इम्ब्राइडरी थान्का चित्र प्रदर्शन

कपिलवस्तु, कात्तिक २४ गते । हैनान प्रिफेक्चर विश्वकर्मा नेशनल आर्ट एण्ड क्राफ्ट कम्पनी लिमिटेड चीनको आयोजनामा तौलिहवामा इम्ब्राइडरी थान्का चित्र प्रदर्शन गरिएको छ । 

तौलिहवास्थित निर्माण व्यवसायी संघको सभाहलमा आयोजित उक्त प्रदर्शनीमा नेपालका पर्यटकीय एवं जीवनशैली झल्काउने खालका आकर्षक थान्का चित्र राखिएका छन् । 

प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले यस्ता थान्का चित्रले समाजको कला, संस्कृति र पहिचान झल्काउने भन्दै प्रदर्शनीबाट समाजमा रहेका विभिन्न समुदायको जीवनशैली बुझ्न सकिने बताउनुभयो । 

यस्ता थान्का चित्र बनाउन सक्ने सीप पनि स्थानीय समुदायमा हस्तान्तरण गर्न सके समुदायमा रोजगारीको अवसर बढ्ने पनि उहाँले बताउनुभयो । 

इम्ब्राइडरी थान्का चित्रका बारेमा सर्वसाधारणलाई जानकारी गराउने र नेपाली संस्कृतिका बारेमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको कम्पनीका प्रमुख तेन्जिङले बताउनुभयो । यस प्रकारको कला सिक्न चाहनेलाई कम्पनीले काठमाडौँमा निःशुल्करुपमा दुई महिने प्रशिक्षण दिइने पनि उहाँले बताउनुभयो । चीन र नेपालको सदियौँदेखिको सम्बन्धलाई यस्ता प्रदर्शनीले थप सहयोग पु¥याउने आयोजकले जनाएको छ । 

यसअघि कम्पनीले ललितपुरको पाटन म्यूजियममा एक महिने प्रदर्शनी सम्पन्न गरिसकेको छ । यसैगरी चितवनमा १० दिने र पोखरामा एक महिने प्रदर्शनी चाँडै सञ्चालन गर्ने पनि आयोजकले जनाएको छ । 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds