साझेदारी आवश्यक (सम्पादकीय)


काठमाडौँमा आयोजित दक्षिण एसियाली आर्थिक सम्मेलनले दूरगामी महत्त्व ओगटेको छ ।  सार्क राष्ट्रका अर्थ तथा वाणिज्य मन्त्री, अर्थ तथा व्यापार विज्ञ र सार्क राष्ट्रका उच्चपदस्थ अधिकारी सहभागी रहेको यस सम्मेलनमा सार्क मुलुकबीचको आर्थिक तथा व्यापारिक सहयोग र साझेदारीबारे छलफल भइरहेको छ ।  सम्मेलनमा अन्तर क्षेत्रीय व्यापार विकासको सम्भावना, दिगो विकास लक्ष्य, क्षेत्रीय लगानीका अवसरको खोजी, आर्थिक एकीकरण, व्यापार सहजीकरण र पारवहन समस्या, पूर्वाधार तथा ऊर्जाको विकास, क्षेत्रीय व्यापार प्रवद्र्धन, जलवायु परिवर्तन लगायतका विविध मुद्दामा छलफल हुनेछ र यसबाट ठोस खाका बन्नेछ ।  पर्याप्त स्रोत र साधन भए पनि सहकार्य र साझेदारीको अभाव तथा राजनीतिक द्वन्द्वको चपेटामा यहाँका बासिन्दा परेका छन् ।  यही अभाव र अविकासको अवस्थामा बाँच्न बाध्य हुनुपरेको वस्तुस्थितिमा यस सम्मेलनबाट ठोस दिशा निर्देशको अपेक्षा राखिएको छ ।  
विश्वकै जनसङ्ख्याको एक चौथाइ बसोबास गर्ने दक्षिण एसियाले विश्वको कुल गार्हस्थ उत्पादनमा दक्षिण एसियाली क्षेत्रको योगदान छ प्रतिशत मात्र छ भने विश्व व्यापारमा चार प्रतिशत मात्रै हिस्सा छ ।  यो क्षेत्रमा वैदेशिक लगानी ज्यादै न्यून अर्थात् करिब तीन प्रतिशत मात्रै आकर्षण गर्नसकेको छ ।  अर्काेतिर यस क्षेत्रमा स्रोत र साधनको अभाव छैन ।  पर्याप्त प्राकृतिक तथा मानव स्रोत रहेकाले यसको उपयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने पर्याप्त सम्भावना नभएको होइन ।  दक्षिण एसियाली मुलुकमा आर्थिक विकासको पर्याप्त सम्भावना भए पनि विश्वकै पिछडिएको र अधिक गरिब बसोबास गर्ने क्षेत्रका रूपमा रहनु विडम्बना हो ।  यहाँको करिब एकचौथाइ जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि बाँच्न बाध्य छ ।  नेपाल र भुटानको जलस्रोतको उपयोगबाट दक्षिण एसियाली मुलुकले फाइदा लिनसक्छन् ।  जलस्रोतको उचित उपयोग नभएकाले ऊर्जाको अभाव भोग्नुपर्ने बाध्यता छ ।  दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) पूर्ण कार्यान्वयनसँगै आर्थिक सङ्घ निर्माणको खाकासमेत धेरै पहिले बनेको हो तर यसले सही गति लिन सकेको छैन ।  यातायात, पूर्वाधार, सडक, ऊर्जामा सहकार्यको खाका पनि आएको छ ।  अहिले भारतीय लगानीकर्ता विश्वका विभिन्न मुलुकमा लगानी गरिरहेका छन् तर तिनको लगानी सार्क राष्ट्रमा एक प्रतिशत पनि छैन ।  यस क्षेत्रको व्यापार वृद्धिका लागि साफ्टा लागू गरिए पनि यसको कार्यान्वयन स्तर ज्यादै कमजोर छ ।  भन्सार तथा गैरभन्सार अवरोध घट्न सकेको छैन ।  यो क्षेत्रले उपलब्ध मानव संशाधनको प्रयोग गर्न नसकेर विदेश पठाउनुपर्ने बाध्यता पनि छ ।
सार्क मुलुकबीच आर्थिक क्षेत्रको सहकार्य ज्यादै कमजोर छ ।  यहाँ पारवहनसम्बन्धी समस्या छ ।  पूर्वाधारको कमी छ ।  यसले व्यापार क्षेत्रमा लागत बढाएको छ ।  सहज कनेक्टिभिटी, ऊर्जा प्रवद्र्धन तथा क्षेत्रीय व्यापार सहजीकरणका माध्यमबाट व्यापार वृद्धि गर्न सकिन्छ ।  लगानी वृद्धिका लागि उपयुक्त वातावरण आवश्यक छ ।  यसका लागि सार्क मुलुकबीच आर्थिक विकास र व्यापारका क्षेत्रमा साझेदारी आवश्यक छ ।  यसले मात्र यहाँको गरिबी हट्नसक्छ र यस क्षेत्रको विकासको ढोका खोल्न सक्छ ।  पटकपटक आर्थिक विकासका मुद्दालाई विशेष जोड दिने गरिए पनि यसले व्यवहारमा लागू हुन नसकेको यथार्थ छ ।  दक्षिण एसियाली मुलुकबीच यात्रुवाहक सवारी साधन सम्झौता, क्षेत्रीय रेलवे, ऊर्जामा अन्तरसरकारी सहयोग र सहकार्य आवश्यक छ ।  ऊर्जा, लगानी, प्रविधि, आवागमन, पर्यटन जस्ता कुरामा सहकार्य आवश्यक छ ।  जलस्रोतको विकास र ऊर्जामा रहेको परनिर्भरता अन्त्य गर्न अन्तरदेशीय प्रसारण लाइन आवश्यक छ ।  यसले मात्र यो क्षेत्रको आर्थिक विकासको ढोका खोल्नसक्छ र यहाँको गरिबी घटाउन सक्छ ।  यसका लागि दक्षिण एसियाली मुलुकबीच विश्वास र समझदारी जरुरी छ ।  

प्रकाशित मिति: २०७४/८/१

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना