नचुकोस् राजनीति, नटुटोस् धैर्य


atindra dahalडा. अतीन्द्र दाहाल

 

मौसम क्रमशः चिसिँदै गए पनि प्रदेश र सङ्घीय संसद्को चुनावी रौनकले देशको राजनीतिक वातावरण चाहिँ रापिदैछ ।  पहिलो चरणमा निर्वाचन हुने स्थानमा मनोनयन दर्तापछि प्रचार÷प्रसार व्यापक बन्दैछ ।  स्थानीय निर्वाचनसँगै राजनीतिक परिवर्तनको अन्तिम आभूषण गणतन्त्रको कार्यन्वयन शुरु भयो ।  
टम पेरोटाकृत पुस्तक इलेक्सनका अनुसार निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो ।  निर्वाचनबाट अधिक मानिसले आफ्नो राजनीतिक सहभागितालाई सजीव बनाउछँन् ।  तसर्थ लेखक हिदर गेरकन आफ्नो पुस्तक द डमोक्रेसी इन्डेक्स मा निर्वाचनलाई प्रजातन्त्रको चालक मान्नुहुन्छ ।  निर्वाचन विश्वभर समाचार बन्ने लोकतन्त्रको ढुकढुकीसमेत हो ।  
त्यसले आफूलाई प्रजातान्त्रिक देखाउन केही देशका तानाशाही सरकारले समेत यदाकदा निर्वाचन गराउँछन् ।  सद्दाम हुसेन र जनरल परवेज मुसरफबाट सन् २००२ अक्टोवरमा निर्वाचन गराइयो ।  दुवैले क्रमश ः १०० र ९९ प्रतिशत मत पाएको भनियो ।  पछिल्ला वर्गीकरणअनुसार संसारका झन्डै ८६ अति उदारवादी प्रजातन्त्र, ४६ बहुदलीय प्रजातन्त्र अनि ७० नियन्त्रित कम उदारवादी प्रजातन्त्र भएका सबै देशमा निर्वाचन हुने देखिन्छ ।  ब्रुनाईमा भने १९६२ पछि निर्वाचन भएको छैन ।  यद्यपि निर्वाचन हरेक प्रकारका राजनीतिको एउटा मुख्य साझा संस्कृति बन्दैछ ।   
अहिले हाम्रो देशसमेत निर्वाचनमय छ ।  निर्वाचनसँगै लामो समय राजनीतिक गतिरोधले थलिएको व्यथाबीच उच्च रफ्तारको आर्थिक र सामाजिक प्रगतिको अपेक्षा छ ।  विकसित देशको आधार निर्माणका खातिर समृद्धि तथा विकासका लागि असल जनप्रतिनिधि चुन्नु छ ।  यो निर्वाचन अनन्त सम्भावना बोकेको अन्तिम विकल्प हो त्यसैले यसलाई सार्थक बनाउन केही विशेष पक्षमा ध्यान दिनुपर्छ ।  
 व्यापक नागरिक प्रशिक्षण ः
स्थानीय निर्वाचनमा बदर मतको सङ्ख्या उच्च रह्यो ।  केही मतदाताले राम्ररी चुनाव चिह्न छुट्टयाउन नसकेर गलत मतदान गरेको समेत भेटियो ।  यसपटक समानुपातिक र प्रत्यक्षसमेत गरेर मतदाताले विभिन्न मतपत्रमा मतदान गर्नुपर्छ ।  मुख्य राजनीतिक शक्तिबीच विभिन्न गठबन्धनसमेत भएका कारण मतदात गनुपर्ने चुनाव चिह्न समेतमा दुविधा हुन्छ ।  उम्मेदवार नभएको चुनाव चिह्नमा मतदान हुनसक्छ ।  पहिलो संविधानसभामा ५.१५ र दोस्रोमा ४.९६ प्रतिशतको बदर मत दर स्थानीय निर्वाचनमा चार गुणाले बढ्यो ।  नवलपरासी जिल्ला प्रतापपुर नगरपालिकाको दलित महिला उम्मेदवारमा झन्डै ७० प्रतिशत मत बदर भए ।  यस्ता अनेकौँ अप्ठ्यारा यसपटक झन् धेरै आउन सक्छन् ।   
अधिक बदर मतले सम्भावित र सोचिएको राजनीतिक परिणाम नआउन सक्छ ।  नागरिक मतको सदुपयोग हुँदैन ।  अधिक मत बदर भएमा प्रजातान्त्रिक आचरणमा सुदृढ हुन नसकेको गलत सन्देशसमेत बाहिरिन्छ ।  मतदाताको मत कदरका लागि पनि आयोग र दल सबैले नागरिकलाई मताधिकारको सही प्रयोगमा व्यापक प्रशिक्षित गर्नुपर्छ ।
 सत्ताको हैन, सत्यताको राजनीति
राजनीति सम्भावनाको खेल हो ।  यो निर्वाचनले उक्त भनाइलाई पुनः प्रमाणित गर्दैछ ।  आम मानिसका आँकलन र अनुमानबमोजिम राजनीतिक शक्ति र व्यक्तिसमेत विभिन्न गठबन्धनमा जोडिँदै छन् ।  बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका देशमा दलीय चुनावी गठबन्धन सर्वथा प्रचलित सामान्य राजनीतिक चरित्र हो ।  छिमेकी भारतमा अनि प्रजातन्त्रको जननी मानिने बेलायतमा पनि  चुनावी गठबन्धन देखिन्छन् ।  यद्यपि गठबन्धन केवल सत्ताका लागि नभई सत्यताका लागि हुनुपर्छ ।  निर्वाचनमा आफू अब्बल रहने र अरूलाई विस्थापित गर्ने भन्दा देशलाई राजनीतिक अस्थिरताबाट परेको असरबाट मुक्ति दिलाउने सदाचारी अभ्यास बन्नुपर्छ ।  आफ्नो आधिपत्य जमाउन गरिएको सिन्डीकेट वा कार्टेलिगं नभई सम्भावित व्यवधानबाट जोगिदै नागरिक सेवामा खटिन गरिएको एकीकृत अभ्यास र आचरण बन्नुपर्छ ।  
 विकास र समृद्धिको अन्तिम धैर्यता  
यो निर्वाचनपछि जसको सरकार बने पनि त्यससँग आमनागरीको अन्तिम धैर्यता गासिएको छ ।  उक्त सरकारले नागरिकमा आशावादी तथा सकारात्मक सन्देश प्रवाह गराउन सक्नुपर्ने निकै महìवपूर्ण छ किनकि अहिले नेपाली राजनीतिका कारण जनतामा नैराश्यता तथा नकारात्मक सोच निकै नै बढिरहेको छ ।  हामीले अभ्यास गर्न बाँँकी रहेको एउटै राजनीतिक व्यवस्था गणतन्त्रात्मक सङ्घीयता हो ।  अहिलेसम्म नेतृत्वलाई तत्कालीन शासन प्रणालीको कमजोरी देखाउँदै देशमा भएका आम अव्यवस्था अनि बेथितिबाट उम्कने आदत थियो ।  ए लिजपर्डको पुस्तक प्याट्रन अफ डेमोक्रेसी मा राजनीतिको यस्तो विकृत प्रथालाई भ्यालु सपिङ भनिएको छ  जसमा पुरानो व्यवस्थामा खराबी थियो, त्यसैले नयाँ व्यवस्था आएपछि सबै ठीकठाक हुन्छ भनेर नागरिकका निराशा र आक्रोशलाई विस्फोट हुन दिइँदैन ।  हामीले जहाँनिया राणातन्त्र, प्रजातन्त्र, पञ्चायत, बहुदलसँगै लोकतन्त्रसमेत अभ्यास गह्यौ ।  पुराना व्यवस्थाको असफलताले देशलाई बिरामी बनाएको थियो, यो अन्तिम औषधिसमेत फेल भए देश मृत प्राय हुनेछ किनकि गणतन्त्रपछि परीक्षण गर्नलाई हामी अब अर्को कुनै उपयुक्त व्यवस्था हुनेछैन ।  तसर्थ अब विकास र समृद्धिका प्रस्ट योजना अनि सुदृढ कार्यान्वयनमा नेतृत्व दत्तचित्त रहनुपर्छ ।  
नागरिक चेतनाकोे स्तर अहिले निकै माथि छ ।  नेपाललाई सिङ्गापुर वा स्वीजरल्याण्ड बनाउँछु भन्ने जस्ता आक्रामक अभिव्यक्तिले अब मतदातालाई छुँदैन ।  केवल समृद्ध नेपाल बनाउने योजना र आँट भएको नेतृत्व अहिलेको आवश्यकता हो ।  प्रत्येक नागरिकमा राष्ट्रियताको भावना होस्, देश र माटोलाई सबैले माया गरुन् ।  बेरोजगारी अन्त्य होस्, कलकारखाना प्रशस्त खुलून् ।  अघिल्लो हप्ता चिनियाँ कम्युनिस्ट पार्टीको शीर्ष बैठकले अब ५० वर्षका लागि चीनको नीति र झन्डै २० वर्षका लागि नेतृत्वको समेत खाका बनायो ।  अबको ३० वर्षमा चीन सबै क्षेत्रमा पहिलो हुने अभ्यासमा छ ।  छिमेकी भारत मेक इन इन्डिया नाम दिइएको कार्यक्रमबाट भारतलाई विश्वशक्ति बनाउने अभ्यासमा छ ।  सूची नै तयार गरेर विविध २५ प्रकारका सामानको अधिक उत्पादन गर्न र विश्वबजार भर ती सामानमा आफ्नो आधिपत्य कायम गर्न खोज्दैछ ।  एसिया–अफ्रिका ग्रोथ करिडोर अनि नर्थ–साउथ ट्रेड करिडोर नामक महìवाकांक्षी योजना बुन्दैछ ।  उनीहरूमा पनि आवधिक रूपमा सरकार र कार्यकारी फेरिएलान् तर विकास योजना फेरिदैन ।  दुईवटा सशक्त छिमेकीका दीर्घकालीन योजना निर्माणबाट हामीले पनि केही सिक्नुपर्छ ।   
भडकाव र अतिवादबाट उन्मुक्ति लिँदै आफ्नै प्रयासमा सम्भावित विकास र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्छ ।  काठमाडाँैमा रेल चाहिँदैन, बाटो सफा र आवागमन सहज भए हुन्छ ।  खानेपानी र फोहोरको व्यवस्थापन अविछिन्न बनाए नै उपलब्धि हुन्छ ।  सकारात्मक वातावरण बनाए काम त नागरिक आफैँ स्वचालित रूपमा गर्छन् ।  साना देशमा नै विकास गर्न सहज हुन्छ ।  थोरै जनसङ्ख्या र सानो भूगोल भएका कारण नेतृत्वले चाहेमा सानो अवधिमै सम्पन्न देश बन्नसक्छ ।   विकसित भनेका अधिकांश देशहरू जस्तै हङकङ, सिङ्गापुर, कतार, कुबेत पनि हामीभन्दा निकै साना छन् ।  अधिकांश ती देश हाम्रै युवाको पसिनाले बन्दैछ, ४० लाख युवा विदेशमा छन् ।  उनीहरूको श्रम यही खर्चने र आत्मनिर्भर अर्थतन्त्र बनाउने काविल सोच निर्माण हुनुपर्छ ।  हामीसँग जनशक्ति अनि स्रोतसाधन दुवै अनुपातिक रूपमा उच्च छ ।  यसको सही सदुपयोग गर्दै देशलाई सम्पन्न बनाउने कार्यक्रम ल्याउनुपर्छ ।  
 देश विकास तथा आर्थिक समुन्नतिका लागि केन्द्रीय र प्रदेशका सरकारले उचित नीति र कार्यक्रम दिनुपर्छ ।  त्यसलाई कार्यन्वयन गर्ने स्थानीय तहमा निकै आशलाग्दा प्रतिनिधि छन्, स्थानीय प्रतिनिधिको ठूलो समूह उमेरमा ३० देखि ५० बीच र शिक्षामा स्नातक प्राप्त छ ।  सबै तहका सरकार मिलेर देशलाई आर्थिक, सामाजिक, नैतिक हिसाबले रूपान्तरण गर्नुपर्छ ।  दक्षिण एसियाली राजनीतिमा अनुसन्धान गर्ने शोधार्थी मानिसभन्दा मानसिकताको परिवर्तनलाई विकासको मुख्य आधार मान्छन् ।  त्यसैले अब मानसिकता परिवर्तन हुनुपर्छ ।  
अब देशमा आर्थिक समृद्धिभन्दा अरू केहीको आवश्यकता छैन र सङ्घीय गणतन्त्रभन्दा अर्को कुनै व्यवस्था परीक्षण गर्नसमेत बाँकी छैन ।  यस पटकसमेत चुके नेतृत्वमाथि नागरिकको अन्तिम धैर्यता सदैका लागि टुट्नेछ ।  देश अनियन्त्रित अराजकतामा धकेलिनेछ ।  अब, सबै मिलेर सबल राजीतिक संस्कारको शुरुवात गर्नुपर्छ ।  विजयी, पराजयी अनि सहभागि हुने सबैले उत्तिकै सकारात्मक लगाव केवल सम्मानित र समृद्ध मुलुक निर्माणमा लगाउनुपर्छ ।  आसन्न निर्वाचन,  एउटा निर्वाचन मात्र हैन, सम्भावित थुपै्र कुराको विजारोपण अनि नागरिको अन्तिम धैर्यता पनि हो ।  

प्रकाशित मिति: २०७४/७/२०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना