बालाचतुर्दशीको सांस्कृतिक महत्त्व

trichandra pratiksyaत्रिचन्द्र प्रतीक्षा

सनातन हिन्दु धार्मिक परम्पराअनुसारका विभिन्न चाडपर्वमध्ये बालाचतुर्दशी पनि एउटा महत्त्वपूर्ण धार्मिक पर्व हो ।  यस पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको छ ।  मङ्सिर महिनाको कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी नेपालमा मनाइने एक परम्परागत पर्व हो, जुन विभिन्न मन्दिरमा शतबीज (सतबीउ) छरेर मनाइन्छ ।
प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीजरोपण भनेर पनि चिनिन्छन् ।  यो पर्व विशेषगरी पितृहरूको उद्वारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ ।  नेपालीमा ’शतम्’ को अर्थ सयर ’बीज’ को अर्थ बीउ हुन्छ ।  यसरी शतबीज भन्नाले सयथरि बीउ भन्ने बुझिन्छ तर पनि शतबीजमा मुख्यतः सातथरि– धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ ।  यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि मिसाएर छर्ने गर्छन् ।
पशुपति मन्दिरको पश्चिमतर्फको एक सय आठ शिवलिङ्गको स्थापना राजा प्रताप मल्लले गर्न लगाएका हुन् ।  राजा प्रताप मल्लले पापमोचनका लागि शिवलिङ्ग स्थापना गरेको भनाइ रहेको छ ।  सोही एक सय आठ शिवलिङ्गलगायत श्लेषमान्तक वन, कैलाश, गौरीघाट, मृगस्थली, विश्वरूप मन्दिर, किरातेश्वर मन्दिर र गुह्येश्वरी आदि ठाउँमा दिवंगत आफन्तको नाउँमा शतबीज छर्नेर त्यसको अघिल्लो त्रयोदशीमा पशुपतिनाथ मन्दिर पुगी रातभरि महादीप बालेर भजन कीर्तनका साथ जाग्राम बस्ने गरिन्छ ।  वत्सलेश्वरी मन्दिरमा पूजाआजा गरी शतबीज छरिने हुनाले यसलाई पार्वतीले छरेको शतबीज भन्ने पनि चलन छ ।  कैलाशबाट भगवान् शिव श्लेषमान्तक वनमा मृग रूपमा आई बिहार गर्नुभएको छ भन्ने थाहा पाई शिवरूपी मृगलाई चिन्नका लागि पार्वतीले विभिन्न किसिमका बीज छर्नुभयो ।  सो बीज उम्रिएका हरिया बिरुवादेखि लोभिएर मृगहरू आउन थाले ।  त्यसरी आएका मृगमध्ये मृगरूपी शिवलाई चिन्न पार्वतीलाई गाह्रो परेन भन्ने जनश्रुति पाइन्छ ।  पार्वतीले शुरु गरेको शतबीज छर्ने काम कालान्तरमा परम्परा बन्यो भन्ने चर्चा गरेको पाइन्छ ।
शतबीजको सम्बन्ध नेपालमा अत्यधिक प्रचलित हिमवत्खण्ड, नेपालमा हात्म्य तथा पशुपति पुराणको समेत उल्लेख गरिएको पाइन्छ ।  ती पुराणका अनुसार मृगरूप लिएर भगवान् शिवले जहाँ–जहाँ बिहार गर्नुभयो, त्यो पुण्य क्षेत्र भएकोले त्यहाँ बालाचतुर्दशीको दिनमा शतबीज छर्नाले एउटा अन्नको गेडा छरेको पनि सुनचाँदी छरेको भन्दा पनि ठूलो पुण्य मिल्छ भन्ने उल्लेख गरिएको पाइन्छ ।
यस चाडको सबैभन्दा रोचक प्रसङ्ग पशुपतिनाथ स्थित विश्वरूप मन्दिर छेउको गणेशको मूर्तिसँग सम्बन्धित छ ।  उक्त गणेशको मूर्तिलाई कान नसुन्ने बहिरा गणेशको रूपमा लिइन्छ र भक्तालुले जोड–जोडले चिच्याएर, कराएर, घच्घच्याएर उक्त मूर्तिलाई कानमै आफ्ना कुरा सुनाउन खोज्ने अथक प्रयास हुने गर्छन् ।  त्यसो गरेमा गणेशले आफन्त मृतकसँग तिम्रा परिवारका सदस्य पनि शतबीज छर्न आएको छन् भनी सुनाइदिन्छन् भन्ने जनविश्वास रहेको छ ।  
बालाचतुर्दशीका विषयमा अर्को एउटा किंवदन्ती पनि छ, परापूर्व कालमा एक दिन गुठीयारको मृत्यु भएर पशुपतिको दिपमा लाशको अन्त्येष्टि गर्दै थियो ।  त्यस समयमा शव जलाएकै ठाउँमा बसेर गुठीयारले खानपिन गरिन्थ्यो ।  खाना खाइरहेका बेला अचानक शवको टाउकोको गिदी गुठीयारमध्येका एक जना बालानन्द (बालासुर) को खानामा परेछ ।  त्यो उनले थाहा पाएनन् र गिदीसहितको खाना खाइदिए ।  उनलाई यो स्वाद निकै मनप¥यो र प्रायः सधैँजसो दीपमै समय बिताउन थाल्यो ।  त्यहाँ ल्याए जति शव आफैँले जलाउने र गिदी खाने गर्दागर्दै शवसमेत खाने गर्न थाले ।  हुँदाहुँदा जलाइएका शवसमेत खोसेर श्लेषमान्तक वनमा लगेर खान थाले ।  ती मानिसको शवको मासु खाँदाखाँदा ती  बालासुर (बालानन्द) राक्षसको रूपमा परिणम भइसकेको थियो ।
यसरी मरेको शवको गिदी र मासुसमेत खान पल्किसकेका बालासुर राक्षसको निकै चर्चा भए ।  त्यसबेलाका राजा भुवनकेशरीसमक्ष यस विषयमा अवगत गराए ।  राजाले बालासुर राक्षसलाई कसरी मार्न सकिन्छ भनेर छलफल गरे अन्ततः बालासुरको मित वृषसिंहले मात्र मार्न सकिने भएर उसलाई बोलाउन पठाए र अनेक प्रलोभन दिएर मित बालासुरलाई मार्न राजी गराए ।  राजाको उर्दी पूरा गर्नका लागि वृषसिंहले मित बालासुरलाई मार्ने शक्ति पाउनका लागि महादेवको तपस्या गर्न बसे ।  वृषसिंहको तपस्याबाट प्रसन्न भएर महादेवले दर्शन दिँदै सोधे– ‘तिमी को हौ, किन मेरो तपस्या गर्दै छौ ?’ वृषसिंहले आफ्नो मित बालासुरको बारेमा सबै कुरा बताए ।  महादेवले सबै कुरा सुनेर वृषसिंहलाई भने, ‘म बालासुरलाई मार्ने शक्ति दिन्छु तर तिमीले बालासुरलाई मारिसकेपछि उनको टाउको ल्याएर मलाई चढाउनुपर्छ भन्दै अन्तध्र्यान भए ।  
महादेवको वरदान पाएर साथ वृषसिंह आफ्नो मित बालासुरलाई खुवाउन जाँडरक्सी, चिउरा र मासुका परिकार भरियाहरूलाई बोकाएर पशुपतिको आर्यघाटतिर लागे ।  निकै दिनदेखि भोको बालासुर आफ्नो मित वृषसिंह आएको देखेर खुसी भए ।  बालासुरलाई लगेको सम्पूर्ण खानेकुरा साथ जाँडरक्सीसमेत टन्न खुवाएर नसामा अचेत बनाए ।  त्यही मौका छोपेर वृषसिंह र भरिया मिलेर बालासुरलाई डोरीले बाँधेर इनारमा खसालेर मारिदिन्छ ।  अनि वृषसिंहले बालासुरको टाउको महादेवलाई अगाडि चढाउँदै, आफ्नो मितलाई मारेको पापबाट मुक्त हुने वरदान मागे ।  महादेवले वृषसिंहलाई भने, ‘बालासुर मारेको दिन पशुपतिमा बालासुरको टाउकोको प्रतीक मुकुट लगाइदिएर पूजा गरेमा मित मारेको पापबाट मुक्त हुनेछ । ’
यसरी पशुपति महादेवले बालासुरको मुकुट लगाउने दिन कसैले महादेवको दर्शन गरेर शतबीज छर्ने गर्छ, त्यसको सात पुस्तासम्मका सन्तानले मोक्ष प्राप्त गरी स्वर्गलोक जान पाउने विश्वासका साथ बालाचतुर्दशीका दिन शतबीज छर्ने चलन चलिआएको भनाइ रहिआएको छ ।
बालाचतुर्दशीका दिन नेपाल अनि भारतका विभिन्न महŒवपूर्ण शक्तिपीठ अनि त्रिवेणीधाममा शतबीज छर्ने तिर्थालुको घुइँचो लाग्ने गर्छ ।  काठमाडौँको पशुपतिलगायत पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, स्याङ्जाको सरोवर तालको शिव मन्दिर, हरिहर गुफा, दाङको पाण्डवेश्वर मन्दिर, नवलपरासीको देवघाट, धनुषाको क्षिरेश्वरलगायत देशभरिका शिवालय एवं त्रिवेणी धाममा विशेष घुइँचो अनि मेला लाग्ने गर्छ ।  बालाचतुर्दशीको मेलाको अवसरमा खोटाङको हलेसी महादेवस्थानमा सात दिनसम्म लाग्ने मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलिङ, बिहार, चीन, तिब्बत, भुटानलगायतका स्थानबाट दर्शनार्थी आउने गर्छन् ।  आजभोलि बालाचतुर्दशी हिन्दुका अलवा बौद्ध धर्मावलम्बीले पनि श्रद्धभक्तिका साथ मनाउन थालेको पाइन्छ ।  

प्रकाशित मिति: २०७४/८/१

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना