यस वर्षका नोबेल पुरस्कार विजेता

sarashoti dhunganaसरस्वती ढुंगाना

 

प्रत्येक वर्ष डिसेम्वर १० मा विश्व प्रसिद्ध नोबेल पुरस्कार वितरण गरिन्छ । नोबेल पुरस्कार छनौट समितिले विभिन्न मुलुकका ११ व्यक्ति र एउटा संस्थालाई यो वर्ष नोबेल पुरस्कार दिने घोषणा गरिसकेको छ । नर्वेली बैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापित विश्वप्रसिद्ध गौरवशाली पुरस्कार प्राप्त गर्ने यस वर्षका भाग्यमानी व्यक्तिहरू निम्नानुसार छन् ।
साहित्य ः– साहित्यतर्फ यस वर्षको नोबेल पुरस्कार जापानी मूलका बेलायती लेखक बेलायतका काजुओ इसिगुरोलाई प्रदान गरिएको छ । । स्वीडिस एकेडेमीले उपन्यासकार इसिगुरोको प्रशंसा गर्दै उनले आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको उल्लेख गरेको छ ।
साहित्यकार इसिगुरोका सबैभन्दा चर्चित उपन्यास द रिमेन्स अफ द डे र नेभर लेट मि गो मा आधारित भएर चलचित्र पनि बनेका छन् । ६२ वर्षीय लेखक इसिगुरोका आठभन्दा बढी पुस्तक प्रकाशित छन् भने ती ४० भन्दा बढी भाषामा अनुवाद गरिएका पनि छन् । सन् १९५४ मा जापानको नागासाकीमा जन्मिएर उनी आफ्ना आमाबाबुसँग नै बेलायत पुगेका थिए ।
अर्थशास्त्रः– यस वर्षको अर्थशास्त्रमा नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचर्ड एस. थेलरलाई प्रदान गर्ने निर्णय गरिएको छ । व्यवहारवादी अर्थशास्त्रको प्रतिपादन गरेबापत यस वर्षको पुरस्कार थेलरलाई दिने निर्णय नोबेल एकेडेमीले गरेको हो ।
अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि उनलाई पुरस्कृत गरिएको हो । सीमित चेतना, सामाजिक प्राथमिकता तथा आत्मसंयमतामा कमीजस्ता मानव व्यवहारले कसरी व्यक्तिगत निर्णयहरू तथा बजारका गतिबिधिलाई प्रभावित तुल्याउँछन् भन्ने विषयमा उनले खोज गरेका थिए । अन्ततः उनको यस खोजलाई नै यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त भयो । थेलर युनिभर्सिटी अफ सिकागोका अर्थशास्त्रका प्राध्यापक हुन् । यस पुरस्कारको राशि ११ लाख अमेरिकी डलर रहेको छ ।
शान्ति ः– यस वर्षको नोबेल शान्ति पुरस्कार परमाणु अस्त्र निर्मूल पार्न काम गर्दै आएको अन्तर्राष्ट्रिय समूह आइक्यानलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले परमाणु अस्त्रमाथि प्रतिबन्ध लगाउने सन्धि ल्याउन गरेको महत्वपूर्ण प्रयासका लागि संस्थालाई सो पुरस्कार दिइएको जनाएको छ । सयौँ गैरसरकारी संस्था मिलेर बनेको आइक्यान दश वर्ष पुरानो संस्था हो । यसको मुख्यालय स्विट्जरल्याण्डको जेनेभामा छ ।
गत जुलाईमा एक सय २२ राष्ट्रले सबै परमाणु अस्त्र प्रतिबन्ध गर्नका लागि बनाइएको संयुक्त राष्ट्रसंघको सन्धिमा हस्ताक्षर गरेका थिए । तर बेलायत र अमेरिकालगायतका अन्य नौवटा परमाणु शक्ति सम्पन्न राष्ट्रले त्यसमा हस्ताक्षर गरेका थिएनन् ।
चिकित्साशास्त्रः– सन् २०१७ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय गरिएको छ । वैज्ञानिकहरू जेफरी सी हल, माइकल रोजब्यास र माइकल डब्ल्यु याङलाई छनौट गरिएको हो । उनीहरूले मानव शरीरले बिहानदेखि रातिसम्म वा विभिन्न समयमा देखाउने प्रतिक्रियाका बारेमा अनुसन्धान गरेका थिए । मानिसको शरीरले पनि बिहान घाम उदाउँदा, दिउँसो र साँझ अथवा घाम अस्ताउँदा के कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा उनीहरूले संयुक्तरूपमा अनुसन्धान गरेकाले उक्त पुरस्कार दिने निर्णय गरिएको हो ।
रसायनशास्त्रः– रसायनशास्त्र विधाको यस वर्षको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने निर्णय भएको छ । रसायनशास्त्र विधामा निरन्तर अनुसन्धान र नवीन आविष्कारमा समर्पित वैज्ञानिकहरू जाकेस डुबोसेट, जोएसिम फ्रयाङ्क र रिचर्ड हेन्डर्सनलाई संयुक्त रूपमा प्रदान गरिने निर्णय गरिएको हो । पुरस्कारको राशि ११ लाख अमेरिकी डलर रहेको छ । शरीरका अति सूक्ष्म र जमेका जीवाणु पत्ता लगाउने तथा तिनीहरूका गतिविधि अवलोकन गर्ने इमेजिङ टाइनी एनड फ्रोजन मोलिक्युल्स अत्याधुनिक प्रविधियुक्त नवीनतम् वैज्ञानिक उपकरण कायो इलेक्ट्रोन माइस्क्रोस्कोपीको आविष्कार र निर्माण गरेवापत् उनीहरूलाई यो पुरस्कार प्रदान गरिएको हो ।
यस नवीनतम् प्रविधिको प्रयोगबाट विद्युतीय प्रकाश इलेक्ट्रोन बिमको सहायताले शरीरमा अति सूक्ष्म र जमेका जीवाणु बसेका कोशिकाको फोटो खिच्न अनुसन्धानकर्तालाई सहज हुने नोबेल केमेस्ट्री कमिटीले जनाएको छ । शरीरको कोशिकामा रहेका हानिकारक भाइरस, प्रोटिनलगायत अति सूक्ष्म जीवाणु र तत्वको विस्तृत नालीबेली ज्ञात गराउन यो प्रविधि सहयोगी हुनेछ ।
भौतिकशास्त्रः– यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार रेनर विस, बारी सी. बारिस र किप एस थोर्नलाई दिइने घोषणा रोयल एकेडेमी अफ साइन्सेस इन स्टकहोमले जनाएको छ ।
म्यासाच्यृसेट इन्सिच्यूट अफ टेक्नोलोजीका विसले आधा र क्यालिफोर्निया इन्स्टिच्युटका बारिस र थोर्नलाई आधा पुरस्कार संयुक्त रूपमा प्रदान गरिने निर्णायक समितिले घोषणा गरिएको छ । उनीहरूले गुरुत्वाकर्षण तरंगसम्बन्धी अध्ययन गर्ने लेजर इन्टरभेटरी डिटेक्टर नामक उपकरण निर्माण गरे बापत उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । गुरुत्वाकर्षण तरंग पहिलोपटक पत्ता लगाउन गरेको भूमिकाका लागि यो पुरस्कार दिइने निर्णय गरिएको हो ।

 

प्रकाशित मिति: २०७४/७/२५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना