ऊर्जाको स्रोत र व्यवस्थापन


          
kamal rijalकमल रिजाल

 

वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार भुवन भाष्कर सूर्य नारायणको स्थान प्रत्यक्ष देवताको पङ्क्तिमा रहँदै आएको छ ।  सूर्यकै कारण प्राकृतिक शक्ति सन्तुलित भई सांसारिक गतिविधि व्यवस्थित हुँदै आएको मात्र छैन दिक् काल र निमित्त (मूल स्रोत) को व्यवस्थापनमा समेत उनकै विशेष भूमिका रहँदै आएको छ ।  सारा संसारको उत्पत्तिकर्ता पनि उनै मानिएका छन्  र पालनकर्ता पनि उनी नै ठानिएका छन् ।  अनि नवीकरणीय प्रक्रियाको माध्यमबाट तिनलाई नित्य नवीनतम रूप दिने कार्यमा पनि उनी नै अग्रसर हुँदै आएका छन् ।  वेदले उनलाई संसारको केन्द्र वा आत्मा पनि भनेको छ (सूर्य आत्मा जगतस्तस्थुषश्च ऋग्वेद १ ।  ११५ ।  १) र समग्र विश्व–ब्रह्माण्डको कणकणमा विद्यमान सर्वव्यापी परमात्मा तìवको रूपमा उभ्याउने प्रयास पनि गरेको छ ।  (ऋग्वेद ८ ।  १०१ ।  १२) यो खुशीको कुरा हो कि हाल आएर आधुनिक वैज्ञानिकहरूले पनि सूर्यलाई संसारको केन्द्र मानेर उनको विशेषता व्याख्यान गर्न थालेका छन् तर त्यो भन्दा पनि खुशीको कुरा त के भने हाम्रा प्राचीन ऋषिमुनिले वैदिक ग्रन्थहरूमार्फत् हजारौँ वर्षपूर्व नै त्यसको छिनोफानो गरिसकेका छन् वा थिए ।  
पौराणिक ग्रन्थका अनुसार पनि सूर्यनारायण विशिष्टतम देवता नै मानिएका छन् ।  पाञ्चायन देवता (गणेश, सूर्य, देवी, शिव र विष्णु) मा  विशेष स्थान, मान र सम्मान पाएका (अग्निस्थापना भाष्य पृष्ठ १८१, पण्डित वेदनाथ लामिछाने) यी देवताले द्वादशादित्य अर्थात् धाता, अर्यमा, मित्र, वरुण, भग, इन्द्र, विवस्वान, पूषा, पर्जन्य अंशु, त्वष्टा र विष्णु आदिको नाममा १२ महिनाको अधिष्ठातृदेवको रूपमा पनि समुचित सम्मान पाउँदै आएका छन् ।  (श्रीमद्भागवत १२ ।  ११ ।  ३३–४४) उनले सदैव नजिकको हितैषी बनेर समग्र चराचर जगतको कल्याणमा प्रस्तुत हुने गरेका प्रसङ्ग इतिहास र पुराणादि ग्रन्थमा थुप्रै आएका छन् ।  ज्योतिषशास्त्रका अनुसार नवग्रहमा सर्वप्रथम नाम आउने गरेका यी देवता लोक कल्याण र जगद्धितको मामिलामा पनि पहिलो पङ्क्तिमै देखिएका छन् ।  उनी सर्वहितका लागि जतिबेला जहाँ जस्तो रूपमा प्रकट हुनुपर्छ त्यस्तै रूपमा प्रकट हुन पनि सक्छन् र कति बेला कस्तो प्रक्रिया पूरा गर्नुपर्छ त्यस्तै भूमिका निर्वाह गर्न पनि सक्छन् ।  उनका काम पनि हजारौँ छन् र नाम पनि हजाराँै नै छन् ।  उनका नाममा ‘सूर्य सहस्रनाम’ नामक छुट्टै ग्रन्थ नै फेला परेका छन्, जुन वैदिक संस्कृति अनुयायीहरूमाझ निकै लोकप्रिय मानिँदै आएको छ ।  
अदम्य साहस, प्रचण्ड तेज, अद्वितीय शक्ति, अतुल पराक्रम, अखण्ड स्रोत र अजस्र ऊर्जा स्रोत आदि विशेषणका कारण सूर्यदेवका विशेषता जति बढी चामात्कारिक देखिएको छ उको जन्म वृतान्त पनि त्यति नै चामत्कारपूर्ण पाइएको छ ।  वेदले उनलाई अदितीको पुत्र भनेको छ ।  
(ऋग्वेद ८ ।  १०१ ।  ११ र अर्थर्व वेद १३ ।  २ ।  ३७) वैदिक ग्रन्थमा उनलाई आदित्य पनि भन्ने गरिएको पाइन्छ ।  यो भनेको पनि अदितीकै पुत्रको अर्थमा हो ।  पाणिनीय व्याकरणका अनुसार अदितीका पुत्रलाई आदित्य भनिन्छ ।  पौराणिका ग्रन्थहरूका अनुसार पनि उनी अदितीकै पुत्र मानिएका छन् ।  उनको बाबु भने कश्यप प्रजापति हुन् ।  कल्पादिमा सृष्टि प्रक्रिया अघि बढाउने उद्देश्यले कश्यप प्रजापतिले दक्षपुत्री अदितीको गर्भबाट द्वादशादित्यको रूपमा उनलाई जन्म दिएका थिए ।  (श्रीमद्भागवत ६ ।  ६ ।  ३९) उपनिषद् ग्रन्थहरूमा उल्लेख भएअनुसार शुरुका उनको जन्म आगोको डल्लोको रूपमा भएको थियो ।  पछि सोही डल्लो विस्फोट भई उनको स्वरूप निर्धारण हुन पुगेको हो ।  अतः यसैको आधारमा उनलाई कतै कतै मार्तण्ड भन्ने गरिएको पनि पाइन्छ ।  (कल्याण सूर्याङ्क गीताप्रेस गोरखपुर)
सुख, शान्ति तथा आयु र आरोग्य बर्धकका साथै रोग, भोक, शोक आदि सबै किसिमका दुःख नाशकसमेत मानिएका सूर्य देवको प्रशस्तिमा गाइएका ऋग्वेदमा मात्रै दर्जनौँ सूक्त छन् ।  यी सूक्तहरू तृतीय मण्डल र नवौँ मण्डलबाहेक अन्य सबै मण्डलमा छरिएर रहेका छन् ।  यसमा खासगरी प्रथम मण्डलमा पाँचवटा, द्वितीय मण्डलमा तीनवटा, चतुर्थ मण्डलमा तीनवटा, पञ्चम मण्डलमा दुईवटा, छैटौँ मण्डलमा एकवटा, सातौँ मण्डलमा आठवटा, आठौँ मण्डलमा पाँचवटा र दशौँ मण्डलमा आठवटा सूक्त भेटिएका छन् ।  यद्यपि यी सूक्तहरूमा उनीहरूका इष्टदेवमा कतै सविता, कतै आदित्यगण, कतै विवस्वान आदिका नाम उल्लेख भएका छन् ।  तथापि ती नामहरू सबै अन्ततः सूर्यसितै सम्बन्धित रहेकाले रूपमा जहाँ जेजस्तो देखिए पनि सारमा सर्वत्र सूर्यकै उपस्थिति देखिन्छ ।  उल्लिखित सूक्तमध्ये दशौँ मण्डलको १३ औँ तथा ३७ औँ र १७० औँ सूक्तका त उनी द्रष्टा ऋषिसमेत देखिएका छन् ।  यद्यपि यहाँ पनि ऋषिहरूको महलमा क्रमशः विवस्वान आदित्य, अभितपा सौर्य र विभ्राड सौर्य उल्लेख भएका छन् तर ती पनि भनाइमा मात्र देखिएका भिन्नता हुन्, यथार्थमा सबै कुनै न कुनै रूपमा सूर्यसितै सम्बन्धित रहेका कुरालाई बिर्सन मिल्दैन ।   
वेदमा सूर्यको नाममा केही सूक्तसमेत भेटिएका छन् ।  ऋग्वेद प्रथम मण्डलको ११५ औँ सूक्तलाई सूर्य सूक्त भनिन्छ ।  उनको विशेषता वर्णन गर्दै कुत्स आङ्गिरस ऋषिले गाएका यस सूक्तमा कुल छवटा मन्त्र छन् ।  त्यस्तै ऋग्वेदमै उनको नाममा अर्को सूक्त पनि फेला परेको छ ।  उनकै प्रशस्तिर्मा विभ्राड् ऋषिले गाएका यस सूक्तमा कुल १७ वटा मन्त्र छन् ।  यसबाहेक अन्य वैदिक संहितामा समेत उनीबारे धेरथोर चर्चा भएका छन् ।  शुक्ल यजुर्वेदको त उनी अधिष्ठान नै मानिएका छन् ।  महर्षि याज्ञवल्क्यलाई उनीबाट दीक्षित भएपछि मात्र यससम्बन्धी मन्त्रहरू दृष्टिगोचर भएका हुन् ।  
वस्तुतः सूर्य आध्यात्मिक ज्ञानको दृष्टिले जति बढी महìवपूर्ण देखिएका छन् भौतिक विज्ञानको दृष्टिले पनि त्यति नै महìव पूर्ण पाइएका छन् ।  अरू नसही कम्तीमा एकैसाथ द्यावाभूमिलाई प्रकाशित गराउँदै आएका अनन्त ऊर्जा स्रोतका धनी सूर्य तेजको केही अंशलाई मात्र पूर्णतः प्रयोगमा ल्याउन सक्ने हो भने पनि लाग्छ कसैले पनि आफ्ना समग्र आवश्यकता पूरा गर्न कसैको पनि मुख ताक्नु पर्दैन ।  वास्तवमा सूर्य त्यस्तो महासागर हो, जहाँबाट जसले जे चाह्यो त्यही पाउन सक्छन् र जति चाहिएको हो त्यति नै ल्याउन पनि सक्छन् ।  जहाँसम्म कसले के र कति याउने भन्ने कुरा छ त्यो भने लिन चाहने वा जाने व्यक्तिको भाँडो र भूमिकामा भरपर्छ ।    
निःसन्देह संसारमा कुनै सर्वाधिक सहयोग गर्ने कुनै देवता वा शक्ति छन् भने सूर्यदेव नै रहेका छन् ।  हामी प्रकृतिलाई अनन्त शक्तिको स्रोत मान्ने गर्छौं तर अलिकति गहिरिएर मनन गर्ने हो भने तिनै प्रकृतिले समेत सूर्यकै अधीनमा रहेर कार्य गरिरहेको देखिन्छ ।  सूर्यले नै प्रकृतिलाई खेलाएका छन्, चलाएका छन् ।  अनि बोलाएका छन्, हँसाएका छन्, नचाएका छन् ।  मानौँ सूर्यदेव त्यस्तो कुशल नृत्य निर्देशक हुन्, जसले अनादि कालदेखि संसाररूपी रङ्गशालामा प्रकृतिरूपी नर्तकीलाई नचाउँदै आएका छन् ।  यस्ता अनन्त ऊर्जा र अद्वितीय प्रतिभाका धनी सूर्यदेवको हामी नजिक जान त सक्दैनौँ तर हामीले चाहने हो भने यही बसेर पनि उनको सम्मान गर्न चाहिँ सक्छौँ ।  यसका लागि भने उनको ऊर्जा सदुपयोगतिर ध्यान दिनैपर्ने हुन्छ ।  

प्रकाशित मिति: २०७४।७।२६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना