परिमार्जित हुँदै मृत्यु संस्कार


मुरारी ढुङगेल

 

आफ्नो परिवारभित्रको सदस्यको मृत्युपश्चात् मृतकको परिवारजनले काजकिरिया गर्छन् ।  आआफ्नै जातीय परम्पराअनुसार काजकिरिया गर्ने परम्परा छ ।  नेपाललगायत विश्वका थुप्रै देशमा गरिने विविध किसिमका अन्त्येष्टिको एउटै उद्देश्य मृतात्माको शान्तिको कामना गर्नु नै हो ।  मृत्यु संस्कार भनेको मृतकप्रति श्रद्धापूर्वक गरिने सम्झना एवं मृतकको आध्यात्मिक यात्राको लागि परिवारका सदस्यबाट गरिने कामना तथा शुभेच्छा हो ।  मृतकको शवलाई घाटमा पु¥याई मृतकको छोरो वा परिवारको नजिकको सदस्यले आगोको दागबत्ती दिँदै सदगत गर्छ ।  आफ्नो जातीय, धार्मिक परम्परा र आस्थाअनुसार मृत्यु संस्कार गरिने चलन धर्म, परम्परा ठाउँ र जातजातिअनुसार फरक–फरक छन् ।  मृतकका नातेदारले मृत्युपछिको जीवनमा मृतकलाई सुख र कल्याण होस् भन्ने भावनाले यो संस्कारको विकास भएको मानिन्छ ।  नेपाली समाजमा आफ्नै समुदाय र आफ्नै सांस्कृतिक प्रचलनअनुसार काजकिरिया गर्ने चलन छ, जुन कुनै समुदायमा खुकुलो छ भने कुनै समुदायमा अति कठोर जस्तो देखिन्छ ।  केही समुदायले अचेल काजकिरियामा लचकता अपनाउन थालेका छन् ।
किरिया कर्मको अवधिमा १३ दिनसम्म जति कष्ट खेप्दै चोखोनितो र शुद्ध रहन सक्यो मृतक उति सजिलै स्वर्ग अथवा बैकुण्ठ जाने बाटो सहज हुन्छ, सन्तानलाई धर्म मिल्छ भन्ने धार्मिक विश्वास छ ।  किरियापुत्रीले दिनहुँ नुहाइधुवाइ गरी घाँस, परालमा राडी ओछ्याएर, राडीनै ओडेर सुत्नुपर्ने, शरीरमा सेतो लगौटी र खाँडीको बर्को ओडी पुुस÷माघको जाडो भए पनि कटाउनुपर्ने, शौचालय प्रयोग गर्न नहुने, घिउ, अदुवा र कागतीमात्र खाएर बस्नुपर्ने चलन छ ।  किरिया अवधि भर कसैलाई नछोई धागो बेरेर कोरो बनाइएको भुइँमा सुत्नुपर्छ ।  दिनको एक पटक एक छाक निस्तो भात खाई मृतकको नाउँमा पायस पकाइ पिण्ड दिने प्रचलन सदियौँदेखि हिन्दु संस्कारमा चल्दै आएको पाइन्छ ।  पिण्डदान मृतकको आत्मा पितृलोक नपुगेसम्म उसलाई बाटोमा चाहिने भोजनको रूपमा गरिएको विश्वास छ ।
तेह्रौँ दिनमा चलनअनुसार गाईको पुच्छर समाइ किरिया बार्ने परिवारजनले ब्राह्मणलाई शैøया दान गरेपछि मात्र मृतकको तेह्रौँ दिनको कर्म सकिएको मानिन्छ ।  मृतकका परिवारमा एक वर्षसम्म शोकमा रहेको पहिचान स्वरूप सेता लुगामात्र लगाई चोखोनितो खाने गरिन्छ ।  मानिसको मृत्यु भएको घरमा एक वर्षसम्म जुठोबार्ने चलन अझ सम्म छ ।  तेह्रौँ दिन सबै कार्य समाप्त गरेर मलामीलाई भोजन खुवाएपछि मृतक मुक्त भएर पितृ सरहको स्थानमा पुग्ने विश्वास गरिन्छ ।  त्यसपछि पनि वर्ष दिनसम्म हरेक महिनामा मासिक श्राद्ध गरिन्छ र वर्ष दिन पुगेपछि एक मुख्य बरखी श्राद्ध गर्ने र गौदान तथा अन्य दान दिने चलन छ ।  गौदान गर्नुको तात्पर्य हो मृतक यस लोकबाट अर्को उच्चलोकतिर जाने बाटोमा पर्ने वैतरिणी नदी तर्न सजिलो होस् ।  वर्ष दिनको काम सम्पन्न भएपछिका वर्षमा पितृलाई मरेको तिथिमा तर्पण पिण्ड दिन वाषिर्क श्राद्ध गरिरहने प्रथा छ ।  जुठोबार्नु भनेको मृतकको घरमा पूजापाठ नगरिने, चाडबाड नमनाइने, कुनै प्रकारका उत्सव उमङ्गमा परिवारका सदस्य सरिक नहुने, रगतको नातागोताभित्र बिहे–ब्रतबन्धजस्ता शुभ कर्म गर्न नमिल्ने आदि हुन् ।  एक वर्षपछि वार्षिकीमा पूजाआजा गरी जुठो फुकाइन्छ, जुठो परेको घर चोख्याउने चलन छ ।
पूर्वी नेपालको किरात, लिम्बू जातिमा लोग्ने मानिसको निधन भए चार दिनसम्म र स्वास्नी मानिसको निधन भए तीन दिनसम्म जुठोबारे पुग्छ ।  त्यहीका ब्राह्मण, क्षेत्रीभन्दा फरक प्रचलन जुठोको अन्तिम दिन लिम्बूको सगुनमा मासु र जाँडरक्सी अनिवार्य हुनैपर्छ ।  राई र लिम्बू जातिमा कोही मरेमा पहिले बन्दुक पड्काएर मलामी छिमेकीलाई बोलाउने चलन छ ।  मलामी जाँदा सबै मलामीले हात–हातमा खुाडा, खुकुरी, बन्दुक, तरबार आदि हातहतियार बोकेर आवाज निकाल्दै शव लैजाने चलन छ ।  शवलाई गाड्ने काम सकिएपछि जाड चढाउनुपर्छ ।  अशौच बार्ने विषयमा पनि अन्य जातिभन्दा जनजाति र आदिवासीमा भिन्नता देखिन्छ  ।  त्यहाँका आदिबासी राजवंशी–ताजपुरियामा किरिया बारेको व्यक्ति हाटबजार घुमेर धेरै व्यक्ति हे¥यो भने मृतक स्वर्ग जान्छ भन्ने धार्मिक विश्वास छ ।  उनीहरूको मृतकको छोरा सबै भाइ किरियामा बस्नु नपर्ने चलन छ ।  कुनै एक भाइ किरियामा बसे हुन्छ, एउटै बाबुआमाका छोरा अरू भाइले खासै चोखोनितो बस्नुपर्दैन ।
 काठमाडौँ वरपरभन्दा बाहिरका जिल्लामा अझ पनि काजकिरिया गर्ने प्रचलनमा खासै परिमार्जन भएको पाइँदैन ।  सायद समाज विकास भएकै कारण हुन सक्छ, त्यहाँको चलनभन्दा काठमाडौँको चलनमा केही सुधार भएको पाइन्छ ।  काठमाडौँमा सुधारिएको सभ्यतासँगै किरियाक्रममा पनि परिस्कृत भई केही खुकुलो हुँदै गएको छ ।  किरियापुत्रीले फलफूललगायतका सुख्खा खानेकुरा पनि खान मिल्ने चलन काठमाडौँ हुँदै गाउँतिर भित्रिन थालेको छ ।  मृतकको शव बोक्दै घाटसम्म महिला पनि मलाम जाने चलन पूर्वी जिल्ला हुँदै पश्चिमतिर सर्दै गएको छ ।  नेपालको राजधानीलगायतको मध्य क्षेत्रका जिल्लामा महिला मलामी जान वञ्चित थिए ।  त्यसमा अहिले छिटफुट सुधार आएको छ ।  आजभोलि १३ दिन क्षेत्रबास बस्ने जुन पुरानो प्रचलन छ, त्यसमा पनि कसैले सात दिन कसैले पाँच दिन गर्ने चलनको बहस हुन थालेको छ ।  यताकता यसको प्रगोग हुनु यसको परिवर्तित रूप हो ।
परिवारमा सदस्यको मृत्युु बियोगमा छट्पटिएको व्यक्तिमाथि नै शुद्ध अनि चोखोनितोको नाउँमा थोपरिएको यी र यस्ता कष्टप्रति खुलेर आवाज उठ्न सकेको पाइँदैन ।  यदि धर्म संस्कार विरोधीको आरोप नलाग्ने हो भने यस्ता परिमार्जन गर्नैपर्ने विषयमा बोलिने आवाज पक्कै पनि धेरै हुन सक्थे तर हामीलाई सामाजिक, धार्मिक जञ्जिरले बाधेको तितो यतार्थका कारण कति सुधारिनुपर्ने विकृति विसङ्गति पनि परिमार्जन हुन सकिरहेको छैन ।  अझै पनि पुराना पुस्तामा यो परिवर्तनको यथार्थ चिर्न सक्ने इच्छा एवं क्षमता नहुन सक्छ तर तिनै पुस्ताका सन्ततिले गलत कुराको विरोध गर्दै सही कुरालाई सहजताका साथ स्वीकारी अवलम्बन गर्न थालेपछि नेपाली समाजमा प्रचलित विविध संस्कारभित्रका विकृति विसङ्गति बिस्तारै कम हुँदै गएको छ ।  

 

प्रकाशित मिति २०७४/८/२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना