क्याटलोनिया ः स्वतन्त्रता खोज्दा गुम्यो अधिकार

Ram prashadरामप्रसाद आचार्य

 

युरोपेली मुलुक स्पेन टुक्रिनबाट तत्काललाई जोगिएको छ । मुलुक टुक्र्याउन गरिएको दुष्प्रयासलाई असंवैधानिक भन्दै केन्द्रीय शक्ति प्रयोग गरी असफल पारिएको छ । मुलुक टुक्र्याउन खोज्ने विद्रोही नेतालाई अधिकारविहीन बनाउँदै प्रजातान्त्रिक प्रक्रियामा आई राष्ट्रिय अखण्डता र एकताको पक्षमा उभिन अन्तिम अवसर दिइएको छ । विद्रोही नेतालाई पक्राउ गरी देशद्रोहको मुद्दा चलाउनुपर्छ भन्ने आवाज चर्को रूपमा उठेपछि विद्रोही नेता बेल्जियममा शरण लिन पुगेका छन् । बर्खास्त गरिएका आठजना मन्त्रीलाई पक्राउ गरी कैद गरिएको छ । विद्रोहको पक्ष र विपक्षमा दिनहुँ विशाल जनप्रदर्शन भइरहेका छन् ।
स्पेनको क्याटलोनिया राज्यले छुट्टै राष्ट्रको माग गर्दै स्वतन्त्रता खोज्दा पाएको स्वायत्तताको अधिकारसमेत गुमाएको हो । आन्दोलनरत क्याटलोनियावासीको माग सम्बोधन गर्नुको सट्टा केन्द्र सरकारले क्याटलोनियाको स्वायत्त प्रशासन भङ्ग गर्दै प्रत्यक्ष शासन लागू गरेको छ । केन्द्र सरकार आन्दोलनकारी नेता तथा आन्दोलनरत क्याटलोनियावासीप्रति अनुदार र कठोर देखिएको छ । मुलुकको संविधान दिएको अधिकार प्रयोग गर्दै प्रत्यक्ष शासन लागू गरेको केन्द्र सरकारको यो कदमलाई आन्दोलनकारीहरूले निरङ्कुशताको संज्ञा दिएका छन् । संवैधानिक राजा फिलिप छैटौँ, प्रधानमन्त्री मारिआनो राखोइनको सरकारमात्र होइन, अधिकांश स्पेनवासी र युरोपेली सङ्घ (ईयू) मुलुक टुक्र्याउने गतिविधिको विरुद्धमा रहेकाले क्याटलोनियालाई स्वतन्त्र राष्ट्र बनाउने केही क्याटलोनियावासीको सपना फेरि पनि अधुरो नै रह्यो । उनीहरूले चाहरेमात्र अब क्याटलोनियालाई स्वतन्त्र राष्ट्र बनाउन गाह्रो छ । बरु स्वायत्तताको साथै थप अधिकार प्राप्तिका लागि पुनः केन्द्र सरकारसँग वार्ता गरी समस्याको समाधान खोज्नु नै क्याटलोन आन्दोलनकारीहरूका लागि हितकर हुने देखिएको छ ।
पटक–पटकको आन्दोलनका क्रममा केन्द्र सरकारबाट सन् २००६ मा अलग राज्य, कर सङ्कलनसहित स्वायत्तताको अधिकार पाएका क्याटलोनियावासीको यो अधिकारलाई सन् २०१० मा त्यहाँको संवैधानिक अदालतले सरकारको निर्णयलाई अवैघ घोषणा गरिदिएपछि नयाँ विवाद सुरु भएको हो । अदालतको यो कदमपछि सरकार अनुदार बनेपछि आन्दोलनरत क्याटलोनियावासीले गत अक्टोबर १ मा एकतर्फी रूपमा जनमतसङ्ग्रह गराए । ४३ प्रतिशत मतदाताले मतदानमा भाग लिए । २२ लाख ८६ हजार २१७ मतदातामध्ये २० लाख ४४ हजार ३८ जना अर्थात् ९० प्रतिशतभन्दा बढी मतदाताले स्वतन्त्रतको पक्षमा मतदान गरे । यो कदमलाई केन्द्र सरकारले बेवास्ता ग¥यो । सोही महिनाको २७ तारिखमा क्याटलोनियाको संसद्मा मतदान भयो । १३५ सदस्यीय संसद्मा उपस्थित ८२ जना सांसदमध्ये ७० जनाले स्वतन्त्रताको पक्षमा मतदान गरे, १० जनाले विपक्षमा, दुईजनाले खाली मत खसाले भने ५० जनाले बहिष्कार गरे । संसद्ले यो मतदानलाई वैधता दिँदै क्याटलोनिया स्वतन्त्र भएको घोषणा ग¥यो । लगत्तै बसेको स्पेनको केन्द्रीय संसद्ले भने यो कुरा अस्वीकार गर्दै क्याटलोनियाको स्वायत्ततासहितको प्रशासन भङ्ग गरी प्रत्यक्ष शासन लागू गर्न केन्द्र सरकारलाई अनुमति दियो । अनि अक्टोबर २८ देखि क्याटलोनियाको प्रशासन भङ्ग गरी प्रत्यक्ष शासन लागू गरिएको छ । यो कदमसँगै क्याटलोनियाको विवाद झन् जटिल र कठिन मोडमा पुगेको छ ।
स्पेनका प्रधानमन्त्री मारिआनो राखोइनले संसद्को अनुमति लिएर क्याटलोनियामा प्रत्यक्ष शासन लागू गरेपछि स्वतन्त्रता पक्षधर थप आक्रोशित बनेका छन् । प्रधानमन्त्रीले त्यहाँ आउँदो डिसेम्बर २१ मा निर्वाचन गराउने घोषणा गर्नुभएको छ तर आन्दोलनकारीहरूले भने चुनावको औचित्य नभएको भन्दै बहिष्कार गर्ने बताएका छन् । त्यहाँ राष्ट्र टुक्र्याउने प्रयासको विरुद्धमा व्यापक जनप्रदर्शन भएको छ भने क्याटलोनियालाई अलग गराउन चाहने पृथकतावादीहरूको आन्दोलन पनि जारी छ । राष्ट्र टुक्राउन चाहने र नचाहनेबीचको विवादले चर्को रूप लिएको छ ।
हुन त यो विवाद आजको होइन, दुई सय वर्षभन्दा अघिदेखि चलिरहेको छ । यही विवादले हजारौँ मानिसको ज्यान गएको छ तर विवादको समाधान निस्केको छैन । स्पेनको उत्तरपूर्वी भागमा रहेको क्याटलोनिया इतिहासमा छुट्टै राज्य थियो । आधुनिक स्पेन र पोर्चुगलसमेत रहेको आइबेरियाली प्रायद्वीप क्षेत्रमा रहेका आगागनकी रानी पेट्रोनिलिया र बार्सिलोनका धनाढ्य राजा रामोन बेरेन्गुयर चौथोबीच विवाह भएपछि आरागन र क्याटलोनिया आफ्ना सन्ततिका लागि सन् ११५० मा स्थापना गरिदिएको अलग राज्य थियो । यसको आफ्नै भाषा, कानुन र रीतिरिवाज थियो । राजा फिलिप पाँचौँले शासन सम्हाल्नुअघिसम्म यो राज्यमा विवाद थिएन । सन् १७०७ मा भेलेन्सिया, सन् १७१४ मा क्याटलोनियासहित सबै प्रायद्वीप राजा फिलिपले कब्जा गरेसँगै विवाद सुरु भएको हो । त्यही बेलादेखि नै असन्तुष्ट पक्षले भाषा, भूमि, संस्कृति र स्वतन्त्रतका लागि सङ्घर्ष गर्दै आएको छ । क्याटलोनियाली राष्ट्रवादीहरूले स्पेनबाट विभिन्न अधिकार माग गर्दै दुई सय वर्षदेखि निरन्तर दबाब दिए । सन् १९३२ मा स्पेन सरकारले क्याटलोनियालाई स्वायत्तताको अधिकार दियो । तर, लगत्तै स्पेनमा गृहयुद्ध सुरु भयो । यो युद्धले सन् १९३९ मा सैनिक ‘कू’ भयो । जनरल फ्रान्सिस्को फ्रान्को सत्तामा आएसँगै क्याटलोनियाको अधिकार खोसियो । उनको ३६ वर्षे शासनकालमा शुद्धीकरणको नाममा हजारौँ क्याटलोनवासीलाई मृत्युदण्ड दिइयो । सन् १९७५ मा फ्रान्कोको मृत्यु भएपछि सन् १९७६ मा स्पेनमा संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक संविधान लागू भयो । यो संविधानको धारा १५५ ले कुनै पनि राज्यलाई आत्मनिर्णयको अधिकारसहित अलग हुने अधिकार दिएको छैन । क्याटलोनवासीको मागअनुसार सन् २००६ मा स्पेनले क्याटलोनियालाई पुनः स्वायत्ततासहित कर सङ्कलनको अधिकार दियो तर सन् २०१० मा स्पेनको संवैधानिक अदालतले सरकारको निर्णय अवैघ घोषणा ग¥यो । त्यसपछि विवादले नयाँ रूप लियो । क्याटलोनियाका नेता कार्लस पुज्डमोनले पछिल्लो स्पेनबाट क्याटलोनिलयालाई अलग राष्ट्र बनाउने भन्दै विवादास्पद जनमतसङ्ग्रह र संसद्मा मतदान गराउनुभयो । क्याटलोनिया स्वतन्त्र भएको घोषणा गर्नुभयो । सो घोषणालाई स्पेन सरकारले मान्यता दिएन । सरकारले केन्द्रीय संसद्मार्फत संविधानको धारा १५५ प्रयोग गरी क्याटलोनियाको स्वायत्तता निलम्वन ग¥यो । त्यहाँको प्रशासन भङ्ग गरी प्रत्यक्ष शासन लागू गरिएको छ । प्रधानमन्त्री राखोइनले कुनै हालतमा पनि स्पेन टुक्रिन नदिने बताउनुभएको छ भने राजा फिलिप छैटौँले पनि क्याटलोनिया स्पेनको महŒवपूर्ण अङ्ग रहेको र रहिरहने बताउनुभयो ।
क्याटलोनिया स्पेनकै सबैभन्दा धनी र विकसित क्षेत्र हो । त्यहाँ ठूला उद्योग छन् । कुल जनसङ्ख्याको १६ प्रतिशत र अर्थतन्त्रमा २० प्रतिशत योगदान क्याटलोनियाको छ । १६औँ शताब्दीदेखि नै शक्ति राष्ट्रका रूपमा उदय भएको स्पेनको मुटु मानिएको क्याटलोनियाको विवाद अप्ठेरोमा परेको छ । चार करोड ७० लाख जनसङ्या रहेको, पाँच लाख पाँच हजार ९८८ वर्गकिमि क्षेत्रफलमा फैलिएको विविधताले भरिपूर्ण स्पेनले क्याटलोनियाको विवादको शान्तिपूर्ण समाधान गरी मुलुकलाई टुक्रिनबाट जोगाउन उदार र सुधारवादी नीति लिनुपर्ने देखिएको छ । क्याटलोनियावासीलाई अधिकारविहीन बनाउने हो भने समस्या झन् विस्फोटक हुन सक्छ ।

प्रकाशित मिति: २०७४/७/३०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना