नारायणगढ–मुग्लिन सडकको सकस (सम्पादकीय)


बढी सवारी दुर्घटना हुने क्षेत्र चितवनको नारायणगढ–मुग्लिन सडकको स्तरोन्नति कार्य भइरहेको छ ।  नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत यो सडक खण्डको साँघुरो सडकलाई चौडा गर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको हो ।  अब यो सडकको समथर भागमा पर्ने १६ किमिमा ११ मिटर चौडा र बाँकी १४ किमिको पहाडी क्षेत्रमा साढे नौ मिटर चौडा हुनेछ ।  तीनवटा कम्पनीले सडक विस्तार, मर्मत सुधारको जिम्मा लिएका छन् ।  २०७२ सालको वैशाखदेखि सुरु भएको सडक विस्तार कार्य २०७४ सालको वैशाखमा सम्पन्न गर्ने ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो तर भूकम्प, नाकाबन्दी र वर्षाको कारण देखाउँदै पटक–पटक म्याद थपिँदै आएको छ ।  साउनमा तेस्रोपटक म्याद थपेर फागुनसम्म पु¥याइएको छ ।  अहिलेसम्म सडक विस्तारको प्रगति आधाभन्दा केही बढी मात्रै छ ।  केही ठाउँमा कालोपत्रे गर्ने काम भइरहेको छ भने केही ठाउँमा भित्तो काट्ने काम नै हुँदैछ ।  
राजधानी र तराई जोड्ने प्रमुख राजमार्गका रूपमा रहेको यो सडक खण्ड पहिले पनि साँघुरै थियो ।  तीन दशकअघि बनेको यो सडक टालटुल गरेर सञ्चालनमा थियो ।  अहिले सडक चौडा गर्ने काम भइरहेको हो ।  सडक विस्तार कार्य सुरु गरेपछि समस्या झन् थपिएको छ ।  सवारी साधनको चाप, पहिरोको जोखिम, साँघुरो र खाल्डाखुल्डी सडकका कारण यो सडक खण्डमा सवारी दुर्घटना बढेको छ ।  यही सडक खण्डमा २०७३÷७४ मा ३४ वटा दुर्घटना हुँदा ४६ जनाले ज्यान गुमाएका थिए भने १९ जना बेपत्ता भएका थिए ।  अहिले सवारी साधन दुर्घटना हुनेक्रम झन् बढेको छ ।  गत शनिवार गजुरीमा भएको दुर्घटनामा कम्तीमा ३१ जनाको ज्यान गयो ।  सामान्य समयमा पहिले करिब आठ हजार सवारी साधन गुड्ने यो सडकमा अहिले दैनिक छ हजार सवारी साधन गुडिरहेका छन् ।  जेठ, असार र साउन महिनामा वर्षाका कारण पटक, पटक पहिरो खस्ने, सडक भासिने भएकाले काम सूचारू अवरुद्ध भयो ।  पहिले सवा घन्टामा पार गरिने यो सडक अहिले सडक अवरूद्ध नहुँदा पनि तीन चार घन्टा लाग्छ ।  कहिले पहिरोका कारण अवरूद्ध हुन्छ भने कहिले कामलाई सहयोग गर्न सवारी साधन रोक्ने र आलोपालो गर्ने काम हुँदै आएको छ ।  राजधानी र तराई जोड्ने, राजधानीको ‘लाइफ लाइन’ कै रूपमा रहेको यो मार्ग असहज हुँदा मुलुकले नै ठूलो क्षति बेहोर्नुपरिरहेको छ ।  
राजधानी भित्रिने र यहाँबाट बाहिरिने करिब ८० प्रतिशत सवारी साधन र यात्रु यही मार्गबाट आवतजावत गर्नुपर्छ भने राजधानीमा आपूर्ति हुने उपभोग्य तथा अन्य वस्तु आपूर्तिको यो नै प्रमुख मार्ग हो ।  त्यसैले यो राजमार्ग असहज हुँदा यात्रुले मात्रै सकस बेहोर्नुपरेको होइन, उद्योगधन्दा र व्यापार समेत प्रभावित भएको छ ।  उपभोग्य वस्तुको मूल्यवृद्धि भएको छ, उत्पादन र व्यापारको लागत बढेको छ ।  यसले समग्र मुलुक र अर्थतन्त्रलाई नै प्रभावित बनाइरहेको छ ।  यही राजमार्गका कारण सौराहा, चितवन लगायत मुलुकका विभिन्न पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकको पहुँचमा समस्या भएको छ ।  राजधानीलाई मात्रै नभई मुलुकलाई नै प्रभावित पार्ने यो सडकको विस्तार हुनु आवश्यक थियो तर सडक विस्तारमा भइरहेको यो ढिलाइ अवाञ्छनीय छ ।  विभिन्न निहुँ पारेर निर्धारित समयमा काम पूरा नगर्ने ठेकेदार र आयोजना सम्पन्न गर्न कडाइ गर्न नसक्ने सरकारी निकाय यसका जिम्मेवार छन् ।  पटक, पटक समय थप गरिरहँदा एकातर्फ आयोजनाको लागत बढ्ने त छँदैछ, जनताले पाउने सास्ती र मुलुकले सहनुपर्ने आर्थिक क्षतिको हिसाब पनि गर्नुपर्ने हुन्छ ।  एकातर्फ यो सडक विस्तारलाई यथाशीघ्र सम्पन्न गर्नेतर्फ सबैको ध्यान जानुपर्छ भने अर्काेतर्फ, राजधानीलाई जोड्ने एउटै मात्र सडक मार्गमा निर्भर रहनुहुँदैन भन्नेमा पनि विचार पु¥याउनुपर्छ ।  काठमाडौँ–निजगढ दु्रतमार्ग, बीपी राजमार्ग, काठमाडौँ–कुलेखानी–हेटौँडा जोड्ने राजमार्ग, त्रिभुवन राजपथ तथा २०१४ साल अघिदेखि सपना देखिएको कान्तिपथ आदिको सुधार एवं निर्माणतर्फ पनि अविलम्ब प्रयास अघि बढाइनुपर्छ ।  

प्रकाशित मिति: २०७४/७/२०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना