क्रिकेट खेलाडीलाई शुभकामना (सम्पादकीय)


नेपाल पहिलोपटक एसीसी अन्डर–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरमा भइरहेको खेलमा सोमबार तीनपटकको विजेता भारतमाथि ऐतिहासिक जीत हासिल गरेको थियो भने बुधबार मलेसियालाई हरायो । खेलको समीकरण अनुसार नेपाल सेमिफाइनलमा स्थान सुरक्षित गर्न मलेसियालाई अन्तरले हराउनुपर्ने वा बङ्गलादेशले भारतलाई हराउनुपर्ने थियो । अन्ततः दुवै भए । बिहीबारको खेलमा बङ्गलादेशले भारतमाथि विजय हासिल ग¥यो भने नेपालले मलेसियालाई १५.३ ओभरमा ४५ रनमै अल आउट ग¥को थियो । यसले गर्दा नेपाल सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । अब सेमिफाइनलमा नेपालले समूह बीको विजेता अफगानिस्तानसँग भिड्नु पर्नेछ ।
यसअघिका एसीसी यु–१९ का तीनवटै संस्करणमा नेपाल समूह चरणबाट बाहिरिएको थियो । यसपटक पनि भारत र बङ्गलादेश रहेको समूहमा परेका कारण नेपाल नक–आउट चरणसम्म पुग्नेमा शङ्का गरिएको थियो तर खेलाडीको उत्कृष्ट प्रदर्शनले सेमिफाइनलमा प्रवेश मात्रै गरेन, भारतमाथि ऐतिहासिक जीत नै हासिल भयो । यो नै नेपालका लागि महìवपूर्ण उपलब्धि हो । यसले नेपाली क्रिकेटकै छवि राम्रो बनाएको छ । भारतीय प्रशिक्षक समेतले नेपाली टिम प्रतिभाशाली भएको टिप्पणी गर्दै नेपाली टोलीको प्रदर्शनलाई प्रशंसा गरेका छन् । यु–१९ स्तरमा भारतविरुद्ध यो छैटौँपटकमा नेपालको पहिलो जीत हो । बङ्गलादेशसँगको खेलमा पनि नेपाली खेलाडी जीतको नजिक पुगेका थिए । यस प्रतियोगिताको तयारी स्वरूप नेपालले बङ्गलादेशसँग तीन खेलको मैत्री शृङ्खला खेलेकामा अन्तिम खेलमा विजय हासिल गरेको थियो । यसपटकको खेलमा टेष्ट खेल्ने राष्ट्रलाई चुनौती दिनु नेपाली टिमको उपलब्धि हो । यस उपलब्धिले नेपाली क्रिकेट खेलाडीमाथि भर पर्न सकिने आधार तयार गरेको छ । मुलुकभित्र मात्रै नभई मुलुकबाहिर पनि नेपाली क्रिकेट र क्रिकेट खेलाडीको शिर उच्च भएको छ । उपयुक्त वातावरण र प्रशिक्षण पाए नेपाली क्रिकेट टोलीले विश्वका कुनै पनि मुलुकसँग प्रतिस्पर्धा गर्नसक्ने विश्वास गर्न सकिन्छ ।
नेपाली क्रिकेट विभिन्न अप्ठेरा परिस्थितिमाझ यो सफलता हासिल हुनु निश्चय नै खुशी र गर्वको कुरो हो । यसका लागि यु–१९ खेलाडी र प्रशिक्षक प्रशंसा गर्न योग्य छन् तर नेपाली युवा क्रिकेट खेलाडीका लागि आगामी दिन कम चुनौतीपूर्ण छैनन् । समूह एबाट अफगानिस्तान उपाधिको दाबेदार पाकिस्तान र यूएईलाई हराएर आएको छ । अफगानिस्तानसँगै सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । नेपाली टिमको अहिलेसम्मको खेल हेर्दा अफगानिस्तानमाथि विजय हासिल हुनसक्ने धेरै आधार र सम्भावना देखिएका छन् किनभने नेपाली खेलाडीको तयारी राम्रो छ भने अहिले नेपाली टोली उच्च मनोबलमा छ । टोलीको आत्मविश्वास बढेको छ । यसले नेपाली क्रिकेट टोलीमा ज्योति बढाएको छ । आन्तरिक विवाद र राजनीतिक हस्तक्षेप जस्ता कारणले नेपालको क्रिकेटले फस्टाउने मौका पाएको छैन । नेपाल क्रिकेट सङ्घ व्यवस्थापनमा विभिन्न समयमा विवाद आउनु, आन्तरिक प्रतिस्पर्धा ठप्प जस्तै हुनु र अन्तर्राष्ट्रिय एक्स्पोजरको कमी हुनुजस्ता घटनाका अतिरिक्त पनि नेपाली यु–१९ टोलीले यो सफलता हासिल गर्नु मुलुककै लागि गर्वको कुरा हो । क्रिकेटकै माध्यमले नेपालको नाम विश्वभरि फैलनसक्ने स्थिति देखिएको छ । यसका लागि नेपाली क्रिकेट खेलाडीलाई थप प्रोत्साहन, उपयुक्त वातावरण र प्रशिक्षणको आवश्यकता छ । विवाद र राजनीतिक हस्तक्षेपबाट मुक्त राखेर क्रिकेट खेलको विकास गर्न जरुरी छ । सरोकारी सबै पक्ष यस दिशामा पूर्णरूपेण सक्रिय हुनैपर्छ । थप सफलताका लागि युवा क्रिकेट खेलाडीलाई हार्दिक शुभकामना ।

प्रकाशित मिति: २०७४/७/३०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना