प्राचीन धार्मिक जीवन पद्धति

Dirgh raj prasaiदीर्घराज प्रसाई

 

 

भारतवर्षमा मुसलमान प्रभूत्व बढ्दो थियो । औरंगजेवको बढ्दो तुजुकबाट नेपाल तथा भारतका हिन्दुलाई त्रसित भइरहेको अवस्थामा वि.संं. १७२६ मा औरंगजेवले बनारसमा अवस्थित विश्वनाथको मन्दिर ध्वस्त बनाएका थिए । विश्वनाथको मन्दिर ध्वस्त भएको खबरले काठमाडौँका राजा प्रतापमल्ल पनि साहै्र चिन्तित भए । यस चिन्ताबाट आफू र यसक्षेत्रका हिन्दुलाई ढाडस दिलाउन प्रताप मल्लले रानीपोखरी निर्माण गरी बीचमा एक शिवालय स्थापित गरेर ‘विश्वनाथ कासी छोडी रानीपोखरीको तटमा रहने छन’् भनेर कविता लेखेका थिए– (गौतमवज्र बज्राचार्य, अभिलेख सङ्ग्रह) । यसले प्रत्येका हिन्दु आफ्नो अस्मिता बचाउन निष्ठावान् रहिरहन्छन् भन्ने बताउँछ । त्यसताका मुगल–सम्राज्य पूर्णिया जिल्लासम्म फैलिँदै आएको थियो । त्यसको उत्तरतर्फ हिन्दुपति सेनवंशी राजाहरूको राज्य, मोरङदेखि टिष्टासम्म र मकवानपुरसम्म जमेको थियो । सेनवंशी राज्यका यी सबै भूमि एघारौँ शताब्दीमा नान्यदेवले स्थापित गरेका राज्य थिए । मुसलमान आक्रमणबाट सिमरौनगढमा पराजित भई नान्यदेवका अन्तिम सन्तान हरिसिंहदेव देश छोडी वि.सं. १३८१ तिर काठमाडौँं आएका थिए । नान्यदेवको राज्य अनेकौँ साना रजौटामा विभाजित भएपछि, यी राज्य र पूर्वका पहाडमा समेत टिष्टासम्म सेनहरूले शासन गरी आएका थिए । पछि यी सबै हिन्दुराज्य पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण एकीकृत भएका थिए ।
सेनवंशी राजाहरूले विक्रम संवत् र नेपाली भाषालाई चलाएका अनेकौँ अभिलेख पाइन्छन् । सेनवंशी राजामध्ये हरिहर सेन एक प्रतापी राजा मानिन्छन् । यिनको प्रशस्ती थियो– ‘श्री महाराजधिराज पर्वतैकपाल हिन्दुपति राजराजेश्वर मकवानी कुलावंश श्री हरिहर इन्द्रदेव । ’ हिन्दुपतिको उपाधि क्रमशः उनका वंशले पनि ग्रहण गरे । हिन्दुपति सेनवंशी राजाहरूको हिन्दुत्वप्रतिको आस्थाबाट प्रभावित भई पछि रणबहादुर शाहले पनि आफ्नो प्रशस्तीमा ‘हिन्दुपति’ उल्लेख गरेका थिए । उता हिंसात्मक विधिबाट वि.सं. १७१५ मा औरंगजेव सिंहसानमा बसेदेखि नै हिन्दुप्रति नकारात्मक थिए । औरंगजेवले वि.संं. १७२६ मा भत्काएको विश्वनाथको मन्दिरको जिर्णोद्वार नभइरहेको अवस्थामै वि.सं. १८०० मा पृथ्वीनारायण शाहबाट बनारसको भ्रमण हुँदा विश्वनाथ मन्दिरको बीभत्स दृश्य देखेर निकै अत्यन्त दुखित भए । यसबाट उनलाई हिन्दु अस्मिता र हिन्दु राज्यको संरक्षण गर्नुपर्ने आवश्यकताको प्रेरणा मिलेको थियो । अङ्ग्रेजी लेखक हेमिल्टनको भनाइअनुसार– हरिहर सेनले काशीको किनारै किनार उत्तरबाट बढ्दै गङ्गाको तटमा पुगेर मुगल–सम्राज्यको एउटा भाग जिती गङ्गासम्म आफ्नो राज्य विस्तार गर्दा गौरवान्वित भएको कुरा उल्लेख गरेर भारतमा शिवाजीले हिन्दु स्वतन्त्रताको लागि जुन बहादुरी देखाएका थिए हरिहर सेनले पनि त्यसरी नै शिवाजीसँग आफूलाई दाँजेका थिए ।
पृथ्वीनारायण शाहले हिमवत्खण्डको यो हिन्दुस्थललाई ‘असली हिन्दुस्थान’ भनेका थिए । यो क्षेत्रमा गोर्खा लगायत, बाइसी, चौबीसी, कास्की, पाल्पा, मकवानपुर, कान्तिपुर, ललितपुर, भक्तपुर, मगवानपुर लगायत ५४ भन्दा बढी स–साना हिन्दुराज्यलाई एकीकरण भई हिन्दु अधिराज्यको स्थापना भएको हो । यसबारेमा इतिहासकार सूर्यविक्रम ज्ञवाली लेख्छन्– ‘पृथ्वीनारायण शाहले हिन्दुस्थाना भनेको हिन्दुको देशलाई बुझाउँछ । सार्वभौमसत्ता सम्पन्न हिन्दुराज्यको गौरव उनको एकीकृत नेपाल अधिराज्य नै थियो । जङ्गबहादुरको समयमा फ्रान्सका विद्वान् सिल्भा लेभीले फ्रेन्च भाषामा ‘नेपाल हिन्दु अधिराज्यको इतिहास’ नामक पुस्तक लेखेका थिए । उक्त पुस्तकलाई फ्रान्समा राजदूत डिल्लीराज उप्रेतीले दुई खण्डमा नेपालीमा अनुवाद गरेर प्रकाशित गरेका थिए । हिमवत्खण्ड हिन्दुको बाहुल्य भएको क्षेत्र भएको र यसक्षेत्रका अधिकांश राज्यमा नेपाली भाषा पनि प्रचलनमा आइसकेकाले नेपालको एकीकरण गर्नमा पृथ्वीनारायण शाहलाई सजिलो भएको थियो । दोस्रो विश्व युद्धपछि इजरायल विश्वमा एक मात्र यहुदी राज्य घोषित भएपछि संसारमा कतिपय राष्ट्र इसाई र मुस्लिम राष्ट्र घोषित भइसकेका हुँदा नेपालको संविधानमा पनि राजा महेन्द्रबाट २०१९ सालको संविधानमा हिन्दुराज्य घोषित गरिएको हो । ’
नेपालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सफल बनाउन विक्रम संवत् १८०० मा बनारसको भ्रमण गरेको बेलामा बनारसबाटै हतियार बनाउने कालिगढ र मुसलमान योद्धा साथमा लिएर आएका थिए र मुसलमानबाट पनि नेपालको एकीकरणमा साथ पुगेकाले पृथ्वीनारायण शाहकै पालादेखि हिन्दु तथा मुसलमानबीचमा आआफ्नो धर्म मान्ने र एकले अर्कोको सम्मान गर्ने परम्परा स्थापित छ । हिन्दुको पहिचान निधारमा टीका ग्रहण गर्नु हो । दशैँ र तिहारले टीकाको महिमा कस्तो रहेछ भन्ने कुराको प्रत्यक्ष प्रमाण दशैँ र तिहारले दिन्छ । कुनै पनि हिन्दु मन्दिर वा धाममा देवी–देवताको दर्शन, पूजाआजा पछि पुजारी वा आफैँबाट निधारमा टीका ग्रहण गर्ने गरिन्छ । टीका हिन्दुको पहिचान हो । हिन्दु तथा बौद्धबाहेक क्रिश्चियन टीका ग्रहण गर्दैनन् । उनीहरू धर्मपरिवर्तन गराएर यो हिन्दुस्थलको अस्मिता मेट्न चहान्छन् ।
हिन्दुधर्म संसारको सर्वाधिक उदार धर्म हो भनेर जर्मन विद्वान् मेक्समुलरले हिन्दुग्रन्थ अध्ययन गरेर विश्वभरमा रसपान गराइदिएका थिए । दोस्रो विश्व युद्धदेखि विश्वमा एकमात्र यहुदी राष्ट्रको रूपमा इजरायल बनेकोमा त्यसको हामी आधार गर्छौं । दोस्रो विश्व युद्धको समयमा यहुदी वैज्ञानिक आइन्स्टाइनले अमेरिकी राष्ट्रपति रुजवेल्टलाई अणुवम बारेमा जानकारी गराएकाले उनको अनुसन्धान अनुरूप जापानको नागाशाकी र हिरोसीमामा अणुबमले आक्रमण गरेपछि विश्वमा आफ्नो दिग्विजय भएको ठानेर आइन्स्टाइनसँग अमेरिकी राष्ट्रपति खुसी भएर आइन्स्टाइनलाई के चाहान्छौँ भन्दा ‘मलाई एउटा यहुदी राष्ट्र चाहिन्छ’ भनेपछि दोस्रो विश्व युद्धपछि इजरायललाई यहुँदी राष्ट्र घोषणा भएको हो । यहुदी र मुस्लिम राष्ट्रमा जस्तो कट्टरता यो हिन्दुस्थलमा छैन । नेपाल इस्लामिक तथा इसाई राष्ट्रलगायत धर्मनिरपेक्ष भनिएका राष्ट्रभन्दा उदार एवं सहिष्णु छ, अन्य धर्मप्रति आक्रामक छैन । राजदरबार अगाडि ठुल्ठूला मस्जिदको निर्माणमा यहाँका हिन्दु राजाले स्वीकृति दिएर संरक्षण दिलाउनु यसको ताजा उदाहरण हो ।
वैदिक हिन्दुको प्रभावबाटै मुस्लिम र क्रिश्चियन धर्मको प्रादुर्भाव भएको हो । यसबारेमा खोजकर्ता विद्वान् डा. स्वामी प्रपन्नाचार्यले पनि लेखेका छन्– ‘हजरत ईशाको जन्म भारतको हिन्दु परिवारमा भएको हो । फ्लोरेन्समा ईशाकाकी आमा मेरीको मूर्ति राखिएको छ । मेक्मिलन गिर्जाघरमा पनि मेरीयमको त्यस्तै मूर्ति राखिएको छ । ईशाकी आमाको मूर्ति हिन्दु रानी–महारानी जस्तो साडी–गुनिउँ लगाएको र निधारमा हिन्दुले लगाउने टीका लगाएको छ । ’ ‘गड इज् लाइट’ भन्ने परमेश्वर शिव हो, ज्योति हो जुन क्रिश्चियनहरूले हिन्दुबाट लिएका हुन् । भविष्य पुराणको प्रसर्ग सम्पादनमा संस्कृत भाषामा समेत उल्लेख छ– ‘ईशापुत्रञ्च मा विद्धि कुमारी गर्भसम्भवम्’ (अनुवाद) अर्थात् जिसस्की आमाले विवाहभन्दा अगाडि गर्भधारणा गरेको थियो । चर्चमा पादरी, पाष्टरले जन्म मृत्यु, न्वारन, विवाहको रीति हिन्दु परम्परा जस्तै छ । इजरायलमा यहुदीले राष्ट्रिय झण्डा र चिह्नमा हिन्दु भगवती सरस्वतीको षडकोणको चिह्न राखेका छन् । यस्तै मक्का मदीनाको कावामा शिवजीको प्रकाशमय मूर्ति देख्न सकिन्छ । ॐ कार जगत नै वैदिक हिन्दु पञ्चदेवका उपाशक हुन् । हामी हिन्दु तथा बौद्धको चासो समान छ, सम्पूर्ण विश्वको कल्याण होस् । यसका लागि वैदिक ऋृषिले संसारका अनेकौँ भूभागको पैदल भ्रमण गरेर वैदिक सभ्यता र मानव जीवन पद्धतिको प्रचार गरे । ऋषिहरू भन्थे– ‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात् विश्वलाई सभ्य बनाऔँ भन्ने नीतिले विश्वभर वैदिक हिन्दु भावनाले मार्गदर्शन गर्न सकेको थियो ।
यो हिन्दु तथा बौद्ध भूमिलाई समृद्ध र आस्थाको तीर्थस्थल तथा पर्यटक क्षेत्र बनाउन सकिन्छ । संसारमा सबै सुखी रहुन्, संसारमा कोही पनि रोगी र दुःखि नहोऊन् । तेरो र मेरो भन्ने भावना कसैमा नरहोस् । सबै उदार हऊन् । विश्वका सम्पूर्ण मानव हाम्रा आफन्त हुन्– ‘वशुदैव कुटुम्बकम्’ भन्ने सिद्धान्त हिन्दुवादको हो । परिस्थितिको अध्ययन नै नगरी नेपालमा नयाँको नाममा पुराना कुरालाई विस्थापित गर्न खोजिएको छ, जसका कारण मुलुकमा केही असहज स्थितिको सिर्जना समेत भएको छ । नेपालमा विभिन्न जाति र हिन्दु, वैदिक र बौद्ध तथा अन्यको समष्टिगत एकताबाट साझा सांस्कृतिक राष्ट्रियता बनेको छ । नेपालको एकीकरण पछि पृथ्वीनारायण शाहलगायत अनेकौँ जातजातिको संयुक्त सहभागिताबाट सम्पन्न राष्ट्रिय एकीकरणको उपहास गर्ने काम कतैबाट हुनुहुन्न ।

प्रकाशित मिति: २०७४/७/२५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना