अर्थतन्त्रमा चुनौतीका सङ्केत (सम्पादकीय)



नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको पहिलो दुई महिना (साउन र भदौ) को तुलनामा यस वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव सात प्रतिशतले घटेर एक खर्ब १५ अर्ब ५५ करोड रुपियाँमा झरेको छ ।   निर्यात तुलानात्मक रूपमा कम दरले बढेको र आयात उच्च रहेकाले वैदेशिक व्यापार घाटा उच्च रहेको छ ।  चालू खाता घाटामा छ ।  यसको भार शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा परेको छ ।  अर्थतन्त्रको मेरुदण्ड रहेको विप्रेषणमा निरन्तरको गिरावटले अर्थतन्त्रका चुनौती बढाएको हो ।  विगत तीन वर्षयता विप्रेषण घट्दो छ ।  आ.व. २०७१÷७२ मा कुल गार्हस्थ्य उत्पादनको २९ प्रतिशत र आ.व. २०७२÷७३ मा २९.६ प्रतिशत रहेको विप्रेषण २०७३÷७४ मा २६.८ प्रतिशतमा झरेको छ ।  वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व. २०७१÷७२ मा २.८ प्रतिशत, २०७२÷७३ मा १८.४ प्रतिशत र २०७३÷७४ मा ४.७ प्रतिशतले घटेको थियो ।  आ.व. २०७३÷७४ मा तीन लाख ९८ हजार ९७८ जना संस्थागत रूपमा वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ ।  
अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा १० प्रतिशतले घटेको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यो सङ्ख्या ७.२ प्रतिशतले घटेर ६५ हजार १८७ मा झरेको छ ।  गत आर्थिक वर्षमै चालू खाता ऋणात्मकमा आइसकेको थियो ।  अघिल्लो वर्षको यो अवधिमा ११ अर्ब १२ करोड रुपियाँ घाटामा रहेको चालू खाताको घाटा चालू आर्थिक वर्षमा बढेर १७ अर्ब ८८ करोड रुपियाँ पुगेको छ ।  यस अवधिमा कुल वस्तु व्यापार घाटा ११.८ प्रतिशतले बढेर एक खर्ब ५१ करोड रुपियाँ पुगेको छ ।  वैदेशिक आयको अर्काे महŒवपूर्ण स्रोत वैदेशिक सहयोगमा पनि कमी आएको छ ।  यस अवधिमा वैदेशिक सहयोग १२.३ प्रतिशतले घटेर सात अर्ब ८० करोड रुपियाँमा झरेको छ ।  यी सबै परिसूचकका कारण चालू आर्थिक वर्षको दोस्रो महिना पनि लगातार शोधनान्तर ऋणात्मक बनेको छ ।  असार मसान्तमा नौ खर्ब २७ अर्ब २७ करोड रुपियाँ रहेको विदेशी विनिमय सञ्चित भदौ मसान्तमा नौ खर्ब २३ अर्ब ९८ करोड रुपियाँमा झरेको छ ।  यी परिसूचकले आगामी दिनमा अर्थतन्त्र कुन दिशामा जाने हो भन्ने आशङ्का बढेको छ ।  चालू आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य छ तर बहुपक्षीय संस्थाले आर्थिक वृद्धिदरको प्रक्षेपण घटाइरहेका छन् ।  
एसियाली विकास बैङ्कले सुरुको ५.४ प्रतिशतलाई घटाएर ४.७ प्रतिशत वृद्धिदर हासिल हुने पछिल्लो प्रक्षेपण सार्वजनिक गरेको छ ।  विश्व बैङ्कले पाँच प्रतिशतबाट घटाएर ४.६ प्रतिशतमा झारेको छ भने अन्तर्राष्ट्रिय मुद्राको कोषको प्रक्षेपण पाँच प्रतिशतको छ ।  यी निकायले तराईको डुबान र बाढी पहिरोपछि आर्थिक वृद्धिदरको प्रक्षेपण घटाएका हुन् ।  अर्थतन्त्रमा देखिएको यी चुनौतीका अतिरिक्त केही सकारात्मक सूचकाङ्क पनि छन् ।  राजस्व परिचालन लक्ष्यअनुसार छ ।  कुल सरकारी खर्च अघिल्लो वर्षको तुलनामा यो वर्ष झण्डै दोब्बर भएको छ भने पुँजीगत खर्च २० प्रतिशतले बढेको छ ।  पर्यटन आयमा पनि सुधार आएको छ ।  मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदो छ ।  यसले अर्थतन्त्रलाई थप गतिशील बनाउनेछ ।  पर्यटन आगमनमा सुधार तथा नियमित विद्युत आपूर्तिका कारण औद्योगिक क्षेत्रको विस्तारका कारण सेवा तथा औद्योगिक क्षेत्रमा सुधार हुने सम्भावना छन् तर पनि आन्तरिक उत्पादन वृद्धि नगरी अर्थतन्त्रका यी चुनौतीको दिगो समाधान निस्कन सक्दैन ।  यसका लागि लगानीको वातावरण बनाउनुका साथै औद्योगिक क्षेत्रको विस्तारले बढ्दो व्यापार घाटा कम गर्न सकिन्छ ।  कृषि उत्पादनमा पनि जोड दिनु आवश्यक छ ।  

प्रकाशित मिति: २०७४/७/१५



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना