कफी खेतीबाट विस्तापित हुँदै किसान

मधुसुधन तिमल्सिना

काभ्रे , कात्तिक १६ गते ।  जिल्लाबाट उत्पादन हुने कफी विदेश निर्यात हुने क्रममा  खासै परिर्वतन नआए पनि कृषकमा प्राविधिक ज्ञान र सहयोगको अभावमा काभ्रेका कफी कृषक भने कफीखेतीबाट विस्थापन हुने अवस्थामा पुगेका छन् ।  विभिन्न विदेशी मुलुकमा निर्यात हुँदै आएको नेपाली कफीमा काभ्रेमा उत्पादित कफी पनि अब्बल गुणस्तरको मानिन्छ तर सम्बन्धित निकायले चासो नदिँदा कृषकहरू कफीको अलाव अन्य बाली लगाउन
थालेका छन् ।
जिल्लाको कोसीपारि, डाँडापारि, देउपुर भेग तथा पाँचखाल क्षेत्रमा उत्पादित कफीले विदेशी बजार पाएपछि कफी खेती गर्नेको लहर नै चल्यो ।  मकै, कोदो लगाउने पाखाबारीमा कफी खेती गर्दा कफीबाट अन्य बालीको तुलनामा पाँच गुणा बढीसम्म आर्जन गर्न सकेपछि धेरै कृषकले पाखाबारी हरियै बनाए ।  साना कृषकका लागि कम खर्चमा प्रशस्त आर्जन भए पनि कति कृषकले त अन्य बाली लगाउन पनि छाडेका थिए ।  मकै, कोदो लगाउँदा ५० हजारको कमाइ नहुने ठाउँमा त्यतिखेरको मूल्यमा नै तीन लाखसम्म लिएको बेथाञ्चोक १ का श्रीमान तामाङ बताउनुहुन्छ ।  ‘कम लगानी, कम परिश्रममा धेरै कमाइ हुने खेती हाम्रा लागि वरदान नै भयो भन्ने सोचेको तर सबै बुटा रोग कीराले मरेपछि अहिले त जाँगर नै छैन ।  वार्षिक १२ सय किलो फ्रेस चेरी बिक्री गर्नुभएको उहाँले गत वर्ष धौधौले दुई सय किलो मात्र बिक्री गरेको बताउनुभयो ।  ‘कमाइ त हुन्छ नि तर के गर्नु हामीलाई सहयोग गर्ने कोही छैन, कहाँ गएर भन्ने पनि जानकारी नहुँदा बरु अन्य बाली नै लगाउनुपर्छ कि भन्ने सोचमा पुगेको छु, तामाङले गुनासो गर्दै भन्नुभयो ।
स्वीस आईएनजीओ हेल्भेटासले प्राविधिकलगायतको सहयोग उपलब्ध गराएपछि विकट गाउँगाउँसम्मका कृषकले कफी रोपेका थिए ।  पहिले कफी खेती विस्तारका लागि समूह निर्माण गरे पनि हाल कफी खेती प्रविधि विस्तार तथा बजारीकरणका लागि भन्दै १३ वटा कफी उत्पादक सहकारी संस्थासँगै कफी उत्पादकको जिल्ला कफी सहकारी सङ्घ नै निर्माण भएको छ तर उत्पादनमा वृद्धि तथा बजारीकरण दुवै नभएको कृषकको गुनासो छ ।   छ वर्षअघिसम्म जिल्लामा सबैभन्दा बढी कफी साविकको च्याम्राङबेसीबाट उत्पादन हुने गरेको थियो ।  जहाँबाट प्रति वर्ष सात टनभन्दा बढी पार्चमेन्ट उत्पादन भएको जिल्ला सहकारी सङ्घसँग रेकर्ड छ तर गत वर्ष उक्त गाविसबाट तीन टन पार्चमेन्ट कफी मात्र उत्पादन भयो ।
हिमाली हावापानीमा उत्पादित, जैविक विधि प्रयोग गरिएको, साना किसानद्वारा उत्पादित कफी भन्दै जैविक प्रमाणीकरण नहुँदा पनि जैविक कफीको मूल्यमा विभिन्न राष्ट्रमा कफी बिक्री हुँदै आएको छ ।  जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष होमराज गिरीका अनुुसार केही वर्षअघिसम्म जिल्लाबाट ५० टन पार्चमेन्ट कफी विदेश तथा नेपाली बजारमा बिक्री हुँदै आएकोमा अहिले घटेर ३५ टन मात्र उत्पादन भएको छ ।  सेतो गवारोको प्रकोप बढेपछि उत्पादन घटेको उहाँको दाबी छ ।  गत वर्षको तुलनामा यस वर्ष कफीको मूल्य पनि कम हुने उहाँले बताउनुभयो ।  व्यपारी तथा विभिन्न कम्पनीमार्फत विभिन्न राष्ट्रमा निर्यात हुँदै आएको जिल्लाको कफी सङ्घमार्फत सीधै सम्झौता गरी बजारीकरणको व्यवस्थापन गर्ने उद्देश्यले सङ्घको गठन गरिएको भए पनि सङ्घले त्यसो गर्न नसकेको कृषकहरूको आरोप छ ।
सरकारी तवरबाट पनि विभिन्न क्षेत्रलाई उत्पादन विशेषका आधारमा पकेट क्षेत्र निमार्ण गर्ने गरेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना