आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

डिल्लीराम मिश्र

 

अन्ततोगत्वा, नेपालको संविधान २०७२ द्वारा सङ्घीय संरचना अनुरूप राज्य सञ्चालनका प्रमुख तीनवटा आधारलाई स्वीकार गरिएको छ ।  यी तीनवटा आधारअन्तर्गत स्थानीय तह, प्रादेशिक तह र सङ्घीय तह रहेका छन् ।  स्थानीय तहलाई गाउँपालिका र नगरपालिकामा विभक्त गरिएको छ ।  स्थानीय तहअन्तर्गत ७५३ स्थानको निर्वाचन यसअघि नै सम्पन्न भई निर्वाचित जनप्रतिनिधिले स्थानीय सरकारको नेतृत्व सम्हाली सकेका छन् ।  संविधानले परिकल्पना गरेको नयाँ ढाँचा अनुरूप सङ्घीय तथा प्रादेशिकसभाको निर्वाचन दुई चरणअन्तर्गत पहिलो चरण २०७४ मङ्सिर १० र दोस्रो चरण मङ्सिर २१ गते सम्पन्न हुन गइरहेको छ ।   नेपाललाई भूगोल र जनसङ्ख्याको आधारमा देशभर १६५ वटा निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जनाका दरले १६५ जना संसद् सदस्य प्रतिनिधिसभाका लागि निर्वाचिन हुने छन् ।   यस्तै यसको ठिक दोब्बर सङ्ख्या ३३० जना सदस्य प्रदेशसभाका लागि निर्वाचित हुनेछन् ।  त्यसैले प्रतिनिधिसभाको निर्वाचन २७५ सदस्यका लागि हुन लागेको हो ।  यसरी क्षेत्र निर्धारण गर्दा जनसङ्ख्या जतिसुकै भए पनि एउटा जिल्लाको अस्तित्व रहने गरी एक निर्वाचन क्षेत्र कायम गरिएको छ ।  
विशेषतः संविधानको धारा ८३ मा प्रतिनिधिसभा र राष्ट्रिय सभानामका दुई सदनात्मकसहितको एक सङ्घीय व्यवस्थापिकाको व्यवस्था गरिएको छ, जसलाई सङ्घीय संसद् भनिन्छ ।  त्यसै गरी सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने ११० जना सदस्य निर्वाचित हुने छन् ।  यसरी प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी कुल २७५ जना संसद् सदस्य रहनेछन् ।  यस्तै राष्ट्रियसभामा सातवाट प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट आठ जनाका दरले हुन आउने सङ्ख्या ५६ जना र तीन जना राष्ट्रपतिद्वारा मनोनित गरिनेछ ।  संविधानअनुसार प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मात्रै राष्ट्रिय सभाको निर्वाचन हुन सक्ने व्यवस्था छ ।  संविधानको धारा १७५ मा प्रदेश व्यवस्थापिकाको व्यवस्था गरिएको छ र यो एक सदनात्मक हुनेछ ।  प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको कार्यकाल पाँच वर्षको हुनेछ भने राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुनेछ ।  यसरी ५९ सदस्यीय निकायको रूपमा राष्ट्रियसभा रहनेछ ।  सातवटै प्रदेशमा गरी प्रदेशसभामा प्रत्यक्ष निर्वाचनद्वारा ३३० सदस्य निर्वाचित भएर आउने छन् ।  यस्तै प्रदेशसभामा पनि समानुपातिकतर्फ २२० जना सदस्यको प्रतिनिधित्व दलले प्राप्त गरेको मतको आधारमा छानिनेछ ।  यसबाट प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाबाट गरी देशभर ८८४ जना संसद् सदस्य रहनसक्ने व्यवस्था नेपालको संविधानले गरेको छ ।  छ सय एक जना सांसद बढी भए भनिरहेको अवस्थामा मुलुकमा यति ठूलो सङ्ख्या थपिदैछ ।
२००७ सालको जनक्रान्तिसँगै शाही घोषणाद्वारा उठान गरिएको संविधानसभाले पूर्णरूप पाएर आज कार्यान्वयनको पक्षमा उभिएको छ ।  सङ्घीय संविधान कार्यान्वयनको क्रममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक हुँदैछ ।  सङ्घीय संरचना अनुरूप सम्पन्न हुन गइरहेको आसन्न निर्वाचनमा देशभरबाट एक करोड ५४ लाख २७ हजार ९३५ मतदाताले निर्वाचनमा भाग लिदै छन् ।  अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा यस निर्वाचनमा १३ लाख ७० हजार मतदाता देशभरबाट थपिएका छन् ।  देशभर कुल १९ हजार ८०९ मतदान केन्द्र कायम गरिएको छ ।  यस पटकको निर्वाचनमा निजामती सेवा र अन्य कर्मचारी एवं सबै प्रकारका सुरक्षाकर्मी गरी चार लाखभन्दा बढी कर्मचारी निर्वाचनका लागि परिचालित गरिने भएको छ, जस्मा दुई लाख सत्तरी हजार सुरक्षाकर्मी रहने छन् ।   
    नयाँ संविधानले प्रदत्त गरेको सङ्घीय अवधारण अनुरूप प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पहिलो चरणअन्तर्गत मङ्सिर १० गते सम्पन्न हँुदैछ ।  पहिलो चरणअन्तर्गत पूर्वमा ताप्लेजुङदेखि पश्चिममा दार्चुलासम्मका हिमाली जिल्लालगायत त्यसको जनाधारमा रहेका केही पहाडी गरी ३२ जिल्लामा प्रतिनिधिसभाको ३७ सदस्य तथा प्रदेशसभाका ७४ सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचन हुनेछ ।  यस चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाता सहभागी हुनेछन् ।  पहिलो चरणअन्तर्गत निर्वाचित हुने जिल्लामा प्रदेश नम्बर २ बाहेक अरू ६ बटै प्रदेशका उत्तरी हिमाली जिल्ला पर्छन् ।  नयाँ प्रणाली अनुसार एक जना मतदाताले तीन वटा मतपत्रमा चार पटक मतदान गर्नुपर्छ जसअनुसार एक एक मत प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ मतदान गर्नुपर्नेछ भने सभानुपातिकतर्फ पनि प्रतिनिधिसभा र प्रदेशसभा तर्फ एक एक पटक मतदान गर्नु पर्नेछ ।  
मङ्सिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत दोस्रो चरणको निर्वाचन एकै साथ गरिनेछ ।  यस निर्वाचनमा ४५ जिल्लाका १२८ स्थान सदस्यका लागि प्रतिनिधिसभा एवं २५६ स्थान सदस्यको लागि प्रत्यक्षतर्फ प्रदेशसभाको निर्वाचन हुनेछ ।  यस्तै एकै साथ प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत २२० समानुपातिक सदस्यका लागि पनि मतदान सम्पन्न हुनेछ ।  मध्यपहाडी र तराईका जिल्लामा एकै साथ गरिने यस निर्वाचनमा कुल मतदाता सङ्ख्या एक करोड २१ लाख ९९ हजार ५६ रहेको छ ।  यस निर्वाचनमा सबैभन्दा बढी मतदान मोरङ र कम मतदाता मनाङ जिल्लामा रहेका छन् ।  प्रतिनिधिसभाको लागि एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङको कुल मतदाता सङ्ख्या पाँच हजार ८८१ रहेको छ ।   
राजनीतिक चेतना र जनसहभागिताको आधारमा मतदाताका साथ अत्यन्त उत्साहपूर्ण रूपमा मनोनयनमा देखा परेको पहिलो र दोस्रो चरणको निर्वाचन जति नजिकिदै छ, उम्मेदवारहरू बीच एक आपसमा तीव्र प्रतिस्पर्धा अगाडि बढेको छ ।  गठबन्धनका दृष्टिबाट यस पटकको निर्वाचनमा वाग गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै तीव्र प्रतिस्पर्धा देखिए पनि सिद्धान्तहीन चुनावी तालमेलका कारण मतदाताले आफ्नो मतको प्रयोग कसरी गर्छन् भन्ने सवालमा सहजै अनुमान गर्न कठिन छ ।  दन्त्यकथाको शैलीमा आएका दलहरूका घोषणापत्र र नेताहरूको चुनावी शैलीगत भाषण तथा आरोप प्रत्यारोपलाई मात्र विश्वास गर्ने पक्षमा आजका सचेत मतदाता विल्कुलै छैनन्, उनीहरूको चेतनाको स्तर धेरै माथि उठिसकेको छ ।  यस पटकको निर्वाचनमा यस्तो पनि गठबन्धन भएको छ,  एउटै दलका दुईटा उम्मेदवारलाई एकातिर लोकतान्त्रिक, गठबन्धन र अर्कोतर्फ वाम गठबन्धनले समर्थन गरेको छ, यो कस्तो राजनीतिक चरित्र हो ? आम मतदाताले बुझ्न सकिरहेका छैनन् ।  अधिकांश नेतालाई चुनाव जित्न फलामको चिउराजस्तै भएको छ ।  निर्वाचन प्रणाली प्रतिवर्ष खर्चिलो बन्दै गएको छ ।  यस पटकको निर्वाचनमा, सरकार, निर्वाचन आयोग र उम्मेदवारको मार्फतबाट गरी निर्वाचनमा रु. ४३ अर्ब खर्च हुने भएको छ जसमा उम्मेदवारबाट मात्र रु. २३ अर्ब खर्च गरिँदैछ ।  
सक्षम नेतृत्व वर्गले सत्ता सञ्चालनमा त्याग, तपस्या, इमानदारिता र नैतिकता प्रदर्शन गर्न सकेन भने नयाँ प्रयोगको रूपमा आएको महँगो सङ्घीयताले विगतको शासन शैली अनुरूप चल्न खोज्ने हो भने मुलुकमाथि यसको आर्थिक भार बढ्ने पनि देखिन्छ ।  

प्रकाशित मिति: २०७४/८/३

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना