सुदृढ सुरक्षा व्यवस्था (सम्पादकीय)

नजिकिँदो निर्वाचनका लागि सुरक्षा निकायले आवश्यक सतर्कता बढाइएका छन् ।  केही दिनयता उम्मेदवार तथा चुनावी प्रचारप्रसारमा सहभागी राजनीतिक दलका कार्यकर्ता लक्षित गरेर आक्रमण गर्ने प्रयास बढ्न थालेपछि सुरक्षा संयन्त्र विशेष रूपमा सक्रिय भएको हो ।  पश्चिम रुकुम र रोल्पामा अवाञ्छनीय घटना भएको विदितै छ ।  खासगरी अहिले नेकपा (माओवादी केन्द्र) का उम्मेदवारमाथि आक्रमण लक्षित देखिएको छ ।  यसमा माओवादीबाटै असन्तुष्ट बनी फुटेर गएका व्यक्तिको संलग्नता रहेको अनुमान लगाइएको छ ।  उम्मेदवारलाई लक्षित गरेर आक्रमण गर्ने, विष्फोटक पदार्थ पड्काउने जस्ता काम भएका छन् ।  केही ठाउँमा सुरक्षाकर्मीले विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको छ ।  केही जिल्लाका उम्मेदवारलाई सुरक्षा चुनौती बढेको तर यस्ता गतिविधिको उद्देश्य चुनावी प्रचारप्रसार अभियानलाई अवरोध गर्ने मात्र रहेको सुरक्षा निकायको विश्लेषण छ ।  अज्ञात समूहबाट हुने यस्ता गतिविधि रोक्न निर्वाचन आयोगले चासो व्यक्त गरेको छ र सुरक्षा निकायलाई सुरक्षा व्यवस्था बलियो बनाउन थप निर्देशन दिएको छ भने सुरक्षा निकाय थप सक्रिय भएका छन् ।  निर्वाचन अवधिमा सुरक्षा प्रदान गर्न नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुँदै आएका छन् ।  
आगामी मङ्सिर १० गते पहिलो चरणमा ३२ जिल्ला र २१ गते ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुँदैछ ।  पहिलो चरणमा निर्वाचन हुन अब दुई साता पनि बाँकी छैन र चुनाव प्रचार, प्रसारको अभियान अन्तिम चरणमा चल्दै छ ।  दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा पनि निर्वाचन प्रचारप्रसारको अभियानमा उम्मेदवारदेखि नेता, कार्यकर्ता खटिएका छन् ।  सम्पूर्ण मुलुक निर्वाचनको महाअभियानमा होमिएका बेला केही व्यक्ति र समूह भने निर्वाचनलाई सहज रूपले सम्पन्न हुन नदिने र उम्मेदवार, मतदातालाई आतङ्कित बनाउने प्रयासमा लागेको देखिन्छ ।  यो समूह ठूलो नभएको अनुमान गर्न सकिन्छ तर केही ठाउँमा विष्फोटन र आक्रमण गरेर आतङ्क, भय, त्रास सिर्जना गर्ने र आफ्नो उपस्थिति देखाउनेबाहेक अरु उद्देश्य नरहेको अनुमान गर्न सकिन्छ ।  सोलुखुम्बु लगायतका केही स्थानमा निर्वाचन सामग्री च्यात्ने, प्रचारप्रसार अभियान अवरोध गर्ने जस्ता काम भएका छन् ।  सुरक्षा निकायले पनि रुकुम, रोल्पा, जाजरकोट, कालिकोट, सोलुखुम्बु लगायतका जिल्लामा सुरक्षा चुनौती बढेको विश्लेषण गरेको छ ।  यसलाई रोक्न सुरक्षाकर्मीको परिचालन पनि बढाइएको सम्बद्ध निकायको भनाइ छ ।  ६५ हजारको हाराहारीमा प्रहरी परिचालन भएका छन् भने ९२ हजार म्यादी प्रहरी पनि तयारी गरिएको छ ।  यसबाहेक सशस्त्र प्रहरी र सेनाले पनि सुरक्षा गरिरहेका छन् ।  
आवधिक निर्वाचन लोकतन्त्रको महìवपूर्ण अङ्ग नै हो ।  निर्वाचनको माध्ममबाट मतदाताले पाँच वर्षका लागि आफ्नो प्रतिनिधि छान्छन् र मुलुक सञ्चालनको जिम्मेवारी सुम्पिन्छन् ।  मुलुकको शासन भार सम्हाल्न यसरी छानिने प्रतिनिधि योग्य, सक्षम र इमानदार हुनुपर्छ ।  यो त्यसबेलामात्रै सम्भव हुन्छ, जुन अवस्थामा मतदाताले उम्मेदवारको सही मूल्याङ्कन गर्छन्, कुनै लोभ, लालचबाट मुक्त रहेर आफैले रोजेको उम्मेदवारलाई मतदान गर्छन् ।  यसरी निर्णय गर्न मतदाता भय र त्रासमुक्त पनि हुनैपर्छ ।  योग्य उम्मेदवारको चयनले प्रजातन्त्र सफल हुन्छ र मुलुकले सही दिशा लिन्छ ।  यसका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन हुन आवश्यक छ ।  निर्वाचनका बेला आफ्ना कुरा नागरिकसमक्ष राख्न राजनीतिक दल र उम्मेदवारले पाउनुपर्छ भने मतदाताले आफ्नो स्वतन्त्र निर्णय गर्न पाउनुपर्छ ।  यसका लागि उपयुक्त वातावरण बनाउनु राज्यको कर्तव्य हो ।  त्यसैले निर्वाचनलाई स्वतन्त्र, भयरहित रूपमा सम्पन्न गर्न राज्यले कुनै कसर बाँकी राख्नुहुँदैन ।  यस अनुरूप सुरक्षा व्यवस्था बलियो र प्रभावकारी बनाउनेतर्फ सुरक्षा संयन्त्र सक्रिय भएको छ ।  यसलाई सकारात्मक पक्ष मान्नुपर्छ ।  

प्रकाशित मिति: २०७४/७/२८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना