घट्यो चिया खेतीको आकर्षण

फिदिम, कात्तिक २४ गते ।  बजार सुनिश्चित नभए पनि पाँचथरका किसान विभिन्न खाद्य तथा नगदे बालीको व्यावसायिक खेती गर्न अभ्यस्त हँुदैगएका छन् ।  यहीँ जिल्लाको हकमा अर्गानिक अर्थोडक्स चिया उत्पादन गरे यसको बजार सुनिश्चित छ तर यसतर्फ भने किसानको आकर्षण अत्यन्तै न्यून छ ।
विश्व बजारमा अपरिहार्य दैनिक उपभोग्य पेय खाद्यको रूपमा उपभोग गर्ने चलनको वृद्धिसँगै सवैभन्दा बढी बिक्ने वस्तु चिया मानिन्छ ।  स्वास्थ्यवद्र्धक अर्गानिक चियाको माग त झन् बढी नै हुने भयो ।  त्यसैले यसको बजार सुनिश्चित रहेको फिदिम स्थित अर्गानिक चिया उत्पादक कञ्चनजङ्घा टि–स्टेट एन्ड रिसर्च प्रालिका प्रबन्धक निरानन्द आचार्यले बताउनुभयो ।  पाँचथरबाट निकासी हुने अदुवा, अकबरे, अलैँची, तरकारी लगायत धेरै कृषि उपजले बेलाबेला बजार नपाउने तथा कम मूल्य पाउने समस्या छ ।  यसबाट किसानले व्यापक घाटासमेत खेप्नेगरेका छन् ।  यस्तो अवस्था अर्गानिक अर्थोडक्स चियाले भोग्नुपरेको छैन, बरु यसको माग र मूल्य विश्व बजारमा फराकिलो र उच्च बन्दैगएको देखिएको छ ।  पाँचथरमा उत्पादन हुने अर्थोडक्स चिया नासाले अर्गानिकका रूपमा प्रमाणीकरण गरिदिएको छ ।  यसले गर्दा पनि यहाँको चियाले देश विदेशमा महìव पाइरहेको बताइएको छ ।  यद्यपि यसको आपूर्ति भने धेरै न्यून रहेको देखिन्छ ।  विश्व बजारमा माग भइरहेको अर्गानिक चियाको आपूर्ति एक प्रतिशतले मात्र भइरहेको प्रबन्धक निरानन्दले सुनाउनुभयो ।  यस हिसाबले पाँचथरबाट उत्पादन हुने चियाको बजार अभाव नै छैन, उहाँले भन्नुभयो, अभाव छ त खेती विस्तार र उत्पादनको ।
यस्तो राम्रो बजारको अवस्था रहँदा पनि पाँचथरमा कुल कृषक घरघुरीको ३.६७ प्रतिशत मात्र चिया खेतीमा संलग्न छन् ।  यहाँ रहेका २८ हजार ९३० घरधुरी किसानमध्ये एक हजार ११९ घरधुरी मात्र चिया कृषक रहेका छन् ।  भूबनोट र जलवायु उपयुक्तताका हिसाबले पाँचथरको १० हजार हेक्टरसम्ममा चिया खेती गर्न सकिने विज्ञको भनाइ छ ।  हाल यहाँ दस हजार ४०२ रोपनी अर्थात ५२० हेक्टरमा मात्र खेती भइरहेको चिया विस्तार योजनाको कार्यालयले जनायो ।  यो आँकडाले पाँचथरमा चिया खेतीमा किसान आकर्षित हुन नसकेको प्रष्ट्याउँछ ।  पाँचथरमा २०४० सालमा पहिलो पल्ट कञ्चनजङ्घा टि–स्टेट एन्ड रिसर्च प्रालिले चिया खेती सुरुवात गरेको बताइन्छ ।  २०३९ सालमा सरकारले पूर्वका पाँच जिल्ला इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, झापालाई चिया क्षेत्र घोषणा गरेसँगै यसको खेती पाँचथरमा पनि थालिएको किसान बताउँछन् ।  उतिबेला सरकारी प्रोत्साहनपछि चिया रोप्न उत्साहित भएका किसानले सरकारले नै सहयोग नगरेपछि खेती विस्तार प्रभावित भएको बताइन्छ ।
वर्तमानमा युवाको विदेश पलायनसँगै खड्किएको चरम मजदुर अभावका कारण खेती विस्तार हुन नसकिरहेको देखिएको छ ।  साना किसानका काँचो पत्तीको ठूला कम्पनीले उचित मूल्य नदिने गर्नाले पनि चिया खेतीमा किसानको उत्साह नदेखिएको केन्द्रीय चिया सहकारी सङ्घका उपाध्यक्ष राजेन्द्रकुमार जवेगुले बताउनुभयो ।  जिल्लाको लालीखर्क, सराङडाँडा, फाक्तेप, रानीटार, चिलिङदेन, पौवालगायत क्षेत्रमा चिया खेती भइरहेको छ ।  यस क्षेत्रमा उत्पादित चियाले देश विदेशमा भइरहेको माग पूर्ति गर्न सकेको छैन ।  पाँचथरमा अहिले करिब एक दर्जन चिया प्रशोधन कारखाना छन् ।  चिया उत्पादक सहकारी संस्था १५ वटा छन् ।  सीमित बगानमा न्यून उत्पादन हुने हुनाले यहाँका प्रायः सवै प्रशोधन केन्द्रमा काँचो चियापत्ती अभाव हुने गरेको बताइएको छ ।  प्रशोधनका लागि कञ्चनजङ्घा टि–स्टेटलाई मात्र वार्षिक साढे तीन लाख केजी चिया आवश्यक पर्नेमा यसको तीस प्रतिशत मात्र उपलब्ध हुन सकिरहेको प्रबन्धक निरानन्दले सुनाउनुभयो ।  उहाँले साना किसानबाट वार्षिक ६० हजार किलो सङ्कलन गर्नुका साथै इलामको चमैता, फाकफोक, आमचोकसमेत ल्याउनुपर्दा पनि आफूहरूलाई अपर्याप्त भइरहेको सुनाउनुभयो ।  पाँचथरबाट हिजोआज दुई लाख ८३ हजार किलोसम्म अर्गानिक तरिकाले अर्थोडक्स चिया उत्पादन भइरहेको छ ।  अर्थोडक्स चिया एक हजारदेखि पाँच हजार रुपियाँसम्ममा बिक्ने जनाइएको छ ।  राम्रो सम्भावना हुँदा पनि वृहत्तर चिया खेती विस्तारमा किसानको आकर्षण बढाउन सरकारले नसकिरहेको फिदिम–३ स्थित राष्ट्रिय चिया तथा कफि विकास बोर्ड चिया विस्तार योजनाका कार्यालय प्रमुख प्रेमकुमार थिङले स्वीकार्नुभयो ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds