राजनीतिक रौनकमा सुस्ताएको बजार

sarojसरोज अधिकारी


चुनावी सरगर्मी बढेका बखत नेपाली शेयर बजारमा भने खासै रौनक देखिएको छैन ।  आइतवार मात्र शेयर बजारमा उच्च गिरावटसहित नेप्से पुनः एक हजार पाँच सयभन्दा तल आएको छ ।  सोमवार भने नेप्सेमा निकै उतारचढाव देखिएको छ ।  सुरुआती समयमा घटेको बजार कारोबारको मध्यतिर आइपुग्दा झिनो सुधारिएको थियो ।  अन्त्यसम्म आइपुग्दा बजारमा सामान्य गिरावट नै आएको छ ।  शेयर बजार सुधारको दिशामा गर्नुपर्ने कुराको थुप्रै पहिचान भइसकेको छ ।  सुधारका लागि सम्बन्धित निकायबाट प्रतिबद्धता पनि आएकै हो तर व्यवहारमा हाल बजारमा देखिएको शेयरको बढ्दो आपूर्तिलाई धान्न सक्ने खालको माग बढाउने दिशामा खासै काम हुन नसकेकोले बजार निरन्तर ओराला नलागे पनि बढ्न सकेको देखिँदैन ।  शेयर परिसूचकाङ्क माथि जान नसक्नुको दुई प्रमख कारण शेयर कर्जामा भएको चर्को ब्याजदर र शेयरको बढ्दो आपूर्ति हो ।  बोनस र हकप्रद अनि नयाँ शेयरजस्ता विषयले बजारमा शेयरको आपूर्ति उच्च भएको बेला त्यसलाई खरिद गर्नका लागि माग बढाउन सस्तो दरको शेयर कर्जा, अनलाइन ट्रेडिङ कारोबार, गैरआवासीय नेपालीलाई बजारमा भिœयाउने कुरा सबै कुरैमा मात्र सीमित भएको अवस्था हो अहिले ।  शेयरको माग बढाउने दिशामा खासै ठोस कदम नचालिएको बेलामा बजारमा वर्चश्व भएको बैङ्क तथा वित्तीय संस्थाको चालु आर्थिक वर्षको प्रथम त्रैमासको प्रतिवेदन सार्वजनिक हुनु र अधिकांश संस्थाको प्रतिशेयर आम्दानी घटेको प्रतिवेदन आउनुले बजारमा थप शेयरको आपूर्ति बढाएको छ ।  नेपाल राष्ट्र बैङ्कले तोकेको चुक्ता पुँजी बढाउने क्रमसँगै बढेको चुक्ता पुँजीको अनुपातमा नाफा बढाउने कुरा वर्तमान अर्थतन्त्रमा सम्भव छैन ।  बैङ्क तथा वित्तीय संस्थाले विगतमा देखिएको तरलता अभावका कारण निक्षेपमा मनग्य ब्याजदर दिएको कारण संस्थाको नाफा प्रभावित हुन स्वाभाविक हो ।  निक्षेप कर्ता, बैङ्क कर्मचारीजस्ता वर्गलाई बैङ्क तथा वित्तीय संस्थामा हाल देखिएको प्रगतिले खासै प्रभावित पारेको छैन तर चर्को मूल्यमा शेयर खरिद गर्ने लगानीकर्तालाई भने कम प्रतिफल प्राप्त हुने भएपछि बजारमा बैङ्क, तथा वित्तीय संस्थाको मूल्यमा गिरावट देखिएको छ ।  अबको वर्षमा सबैझैँ संस्थाले बोनस तथा हकप्रद शेयर कम दिने अनि नगद लाभांश नै बढी दिने सम्भावनाको आँकलन गर्दै लगानीकर्ताले उच्च नगद प्रतिफल दिन सक्ने नेपाल टेलिकमजस्ता संस्थाको शेयरमा रुझान देखाएको कारण सो संस्थाको शेयरको बजार मूल्य हाल ८३० को हाराहारीमा पुगेको छ ।  बैङ्क तथा वित्तीय संस्थाले बढेको चुक्ता पुँजीमा राम्रो काम गरिरहेका छन् ।  हाल घटेको प्रतिशेयर आम्दानीले खासै ठूलो असर गर्दैन ।  बैङ्क वित्तीय संस्था आगामी दिनमा अझ बलिया हुँदै जाने र भविष्यमा उच्च प्रतिफल दिन सक्ने अवस्थामा अवश्य पुग्नेछन् भन्ने आशा गर्ने प्रशस्त ठाउँ छन् ।   
बजारमा शेयरको आपूर्तिले ल्याएको समस्याको निराकरण गर्ने दिशामा लगानीकर्ताले शेयर खरिदको आकार केही बढाएका अवश्य छन् ।  यसैलाई मौका छोपेर केही विज्ञले शेयर छानीछानी किन्ने सुअवसर भनेका छन् तर मुलुकको अर्थतन्त्र चुनावपश्चात् कता जाने हो निश्चित छैन ।  हाल लगानी गरेको शेयरमा राम्रो प्रतिफलका लागि लामो समयसम्म कुर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।  आइतवार मात्र दैनिक ६३ करोडभन्दा बढीको कारोबार भएको छ तर यति रकमको दैनिक कारोबारले मात्र बजारमा बढ्दो शेयरको आपूर्ति धान्न सक्ने अवस्था छैन ।  आपूर्तिको तुलनामा माग बढाउने दिशामा मोफसलबाट वर्तमान शेयर दलालमार्फत कारोबार हुने व्यवस्था केही हदसम्म गरिएको भए पनि त्यसले खासै राम्रो नतिजा दिन सकेको छैन ।  मोफसलमा स्थानीय व्यक्तिलाई नै नयाँ दलालको लाइसेन्स नदिएसम्म कारोबार बढ्ने कुरा त्यति सम्भव देखिँदैन ।  शेयरको आपूर्तिको दाँजोमा माग बढाउने हो भने नयाँ दलाल कम्पनी थप्ने कुरामा ढिलाइ गर्नुहुन्न ।  त्यसमा पनि मोफसलमा स्थानीय व्यावसायीलाई प्राथमिकता दिनुपर्छ, ब्याजदर घटाउनका लागि नेपाल राष्ट्र बैङ्कको विशेष पहल आवश्यक छ ।  गैरआवासीय नेपालीको लगानी भिœयाउने र अनलाइन टे«डिङको कार्यलाई यथाशीघ्र छिटो गर्नुपर्ने कार्यान्वयनमा ल्याउनुपर्ने हुन्छ ।  
राजनीतिले शेयर बजारमा सधैँ नै प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।  मुलुकको आर्थिक विकासको खाँका कोर्ने राजनीतिले हो ।  वर्तमान सन्दर्भमा नेपाली राजनीतिले बजारमा पार्न सक्ने प्रभावको बारेमा भन्नुपर्दा अब हुन गइरहेको चुनाव निकै महँगो भएको समाचार आइरहेका छन् ।  कार्यकर्ता हुन वा कतिपय स्थानका भोटर पैसाविना चल्ने अवस्था छैन ।  पार्टी र उम्मेदवारको खर्च चर्को हुनेवाला छ ।  त्यसले बजारमा थप तरलता ल्याउने अवश्य मद्दत पुग्छ ।  जसले ब्याजदर घटाउन सहयोग पुग्ने देखिन्छ ।  मुलुकभर अहिले चुनाव र राजनीतिकै चर्चा छ ।  सङ्घीयता पूर्ण रूपमा लागू गर्नका लागि आवश्यक रकमको जोहो कसरी हुन्छ भन्ने कुरा सोच्ने फुर्सद कसैलाई देखिँदैन ।  सङ्घीयता लागू हुँदासम्म र त्यसलाई सफल बनाउन आर्थिक पक्षको लेखाजोखा नहुने हो, त्यसले मुलुकको आर्थिक विकास हुनेवाला छैन ।  चुनावका लागि टिकट वितरणदेखि चुनावमा लड्न थुपै्र आर्थिक चलखेल भएर सकिने चुनावपश्चात् त्यसले राम्रो परिणाम ल्याउनेवाला छैन ।  
हाल विज्ञहरूले राम्रो कम्पनीको शेयर छानेर किन्ने सल्लाह दिएको अवस्था एकातिर छ भने चुनावपश्चात् बन्ने सरकारले लिने आर्थिक नीतिले बजारलाई कता लाने हो सो हेरेर मात्र लगानी गर्नुपर्छ भन्ने फरक मत पनि छ ।  
यस्तो अवस्थामा लगानीकर्ता पर्ख र हेरकै अवस्था रहँदा राम्रो हुने देखिन्छ ।  हाल गरेको लगानीको तत्काल प्रतिफल नखोज्ने हो भने दीर्घकालीन लगानी गर्नु उपयक्त नै होला ।  राजनीतिक स्थायित्वका लागि चुनाव आवश्यक छ तर अर्थतन्त्र सकेर हुने चुनाव र भोट ब्याङ्क जोगाउन मात्र गरिने निर्णय मुलुकको समग्र आर्थिक विकासका हितमा नहुन सक्छ ।  अनि त्यसको नकारात्मक असर शेयर बजारले पनि भोग्नु नै पर्छ ।  शेयर बजारमा ठूलो उतारचढावका लागि भने चुनावपश्चात् कस्तो सरकार बन्ने र त्यसले लिने आर्थिक नीति नै महŒवपूर्ण हुने देखिन्छ ।  चुनावको नतिजा सार्वजनिक नहुँदासम्म बजारमा सामान्य उतारचढाव भइरहनुलाई अस्वाभाविक मान्न हुँदैन ।  




प्रकाशित मिति: २०७४/७/२२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना