काँग्रेसको निर्वाचन परिचालन समितिमा ७५ जना

ncललितपुर, कात्तिक २२ गते ।  प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि गठन गरिएको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले पूर्णता पाएको छ ।  काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा गठित समितिलाई मङ्गलबार पूर्णता दिँदै ७५ सदस्यीय बनाइएको छ ।   
समितिमा पार्टीका केन्द्रीय सदस्यहरू, नेपाल महिला सङ्घका पदाधिकारी, जिल्ला सभापति, पार्टीका पूर्वसांसद, पार्टीका भ्रातृ सङ्घ एवं पार्टीप्रति शुभेच्छा राख्ने विभिन्न पेसागत सङ्घसंस्थाका पदाधिकारीलाई समेटिएको पार्टी सचिवालयबाट जारी प्रेस विज्ञप्तिमा छ  ।   
यसैबीच संयोजक खाँणले गठबन्धन गर्दैमा नेपालमा साम्यवाद आउन नसक्ने बताउनुभएको छ ।  प्रजातन्त्रवादी प्राध्यापक सङ्घले मङ्गलबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा उहाँले नेपाली जनता लोकतान्त्रिक शासन पद्धतिको पक्षमा रहँदै आएकाले निरङ्कुशता सहन नगर्ने बताउनुभयो ।  
उहाँले कम्युनिस्ट नेताहरूले मुलुकमा बिखण्डनको बीउ रोप्न खोजेको आरोप पनि लगाउनुभयो ।  उहाँले सीमा क्षेत्रमा बस्ने जनताले विभिन्न कष्ट सहेर सीमाको रक्षा गर्दै आएको चर्चा गर्दै मधेसवादीलगायत अन्य भूभागमा बसोबास गर्नेलाई गाली गर्नु राष्ट्र कमजोर बनाउनु हो भन्नुभयो ।  नेता खाँणले नेपाली काँग्रेस मधेस, हिमाल र पहाडको पुल भएको दाबी पनि गर्नुभयो ।  
कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का उपकुलपति प्रा.डा. जीवराज पोखरेल, त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वअध्यक्ष चूडाराज उप्रेती, नेपाल प्राध्यापक सङ्घका पूर्वसभापति प्रा.डा. केशवानन्द गिरी लगायतका वक्ताले आगामी निर्वाचनका लागि नेपाली काँग्रेसले लिनुपर्ने नीति र अपनाउनुपर्ने रणनीतिका बारेमा सुझाव दिनुभएको थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना