पच्चीस स्थानमा विस्फोट, विस्फोट गराउनेलाई छुट नदिइने

bhimsen-das-pradhanकाठमाडौँ, कात्तिक ४ गते । रक्षामन्त्री भीमसेनदास प्रधानले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा खटिएका विभिन्न पार्टीका उम्मेदवार तथा कार्यकर्तालाई लक्षित गरी बम विस्फोट गराउने समूहलाई कुनै हालतमा छुट नदिइने बताउनुभएको छ । 

नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहँुका उम्मेदवार रामचन्द्र पौडेल, नुवाकोटमा पार्टीका अर्का नेता डा. रामशरण महत र प्रदेशसभा उम्मेदवार रमेश महत लगायतको हत्या गर्ने उद्देश्यले विस्फोट गराइएको बताउँदै उहाँले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न निर्देशन दिइसकिएको बताउनुभयो । यताका दिनमा नेपाली काँग्रेसका साथै वाम गठबन्धनका नेता तथा उम्मेदवारहरूलाई लक्षित गरी भोजपुर, रुकुम, रोल्पा
लगायतका क्षेत्रमा पनि विस्फोटका घटना भएका थिए ।  क्यानडाको भ्यानमारमा कात्तिक २८ र २९ गते सम्पन्न संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा शान्तिसेना पठाउने देशका रक्षामन्त्रीको सम्मेलनमा भएका उपलब्धिका बारेमा जानकारी दिन आइतबार रक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री प्रधानले निर्वाचनको मिति घोषणा भएदेखि आइतबारसम्म २५ स्थानमा विस्फोटका घटना भएको बताउनुभयो ।
निर्वाचन सुरक्षाप्रति सरकार गम्भीर हुनुका साथै जिम्मेवारपूर्ण ढङ्गले लागिपरेको स्पष्ट पार्दै उहाँले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाली शान्ति सेनाको सङ्ख्या वार्षिक १३ हजार पु¥याउने विषयमा छलफल गरी आवश्यक तयारी पूरा भएको बताउनुभयो । हाल यूएन शान्ति मिसनमा वार्षिक करिब पाँच हजार सेना विभिन्न देशमा खटिने गरेका छन् ।
उहाँले सेनासँंगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि शान्ति मिसनमा कोटा बढाउने विषयमा छलफल भएको जानकारी दिनुभयो । शान्तिसेना पठाउने मुलुकमा नेपाल जनशक्तिको आधारमा छैटौँ स्थानमा पर्छ ।
यसैबीच नेपाली सेनाले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सहभागी उम्मेदवार तथा सर्वसाधारणलाई लक्षित गरी बम विस्फोट गराइएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएसँंगै सचेत हुन आग्रह गरिएको जनाएको छ ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले राजनीतिक अस्थिरता निम्त्याउन खोज्ने समूहले निर्वाचन प्रचारप्रसारका क्रममा आमसभास्थल तथा सडक रुटलाई लक्षित गरी विस्फोटका घटना गराएकाले सेना सोहीअनुसार भरपर्दो शान्तिसुरक्षा व्यवस्था मिलाउन लागिपरेको बताउनुभयो ।
सिंहदरबारस्थित रक्षा मन्त्रालय परिसरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले उम्मेदवार तथा सर्वसाधारणको सुरक्षाका लागि स्थलगत तथा हवाई सुरक्षा गस्ती गर्ने जानकारी दिनुभयो । सेनालाई उम्मेदवारको व्यक्तिगत सुरक्षामा नखटाए पनि अन्य सुरक्षा निकायसँग समन्वय गरी सुरक्षा प्रदान गर्ने उहाँले बताउनुभयो ।
निर्वाचन सुरक्षाका लागि केन्द्रीय सुरक्षा समितिसँग छलफल गरी अतिसंवेदनशील र संवेदनशील मानिएका तराईका जिल्लाको सुरक्षाव्यवस्थामा केही परिवर्तन गरी पहाडी क्षेत्रमा बढाउँदै लैजाने विषयमा छलफल भएको सेनाले जनाएको छ ।
बम विस्फोटका घटना गराई राजनीतिक अस्थिरता निम्त्याउन खोज्ने तथा निर्वाचन नचाहने समूहलाई आवश्यक कारबाही गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी नै सक्षम एवं सक्रिय भएकाले एक्कासि सेना नै मैदानमा खटाइहाल्नुपर्ने अवस्था नआइसकेको टिप्पणी प्रधानसेनापति क्षत्रीले गर्नुभयो । सेनाले मतपत्र छपाइदेखि मतपत्र तथा निर्वाचन सामग्री ढुवानीमा सुरक्षा प्रदान गरिरहेको छ । प्रधानसेनापति क्षत्रीले थप्नुभयो, “निर्वाचनमा खटिएको सेनाले मतदान स्थल तथा वरपरको सुरक्षा व्यवस्था मिलाउनेछ । ”

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना