अदुवा निकासी खुला भएपछि किसान हर्षित

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक १६ गते ।  अदुवा निकासी हुन  थालेसँगै भारतले प्रतिबन्ध लगाएपछि चिन्तित बनेका ताप्लेजुङलगायत पूर्वका किसान करिब तीन सातापछि पुनः निकासी खुला भएपछि हर्षित भएका छन् ।  आपूmले उत्पादन गरेको अदुवा सहज रूपमा बिक्रीका साथै निकासी गर्न पाउने भएपछि यहाँका किसान हर्षित भएका हुन् ।
सिजनको सुरुमै अदुवा निकासी ठप्प हुँदा ताप्लेजुङसहित पूर्वी पहाड तथा अन्य जिल्लाका किसानले उत्पादन गरेको करोडौँ मूल्यको अदुवा कुहिने अवस्थामा पुगेको थियो तर गएको साताको मङ्गलबार भएको द्विपक्षीय छलफलमार्फत नेपाली अदुवा निकासीमा भारतीय पक्षले लगाएको अवरोध हटाउने समझदारी भएपछि किसानले अदुवा बिक्री गर्न पाउने भएका छन् ।  
वाणिज्य मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन शाखा र भारतको सिलिगुडीस्थित राजस्व विभागका अधिकारीबीचको छलफलमा नेपाली पक्षले राखेको नेपाल–भारत वाणिज्य सन्धिअनुरूप अदुवा निर्वाध रूपमा निकासी गर्न पाउनुपर्ने मागमा सहमति जुटेपछि अदुवा निकासी खुला भएको जनाइएको छ ।  कच्चा अदुवामा पाँच प्रतिशत वस्तु तथा सेवा कर (जीएसटी) नलगाउने र अदुवा निर्वाध निकासी गर्न दिने सहमति भएको छ ।  
यसरी निकासीका लागि सहज हुने भएपछि ताप्लेजुङका किसानले अहिले आपूmले उत्पादन गरेको अदुवा बिक्री गर्ने तयारी थालेका छन् ।  किसानले हाल कायम रहेकै मूल्यमा भए पनि धमाधम बिक्री गर्ने तयारी थालेका हुन् ।  अदुवाको मूल्य भने सोचेजस्तो नभएको किसान तथा स्थानीय व्यापारीले बताएका छन् ।  adhuwa
विगतमा भारतीय बजारबाटै अदुवाको माग भएपछि किसानले व्यावसायिक रूपमा अदुवा खेती गर्न थालेको बताउँछन् ।  सुरुमा केही वर्षसम्म अदुवा उत्पादन गरेर प्रतिकिलोग्राम ४० देखि ५० रुपियाँसम्ममा बिक्री गरेको अनुभव पनि किसानले सुनाउने गर्छन् तर यो वर्ष भने हाल प्रतिकेजी १७ देखि २० रुपियाँसम्म मात्रै मूल्य रहेको सिदिङ्बा गाउँपालिका–४ साब्लाखुका स्थानीय व्यापारी दुर्गा ताम्लिङले जानकारी दिनुभयो ।  
ताम्लिङका अनुसार सोही मूल्यमा नै किसानले धमाधम आपूmले उत्पादन गरेको अदुवा बिक्री गर्ने तयारी गरिरहेका छन् ।  गाउँमा उत्पादन भएको अदुवा खरिद गरेर आपूmहरूले भारतकै व्यापारीलाई बेच्ने गरेको र अहिले भारतको नक्सालमा पनि प्रतिकेजी नेरु २३ रुपियाँ ७५ पैसा मूल्य रहेको उहाँले बताउनुभयो ।   
सिदिङ्बा–४ कै किसान सञ्जय लिम्बूले यस वर्ष अदुवाको सिजन सुरु हुने बेलामा भारतले निकासीमा प्रतिबन्ध लगाएको खबरले आपूmहरूलाई निक्कै चिन्तित बनाएको बताउनुभयो तर अहिले आएर प्रतिबन्ध हटाएपछि खुसी लागेको र आफ्नो खेती उत्पादन हुने करिब ३०÷४० मन (प्रतिमन ४० केजी) अदुवा बिक्री गर्ने तयारी गरेको लिम्बूले बताउनुभयो ।  हालको १७ देखि २० रुपियाँ प्रतिकेजीका दरले पनि किसानलाई फाइदा नै हुने लिम्बूको भनाइ छ ।
यस्तै अर्का किसान मिलन बानियाँले पनि आफ्नो खेतीबाट उत्पादन हुने करिब २० क्विन्टल अदुवा बिक्री गर्ने तयारी गरेको बताउनुभयो ।  बनियाँका अनुसार भारतले निकासी खुला गर्ने निर्णय गरेसँगै अहिले व्यापारी अदुवा खरिद गर्न गाउँगाउँमा आउन थालेका छन् ।  स्थानीय व्यापारीले किसानले उत्पादन गरेको अदुवा सङ्कलन गरेर भारतकै व्यापारीलाई बिक्री गर्ने गरेका छन् ।    
यता ताप्लेजुङमा २३० हेक्टर क्षेत्रफलमा अदुवा खेती गर्ने गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  जिल्लाको सिदिङ्बा गाउँपालिकाको साब्लाखु, याङ्वरक गाउँपालिकाको थुम्बेदिन, थेचम्बु र नाङ्खोल्याङमा विशेषगरी अदुवा खेती गरिने कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नरेशचन्द्र घिमिरेले बताउनुभयो ।  अन्य फुङ्लिङ नगरपालिका, सिरिजङ्घाको सिनाम, मिक्वाखोलाको खोक्लिङ, सिदिङ्बाको लिम्बुदिन, आँखोपालगायतमा अदुवाखेती गर्ने गरिएको छ ।  वरिष्ठ कृषि विकास अधिकृत घिमिरेका अनुसार जिल्लामा तीन हजार ६०० मेट्रिकटन अदुवा उत्पादन हुँदै आएको छ ।  
राम्रो जमिन नभई पाखाबारीमा समेत अदुवा खेती गर्न सकिने र खाद्यान्न बालीको तुलनामा तेब्बरभन्दा बढी फाइदा हुने भएपछि अदुवा खेतीतर्फ किसान पनि आकर्षित छन् ।  अन्य खेतीभन्दा बढी फाइदा हुने भएका कारण अधिकांश किसानले अदुवाको व्यावसायिक खेती गर्दै आएका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  ताप्लेजुङसहित पाँचथर, इलाम, तेह्रथुमलगायत पूर्वी पहाडका जिल्लाहरूमा व्यावसायिक रूपमा अदुवा खेती गरिँदै आएको बताइएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना