तुलना नेपाल र विश्वका सङ्घीय शासन प्रणाली

prem raj silwalप्रेमराज सिलवाल

 


वि.सं. २०७२ साल असोज ३ गते संविधानसभा मार्फत नेपाललाई इतिहासमा पहिलो पटक लोकतान्त्रिक सङ्घीय गणतन्त्रको घोषणा गरियो । संयुक्त राष्ट्रसङ्घका १९२ सदस्य राष्ट्रमध्ये नेपालसहित केही मुलुकले  सङ्घीय राज्य व्यवस्था प्रणाली अपनाएका छन् । विश्वमा सङ्घीयता पनि थरिथरिका छन्, आफ्नाआफ्नो मुलुक सुहाउँदो सङ्घीयता उनीहरूको प्राथमिकतामा छन् । स्वीट्जरल्याण्डको सङ्घीय प्रणाली अमेरिकाको भन्दा फरक छ भने भारतको सङ्घीयता र नर्वेको सङ्घीयता पनि मेल खाँदैनन् । स्वीट्जरल्याण्डमा केन्द्रदेखि स्थानीय तहसम्म समानुपातिक निर्वाचन प्रणाली अपनाएको सङ्घीयता छ भने अमेरिका तथा भारतमा जस्तो पूर्ण गणतान्त्रिक सङ्घीयताको प्रचलन छ । अस्ट्रेलिया र युरोपको नर्वेको जस्तो संवैधानिक राजतन्त्र सहितको सङ्घीयता, संयुक्त अरब इमिरेटस्को जस्तो सक्रिय राजतन्त्रसहितको सङ्घीयता जस्ता विभिन्न मोडेल रहेका छन् । विश्वमा प्रचलनमा रहेका  सङ्घीयाको केही मोडेल, विशेषता, सफलता र असफलताबारे यहाँ केही चर्चा गरिएको छ ।

विश्वका विभिन्न सङ्घीय शासन प्रणाली
सङ्घीय शासन भएका देशमा गणतान्त्रिक मुलुक स्वीट्जरल्याण्ड लाई उत्तम नमुनाको रूपमा लिइन्छ । दुवै विश्व युद्धमा कुनै पनि समूहबाट युद्धमा भाग नलिएको सिधा प्रजातन्त्र, विधिको शासन, मानवअधिकार, नागरिक समाज, प्रेस स्वतन्त्रता, पारदर्शिता, सुशासन जस्ता आधुनिक लोकतन्त्रका मान्यतामा पूर्ण विश्वास गर्ने उक्त देशले सबै जनताको शासनमा पूर्ण प्रतिनिधित्व गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली समेत लागू गरेको छ । विभिन्न २७ क्यान्टोनहरूमा विभाजित शासनमा निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउनेसम्मको अधिकार जनतालाई रहेको छ । विकास तथा समृद्धिका दृष्टिकोणले समेत यो मुलुक निकै उन्नत मानिन्छ ।
अर्जेन्टिना प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको शासन भएको मुलुक हो । राष्ट्रपति संसद््प्रति जवाफदेही बन्नु पर्दैन, ऊनी संविधान अनुसार आफ्ना कार्य गर्न पूर्णतः स्वतन्त्र रहन्छन् । २३ सङ्घीय प्रदेश र एक सङ्घीय  शहर ब्यूनर्स आयर्स रहेको छ ।
अस्ट्रेलिया संवैधानिक राजतन्त्र भएको अलग्गै महादेशको मुलुक हो । ( बेलायतका राजा वा रानी ) आलंकारिक राजतन्त्र भएकोले शासनमा भने कुनै हस्तक्षेप गर्दैनन् र संविधान अनुसार निर्वाचित संसद््ले बहुमतको आधारमा प्रधानमन्त्रीको चयन गर्र्ने गर्दछ । भूगोलमा ठूलो राष्ट्र भए पनि विकास, उन्नत्ति, सुशासन, लोकतन्त्र, विधिको शासन, मानवअधिकार जस्ता कुरामा यो मुलुक अत्यन्त सजग देखिन्छ । शिक्षा, पर्यटन, कृषि, उद्योगका कारण मुलुक धनी रहेको छ । यहाँ छ राज्य र तीन भौगोलिक क्षेत्र रहेका छन् । उता सङ्घीय प्रणाली अपनाएको युरोपेली राष्ट्र अस्ट्रियामा निर्वाचित राष्ट्रपति रहने भए पनि कार्यकारी अधिकार भने प्रधानमन्त्रीमा रहेको छ । सेरेमोनियल राष्ट्रपतिले संविधान बमोजिम बाहेक शासनमा कुनै हस्तक्षेप गर्दैनन् । प्रधानमन्त्री संसद्को बहुमतबाट चयन हुन्छ ।  
बेल्जियम मा संवैधानिक राजतन्त्र रहेको छ भने राजा आलंकारिक रहेका कारण प्रधानमन्त्रीको चयन निर्वाचित संसद्को बहुमतबाट चयन गरिन्छ ।   यहाँ भूगोलको आधारमा तीन क्षेत्र र भाषाको आधारमा तीन क्षेत्रको विभाजन गरिएको सङ्घीय व्यवस्था लागू गरिएको छ । त्यस्तै सङ्घीय शासन भएको बोस्निया हर्जगोभिना गणतन्त्र भए पनि राष्ट्रपति आलंकारिक हुन्छन् र कार्यकारी प्रधानमन्त्री संसद्को विश्वासबाट चयन हुन्छन् । सानो मुलुक भएकाले यहाँ दुई स्थानीय निकाय र एक जिल्लाको सङ्घीय शासन रहेको छ ।
गणतन्त्रात्मक मुलुक ब्राजिल   भूगोलमा ठूलो भएका कारण त्यहाँ २६ राज्य र एक जिल्लाको सङ्घीय शासन रहेको छ ।  
उत्तर अमेरिकाको समृद्ध मुलुक क्यानडा मा पनि बेलायतकै राजा वा रानी आलंकारिक प्रमुखका हैसियतमा हुन्छन् ।  निर्वाचित संसद्बाट विश्वासप्राप्त प्रधानमन्त्री नै कार्यकारी पदमा रहने गरेका छन् । १० प्रदेश र तीन भूगोलको सङ्घीय शासनमा यो मुलुक चलेको छ ।  
 इथियोपिया गणतन्त्र भएको मुलुक भए पनि गरिबी, चरम द्वन्द्व, अशिक्षा, भोकमरी जस्ता समस्याले आक्रान्त देखिन्छ । यस मुलुकमा नौं भौगोलिक क्षेत्र र दुईवटा विशेष शहरलाई सङ्घीय शासनले विभाजित गरेको छ ।
युरोपको सबैभन्दा ठूलो, विश्वको दर्शनको इतिहासमा सधैँ नाम आउने, दोस्रो विश्व युद्धमा आक्रामक नीति लिए पनि पराजय भोग्नु परेको मुुलुक जर्मनी १६ सङ्घीय राज्यमा विभाजित छ । उद्योग, पर्यटन तथा समग्र विकास तथा सुशासनमा अग्रणी मुलुक जर्मन गणतन्त्र भए पनि राष्ट्र प्रमुख आलंकारिक हुन्छन् भने संसद्बाट निर्वाचित चान्सलर कार्यकारी भूमिकामा हुन्छन् ।
भारत सन् १९४७ देखि गणतन्त्र भएको मुलुक हो । उसले पूर्ण सङ्घीयता अपनाएको छ । संसदीय प्रजातन्त्र मान्दै आएको भारतीय लोकसभाका ५४३ सदस्य मध्येबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीले शासन सञ्चालन गर्ने गर्दछन् भने सङ्घीय संसद् र प्रान्तीयसभाका सदस्यले राष्ट्रपति चयन गर्दछन् जो संवैधानिक हुन्छन् । सवाअर्ब  जनसंख्या तथा भूगोल र जनसंख्यामा सिङ्गो युरोप जत्रो ठूलो भारत शुरुमा जम्मा ११ राज्यको सङ्घीयता थियो भने हाल ३१ राज्य र ७ संयुक्त भूभागको देश भएको छ ।
त्यस्तै सन् २००९ देखि हिंस्रक द्वन्द्वमा फसेको मुलुक इराक तेलको भण्डार मानिएको छ । तर अमेरिकाले तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई मारी शासन आफ्नो हातमा लिएपछि राजनीतिक र धार्मिक हिंसाका कारण लाखौंलाखले ज्यान गुमाइसकेका छन् । सङ्घीय शासनमा प्रजातन्त्र देखाइएको भए पनि जनताले कुनै सुरक्षा र सुविधाको अनुभूति गर्न पाएका छैनन् । यो मुलुक १८ गोभनोरेटस् र एक भौगोलिक क्षेत्र कुर्दिस्तानमा शासन विभाजित रहेको छ ।
 मलेसिया उद्योग, पर्यटन, कृषि जस्ता पूर्वाधारमा लगानी गरी उच्च आर्थिक हैसियत बनाएको कार्यकारी राष्ट्रपति भएको अर्को सङ्घीय गणतान्त्रिक मुलुक हो । १३ राज्य र तीन सङ्घीय भूभागमा विभाजित मलेसिया राजतन्त्रात्मक मुलुक हो ।  अर्काे गणतान्त्रिक कार्यकारी राष्ट्रपति भएको सङ्घीय मुलुक मेक्सिको हो ।   भूगोलमा पनि ठूलो भएका कारण ३१ राज्य र एक सङ्घीय जिल्ला मेक्सिको शहरको सङ्घीयता त्यहाँ देखिन्छ ।
 नाइजेरिया अफ्रिकाको ठूला देश मध्येमा पर्ने मुुलुक हो । राजनीतिक द्वन्द्व, गरिबी, अशिक्षा, भोकमरी जस्ता समस्याबाट ग्रस्त यो सङ्घीय मुलुकमा ३७ राज्य र एक सङ्घीय भूभाग सङ्घीय राजधानी रहेका छन् ।
पाकिस्तान सन् १९४७ मा भारतबाट अलग भई बनेको इस्लामिक राष्ट्र हो । इतिहासदेखि नै राजनीतिक द्वन्द्व, कमजोर गणतान्त्रिक प्रजातन्त्र, सेनाको सत्तामाथि सधैँजसो हस्तक्षेप, हत्या र हिंसा, आतङ्कारीको आश्रयस्थल, गरिबी, धार्मिक अन्धविश्वास तथा अतिवाद जस्ता समस्याबाट आक्रान्त भएको मुलुकको परिचय यसले बनाएको छ । संसद्बाट निर्वाचित सेरेमोनियल राष्ट्रपति र संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी पाकिस्तानमा चार प्रदेश र दुई स्वायत्त क्षेत्र र दुई भूभाग रहेका छन् ।
विश्वकै  ठूलो मुलुक तथा शक्तिशाली मुलुक रुस  संयुक्त राष्ट्रसङ्घमा भिटो प्रयोग गर्ने पाँच स्थायी मुलुक मध्येको एक हो । सङ्घीय शासन प्रणाली लागू भएको यस मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था छ भने ४६ ओब्लेस, २२ गणराज्य, नौ किरिस, चार स्वायत्त ओकुर्ग, तीन सङ्घीय राज्य र एक स्वायत्त ओब्लेल्र्स रहेका छन् ।
गरिबी, अस्थिरता, भोकमरी, धार्मिक अन्धविश्वासको मुलुक दक्षिणी सुडानको सङ्घीयतामा १० राज्य रहेका छन् ।   त्यस्तै अफ्रिकी मुलुक सुडान अर्काे चरम द्वन्द्वग्रस्त, हिंसा, गरिबी भएको गणतान्त्रिक मुलुक हो जहाँ १७ सङ्घीय गणराज्य रहेका छन् ।   सक्रिय राजतन्त्र भएको संयुक्त अरब इमिरेट्स सात इमिरेट्स रहेका छन् । समुन्द्री पर्यटन, उद्योग आदिका कारण सानो मुलुक भएर पनि विकसित छ ।
 सन् १७७६ मा स्वतन्त्रता पाएको विश्वको शक्तिशाली मुलुक संयुक्त राज्य अमेरिकामा शुरुमा १३ राज्य रहेकोमा हाल ५० राज्य तथा एक विशेष भूभाग रहेको छ । राज्य आफैले पनि आफ्नो कानुन बनाउने अधिकार भएको अमेरिकामा जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति रहन्छन् । उनलाई संसद्को आदेश नमानेर शासन गर्नेसम्मको अधिकार रहेको हुन्छ । सङ्घीयतामा पनि पूर्ण सङ्घीयता भएको अमेरिकामा एकसङ्घीय जिल्ला कोलम्बिया समेत रहेको छ ।
तेल भण्डारको देश भनेर चिनिने भेनेजुएला गणतान्त्रिक मुलुक भए पनि अमेरिकामा जस्तो राष्ट्रपतिलाई शासनको अधिकार छैन् । संसद् शक्तिशाली रहेको छ र प्रधानमन्त्री संसद्को विश्वासबाट चयन हुन्छ । विश्वमा हाल तेलको मूल्यमा चरम गिरावट आएका कारण बेरोजगारी, गरिबी, राजनीतिक द्वन्द्व झेल्दै आएको भेनेजुएलामा हालैका दिनमा राजनीतिक द्वन्द्व थप चर्किएको देखिन्छ । यहाँको सङ्घीय प्रणाली अन्तर्गत २३ राज्य, एक राजधानी जिल्ला भेनेजुएलामा देशलाई विभक्त गरिएको छ । संयुक्त अधिराज्य बेलायत मा भूगोलको हिसाबले चार  क्षेत्र राज्य रहेका छन्, जसमा आफ्नै प्रकारका कानुन लागू गरिएका छन् ।

नेपालको सङ्घीयता र तुलना
संविधानको भाग ७ मा सङ्घीय कार्यपालिका र भाग ८ मा सङ्घीय व्यवस्थापिकाको व्यवस्था गरिएको छ । संविधान अनुसार संसद्को बहुमतबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद्को बहुमतबाटै निर्वाचित संवैधानिक राष्ट्रपति रहने व्यवस्था गरिएको छ । सङ्घ, प्रदेश तथा स्थानीय तहसहित सात प्रदेशको सङ्घीय शासन संविधानमा उल्लेख गरिएका छन् । भारतमा जस्तै संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री रहेका छन् । तीन तहको निर्वाचित सङ्घ, प्रदेश र स्थानीय तहलाई संविधानले अधिकार दिएको छ । दुई करोड ८४ लाख मात्र जनता पुगेको देशमा सात प्रदेशको व्यवस्था गरिएको छ  कतिपय मुलुकमा जस्तो संसद्बाट निर्वाचित राष्ट्रपति पूर्ण सेरेमोनियल छैनन्, संवैधानिक छन् ।
सङ्घीय राज्यप्रणाली अवलम्बन गरेर कार्यकारी राष्ट्रपतीय शासन भएका देशहरूमा अमेरिका, अफगानिस्तान, अंगोला, अर्जेन्टिना, बोलिभिया, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, नाइजेरिया, पाराग्वे, फिलिपिन्स, सेचिलिस, सियेरा लियोन, सोमालिया, दक्षिणी सुडान, तुर्कमिनिस्तान, उरुग्वे, भेनेजुएला, जाम्बिया, जिम्बाबे आदि रहेका छन् । त्यसैगरी प्रधानमन्त्री कार्यकारी भएका देशहरूमा बेलारुस, बेनिन, भारत, क्यामरुन, सेन्ट्रल अफ्रिका रिपब्लिकन, चाड, टिवली, गावान, गुइना, इक्वेइटेरियल गुइना, आइवेरी कोष्ट, काजाकिस्तान, दक्षिण कोरिया, रुवाण्डा, सुडान, तान्जानिया, टोटो, युगाण्डा, उज्वेकिस्तान रहेका छन् । युक्रेनमा भने राष्ट्रपति कार्यकारी भने पनि प्रधानमन्त्रीले नै शासन सत्ताको कार्य गर्ने गर्दछन् ।

निष्कर्ष
विश्वको राजनीतिक इतिहासमा सङ्घीय शासन राजतन्त्रात्मक, एकात्मक र संसदीय शासनको तुलनामा कान्छो शासन व्यवस्था हो । नेपालको सङ्घीयता त्यसमा पनि सबैभन्दा कान्छो हो । संविधानले सात प्रदेशसहितको सङ्घीय शासन व्यवस्था उल्लेख गरेको भए पनि जाति, भाषा, भूगोल, क्षेत्र जस्ता विषय प्रदेशसभाबाट टुङ्गो लगाउनु पर्ने कुराहरू लागू गर्दै जाँदा आइपर्ने राजनीतिक अप्ठेरालाई हल गनु पर्ने देखिन्छ । विश्वको सङ्घीयताको अनुभव हेर्दा समृद्धिको सहायक यो शासन व्यवस्था अचुक हुने कुनै ग्यारेन्टी छैन् । नर्वे जस्ता देशमा राजतन्त्र सहितको सङ्घीयता रहेको छ, जहाँ सन् २०१२ मा एक सय वर्षमा बल्ल संविधानको संशोधन भएको भए पनि कुनै राजनीतिक द्वन्द्व छैन्, बरु राष्ट्र विकसित रहेको छ । अर्कोतिर सङ्घीय शासन प्रणाली अपनाइरहेका सुडान, दक्षिणी सुडान, नाइजेरिया, इथियोपिया जस्ता देश सबै दृष्टिले तन्नम भइसकेका छन् । त्यसैले सङ्घीय शासन प्रणालीबाट जादुले छुमन्तर गरे जस्तो गरेर सबै समस्याको हल हुँदैनन् । यो त मुलुकको दलका प्रतिबद्धता, राजनीतिक संस्कार, जनताका आचरण जस्ता विषयहरूमा निर्भर हुने कुरा हुन् ।

 

 प्रकाशित मिति: २०७४/७/२५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना