दुर्लभ सामग्री दर्शन गराइयो

सरोज आचार्य

काठमाडौँ, मङसिर १  गते ।  बालाचतुर्दशीका अवसरमा बिहीबार पशुपतिनाथ मन्दिरको पहिलो तलामा रहेको ढुकुटी खोली एकमुखे रुद्राक्ष, नागमणि, गजमणि, गजदन्तमणि, स्वर्ण मुकुटलगायतका दुर्लभ र अमूल्य सामग्री झिकेर भक्तजनलाई दर्शन गराइएको छ ।  पशुपति गुठी गोश्वारा कार्यालय प्रमुख लच्छुना शर्मा काफ्लेका अनुसार गोश्वाराको रोहवरमा ढुकुटी खोलिएको हो ।
शनिबार पुनः ढुकुटी खोलेर भक्तजनलाई देखाएपछि वर्ष दिनका लागि ती सामग्री ढुकुटीमै दाखिला गरिनेछ ।  उहाँका अनुसार ढुकुटीमा रहेका सामग्रीको अवस्था साविक अनुसार दुरुस्त छ, छैन भन्नेबारे गोश्वाराले जाँचकीसहित परीक्षण गर्ने परिपाटी छ  ।  
यसैबीच, बिहीबार यस वर्ष मरेका दिवङ्गत आत्माको बैकुण्ठवासको कामना गर्दै रातभर जाग्राम रहेर आफन्तले महादीप बालेका छन् ।  
शुक्रबारसम्म महादीप बाल्ने चलन छ ।  दीप बाल्न नपरेकाले मृगस्थली वनमा थरीथरीका अन्न अनाज गेडागुडी छरेर शत्बीज पर्व मनाए ।  
पशुपतिनाथका सेवक विशेट अरुण श्रेठका अनुसार महादीप बाल्नका लागि पशुपतिनाथ ज्योतिर्लिङ्गमा छुवाइएको दीपलाई मन्दिर परिसरको यज्ञशालामा सारेर आफूले आसन लिएको ठाउँमा दीप लैजाने सुविधा दिइएको थियो ।  रात बस्न नसक्नेका लागि पशुपति क्षेत्र विकास कोषद्वारा तोकिएका ब्राह्मणबाट महादीप बाल्ने व्यवस्था मिलाइएको थियो ।  
कोषअन्तर्गत अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार महादीप बाल्न आउनेले बुधबारदेखि नै स्थान ओगटेका थिए ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना