वाम चुनावी तालमेल

dineshchandra devkotaडा. दिनेशचन्द्र देवकोटा

 

२०७४ असोज १७ गते नेपालमा एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ आसन्न सङ्घीय र प्रादेशिक निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल गर्ने र चुनाव पछि पार्टी एकता गर्ने लगायतका छ बुँदे ऐतिहासिक सहमतिले मुलुक सधँै अस्थिर राजनीतिको शिकार भइरहने समस्याको अन्त्य हुने लक्षण देखिएको छ ।  यो सुखान्त संयोग हो ।  यसले नयाँ राजनीतिक अवसर मात्र प्रदान गरेको छैन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना पछि प्रत्येक नागरिकले अपेक्षा गरेका आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका लागि राष्ट्रिय एजेण्डाहरूको शीघ्रातिशीघ्र कार्यान्वयन हुने आशा र अपेक्षा जनताको छ ।  यति मात्र होइन राजनीतिको केन्द्रमा वामपन्थीहरू रहने संकेत गरेको छ ।  तसर्थ यस ऐतिहासिक सहमतिलाई अक्षरशः पालना गर्दै विभिन्न तह र तप्कामा संगठित सम्पूर्ण वाम बुद्धिजीवीलाई आआफ्नो ठाउँबाट एकताबद्ध हुन बल मिलेको छ ।  अब वाम बुद्धिजीवीहरू भाम्रक प्रचारबाजीलाई चिर्दै वामतालमेलको पक्षमा जनमत सिर्जना गर्न नयाँ शिराबाट सक्रियतापूर्वक काममा लाग्नु वर्तमान समयको आवश्यकता हो ।  राष्ट्रियता, जनजीविका तथा सामाजिक न्याय सहितको समानतापूर्ण समाज निर्माण गरी समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्नु हामी सबैको दायित्व हो ।  
देशको वर्तमान आर्थिक अवस्था
नेपाल अल्पविकसित तथा भूपरिवेष्ठित राष्ट्र हो ।  नेपालीहरूको हाल वार्षिक प्रतिव्यक्ति आय ८२० अमेरिकी डलर छ ।  पूर्वाधार विकासका कामहरू यथेष्ट हुन नसक्दा देश औद्योगिक विकासमा निकै पछाडि परेको छ ।  विसं २०४८ सालबाट २०६५ सालसम्म आइपुग्दा उद्योग सङ्ख्या १८ प्रतिशतमा घटेको छ र औद्योगिक श्रमिक यस अवधिमा २० प्रतिशतले घटेको अवस्था छ ।  मुलुकमा बढ्दो बेरोजगारीको कारण युवाहरूको विदेश पलायन व्यापक छ ।  नेपालको आयातमा वृद्धि २६.८ प्रतिशत आव २०६३।६४ मा थियो भने ०७२।७३ मा ३४.४ प्रतिशत पुगेको छ ।  यसै गरी निर्याततर्पm आव २०६३।६४ मा कमी हुन गई ८.२ प्रतिशत पुगेको थियो भने ०७२।७३ मा ३.१ प्रतिशत निर्यात घटिरहेको छ ।  व्यापार घाटा आव ०६३।६४ मा १८.६ प्रतिशत थियो भने ०७२।७३ मा ३१.३ प्रतिशतले वृद्धि भएको देखिन्छ ।  
उत्पादनका साधन माथिको पहुँच र त्यसको वितरणमा असमानताका कारण गरिबीको गम्भीर दुश्चक्रमा देश फसेको छ ।  वैदेशिक लगानीको समुचित उपयोगमा कार्यान्वयन पक्ष कमजोर भएकाले आर्थिक अनियमितता र भ्रष्टाचार बढेर गएको छ ।  मुलुक दश वर्षे द्वन्द्वमा फसेर उत्रिन नसकिरहेको अवस्थामा द्वन्द्व पश्चात्का दश वर्ष राजनीतिक अस्थिरता र सङ्क्रमणकालमा रुमल्लिएर समृद्धिको बाटोमा अगाडि जान सकेको छैन ।  नेपालले सामना गरिरहेका चुनौतीहरूमा विश्व आर्थिक मन्दी, सुशासनको कमी, हिमाल, पहाड र तरार्ईबीच सद्भाव खल्बल्याउने दुष्प्रयास र राष्ट्रियतामाथिको चुनौती प्रमुख रूपमा रहेका छन् ।  नेपालको भूबनोट र प्राकृतिक विपद् (भूकम्प २०७२ लगायत) तथा जलवायु परिवर्तनका कारणसमेत देश विकासमा उल्लेख्य प्रगति गर्न नसकिएको अवस्था रहेको छ ।  
यी असङ्ख्य चुनौतीहरूका बीचमा उभिएर देशको आर्थिक समृद्धिमा लाग्न वर्तमानमा  राष्ट्रिय पुँजीको विकास, राष्ट्रिय बजारको विस्तार, स्वाधीन अर्थतन्त्रको विकास, विकासको मौलिक मार्ग अवलम्बन, तीन खम्बे अर्थतन्त्र (सरकारी, सहकारी र निजी) मार्फत् समाजवाद उन्मुख अर्थतन्त्र निर्माण, छरिएको पुँजीलाई एकत्रित गर्दै पुँजी निर्माणमा जोड, वैदेशिक सहायता तथा लगानीहरू र राष्ट्रिय हितको सवाललाई प्राथमिकता र समग्रमा उत्पादक शक्तिको विकासमा प्राथमिकताको नीति र त्यसको कार्यान्वयनमा जोड दिनु पर्दछ ।
समस्याको पहिचान
एमालेसहितको वाम मोर्चाले राष्ट्रिय समस्यामाथि अर्जुन दृष्टि लगाई विकासका एजेण्डाहरूको पहिचान गरी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताका साथ योजनाहरूको कार्यान्वयन गर्नु पर्दछ ।  यस्ता योजना जनस्तरको चाहनाको वा आवश्यकताको आधारमा आधारभूत तहका जनताको विचार संकलन गरेर तर्जुमा गर्नु पर्दछ ।  योजना कार्यान्वयन गर्दा समावेशीताका आधारमा विपन्न वर्गलाई समेटेर हिमाल, पहाड र तराईका जनताको मालिक्याइँ अनुभूत हुने गरी सञ्चालन गर्नु पर्दछ ।  
वर्गीय सवाललाई प्राथमिकता
जोताहा गरीब जन र जमिन्दार तथा सामन्तहरू, काम गर्ने र काम गराउनेहरू, खाद्यान्न भण्डारण गर्ने र दैनिक ज्यालाबाट जीविका गर्नेहरू तथा श्रमिक तथा उद्योगी व्यापारीहरूका सवालहरू एउटै छैनन् ।  यी सबै तह र तप्काका जनताको सवालहरू मध्ये आधारभूत तहका जनताको सवाललाई प्राथमिकतामा राख्नुपर्छ ।  तरार्ईमा डुबान हुन्छ, बाढीको समस्या छ ।   किसानको शोषण भइरहेको छ ।  सडक पिच भएका छैनन् ।  घरहरू व्यवस्थित छैनन् ।  फुसको छानो हुँदा आगलागीको समस्या छ ।  दलितहरूले सम्मानजनक वातावरण पाएका छैनन् ।  बालिकाहरूले अहिले पनि स्कुल जान पाएका छैनन् ।  विकासमा पछि पारिएको वर्ग, त्यसमा पनि दलित, जनजाति र महिलालाई विशेष मूलप्रवाहीकरण गर्ने गरी अगाडि बढ्नुपर्छ ।  वाम मोर्चाले स्थानीय तहका मुद्दा, विकास निर्माण, समावेशिताको विषयलाई जोडदार रूपमा उठाउनुपर्छ ।  एमाले नभएको भए आजको महिलाको प्रतिनिधित्व सम्भव थिएन ।  मधेशमा शोषण केन्द्रिकृत सरकारले भन्दा मधेशका टाठाबाठाहरूले गरिरहेका छन् ।  जो पटक–पटक सरकारमा सहभागी भए उनीहरूले नै गरेका छन् ।  
भ्रमको खेती  
मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तालमेल र त्यस पछि पार्टी एकीकरण गर्ने घोषणा भएपछि नेपाली काङ्ग्रेस लगायतका दलले देशभित्र एकदलीय कम्युनिस्ट शासन ल्याउने योजना भन्दै भ्रम छर्ने कोसिस गरिरहेका छन् ।  साम्यवादी व्यवस्था स्थापनाको उद्देश्य राखेका कम्युनिस्ट पार्टीहरू बीचको एकतालाई लोकतन्त्रमाथिको खताराको रूपमा व्याख्या गर्दै काङ्ग्रेस लगायतका दलहरूले चुनावी एजेण्डा बनाउने योजना बनाएको देखिएको छ ।  २५ वर्षदेखि लोकतान्त्रिक अभ्यास गरिरहेको एमाले र शान्ति प्रक्रियापछि शान्तिपूर्ण बाटोबाट अघि बढेको माओवादीबीचको एकता कुनै एकदलीय व्यवस्थाका लागि नभई स्थिर सरकारको गठन र आर्थिक समृद्धिको नेपाली जनताको आकांक्षा पूरा गर्ने योजना मुताविक भएको एमाले र माओवादीको भनाइ छ ।  
नेपालका वामपन्थीहरू साम्यवादी तवरले जान्छन् कि भन्ने डर काङ्ग्रेसीहरूमा परेको छ ।  यस त्रास यसकारणले पनि असत्य हो किनकि  एमालेले बहुलवादलाई आधारभूत तहमा स्वीकार गरेको छ ।  अर्को कुरा विधिको शासन, आवधिक चुनाव एमाले र माओवादी दुबैले स्वीकार गरेका छन् ।  दुई तिहाइ आफ्नो पक्षमा मत ल्याएर हिजो अप्ठेरोमा परेको वर्ग दलित, जनजाति, मुस्लिम, हिमाल, पहाड र तराईको समस्या समाधान भयो भने जनताका माझ कम्युनिस्टहरू दीर्घकालीन रूपमा नेपाली राजनीतिमा हाबी हुनेछन् भन्ने मनोवैज्ञानिक त्रास काङ्ग्रेसमा देखिएको मात्र हो  ।
तसर्थ, अबको समृद्धिको यात्रा, अबको विकास निर्माणको यात्रा, गरीबहरूको पक्षमा पृष्ठपोषण गर्ने यात्रा, बाटो बिग्रेको ठाउँमा बाटो पु¥याउने यात्रा, मधेश र तराईलाई आरक्षण दिएर सुरक्षित गर्ने यात्रा, महिलाहरूको ५० प्रतिशत सहभागिता सुरक्षित गर्ने यात्रा र खान नपाएकाहरूलाई खान दिने यात्रा वामपन्थीहरूको आर्थिक समृद्धि र विकाशको एजेण्डा हो ।  यसको कार्यान्वयनमा बुद्धिजीवी र विज्ञहरूको प्रत्यक्ष संलग्नता हुनु पर्दछ ।  

प्रकाशित मिति: २०७४/७/२३

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना