पाइपलाइन निरीक्षण गर्न भारतीय टोली वीरगञ्जमा


दीपकप्रसाद गौतम        

वीरगञ्ज, कात्तिक २४ गते ।  रक्सौल–वीरगञ्ज–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको स्थलगत अध्ययन अनुगमनका  लागि भारतीय आयल कर्पोरेसन (आईसोसी)को तीन सदस्यीय टोली नेपाल आएको छ ।  
करिब चार अर्ब भारतीय रुपियाँको लगानीमा निमार्ण हुन गइरहेको  भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्ज सम्मको ६९.९ किलोमिटरको दूरीमा स्थापना गर्न थालिएको पेट्रोलियम पाइपलाइनको कामको स्थलगत अनुगमन तथा अध्ययनका लागि तीन सदस्यीय भारतीय टोली नेपाल आएको हो ।  भारतीय आयल कर्पोरेसनका निर्देशक अनिश अग्रवालको नेतृत्वमा पेट्रोलियम पाइपलाइन परियोजनाका भारततर्फका योजना प्रमुख प्रमोद नारङ्ग र नेपालतर्फको पेट्रोलियम पदार्थ हेर्ने निकायका डीजीएम एस एस बोस रहनुभएको नेपाल आयल निगमका वीरेन्द्र गोइतले  जानकारी दिनुभयो ।  
परियोजनाका भारतीय उच्च अधिकारीसँग बिहीबार छलफल भइरहेको र परियोजनाको काम कुन अवस्थामा रहेको छ के कस्ता समस्या छन् र कसरी परियोजनालाई चाँडै सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।  petrolium pipe
भारतीय पक्षसँगको छलफलमा आपूर्ति सचिव, आयल निगमका एमडी शुशिल भट्टराई, आयल निगमका वीरेन्द्र गोईत लगायत परियोजनासँग सम्बन्धित कर्मचारी एवं अधिकारीहरू सहभागी हुनुभएको र उहाँहरू बीच छलफल भइरहेको पेट्रोलियम पाइपलाइन परियोजनाका प्रदीप यादवले  जानकारी दिनुभयो ।  रक्सौल–वीरगञ्ज–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना सन २०१७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइ हुँदा निर्माण प्रक्रिया ढिलो सुरु भएको थियो ।  
बिहीबार छलफल गरी शुक्रबार नै स्थलगत निरीक्षण एवं अध्ययनका लागि भारतीय टोली अमलेखगञ्जदेखि रक्सौलसम्म जाने कार्यक्रम रहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताउनुभयो ।  
भारततर्फ कति काम सम्पन्न भयो र नेपालतर्फको काम कहिलेसम्म सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी परियोजनालाई अगाडि बढाइने उहाँले बताउनुभयो ।  
प्रियोजनाको चार अर्ब ४० करोड रुपियाँ लागत अनुमान गरिएको जसमध्ये तीन  अर्ब २० करोड रुपियाँ भारत सरकारले र बाँकी एक  अर्ब २० करोड रुपियाँ नेपालले बेहोर्ने निगम स्रोतले जनाएको छ ।
आयोजनाको भौतिक पूर्वाधार, व्यवस्थापकीय प्रक्रिया र निर्माण सामग्री खरिदमा भइरहेको प्रगति बुझ्न टोली नेपाल आएको नेपाल आयल निगम वीरगञ्जका प्रमुख उपेन्द्रकुमार नेपालले जानकारी दिनुभयो ।
बहुप्रतीक्षित उक्त परियोजना मोतीहारी–रक्सौल ३३.२ किलोमिटर र रक्सौल–अमलेखगञ्ज ३६.७ किलोमिटरको हुनेछ ।
पेट्रोलियम पाइपलाइनको कार्य भारतीय आयल कार्पोरेसनले तीव्ररूपमा अघि बढाएको भए पनि नेपाल तर्फको मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाका लागि आगामी डिसेम्बरदेखि पाइपहरू भारतबाट आउने भएको परियोजना प्रमुख यादवले बताउनुभयो ।
जमीनमुनि राख्ने व्यास १०.७५ इन्चको हुने उक्त पाइप भण्डारण गरी राख्नको लागि वीरगञ्ज चिनी कारखानाको दुई बिघा जग्गा पनि प्रतिमहिना दुई लाख ३० हजार रुपियाँको दरले भाडामा लिइसकिएको छ ।
भारतको एनएसएल कम्पनीसँग सम्झौता भएकाले भारतमा अहिले पाइप निर्माण भइरहेको र उक्त पाइप डिसेम्बरमा नेपाल आउने जानकारी यादवले दिनुभयो ।
परियोजना पूरा गर्न पथलैयादेखि परवानीपुरसम्म व्यापारिक मार्ग निर्माण भइरहेकोले निमार्ण कार्यमा खासै समस्या नभए पनि अमलेखगञ्जदेखि पथलैयाको बीच जङ्गल भएकाले केही समस्या रहेको आयल निगमको भनाइ रहेको छ ।  
परवानीपुरदेखि बाइपास रोड हुँदै रक्सौल नाकासम्म सडकको छेउछाउमा रहेका बिजुलीका पोलका कारण परियोजना सम्पन्न गर्नका केही चुनौती सिर्जना भएको परियोजनाको सिमरा स्थित कार्यालय प्रमुख मेकानिकल इन्जिनियर शरद पौडेल बताउनुहुन्छ ।
हालसम्म पथलैयादेखि अमलेखगञ्जको बीचमा रहेको जङ्गलको रूख कटानी गर्नुपर्ने भएकाले परियोजनाका इन्जिनियरले वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिका लागि वातावरण मन्त्रालयमा फाइल पठाई काम अगाडि बढाएको र पाइपलाइनको रूटमा पर्ने बस्ती, पसल र बिजुलीको पोल खाली गराउन समेत सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको रक्सौल–वीरगञ्ज–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाको सिमरा स्थित कार्यालयका शरद पौड्यालले बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना