छुवाछूत रोकथाममा समाजको भूमिका

सोमकान्ता भण्डारी

 

सामाजिक कुप्रथाका आधारमा एक मानिसले अर्काे मानिसलाई गर्ने भेदभावजन्य कार्य छुवाछूत हो ।   कुनै पनि व्यक्तिलाई निजको उत्पक्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय आदिका आधारमा निजी तथा सार्वजनिक स्थानमा गरिने भेदभावजन्य कार्य छुवाछूत हो ।   यो मानव मर्यादा विरुद्धको कार्य हो, मानव अधिकार विपरीतको कार्य हो ।   छुवाछूतले मानिसको आत्मसम्मानमा आँच ल्याउँछ ।   सम्मानपूर्वक बाँच्न पाउने हकलाई कुण्ठित गर्दछ ।   यसले मानव मानवबीच, समुदाय समुदायबीच र जाति जातिका बीचमा असमानता उत्पन्न गर्छ ।   सामाजिक सद्भावलाई क्षति पु¥याउँछ ।   समुदायका बीचमा सामाजिक दूरी बढाउँछ ।   सामाजिक विकास र गतिशीलतामा अवरोध गर्छ ।   मानवीय मर्यादा र सम्मानमा असर गर्छ ।   त्यसकारण छुवाछूतजन्य कार्यलाई आधुनिक समयमा असभ्य समाजको सूचक मानिन्छ ।   
व्यक्ति व्यक्तिबीचमा गरिने छुवाछूतका क्रियाकलाप नियन्त्रण र उन्मूलनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयास र प्रतिबद्धता व्यक्त भएका छन् ।   मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा २ मा जाति, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य विचारधारा, राष्ट्रिय वा सामाजिक उत्पक्ति, सम्पत्ति, जन्म वा अन्य कुनै पनि आधारमा कुनै पनि किसिमको भेदभाव नगरिने सिद्धान्त स्वीकार गरिएको छ ।   यसैगरी, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६ को धारा २ मा अनुबन्धमा उल्लिखित अधिकार जाति, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य हैसियतका आधारमा कुनै पनि प्रकारको भेदभाव बिना उपभोग गर्न पाउने वातावरण बनाउने दायित्व पक्ष राष्ट्रलाई दिएको छ ।   जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ ले पनि जातीय विभेदका आधारमा अधिकारको प्रयोग, सेवाको पहुँचको सुनिश्चितता प्रदान गरेको छ ।   साथै विभेदका आधारमा हिंसा तथा क्षति जन्य क्रियाकलापलाई गर्न नहुने उल्लेख छ ।   
नेपालको संविधानको धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्ने हकको व्यवस्था गरेको छ ।   धारा १८ ले समानताको हक प्रत्याभूत गरेको छ ।   उक्त धारामा सबै नागरिक कानुनको दृष्टिमा समान हुने, कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित नगरिने, उत्पक्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव नगरिने तर विशेष व्यवस्था गर्न सकिने व्यवस्था गरेको छ ।   त्यसैगरी धारा २४ ले छुवाछूत तथा भेदभाव विरुद्धको हकको व्यवस्था गरेको छ ।   उक्त धारामा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव नगरिने, कुनै वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरण गर्दा भेदभाव नगरिने, छुवाछूतजन्य व्यवहार नगरिने र यस्त कार्यको प्रचार प्रसार गर्न वा प्रोत्साहन गर्न नपाइने व्यवस्था छ ।   यस्तो कार्य गरेमा गम्भीर सामाजिक अपराधका रूपमा लिई कसूरदारलाई सजाय र पीडितलाई कानुन क्षतिपूर्ति पाउने हक सुरक्षित गरेको छ ।  
छुवाछूतजन्य कार्यलाई अपराध मानी सजायको व्यवस्था गर्न जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ लागू भएको छ ।   यस ऐनले छुवाछूत गरिने विभिन्न क्रियाकलापलाई कसूर मानी सजायको व्यवस्था गरेको छ ।   यसरी कानुन प्रतिकूल कार्य गरेमा कर्तालाई कसूरदार रूपमा ग्रहण गरी सजाय गर्ने र पीडितलाई क्षतिपूर्तिसमेतको व्यवस्था गरिएको छ तर समाजमा यो व्यवहार रोकिएको छैन ।   छुवाछूतका कसुरमा सजाय भएका उदाहरण न्यून छ ।   प्रायः छुवाछूतको कसूर समाजका कमजोर वर्गका समुदाय वा व्यक्तिउपर गरिन्छ ।   उनीहरूलाई कानुनको बारेमा जानकारी नहुँदा उजुरी नै नगर्ने अवस्था रहन्छ ।   गरे पनि भौतिक प्रमाण तथा साथ सहयोगको अभाव रहन्छ ।   ठोस प्रमाणको अभाव रहने यस प्रकृतिका कसूरमा निक्र्योलमा पुग्न कठिनाइ हुन्छ ।   यसको फाइदा कसूरदारले पाएका छन् भने पीडित झन् पीडित हुनुपर्ने अवस्था छ ।   
पवित्रताका लागि गरिने धार्मिक क्रियाकलापमा समेत हामीले जात, जाति, वंश, जन्म आदिका आधारमा छुवाछूत गर्ने अभ्यास गरेका छौँ ।   मन्दिर प्रवेश र नदी तलाउमा धार्मिक कार्य गर्न वञ्चित गर्ने गरेका छौ ।   सार्वजनिक धारा, कुवा, पधेरा, कलमा जातका आधारमा निषेध गर्ने अभ्यास अवलम्बन गरिरहेका छौँ ।   शिक्षा प्रदान गर्ने विद्यालयमा समेत छुवाछूतको व्यवहार अन्त्य गर्न सकेका छैनौ ।   मूर्ति पूजा गर्ने हाम्रा हातले मूर्ति कुद्नेका हात समाउन हिम्मत गरेका छैनौँ ।   यी व्यवहार, क्रियाकलाप, संस्कार गलत हुन भन्न पहिला हाम्रो सोचाइ परिवर्तन गर्नुपर्छ ।   त्यस्ता सोचाइ कानुनी दफाबाट हैन, मस्तिष्कबाट आउनुपर्छ ।   वाणीबाट परिवर्तन हैन, कार्यबाट आउनुपर्छ ।   आफू परिवर्तन हुने र अरूलाई डो¥याउने अगुवाई गर्नुपर्छ ।  
समाजमा लामो सयमदेखि अभ्यास गरिएको यस प्रकृतिका असभ्य र अमानवीय क्रियाकलाप हुन नदिन त्यति सजिलो छैन ।   समाजमा हुने छुवाछूत झल्किने क्रियाकलापलाई उन्मूलन गर्न कानुनी दफा पर्याप्त हुँदैन ।   प्रहरी, प्रशासन र अदातल मात्र प्रभावकारी हुँदैनन् ।   सामाजिक सोच, व्यवहार, क्रियाकलाप बढी प्रभावकारी र उपयोगी हुन्छ ।   छुवाछूतका क्रियाकलाप कुनै व्यक्ति विरुद्धको क्रियाकलाप मात्र नभई समाज विरुद्धको अपराध हो ।   यसलाई सामाजिक अपराधको रूपमा ग्रहण गर्नुपर्छ ।   समाजमा छुवाछूत रहँदासम्म समानता कायम हुन सक्दैन ।   समानताविना न्याय हुँदैन ।   समानता र न्याय विना शान्ति कायम हुँदैन ।   समृद्धि कायम हुँदैन ।   यिनीहरूको अभावमा सामाजिक एकता, सौहार्दता, विकास, गतिशीलता सम्भव हुँदैन ।    
छुवाछूतलाई नियन्त्रण गर्न विभिन्न अन्तर्राष्ट्रिय प्रबन्ध तयार भएका छन् ।   राज्यले ती प्रबन्धलाई आन्तरिकीकरण गरी प्रतिबद्धता व्यक्त गरेको छ ।   ती प्रबन्धमा व्यक्त प्रतिबद्धता अनुसारनीति, कानुन र संरचना बनाएको छ ।   छुवाछूतप्रतिको हाम्रो दृष्टिकोण र व्यवहारमा केही परिवर्तन देखिएको छ, तर पर्याप्त छैन ।   हामीले हाम्रो व्यवहारमा यथोचित परिवर्तन ल्याउन सकेका छैनाँै ।   सामाजिक रूपमा गरिएको यस व्यवहारलाई नियन्त्रण गर्न सामाजिक दृष्टिकोणमा परिवर्तन आउन जरुरी छ ।   
कुनै व्यक्तिको एकल प्रयासले मात्र क्षण भरमा यो समस्या अन्त्य हुने होइन ।   हामी सबैले गर्ने व्यवहार परिवर्तन नगर्दासम्म छुवाछूत रोकथाम र उन्मूलन सम्भव छैन ।   यसका लागि समाजको भूमिका महìवपूर्ण हुन्छ ।   छुवाछूत उन्मूलनका लागि सामाजिक सोच, मूल्य, मान्यता, धारणा र व्यवहारमा परिवर्तन ल्याउनु पर्छ ।   समाजमा यस्ता कार्य हुन नदिने, आफूले नगर्ने, गर्नेलाई सामाजिक रूपमा बहिष्कार गर्नु पर्छ ।   मानव मर्यादा विपरीतको यस्ता व्यवहारलाई अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाज नै अगाडि बढ्न जरुरी छ ।   रोकथाम र उन्मूलनका लागि हामी सबै एकीकृत र प्रतिबद्ध हुनुपर्छ ।   

प्रकाशित मिति: २०७४/७/२१

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना