नै राख्न नसकिए पनि यहाँ चढाउने गरिएको भेटी धेरै वर्षसम्म आफ्नो हात जगन्नाथको पारामा भट्ट भँडारीकै हुने गरेकोमा केही वर्षअघि त्यसको व्यवस्थापनसम्म हुन सक्यो ।  यो राम्रो कुरा हो तर यस मन्दिर र मन्दिर क्षेत्रको व्यवस्थापनका लागि अझै धेरै काम गर्न बाँकी रहेको देखिन्छ ।  
प्रवेश शुल्कको व्यवस्था ः पशुपतिनाथ मन्दिरमा प्रवेशका लागि स्वदेशी हिन्दु वा विदेशी हिन्दु, जोकोहीलाई पनि निःशुल्क छ, जब कि भारतका सानातिना मठ मन्दिरमा समेत प्रवेश शुल्क लाग्ने गर्छ ।  यति ठूलो र महँगो विश्व सम्पदा सूचीलाई किन यति सानो र सस्तो बनाउने ? त्यसैले प्रवेश शुल्कबापत कुनै पनि नेपाली पस्दा प्रतिव्यक्ति रु. पाँच र भारतीय पस्दा रु. ५० लिने गरे राम्रो हुन्छ ।  यसका लागि रसिदको व्यवस्था गर्नु कुनै गाह्रो काम छैन ।  नत्र नेपाली मात्रलाई पैसा नलिने हो भने नागरिकता वा अन्य कुनै परिचयपत्रको नियम लगाउन सकिन्छ ।  अभिभावकसँग आएका साना नानीबाबुलाई छुुट दिन सकिन्छ तर भारतीय हिन्दुलाई भने उनीहरूको परिचयपत्र हेरेर रु. ५० लिने व्यवस्था भए नै बेस हुने थियो ।  यति हुन सकेमा मन्दिरको थप महŒव बढी हामीलाई आर्थिक लाभ प्राप्त हुने थियो ।
सबैका लागि खुला ः पशुपतिनाथ मन्दिरमा हिन्दुलाई मात्र प्रवेश दिने व्यवस्था छ ।  यो निकै राम्रो कुरा हो तर यो मन्दिर र मन्दिर परिसरलाई देख्नै नसकिने र देख्नै नपाउने गरी वरिपरि घेराबारा गरेर गेट हालिएको छैन ।  सबैतिर बारबेर गरेर, परबाट देख्न नसकिने बनाउन असम्भव नभए पनि अप्ठ्यारो भएकोले अहिलेसम्म यो एक प्रकारले प्राकृतिक रूपमा खुलैजस्तो देखिन्छ ।  भन्नलाई गैरहिन्दुलाई प्रवेश निषेध भनिएको छ तर यहाँ मूल मन्दिरको मुख्य पेट भागबाहेक अरू सबै भागको अवलोकन गर्न, फोटोे खिच्न कसैलाई पनि रोक्न सकिएको छैन ।  कुनै राजनीतिक दल विशेषले आफ्नो स्वार्थका लागि धर्मको नारा उराले पनि जनमानसमा भने अहिलेसम्म यसको नाममा हामी नेपालीमाझ कहिल्यै कुनै प्रकारको वादविवाद वा झगडा भएको छैन ।  यसरी विश्व समुदायमा धार्मिक सहिष्णुतामा नामी कहलिएका हामीले राजधानीको मुटुमा रहेको मन्दिरमा गैरहिन्दुलाई प्रवेश निषेध गर्नु असुहाउँदिलो कुरो ठहर्छ ।  फेरि, कुनै पनि मानिसको अनुहार र रङबाट ऊ कुन धर्मावलम्बीको हो भन्ने कुरा पत्ता लाउने सकिने कुरो होइन ।  त्यसैले भारतीयबाहेक
(भारतीय मात्रलाई प्रवेश शुल्क रु. ५०) अन्य कुनै पनि देशका नागरिक पशुपतिनाथको दर्शन गर्न चाहन्छन् भने रु. ५०० लिने व्यवस्था गर्न सकिन्छ ।  शुल्कसम्बन्धी यो नियम बाहिर गेटमै, नेपालीलाई रु. पाँच, भारतीयलाई रु. ५० र अन्यलाई रु. ५०० भनी नेपाली र अङ्ग्रेजीमा लेखेर राख्न सकिन्छ ।  यो व्यवस्थाले हाम्रो धार्मिक सहिष्णुताको भावना विश्वसामु प्रस्टिनुका साथै आर्थिक फाइदा बढ्ने छ ।    
पशुपति क्षेत्रको जग्गा सदुपयोग ः भनिन्छ, क्षेत्रफलका हिसाबले पशुपतिनाथको जग्गा संसारकै धार्मिक स्थलमध्येको उल्लेखनीय छ तर जग्गाको सदुपयोग हुन सकेको छैन ।  
गौशाला–पिङ्गलस्थान क्षेत्रमा बारसम्म त हालिएको छ तर त्यस क्षेत्रको जग्गा त्यत्तिकै बेवारिसे जस्तो भइरहेको छ ।  खाली नै राख्ने हो भने त्यस ठाउँलाई सफा सुग्घर गरी दुवो रोपेर आकर्षक बगैँचाको रूपमा विकसित गर्नुप¥यो ।  कि त त्यहाँ पीपलजस्ता अक्सिजनदायी रूख रोप्नुप¥यो ।  यो पनि नगरे त्यहाँ चिटिक्क परेका भवन बनाई सुपथ मूल्य पसल खोलेर स्वदेशी तथा विदेशी ग्राहकको मन जित्नुप¥यो ।  त्यसो नगरे, भक्तजनलाई सशुल्क आवास बनाउन सकिएला ।  यस्ता कुनै पनि काम नगरी जग्गा त्यत्तिकै राख्नु राम्रो कुरो होइन ।  पशुपतिनाथबाट गौरीघाटतिर जाने बाटोमा पर्ने सानो तर उच्च ठाउँको रमणीय जग्गा पनि गाई चराउने र केटाकेटी खेल्ने भई सदुपयोगविहीन छ ।  बटुवा वा भक्तजन रमाएर बस्ने अवस्था छैन ।  त्यसलाई सफासुग्घर गरी आकर्षक पार्कको रूपमा विकसित गर्दा धेरै राम्रो हुने थियो ।    
सफासुग्घरमा ध्यान दिई शौचालयको व्यवस्था ः पशुपतिनाथ मन्दिरतिर दर्शन गर्न जाँदा, पहिले नै यताउति फोहोरको दर्शन गर्न पाइन्छ ।  वरैदेखि कमसेकम सुगन्धी धूप बालिएर दर्शनार्थीलाई खुसी तुल्याउनुपर्नेमा पहिले फोहोरको दर्शनले नाक खुम्च्याउनुपर्ने अवस्था आउँछ ।  त्यो अवस्थाबाट विदेशीसामु हाम्रो सभ्यताको छाप राम्रो बस्न सक्दैन ।  निःशुल्क शौचालय र निःशुल्क खानेपानीको व्यवस्था हुनु प्रशंसनीय छ तर सशुल्क भए पनि पर्याप्त हुनु आवश्यक छ ।  मन्दिर हाताभित्र बस्ने बाटो पनि राम्रो र आकर्षक छैन ।  यसतर्फ सोच्नुपर्ने बेला आएको छ ।  
प्रसादको व्यवस्था ः पशुपतिनाथप्रति संसारका हिन्दुको विशेष श्रद्धा छ ।  यहाँ भक्तजन टाढा–टाढाबाट दर्शन गर्न आउँछन् ।  यति टाढा आइसकेपछि पशुपतिनाथको प्रसादका रूपमा सानो मिठाइको प्याकेट
(बाहिर पशुपतिनाथको प्रसाद अङ्कित) लिएर जान पाए उनीहरू आफूलाई धन्य ठान्नेछन् ।  प्रवेश शुल्क लिइएका विदेशीलाई निःशुल्क रूपमा त्यति वितरण गर्ने व्यवस्था गर्न त्यति कठिन नहोला ।  
सरकारी गाइड र जानकारी पुस्तिका ः एकपटक भक्तपुरको पचपन्न झ्याले दरबार क्षेत्र घुम्न गएको बेला एक हुल गोरा देख्न पाइयो ।  गाइडले उनीहरूलाई भक्तपुर दरबार क्षेत्रबारे बताउँदै रहेछ ।  पचपन्न झ्याले दरबारका बारेमा ऊ भन्दै थियो, “जुन राजाले यो दरबार बनाउन लगाए, उसले प्रत्येक झ्यालपिच्छे एउटी–एउटी रानी राख्ने गरेको थियो । ” यो कुरा इतिहासमा पढिएको थाहा छैन ।  यसरी हाम्रा सम्पदाको बारेमा विदेशीलाई गलत व्याख्या गराउनुभन्दा सरकारी तवरबाटै तालिम दिइएका गाइडको व्यवस्था गर्न सके राम्रो हुने थियो ।  
मन्दिर परिसरमा पशुपतिनाथको तस्बिरसम्म त पाइन्छ तर यसबारे स्पष्ट र आधिकारिक जानकारी दिने पुस्तिका छैन ।  यस प्रकारको पुस्तिका पनि प्रकाशित गरेर बिक्री गर्न सके राम्रै हुनेछ ।  मन्दिर परिसरमा, मन्दिरको स्थापनाका विषयमा ऐतिहासिक जानकारी अङ्कित (नेपाली र अङ्ग्रेजी दुवै भाषामा लिखित) ताम्रपत्र राख्न पनि मन लाए सकिएला ।  पशुपति क्षेत्रमा धूमपान, मद्यपान निषेध भनेर लेख्न पनि गाह्रो छैन ।  शिवजीलाई मन पर्छ भन्दै शिवरात्रीमा गाँजा उडाउन खुला गर्ने काम चित्तबुझ्दो लाग्दैन ।   
सुधार गर्नुपर्ने धेरै छन् तर हाम्रो राष्ट्रिय धरोहर पशुपतिनाथलाई विश्वसामु थप परिचित र आकर्षक बनाउन केही नयाँ कामको थालनी भने गर्नैपर्ने भएको छ ।  


प्रकाशित मिति: २०७४/७/१५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना