यस्तो व्यक्तिलाई दिउँ नेतृत्व

ratna basnetरत्नबहादुर बस्नेत

 

 

राजनीति भनेको सबै नीतिको राजा अर्थात् सर्वश्रेष्ठ नीति हे । जसद्वारा राज्य निर्देशित र सञ्चालित रहन्छ । सफल र समृद्ध राष्ट्र निर्माणका लागि कुशल नेतृत्व वा राजनेताको खाँचो पर्छ तर आज भ्रष्ट नेताका कारण हाम्रो देशमा (आदर्श, मूल्य मान्यता भुलेर) राजनीति लाजनीति (इमान वा लज्जा नभएको क्षेत्र) वा फोहरी खेलका रूपमा परिणत हुँदै गएको पाइन्छ । निर्वाचन नै एउटा त्यस्तो अवसर हो, जसले भष्टलाई पाखा र राम्रालाई काखा लगाउने अधिकार जनतालाई प्रदान गरेको छ । निर्वाचन वा मतदानको समय नजिकिएसँगै यस सम्बन्धमा सबैको चाहना एउटै छ कि हाम्रो होइन राम्रो छानौँ । योग्य र असल उम्मेदवार चुनौँ । अतः असल र कमसल नेताको पहिचान कसरी गर्ने ? आखिर योग्य र असल कसलाई भन्ने ? आउनुहोस् यहाँ यसैबारे नीतिमा उल्लेखित भनाइ एकछिन मनन गरौँ ।
लोक व्यवहार जान्ने ः
लोक व्यवहार जान्ने व्यक्तिलाई जनप्रतिनिधि बनाउनुपर्छ भनिएको छ । सबैको प्रिय वा लोकप्रिय नेता बन्न लोक अर्थात् जनतासँग व्यवहार गर्न सिपालु हुनुपर्छ । जो समाजका कुन अवस्थाका व्यक्तिसँग कस्तो सम्बन्ध राखेर व्यवहार गर्ने भन्ने जान्छ र सोहीअनुसार व्यवहार गर्छ त्यही नै मतदाताको मन जित्न सक्षम हुन्छ । दुःखमा भाग्ने र सुखमा जाग्ने प्रवृत्ति भएको उम्मेदवार मतदाताको रोजाइमा पर्दैन । जनभावनाको कदर गर्न नसक्ने नजान्ने नेता जतिसुकै चिप्ला–चिल्ला कुरा वा भाषण गरे पनि उसको पछाडि कोही लाग्दैन । हरेक चिल्लावस्तुमा गोडा चिप्लन्छ भन्ने बोध हुन जरुरी छ । व्यवहार नै व्यक्तिको वास्तविक परिचय हो
सदाचार ः
भ्रष्टाचारको विपरीतार्थक शब्द हो सदाचार । राजनीतिक क्षेत्रको सबैभन्दा ठूलो दोष दुरगुणको रूपमा रहेको भ्रष्टाचारको लेस मात्र पनि गन्ध नभएको सदाचारी व्यक्तिले नै निःस्वार्थभावले जनसेवा गर्न सक्छ । भ्रष्टाचारमुक्त, इमानदार, स्वच्छ छवि भएको, उच्च नैतिकतायुक्त व्यक्ति नै जनप्रतिनिधिमा चयन गर्न योग्य हुन्छ । कहीँकतै भ्रष्टाचार नगर्ने इमानदार छविकै कारण व्यक्ति सर्वत्र (सबै क्षेत्रको) नेतृत्व तहमा पुग्न सफल बन्छन् । इमानदारिता एवं सच्चरित्रता विनाको विद्या वा उच्च शैक्षिक योग्यता पनि काम लाग्दैन । सदाचारी व्यक्ति नै आफ्नो कर्तव्य पूरा गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न समर्थ हुन्छ ।
दया, उदारता ः
अरूको दुःखप्रति दयाको भाव नभएको व्यक्ति असल हुन सक्दैन । जनताको दुःखपीडामा बेवास्ता गर्ने करुणाको भाव नभएको पत्थरको मन हुनेले केही गर्दैन । सबैलाई (पृथ्वीका प्राणी) जल बर्साउने बादल सधैँमाथि र केही नदिने समुद्र तल रहेझैँ दानी दयालु व्यक्ति सदा उच्च स्थान प्राप्त गर्छ । उदार भावनाले नै मानिसलाई माथि पु¥याउँछ । नदीले जल, वृक्षले फल आफ्ना लागि नभई अरूका लागि दिन्छन् । त्यसरी नै परोपकारका लागि राजनीतिमा जीवन समर्पित गर्ने व्यक्ति अरूको पुज्य बन्छ । नीति भन्छ, (आफूसँग केही छैन भने पनि तन, मन, वचनले सहानुभूति र सहास भए पनि दिनुपर्छ, जसबाट आत्मशक्ति र विश्वास प्राप्त भई अरूको दुःख हटाउन मद्दत पुग्छ तर यसोभन्दा झुठो आश्वसन र असत्य भाषण गर्नु उचित हुँदैन । रात्रिको अन्धकार हटाउन हजारौँ भोल्टको बिजुलीको कुरा गर्नुभन्दा एउटा सानो टुकी बाल्न सक्नु बढी प्रभावकारी र लाभदायक हुन्छ । प्रकृतिको स्वभावअनुसार पनि माथि हुन्छन् ।
शत्रु र मित्रलाई समान ठान्ने ः
यहाँ समान भन्नाले कसैप्रति पक्षपात नगरी सबैप्रति समदृष्टि राख्ने स्वभाव आवश्यक छ, नेता वा नेतृत्व लिने व्यक्तिमा भन्न खोजिएको हो । आफ्नो र अरूको नभनी भिन्न वा विरोधी विचार भएकालाई समेटेर लैजाने, खराबलाई पनि असलतर्फ प्रेरित गर्न सक्नेले नै समूह परिचालन गर्दै अगाडि बढ्न सक्षम हुन्छ । समभाव अर्थात् निष्पक्ष पक्षपातरहित व्यवहार गर्नु ठूलो व्यावहारिक धर्म मानिन्छ । नीतिको यस निर्देशनलाई गम्भीरतापूर्वक नलिई कृपावाद, नातावादको पक्षपोषण गरिँदाको परिणाम आज यत्रतत्र देख्न सकिन्छ । यहाँसम्म कि आज ठूला नेताबाट साना नेता समेत यस दोषबाट प्रताडित पीडित बनेको सुन्नमा आएको छ । यस्तो प्रवृत्तिगत दुरगुण भएका व्यक्तिलाई रोक्ने प्रयास गरिनु सचेत मतदाता कर्तव्य हो । भिजन
(दूर दृष्टि) विनाको नेता र सिजनविनाको खेती काम लाग्दैन भनिएकै छ ।
काम, क्रोध, लोभादि मुक्त ः
गीतामा यी तीनलाई नरकको द्वार भनिएको छ । नरक भनेको अज्ञान र विवेकहीन अवस्था हो, दुःख वा जेल हो । जो यिनको वशमा परेर कर्म गर्छ, त्यो नरकमा जाकिन्छ । ठूला पदमा पुगेका पनि लोभादिका वशमा परेर (भ्रष्टाचारी बनेर) जेलमा जाकिएको देखिएकै छ । राजनीति धन सङ्ग्रहका लागि नभई समाज सेवाका लागि हो । धन, मानादिको त्याग गर्ने, निष्ठावान् र प्रतिबद्ध नेता नै जनताको रोजाइमा परिरहन्छ । यिनको (काम क्रोधादि) प्रभावमा पर्नेले कसैको कल्याण गर्न सक्दैन । पद र पैसाको अहङ्कारले होइन विनयी र नम्र स्वभावले नै मान्छेलाई उच्च स्थानमा पु¥याइदिन्छ । काम भावको असर थाहा भएकै कुरा हो । विनम्रताबाट सबै सफलता सम्भव छ ।
विद्वान् वा शिक्षित ः
यहाँ विद्वान् वा शिक्षित भनेर पठमूर्खलाई सङ्केत गरिएको होइन । ज्ञान, सीप, विनय, चेतना भएको वा सामान्य शैक्षिक योग्यता भएको भन्ने बुझ्नुपर्छ । आजका पढेलेखेका विद्यावान् होइन हिन बनेका छन् । नैतिक मूल्य मान्यता छोड्दै छन् । विद्यागुणले युक्त व्यक्ति जनताको प्रतिनिधि बन्न बनाउन योग्य हुन्छ । विद्वान् व्यक्ति नै ज्ञानवान्, गुणवान् र चेतनशील बन्न सक्छ । आफ्नो क्षेत्रको आवश्यकता, जनताको चाहना र सम्भावना पहिचान गरेर स्पष्ट मार्गदर्शनका साथ विकास निर्माणका कार्य गर्न (प्रशासनिक कार्य गर्दै स्पष्ट मार्गदर्शन) व्यक्ति शिक्षित तथा अनुभवी हुन आवश्यक पर्छ ।
सत्यवादी (झुठको खेती नगर्ने) ः
छल गर्न सिपालु मान्छेलाई कसैले विश्वास गर्दैन । झुठो बोल्ने ,व्यवहार गर्ने व्यक्ति कसैको पनि विश्वासपात्र बन्न सक्दैन । झुठको खेती गर्नेले जनताको सेवा गर्न असम्भव छ । सत्यनिष्ठा र सत्यमा अडिग रहने कुशल नेता बन्ने भएकाले तिनलाई चुन्नु बुद्धिमानी हुन्छ । झुटो टिक्दैन सत्य डग्दैन भनिएकोले झुठो आश्वासनका भरमा विजयी बन्न कोही सक्दैन । छलकपटको परिणाम सधैँ दुःखदायी हुन्छ ।

प्रकाशित मिति: २०७४/७/२५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना