स्वतन्त्रताको जगमा टिकेको जीवन

ramesh bhattarai रमेश भट्टराई

 

खान, बस्न र सुत्न त जेलका मानिसलाई पनि दिइन्छ ।  सुरक्षा व्यवस्था त्यहाँ झनै कडा हुन्छ, आधारभूत आवश्यकता पनि त पूरा भएकै हुन्छन् तर त्यहाँको अभाव हो– स्वतन्त्रता ।  सूक्ष्मातिसूक्ष्म कामका लागि सरकारी कार्यालयमा हुन् या त निजीमा आखिर निरीहका आवाजमा साँच्चै पीडादायी छन् ।  कर्मचारीतन्त्र, व्यक्तिको आनीबानीका कारण बोल्न नसक्ने र कुनै पार्टीगत शक्तिलाई भिरेर हिँड्न नसक्ने वा नचाहने माथि हस्पिटलदेखि हरेक संवेदनशील कार्यमा समेत हैरानी हुन्छ, पीडा हुन्छ, बेवास्था गरिन्छ ।  पार्टीको काखी च्याप्न नसक्नेका लागि न्याय छैन, रोजगार पाइँदैन, मान–सम्मान छैन, न त योग्ताको कतैबाट सम्बोधन हुन्छ ।  जागिर खानु छ, बढुवा हुनु छ या त कुनै पैसावाल अवसरलाई हात पार्नु छ भने सोधिन्छ, ‘तपाई कुन पार्टीको मान्छे ?’ यी तीता सत्यप्रति जतिसुकै परिवर्तनका आवाज बुलन्द बन्दै आएका भए पनि ती बिलौना खोलाका गीत बनिरहेको सत्य नितान्त आजका हुन् ।  
चुनावी चर्चामा पैसाको खोलो बगाएर हैकम हुनेको रवाफले देशको माग र आस्थालाई बेचिएको यथार्थ मुक भाषामा छ ।  साँच्चै देशको सही नेतृत्व छानिनुको साटो वंशज स्वार्थ र पहँचवालाकै हालीमुहालीका कारण निरीह वर्ग पछाडि धकेलिँदै छ ।  तात्तातो अनुभव हो– स्थानीय चुनावका लागि लाखौँ रकमसँग भोट बिक्री वितरण भएका यथार्थ कुरा गाउँ, समाजका चोक, चमेना गृहमा पोखिइरहेका छन् ।  फेरि नेतृत्व कर्ता जितेपछि गाउँ फकिँदैनन् ।  राहतका लागि समेत उच्च तहका नेतृत्वले भ्रष्टाचार गर्न बाँकी नराखेका समाचार सुन्नुपर्छ ।  न्यायलयदेखि हरेक पुस्तकालयसम्म कर्मचारीतन्त्र, पार्टीगत नातावादी, उपल्ला ओहदाका कर्मचारीका दबाबमूलक आदेशले विना हिच्किचाहट चाकडीबाजको मैदान पाउन थाल्यो ।  कतै एकताको सहकार्य त कतै विमतिको प्रभावले ग्रामीण परिवेशको मानवीय भावमा नकारात्मकता उब्जाउनु राम्रो कुरा नहोला ।  पैसाको चलखेलसँग कैयौँ सेवामूलक कार्यक्रम चल्छन्, जनताका पसिनामा खेलबाड हुन्छ, सोझा र निरीहलाई चुसिरहिन्छ ।  यी सबै विचारमा आजको तीतापीरा वास्तविकता अवश्य छन् ।  बाध्यताले, अवसरको आशाले दमनलाई मुकशैलीमा स्वीकार गर्नै परेको छ ।  आज पनि हाम्रो समाजमा पितृसत्तात्मकता छ, गरिबीको दुर्दशामा अशिक्षा छ, विभेदमा मौका छोपेर उपेक्षाकै स्तरमा निरीहका स्वतन्त्रतालाई पिल्स्याइएका तीता यथार्थ छन् ।  
सरकारी काममा हैरानी र बेचैनीका कारण भ्रष्ट्राचार हुन्छन् र आज अझ मौलाएका तीता सत्य छन् ।  शैक्षिक सक्षमता होस् नहोस् दादावाद चल्छ, पार्टीवादी स्वार्थसँगै नातावाद, कृपावादले पद, पैसा र प्रतिष्ठाको चङ्गुलमा निरीहले सधैँ जलिरहँदा स्वतन्त्रतामा कालोमोसो दलिएको छ ।  बोल्न चाहेर पनि बोल्ने हो भने अप्ठ्यारो पर्ला कि भन्ने डरसँग कर्मचारीको सरुवा, बढुवा, जागिर स्थापनाका खेल चल्छन् ।  पार्टीलाई गाली गर्ने परम्परा जति भइरहेका छन्, सबै अनुशासनहीन व्यवहारका बेथितिले जन्माएको स्वार्थी प्रवृत्तिबाहेक अरू हुनै सक्दैन ।  हरेक विकासका बजेटमा माथिल्लो तहदेखि तलैसम्म सेटिङ चल्छ, कति प्रतिशत विकासका लागि खर्चिएला त्यो अध्ययनको विषय हो ।  देशलाई भ्रष्टाचारले कालो मोसो दलिरहेको छ ।  राहतजस्ता संवेदनशीलतामा समेत ¥याल काढिन्छ ।  हुँदा छँदाको जागिर छोडेर खुलेआम लाखौँ खर्च गरेर नेतृत्वको ढोल पिटिइरहँदा आज जनतामा विकासमा विकृति बढ्ला भन्ने भय कहाँ कम छ र ? विकासको गतिसँगै जनताको विश्वास जित्नु आजका नेतृत्वका जिम्मेवारी हो ।  सङ्घीय शासनसँग यो मुकपीडाको सुधारप्रति जनताको आशा र अपेक्षा छ ।  त्यसो त आज पनि ढुक्क भएर सन्तोष मान्ने अवस्था कहाँ छ र ? हातमा सीप, बौद्धिकता या त क्षमता भएका व्यक्तिले विदेशिनुपरेका सत्यको आँकलन नै कहाँ भएको होला त ।  शक्ति र सामथ्र्यले गाँजेको पद्धतिले शैक्षिक बेरोजारी र मनोवैज्ञानिक जलन भएका हुन् ।  जनताको पसिनाको कदर नहुँदा प्रतिभा पलायन भएका छन् ।  देशका खेतमा काँस फूलेको छ ।  देश परनिर्भरताको पराकाष्ठामा बाँच्दै गर्दा सक्षम, सबल र शिक्षित दक्ष व्यक्तिले विकसित मुलुकलाई अझ विकसित तुल्याइरहनुपरेको छ ।  
बीसौँ शताब्दीतिर नारी स्वतन्त्रताको सम्मानमा घन्किएको बिगुल समावेशी बगैँचामा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक सहिष्णु सद्भाव सबै क्षेत्र र विषयवृत्तमा स्वतन्त्रताकै चाहना बुलन्द हुँदा रहेछन् ।  स्वतन्त्रताको बाहुलीमा हक र अधिकारले फस्टाउँदा मानिसमा भलै भौतिक सम्पन्नता नहोस् तर मनोवैज्ञानिक आनन्द मिल्छ ।  हाम्रो संस्कार, परम्परा अनि प्राचीन इतिहासको रामराज्यदेखि पृथ्वीनारायणले समेत एकतासँग राज्य एकीकरणको अर्जुन दृष्टिमा स्वतन्त्रतालाई जोड दिएका हुन् ।  आजको अत्याधुनिक युगमा सङ्घीय व्यवस्थाभित्र हरेक नागरिक हक र अधिकारले समावेशी परिवेशमा स्वतन्त्रताकै विषय सारलाई शिरोधार्य गर्न चाहेको महसुस हुन्छ ।  हरेक प्रतिभाले स्वतन्त्रतामै जाग्न पाउँछन् ।  अवसरको ढोका स्वतन्त्रताबाटै उघ्रिन्छ ।  अर्बौं डलरमा किन्न नसकिने खुसी प्राप्ति नै स्वतन्त्रताले दिने उपलब्धि रहेछ ।  स्वेच्छाले राष्ट्रसेवा गर्नेका लागि खुलेर आफ्नो पौरख र पुरुषार्थ प्रदर्शन गर्ने सबल मार्ग प्रशस्त गराउँछ ।  बजारमा प्रतिस्पर्धा बढ्छ ।  
शासक वर्गमा सत्ता र भ्रष्टाचारको अखडालाई सहज बनाइदिएका पक्षमा कानुनको गाँठो भने कडा हुनैपर्छ ।  हाम्रो जस्तो मुलुकमा असचेतता र अशिक्षाका कारण अल्पसङ्ख्यकका समस्या ओझेलमा पर्ने डर हुने हुनाले व्यक्तिगत समस्यामा जान सङ्घीय शासन दह्रो बन्नुपर्छ ।  गरिबी, महँगीको मार, बेरोजगारीजस्ता समस्याले त आज स्वतन्त्रता नै बाँदरको हातमा नरिवल भएको अनुभूति गरेका पीडादायी यथार्थ छँदैछन् ।  सुविधाभोगी मपाईंत्व बढ्दा राष्ट्रहीतको नाममा व्यक्तिगत स्वार्थले सीमा मिचे पनि शक्तिलाई स्वीकार्नै पर्ने विडम्बनाले राज्य व्यवस्थापनको स्वतन्त्रतालाई धक्का पु¥याउँछ ।  राजनीतिक अस्थिरता, अशान्तिपूर्ण आन्दोलन, चक्काजाम, विरोधले भौतिक संरचनामा क्षति पु¥याइएका घातक कार्यले हुन् या आन्दोलन नगरे कुरै सुनुवाइ नहुने समस्यालाई नियाल्दा जनताको सुनुवाइ हुने विभाग नै खडा गरी न्यायोचित संयोजन गर्नुपर्ने अवस्थामा सचेतनाको आवश्यकता छ ।  
आर्थिक तथा सामाजिक, सांस्कृतिक रूपान्तरणमा विकृत पक्षले डेरा नजमाओस् भन्नका खातिर समन्वयकारी मध्यमार्गमा अब त जनताले आन्तरिक स्वरोजगारमा आफ्नो सीप र क्षमतालाई निर्वाध पोख्ने अवसर पाउनुपर्छ ।  यसर्थ, वैयक्तिक, राजनीतिक, धार्मिक–सांस्कृतिक, पारिवारिक, नागरिक स्वतन्त्रताजस्ता व्यापक परिधिमा मानवीय सुख, अमनचैनका पक्ष गाँसिएका हुन्छन् ।  
संसारमा अझै कठोर शासनको जलनमा जनता आजित छन् ।  म्यानमारको स्वतन्त्र शासनका निम्ति आङ सान सुकीको प्रशंसनीय कोसिस जारी छ ।  प्रेस स्वतन्त्रताका कुरा, मानवीय हक र विविध अधिकार प्राप्तिका पक्षमा स्वतन्त्रताकै लडाइँ भइरहेका छन् ।  प्राविधिक विकासका अपेक्षा र पैसाको सर्वोपरिमा अन्धो बन्दै जाँदा आत्मघाती हमला मात्रै होइन, कैयौँ निर्दोष मानवमाथि निर्दयी प्रहार भइरहेका छन् ।  नेल्सन मन्डेलाले दक्षिण अफ्रिकालाई स्वतन्त्रता दिलाएको धेरै भएकै छैन ।  अब्राह्म लिङ्कनले करिब चालीस लाख दासदासीलाई दासत्वको जन्जिरबाट मुक्ति दिलाएर स्वतन्त्रताको सुगन्ध छरे ।  महात्मा गान्धीले अहिंसा र सत्मार्गको आडमा रहेर अङ्ग्र्रेजको उपनिवेशबाट भारतमा स्वतन्त्रताको बिगुल घन्काए ।  
निर्दोष सोझा जनताले निशानामा परेर जीवनलाई विना कारण मृत्युसँग तोल्नुपरेका पीडाको हृदयविदारक दृश्य कति त्रासदीपूर्ण हुन्छ ।  कठोर शासन व्यवस्थाबाट उम्केर स्वतन्त्रता प्राप्तिका निम्ति विश्वका मानव अधिकारकर्मी, स्वतन्त्रताप्रेमी तथा यस विषयमा सरोकार राख्ने अनेकौँ सङ्घ–संस्था चिन्तित छन् ।  साहित्यले स्वतन्त्रतालाई बोल्छ, निःस्वार्थ मानवीय सेवाले शान्तिप्रेमी मनलाई पगाल्छ अनि जन्मन्छ– त्यहाँ साँचो स्वतन्त्रता ।  आज पनि मानव समुदायले आफ्नो हक र अधिकारका निम्ति खुल्न नपाएका विश्व–समाचारलाई हेर्दा संसारको स्वतन्त्रता र सहअस्तित्वको प्राप्तिका तुलनामा नेपाल धेरै अघि रहेको आशामा मुकपीडा रहिरहनु दुःखपूर्ण विषय हो ।  अलिकति आशा छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने महायज्ञमा रेखी हालिएको अनुभूत छ ।  सङ्घीय शासनका लागि यी आशा र अभिलाशाका परिशिष्टमा रहेका मागको सम्बोधनका लागि निर्वाचित नेतृत्वका लागि विशेष मौका हुन् ।  

प्रकाशित मिति: २०७४/७/२०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना