थानकोट–नागढुङ्गा सुरूङमार्ग जग्गा प्राप्ति प्रक्रिया तीव्र


भउचप्रसाद यादव

काठमाडौँ, कात्तिक २३ गते ।  बहुचर्चित र बहुप्रतीक्षित थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया तीव्र रूपमा अगाडि बढेको छ ।  राजधानी भित्रिने मुख्य नाकाको रूपमा रहेको सो मार्गमा सुरुङ निर्माणका लागि नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जग्गा प्राप्तिका लागि सम्बन्धित जग्गाधनीको नाममा तीस दिने सूचना जारी गरी जग्गा प्राप्तिको प्रक्रियालाई अगाडि बढाएको हो ।     
आयोजना प्रमुख सञ्जयकुमार श्रेष्ठले सो सुरुङमार्गको पूर्वी सडकखण्ड निर्माण लागि जग्गा प्राप्तिका लागि हक दाबी गर्न तीस दिने सूचना जारी गरिएको जानकारी दिनुभयो ।  सूचनापछि सम्बन्धित जग्गाधनीले आफ्नो नाम मिले नमिलेको, जग्गाको क्षेत्रफल मिले नमिलेको लगायत हक दाबीसहित उजुर बाजुर गर्नेछन् ।  surungmarg_1
सुरुङमार्गको सम्बन्धित क्षेत्रमा पर्ने जग्गा, घर टहरा तथा रुखबिरुवा समेत स्थायी रूपले अधिग्रहण गर्नुपर्ने भएकाले जग्गा प्राप्ति ऐन, २०३४ मुताविक जग्गा अधिग्रहण गर्न लागिएको जानकारी आयोजना प्रमुख श्रेष्ठले दिनुभयो ।  सुरुङमार्ग निर्माणका लागि ४३७ कित्ताका २६६ रोपनी जग्गा अधिग्रहण गरिने बताउँदै उहाँले अबको केही दिनमा यो सुरुङमार्ग अन्तर्गतको धादिङ जिल्लामा पर्ने जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गर्ने जानकारी दिनुभयो ।  
अहिलेको चन्द्रागिरि नगरपालिका र तत्कालिन महादेवस्थान, थानकोट, बलम्बु र दहचोक गाविसका जग्गा अधिग्रहण गरिने छ ।  जग्गाको मुआब्जा कुन दररेटमा प्रदान गरिनेबारे अहिले निर्णय भइनसकेको जानकारी दिँदै उहाँले यो सुरुङमार्गको निर्माण कार्य यसै आर्थिक वर्षबाट सुरु गरिने बताउनुभयो ।  अहिले सो मार्गको ‘इन्भेस्टिगेसन र डिजाइन’ को काम भइरहेको छ ।  विक्रम संवत् २०७९ पुस मसान्तसम्म सुरुङको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य आयोजनाकोे छ ।  
प्रस्तावित सुरुङमार्गको कुल लम्बाई साढे दुई किलोमिटर र चौडाई  करिब १२ मिटर हुनेछ ।  थानकोटमा रहेको अहिलेको सडकखण्डबाट सुरुङमार्गको बाटो तल झर्ने र १५ सय मिटरको ‘अप्रोच’ बाटोपछि सुरुङमार्ग सुरु हुने जानकारी श्रेष्ठले दिनुभयो ।  सुरुङमार्गको उचाई आठ मिटर हुनेछ ।  यसमा दुई लेनको सडकसहित पेट्राल पम्प, सर्भिस सेन्टर लगायतका सुविधा पनि राख्ने अवधारणा छ ।
उहाँका अनुसार, सुरुङमार्ग तीन लेनको हुनेछ ।  सुरुङमार्गको तीन लेनमध्ये दुई लेन राजधानी भित्रिने हुनेछ भने एक लेन राजधानीबाट बाहिरिने सवारीसाधनका लागि छुट्याइनेछ ।  सुरुङमार्ग थानकोटबाट सुरु भई धादिङको सिस्नेखोलामा निस्कनेछ ।  २.६ किलोमिटर लम्बाइ रहने सुरुङ मार्ग काठमाडौँ सीतापाइलाबाट धादिङको सिस्नेखोलासम्म निर्माण हुनेछ ।
सुरुङमार्गको मर्मत सम्भारका लागि सवारीसाधनबाट ‘टोल ट्याक्स’ उठाउने अवधारणा अघि सारिएको सडक विभागले जनाएको छ  ।  
सडक विभागले ‘सर्विलियन्स पद्धति’ अनुसार यो सुरुङमार्गको अनुगमन गर्नेछन् ।  यसका लागि सडक विभागमा एउटा अनुगमन कार्यालयको स्थापना गरिनेछ ।
मुलुककै पहिलो टनेल सडकको रूपमा प्रस्तावित सुरुङमार्गको निर्माण प्रक्रियालाई अगाडि बढाउन चालू आर्थिक वर्षको बजेटमा एक अर्ब ६७ करोड रुपियाँ विनियोजन गरिएको छ ।  यो सुरुङमार्गले अबको डेढ दशकसम्म हुन सक्ने सवारी चापलाई धान्न सक्ने विश्वास सरकारको छ ।  
अहिले  त्रिपुरेश्वर–कलङ्की सडकखण्डमा दैनिक २० हजार सवारीसाधन गुड्ने गर्छन भने कलङ्की–नागढुङ्गा सडकखण्डमा दैनिक आठ हजार सवारीसाधन गुड्ने गर्छन् ।  पृथ्वी राजमार्गको सवारी चाप र जामलाई न्यून गर्न नागढुङ्गादेखि नौबीसे खानीखोलासम्मको सडक चौडा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।  
सरकारले २० वर्षे दीर्घकालीन सडक गुरुयोजना (सन् २००२–२०२२) अन्तर्गत मुलुकको विभिन्न भागमा सडक निर्माण गरिरहेको छ ।  २० वर्षे यो दीर्घकालीन सडक गुरुयोजना अनुसार पहाडमा चार घण्टामा र तराईमा दुई घण्टा पैदल दूरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने लक्ष्य राज्यले लिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना