ज्यादै महँगियो तरकारी

सीता शर्मा

काठमाडौँ, मङ्सिर ३ गते ।  काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य तरकारीको भाउ गत वर्षको भन्दा थोक बजारमै साढे दुई सय प्रतिशतभन्दा बढी महँगिएको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको भाउ गत वर्ष मङ्सिर २ गते र यो वर्ष मङ्सिर १ गते (शुक्रबार) को मूल्य तुलना गरेर हेर्दा २६३ प्रतिशतसम्म महँगो भएको पाइएको हो ।  
अघिल्लो वर्ष मङ्सिर २ गते प्रतिकेजी २७ रुपियाँ थोकमा कारोबार भएको गाजर अहिले प्रतिकेजी ९८ देखि १०० रुपियाँमा कारोबार भएको छ ।  यस्तै गोलभेडा (सानो र ठूलो) प्रतिकेजी ३० देखि ३५ रुपियाँमा किनबेच भइरहेकोमा अहिले बढेर ८० देखि ८५ सम्म थोकमै कारोबार भएको छ ।  यसैगरी प्रतिकेजी २७ रुपियाँमा पाइने सुकेको प्याज अहिले बढेर ७० रुपियाँमा कारोबार भएको छ ।  बन्दा, काउली, मुला, भन्टा, घिउसिमी, बोडी, स्कुस प्रतिकेजीको मूल्य पनि अघिल्लो वर्षको भन्दा ५० देखि एक सय प्रतिशतसम्म थोकमै महँगिएको छ ।  खुद्रा बजारमा त झन् तरकारीको भाउ छोइसाध्य छैन । vegetables
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले उपत्यकामा मागअनुसारको तरकारी आपूर्ति हुन नसकेकाले महँगो भएको दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, अघिल्लो वर्ष यो समयमा दैनिक सातदेखि साढे सात सय टन तरकारी भित्रिने गरेकोमा अहिले नै घटेर दैनिक ५०० देखि ५५० मात्रै आपूर्ति भएको छ, कम आपूर्ति हुनेबित्तिकै भाउ बढ्नु स्वाभाविकै हो ।  गएको साउन र भदौमा तराईमा आएको बाढीले तरकारीका बिरुवा वा तरकारी उत्पादन गर्ने स्थलमा धेरै नोक्सान पुगेकाले यसपटक कम आपूर्ति भएको कार्यकारी निर्देशक पौडेलेको भनाइ छ ।  आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने पौडेलको भनाइप्रति असहमति जनाउँदै भन्नुभयो, तरकारी भाउ महँगो हुनुको कारण बजारमा तरकारीको आपूर्ति कम नभएर होइन, व्यवसायी मनोमानी तरिकाले भाउ तोक्ने कारणले हो ।   
विभाग र उपभोक्ता अधिकारवादी संस्थाले देशकै सबैभन्दा ठूलो र बढी तरकारी भित्रिने कालिमाटी बजारमा अनुगमन गर्ने क्रममा व्यवसायीले मनलाग्दी तरिकाले तरकारीको मूल्य तय गरेको उहाँले जानकारी गराउनुभयो ।  उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले तराईमा बाढी र असिनाको बहानामा तरकारीमा बिचौलियाको बिगबिगी भएकाले त्यसमा सरकारले तत्काल हस्तक्षेप गरी  नियन्त्रण गर्नुपर्ने भन्दै विगत सातादेखि सरकारको ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो ।
उहाँले किसानले पाउने मूल्य, थोक बिक्रेताले खरिद गर्ने मूल्यको अन्तर र खुद्रा बिक्रेताले बेच्ने मूल्य र उपभोक्ता मूल्यको अन्तरसम्मको मूल्य अनुगमन र विश्लेषण गरी मूल्य कायम गर्न अनुरोधसमेत गर्नुभयो ।
विगत ढेड÷दुई महिनादेखि तरकारीको भाउ अस्वाभाविक रूपमा महँगिएपछि सरकारले पनि चासो देखाएर तरकारीको मूल्य विश्लेषण गर्न अध्ययन टोली नै गठन गरेको छ ।  आपूर्ति विभागको नेतृत्वमा अनुगमन टोली गठन गरिएको छ ।  विभागका निर्देशक निरज पौडेलको संयोजकत्वमा गठित टोलीले उपत्यका भित्रिने मुख्य नाका मुग्लिङ, धादिङ, पाँचखाल, मकवानपुर
(पालुङ)लगायत क्षेत्रमा निरीक्षण गर्नेछ ।  अनुगमन टोलीले कृषकले पाउने मूल्य, सङ्कलन केन्द्रको मूल्य र ढुवानी मूल्यलगायतको अध्ययन गर्ने विभागले जनाएको छ ।  विभागका निर्देशक एवं बजार अनुगमन संयोजक लक्ष्मण श्रेष्ठका अनुसार कालिमाटी बजार विकास समितिले तयार गर्ने थोक, खुद्रा मूल्यदेखि लिएर फरक फरक ठाउँमा राखिएका तरकारीका खुद्रा मूल्यको अनुगमन गरी प्रतिवेदन बनाउनेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना