जन–क्रान्तिको पहिलो दिन

Purushottam basnetपुरुषोत्तम बस्नेत  

 

नेपाली काँग्रेसको जनमुक्ति सेनाले वीरगञ्ज कब्जा गरेर २००७ सालको जनक्रान्ति प्रारम्भ गरेको एक ऐतिहासिक दिन हो– कात्तिक २६ गते ।  वि.सं. २००७ को आश्विन १० र ११ का दिन नेपालको सीमावर्ती स्थान, भारतको बैरगनियाँमा नेपाली काँग्रेसले सम्मेलन बोलायो ।  त्यसमा देशको विभिन्न भागबाट आएका र भारतको कतिपय ठाउँमा रहेका करिब तीन सय जति प्रतिनिधिको उपस्थिति थियो ।  त्यही सम्मेलनको सर्वसम्मतिले छिटै सशस्त्र सञ्चालन गर्ने प्रस्तावलाई पारित ग¥यो ।  त्यसबेलासम्म नेपाली काँग्रेसले क्रान्तिको तयारीको धेरै काम गरिसकेको थियो ।  दुई वर्ष जति पहिले, सन् १९४८ मा बर्मामा ए.एफ.पी.एफ.एल.(एण्टी फासिष्ट पिपुल्स् फ्रिडम लीग) को नेतृत्वमा सरकार गठन भइसकेको थियो ।  त्यो सरकारमा बर्माका समाजवादीको प्रमुखता थियो ।  उनीहरूसित बी.पी. कोइरालाको सुमधुर सम्बन्ध थियो ।  बी.पी.को आग्रहमा बर्माको समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिरक्षा मन्त्री उ वास्वे नेपालको जन–क्रान्तिलाई हतियार दिएर सहयोग गर्न तयार थिए ।  कस्मिरका मुख्यमन्त्री शेख अब्दुल्ला पनि नेपाली कांँग्रेसलाई हतियार दिन तयार थिए ।  दोस्रो विश्वयुद्धमा वीरताका साथ लड्ने सैनिक तथा सुभाषचन्द्र बोसको ‘आजाद हिन्द फौज’ मा सम्मिलित भएर फर्केका सैनिकसमेत एकत्रित जन–मुक्ति सेनाको सङ्ख्या निकै पुगिसकेको थियो ।  यी सबै तयारी पछि नेपाली काँगे्रस क्रान्ति सञ्चालन गर्न विलम्ब गर्नुहुन्न भन्ने निष्कर्षमा पुग्यो ।  सन् १९५० को जुलाई ३१ मा नेपाल र भारतको बीच शान्ति र मैत्री सन्धि तथा व्यापार र वाणिज्य सन्धि भइसकेको थियो ।  क्रान्ति सुरु गर्न विलम्ब गरिएमा भारत सरकारको समर्थन राणालाई प्राप्त हुँदै जाने स्थितिप्रति पनि नेपाली काँग्रेस सजग थियो ।  त्यसपछि पटनामा बसेको नेपाली काँग्रेसको उच्चस्तरीय बैठकले मातृकाप्रसाद कोइराला, बी.पी. कोइराला र सुवर्णशम्शेरलाई क्रान्ति सञ्चालनको सम्पूर्ण अभिभारा सुम्पियो ।
महावीर शम्शेरको स्वामित्वको हिमालय एभिएसनको विमानले बाटो बिराएको बहानामा रङ्गन विमानस्थलमा अवतरण ग¥यो ।  त्यो विमानमा थीरवम मल्ल र भोला च्याटर्जी गएका थिए ।  उनीहरू विमानभरि हतियार लिएर फर्के र त्यो विमानलाई दोस्रो विश्वयुद्ध कालमा विमानस्थलको रूपमा प्रयोग गरिएको तर त्यसबेला खाली रहेको पटनाको मैदानमा उतारियो ।  भारत भित्रैबाट पनि गोप्य तवरले हतियार सङ्कलन गरिएको थियो ।  ती हतियार धेरैलाई देशभित्र पु¥याइ सकिएको थियो ।  यी सबैबाट राणातन्त्रको विरोधमा लड्न आवश्यक शक्ति पर्याप्त छ भन्ने नेपाली कांँग्रेसका नेताले महसुस गरे ।  त्यसैले कलकत्ताबाट गोप्य रूपमा थीरवम मल्ल, पुरनसिंह खवास र जी.वी. याकथुम्बाको नेतृत्वमा गएको एक सय जना जतिको जन–मुक्तिसेनाको सशस्त्र दस्ताले २००७ को कात्तिक २६ गते शनिवार, भाइटीकाको दिन, बिहानै, राजधानीपछिको नेपालको महìवपूर्ण स्थान वीरगञ्जलाई आफ्नो नियन्त्रणमा लियो ।  त्यो दिन –कात्तिक २६ गते नेपाली काँग्रेसको निमित्त मात्र होइन, सम्पूर्ण नेपाली जनताको निमित्त एक स्मरणीय दिन थियो ।  
कात्तिक २६ देखि प्रारम्भ भएको जनक्रान्तिको ज्वाला एकसाथ देशभरि प्रज्वलित भएर उठ्यो ।  कात्तिक २७ गते विराटनगर र त्यसपछि पूर्वी पहाडको इलामदेखि चरीकोटसम्म तथा पश्चिम पहाडको बैतडीदेखि गोरखासम्म र मधेश एवं भित्री मधेशको सम्पूर्ण भूभाग नेपाली काँग्रेसको कब्जामा आयो ।  राजधानी र त्यसको वरपरको केही ठाउँबाहेक देशको अरू सबैतिर राणातन्त्रको अस्तित्व मेटिइसकेको थियो ।  
दिल्लीले जनआन्दोलनलाई पटकपटक अवरोध गर्न खोजिरह्यो ।  राजा त्रिभुवन र उनका सबै परिवार भारत सरकारको विशिष्ट अतिथि भएर दिल्लीको हैदरावाद हाउसमा बसेका थिए ।  उनको नेपाली कांँग्रेसका नेता कसैसित पनि भेटघाट र सम्पर्क थिएन ।  देशको सम्पूर्ण भागमा फैलिरहेको जनक्रान्ति बारेको यथार्थबाट उनी अनभिज्ञ थिए ।  दिल्ली तीनै पक्ष नेपाली काँग्रेस, राजा र राणाका बीचमा समन्वयको स्थिति खोजिरहेको थियो ।  राजा त्रिभुवन दिल्लीको भनाइलाई अक्षरश पालन गर्ने पक्षमा थिए ।  त्यसैले नेपाली कांँग्रेसका सभापति मातृकाप्रसाद कोइरालाले २००७ को माघ ३ का दिन कार्यकर्तालाई युद्धविराम गर्ने आदेश दिए ।  त्यहाँसम्म आइपुग्दा करिब ६६ दिन देश समग्र रूपले जन–क्रान्तिमा होमिएको थियो ।  यो क्रान्तिको स्पष्ट लक्ष्य एकतन्त्रीय राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्र स्थापना गर्ने थियो ।  त्यो लक्ष्यका प्रति नेपाली काँग्रेसका नेताहरू प्रतिबद्ध थिए ।  जन–मुक्ति सेनाका प्रत्येक सदस्य प्रतिबद्ध थिए ।  त्यसैले यो क्रान्ति एकाग्रताका साथ, अनुशासित रूपमा आफ्नो गन्तव्यतिर बढिरहेको थियो ।  यसमा मुटभेडमा बन्दुक समाएका दुई समूहबाहेक अरू कसैले ज्यान गुमाउनु परेन ।  सम्पत्तिको कारणले, प्रतिशोधको कारणले र अरू कारणले कसैले ज्यान गुमाउनु परेन ।  कसैको सम्पत्ति लुटिएन ।  कसैले हत्या र हिंसालाई बेहोर्नु परेन ।  
त्यही ऐतिहासक क्रान्तिले २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्रको स्थापना ग¥यो ।  त्यसै दिन राणा–कांँग्रेस संयुक्त सरकारको गठन भयो ।  राणा पक्षले अनेक व्यवधान खडा गरे पनि त्यस बेला नेपाली कांँग्रेसले अनेक उल्लेखनीय कार्य ग¥यो ।  दुई वर्षभित्र संविधान सभाको चुनाव गराउन जनसङ्ख्या लिने र त्यससम्बन्धी अरू कार्यको प्रारम्भ ग¥यो ।  अन्तरिम शासन विधान लागू ग¥यो ।  त्यसले न्यायिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र जनताका अरू यावत आधारभूत स्वतन्त्रताको प्रत्याभूत गरेर संवैधानिक राजतन्त्र र कानुनी राज्य प्रणालीमा देशलाई प्रवेश गरायो ।  शिक्षा, स्वास्थ्य आदिमा उल्लेखनीय कार्य अघि ल्यायो ।  जातीय भेदभाव, छुवाछूत र अरू सामाजिक विकार र विकृति हटाउने कार्य प्रारम्भ ग¥यो ।  सबै किसिमका असमानता र शोषणको अन्त्य ग¥यो बेठी–बेगारी हटायो ।  किसानको हितमा, मोहियानी हक र अरू अनेक कार्यहरूको व्यवस्था ग¥यो ।  विर्ता उन्मुलनको कार्य सुरु ग¥यो ।  प्रधान न्यायालय र लोकसेवा आयोगको स्थापना ग¥यो ।  
२०१६ को ज्येष्ठ १३ गते बी.पी. कोइराला नेपालको प्रथम जन–निर्वाचित प्रधानमन्त्री बन्नुभयो ।  
उहाँले प्रत्येक ऐतिहासिक दिनलाई विकास र निर्माणको सन्देश दिने दिनको रूपमा मनाउने नीति लिनु भयो ।  अन्ततोगत्वा २०१६ को फाल्गुण ७ गते प्रजातन्त्र दिवसमा पनि देशको विभिन्न भागमा अनेक कार्यको शिलान्यास र उद्घाटन भए ।  २०१७ को कात्तिक २६ गते क्रान्ति दिवसमा पहाड, तराई र राजधानीमा एकसाथ विकास र निर्माणका अनेकौँ कार्य थालिएका थिए ।  कात्तिक २६ को बिहान प्रधानमन्त्री बी.पी. कोेइरालाले काठमाडौँको महाराजगञ्जमा सोभियत रुसको सहयोगमा निर्माण हुने अस्पतालको शिलान्यास गर्नुभयो ।  त्यही वर्तमान कान्ति बाल अस्पताल हो ।  
कात्तिक २६ को ऐतिहासिक दिनमा मन्त्री गणेशमान सिंहले सर्लाहीमा कमला नदीको बाँधको तथा मन्त्री सूर्यप्रसाद उपाध्यायले पनौतीमा निर्माण हुने जलविद्युत् आयोजनाको विजुली घरको शिलान्यास गर्नु भएको थियो ।  अरू मन्त्री रामनारायण मिश्र, शिवराज पन्त, देवनाथदाश यादव, प्रेमराज आङ्देम्बे, डा. त्रिवेणीप्रसाद प्रधान तथा सहायक मन्त्रीले पनि देशको विभिन्न भागमा निर्माण हुन लागेका कतिपय योजनाको शिलान्यास गर्नुभएको थियो ।  
वास्तवमा कात्तिक २६ देशलाई अन्धकारबाट उज्यालोतिर लग्ने एक ऐतिहासिक दिन थियो ।  राजा त्रिभुवनले प्रतिगामी तìवसित गठबन्धन गर्ने र विदेशी शक्तिसित आड लाग्ने काम नगरेको भए –राजा महेन्द्रले शैन्य बलमा देशलाई एक ठूलो बन्दीगृह बनाउन, राष्ट्रघात नगरेको भए– राजा वीरेन्द्रले महेन्द्रले जस्तै कठोर शासक बन्ने धृष्टता नगरेको भए, नेपाल आज एसियाको एक विकसित मुलुकमा रूपान्तरण भइसक्ने थियो ।  

प्रकाशित मिति: २०७४।७।२६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना