चुनावलाई भयरहित बनाउन काँग्रेसको माग

th_4ललितपुर, मङ्सिर ४ गते । नेपाली काँग्रेसले केही दिनदेखि काँग्रेस र अन्य दलका उम्मेदवार तथा नेता कार्यकर्तामाथि भएको आक्रमणको निन्दा गर्दै भयरहित वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ । काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले निर्वाचनमा खटिने कर्मचारीको समुचित सुरक्षा प्रबन्ध गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । 

काँग्रेसको मिडिया सेन्टरद्वारा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनसमेत माग गर्नुभयो ।
पछिल्ला दिनमा भएका आक्रमणमा माओवादीले चलाएको द्वन्द्वकालका लडाकु, शिविरमा रहेका तथा प्रशिक्षित भएका तर अयोग्य भनेर बाहिरिएका लडाकूको उपयोग भएको दाबी पनि नेता खाँणले गर्नुभयो ।
उहाँले केही स्थानमा छिटपुट रूपमा हिंसात्मक गतिविधि भए पनि त्यसबाट अतालिनुपर्ने अवस्था नरहेको जिकिर गर्दै भन्नुभयो, “निर्वाचन आयोगले चुनावको सम्पूर्ण तयारी गरिसकेको जनाएको छ । गृह मन्त्रालयले पनि शान्तिसुरक्षालाई चुस्त, दुरुस्त राख्न सुरक्षाका सबै संयन्त्र परिचालन गरिरहेको छ । ”
उहाँले पार्टीभित्र र अन्य स्वतन्त्र निकायकोे अहिलेसम्मको सूचनाका आधारमा निर्वाचनमा नेपाली काँग्रेसको बहुमत आउने दाबी गर्नुभयो । संयोजक खाँणले आगामी १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा हुने निर्वाचनका लागि काँग्रेस तयारी हालतमा रहेको पनि बताउनुभयो ।
उहाँले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा काँग्रेसका उम्मेदवार प्रचारप्रसारमा व्यस्त रहेको पनि उहाँले जानकारी दिनुभयो । जिल्लामा पार्टीले मतदान केन्द्रमा खटिने प्रतिनिधिको चयन र प्रशिक्षण, मतदाता प्रशिक्षण पनि गरिरहेको उहाँले बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना