बढेको बढ्यै सवारी दुर्घटना

nuhuchchhe narayanन्हुच्छेनारायण श्रेष्ठ


हरेक वर्ष नेपालमा सडक दुर्घटनामा सर्वसाधारणले ज्यान गुमाएका छन् भने कैयौँ नेपाली अङ्गभङ्ग भई अपाङ्ग जीवन बिताउन बाध्य भएका छन् ।  केही दिनअघि मात्र राजविराजबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीमा भएको सडक दुर्घटनामा ३१ जनाको मृत्यु भएको, केही दिनभित्रै डोटी, उदयपुर र गुल्मीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा कैयौँको दुःखद मृत्यु भएको समाचारले सडक यातायात नेपालमा कति जोखिमपूर्ण छ भन्ने तथ्यमाथि प्रकाश पारिरहेको छ ।  ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार आ.व. २०७३÷०७४ मा १६,५०० दुर्घटना भएको र ती दुर्घटनामा २०,३८५ जनाको ज्यान गएको र १२,००० भन्दा बढी घाइते भएको देखाइएको छ । नेपालमा दैनिक पाँचदेखि छ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।  ट्राफिक प्रहरीका अनुसार सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीलाई लिइएको छ ।  
मुख्यतया सडक दुर्घटना हुने प्रमुख कारणमा ट्राफिक नियम कार्यान्वयन नगर्नु, सडकको भौतिक अवस्था, यान्त्रिक कारण, मानवीय कारण, मौसम तथा अन्य विभिन्न कारण र मुख्य रूपमा रहेका छन् ।  
ट्राफिक नियम पालन नगर्ने प्रवृत्ति ः सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सवारी चालकले अनिवार्य रूपमा ट्राफिक नियम र लेन अनुशासन पालना गर्नुपर्नेमा उल्टै ट्राफिक प्रहरीको निर्देशन अवज्ञा गर्दै सवारीसाधन चलाउने गलत प्रवृत्तिले गर्दा पनि सवारी दुर्घटना हुने गरेका छन् ।  मादकपदार्थ सेवन चेकजाँचका अतिरिक्त ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागी विभिन्न कार्यक्रम समय–समयमा ल्याई जनचेतना जगाउने कार्यक्रम गरिरहेको देखिन्छ ।  सडक दुर्घटना गर्न ट्राफिक प्रहरीको मात्रै दायित्वभित्र मात्रै पर्दैन, सडक प्रयोगकर्ता, सवारी चालक सबै सचेत र सतर्क हुनसकेको खण्डमा मात्रै दुर्घटना न्यूनीकरण हुन सक्छ ।  नेपालका कतिपय स्थानमा ट्राफिक प्रहरीको पहुँच नपुग्दा सवारी चालकले जथाभावी सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको छ ।  नेपालमा सबैभन्दा बढी दुर्घटना मोटरसाइकल हुने गरेको छ भने सार्वजनिक सवारीसाधनसमेत दुर्घटना हुने अग्रपङ्क्तिमा रहेको छ ।  सरकारले सवारी अनुमति पत्र प्रदान गर्ने कानुन फितलो भएका कारण जस्तोसुकै व्यक्तिले पनि लाइसेन्स पाएकै कारण दुर्घटना बढ्न गएको कुरालाई नकार्न सकिन्न ।  सिट बेल्ट नबाँध्ने, हेल्मेट नलगाउने, मा.प.से. गर्नेलाई हदैसम्मको कारबाही गर्नसकेको खण्डका अलावा सवारीसाधनको गति नियन्त्रण गर्नसकिएको खण्डमा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।  
सडकको भौतिक अवस्था ः नेपालको भौतिक अवस्था हेर्ने हो भने हिमाल, पहाड र तराई मिलेर बनेको छ  ।   हिमाल र पहाडका अधिकांश सडक घुमाउरो, साँघुरा र उकाली, ओराली र घुम्ती रहेका छन् ।  एउटै पडाडमा धेरै फन्का लगाउँदा चालकलाई रिँगटा लाग्ने, थाक्ने र सन्तुलन गुमाउने र साना सडकमा सवारीसाधनलाई साइड दिँदा सवारीसाधन ठोक्किएर दुर्घटना हुने गर्छन् भने सडकका मोड, उकालिओराली बाटोमा ब्रेकले साथ नदिने, स्टेरिङ नउल्टने कारण पनि दुर्घटना हुने गर्छ ।  त्यस्तैगरी सडकको स्तरोन्नति नगरी सवारी चलाउनु, पहाडी सडकमा कालोपत्रे नहुनु, धेरै मोड र घुम्ती हुनु र पर्याप्त मात्रामा ट्राफिक सङ्केत नहुनु, त्यस्ता सडकमा चालकले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेको छ ।  त्यस्तैगरी सडकमा सवारीसाधन अनुसार लेन फरक नहुनु, सडक छेउमा अव्यवस्थित अतिक्रमण गरी बनाइएका संरचना, जथाभावी पार्किङले गर्दा पनि दुर्घटना भइरहेका छन् ।  
यान्त्रिक कारण ः  सवारी ऐन, २०४९ मा सवारीसाधन परीक्षण गरी चलाउनुपर्ने र निश्चित अवधिपश्चात् परीक्षण पछि मात्र सडकमा गुडाउन अनुमति दिनुपर्ने प्रावधान रहे पनि सार्वजनिक तथा निजी सवारीसाधन विनापरीक्षण सडकमा चलाइन्छन् ।  यातायात विभागले सार्वजनिक सवारीसाधनको परीक्षण गर्ने जिम्मा पाए पनि व्यवहारमा लागू भएको छैन ।  सवारीसाधनमा प्रयोग हुने नक्कली र कमसल पार्टपुर्जा, कमसल ल्युब्रिकेन्ट प्रयोगका कारणका अलावा चालकले सवारी चलाउनुपुर्व आफ्नो सवारीसाधनको क्लच, ब्याट्री, चक्काको नट, टायरको हावा, पानीको चेकजाँच नगरी जथाभावी सवारी चलाउँदा समेत दुर्घटना हुने गरेको छ ।   
मानवीय कारण ः सवारी चालक मानसिक तनावमा रही लामो दूरीसम्म सवारी चलाउँदा थकान र निद्रामा रहनुका कारण आँखाको दृष्टि कम हुन गई दुर्घटना हुने गर्छ ।  त्यस्तैगरी कम उमेरमै सवारी चालक अनुमति पत्र पाउनु, मोबाइल प्रयोग, देखासिकी, लापरबाहीसँग सवारीसाधन चलाउनु, सडकको अवस्थाबारे जानकारी नहुनु, मादकपदार्थ सेवन गरेर सवारी चलाउनु, सवारीसाधनको बारे प्राविधिक ज्ञान नहुनु, ट्राफिक चिह्न र ट्राफिक नियमको कार्यान्वयन नगर्नु सडक दुर्घटनाको मुख्य कारण हो ।  
मौसम तथा अन्य कारण ः नेपालमा जाडो याममा सडकै नदेखिने गरी लाग्ने बाक्लो हुस्सु र वर्षात्मा सडक नै आहाल हुने भएको र चालकले त्यस्तो समयमा सडक नै ठम्याउन कठिन हुने कारणले गर्दा सडक दुर्घटना हुने गरेका छन् ।  खराब मौसम भए पनि सवारी चलाउनु, छाडा गाईबस्तु, अत्यधिक भार, सिट क्षमताभन्दा दोब्बर यात्रु ओसार्नु, सडक तथा फुटपाथ अतिक्रमण आदि कारणले पनि सडक दुर्घटना हुने कारण हुन् ।   
सडक दुर्घटना हुने अन्य मुख्य कारणमा कमजोर सडक पूर्वाधार, अनुपयुक्त तथा पुराना सवारीसाधन, सवारी चालक र सडक प्रयोगकर्ताको लापरबाही नै हुन् ।  राजमार्गमा सडकको स्तरोन्नति नहुनु, खाल्डाखुल्डी, ट्राफिक सङ्केतचिह्न नहुनु, साँघुरो बाटोघाटो हुनुले पनि दुर्घटना हुने गरेका छन् भने पहाडी भेगका सडक पक्की नहुनु, दक्ष चालकको व्यवस्था नहुनु, नयाँ खुलेको ट्रयाकमा सडक प्रयोगशालाबाट स्वीकृति नै नलिई सवारी चलाउनु, सहचालकले सवारी चलाउनु, विना इजाजत सवारी चलाउनु, लामो दूरीका सवारीसाधनमा एकजना मात्र चालक हुनु आदि कारणले पनि सवारी दुर्घटना हुने गरेका छन् ।  सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा सवारी धनीलाई ‘ब्लु बुक’ दिने, सवारी दर्ता खारेज गर्न सक्ने, लाइसेन्स दिने र निलम्बन तथा खारेज गर्न सक्ने अधिकारको व्यवस्था गरिए पनि व्यवहारमा कडाइँका साथ यातायात विभागले सो कार्य गरेको पाइँदैन् ।  मापसे सेवन र चालकले आफ्नो व्यवहार सुधार गर्ने र सवारीसाधनलाई समय–समयमा मर्मत सम्भार गरी सवारीसाधनलाई चुस्त दुरुस्त अवस्थामा राख्न सकिएको खण्डमा र सडक सुधार्ने, मर्मत सम्भार गर्ने, यात्रु तथा पैदल यात्रु सचेत हुने र ट्राफिक नियम पालना गर्न सकिएको खण्डमा सडक दुर्घटनालाई केही हद भए पनि न्यूनीकरण गर्न सकिन्छ ।  ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय उच्च रक्तचाप, तनाव, मोबाइलको प्रयोग, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढेको जनाएको छ ।  
अतः सडक दुर्घटनाका अन्य विविध कारण पनि रहेका छन् ।  नेपालको भौगोलिक अवस्था हेरेर नेपालको सडकका लागि कस्ता खाले सवारीसाधन नेपालमा भिœयाउन अनुमति दिने हो ? सडक अनुसारका ठूला तथा मझौला गाडी, मोटरसाइकल नेपालका ग्रामीण तथा पहाडी सडकमा गुडाउन अनुमति सरकारले दिइने गरिएको खण्डमा समेत दुर्घटना कम हुन सक्छ ।  नेपालमा हिजोआज सबैभन्दा बढी दुर्घटना मोटरसाइकल दुर्घटनाबाट हुने तथ्याङ्कले देखाएको छ, त्यसैले नेपालको भूबनोटअनुसार कति क्षमतासम्मका मोटरसाइकल उपयुक्त हुने सरकारले स्पष्ट नीति बनाएर कार्यान्वयन गर्नुपर्छ ।  त्यस्तैगरी सरकारले अध्ययन र परीक्षण गरेर मात्रै सवारीसाधन खरिद बिक्री गर्नुपर्ने नियमलाई कडाइँका साथ लागू गर्नुपर्छ ।  नेपालमा सवारी दुर्घटना बढ्नुको प्रमुख कारणमध्ये थोत्रा सवारीसाधन चलाउनु, दशकौँदेखि सडकको स्तरोन्नति नहुनु, खाल्डाखुल्डी, सडक छेउछाउमा बनाइएका अव्यवस्थित भौतिक संरचना आदि रहेका छन् ।  नेपाल सरकारले यस्ता विषयलाई मनन गरी सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहल चाल्नुपर्छ र सडकको स्तरोन्नति लगायतका कार्यको थालनी गर्न विलम्ब गर्नुहुँदैन ।  सडक दुर्घटनाका अन्य कारण बाढीपहिरो लगायतका दैवी प्रकोप पनि हुन् ।  नेपाल सरकारले दुर्घटना न्यूनीकरण गर्नका लागि ठोस पहल गर्दै आगामी दिनमा दुर्घटना न्यूनीकरण गर्नेतर्फ आफ्नो पाइला समयमै चाल्नु आवश्यक रहेको छ ।  

प्रकाशित मिति: २०७४/७/२३

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना