चिकित्सा शिक्षाका समस्या

Shreeram upadhyaप्रा.डा. श्रीरामप्रसाद उपाध्याय

मानिसको उत्पत्तिसँगै स्वास्थ्यप्रतिको सजगता बढ्दै गएको हो ।  वैदिककालका चिकित्सक धनवन्तरीको चर्चा अझै पनि गर्ने गरिन्छ ।  समयअनुसार चिकित्सा पद्धतिमा परिवर्तन हुँदै गएका अनेक प्रमाण अझै विद्यमान छन् ।  आयुर्वेद तथा आधुनिक चिकित्सा पद्धतिले समान रूपले लोकप्रियता प्राप्त गर्दै गएका छन् ।
१९४५ सालमा तत्कालीन प्रधानमन्त्री वीरशमशेरले काठमाडौँको मुटुमा वीर अस्पताको स्थापना गरेपछि नेपालमा आधुनिक चिकित्सा प्रणालीको प्रारम्भ भएको हो ।  त्यसबखत एक सय वटा बिच्छ्यौना भएको वीर पुरुष र वीर महिला गरी वीरशमशेरको नामबाट दुई वटा अस्पताल सञ्चालन गरेका थिए ।  अस्पतालको निम्ति चिकित्सक तथा परिचारिका कलकताबाट झिकाइएका थिए ।  
चन्द्रशमशेरको प्रधानमन्त्रीत्वकालमा मुलुकको स्वास्थ्य क्षेत्रको विकासको निम्ति काठमाडौँबाहेक अन्य स्थानमा पनि अस्पतालको स्थापना गरिएका थिए ।  प्रधानमन्त्री भएको तीन वर्षपछि १९६१ सालमा चन्द्रशमशेरले भक्तपुरमा अस्पतालको स्थापना गरेका थिए ।  भक्तपुरमा अस्पतालको स्थापना भएको बाइस वर्षपछि वीर अस्पतालदेखि दक्षिणतर्फ सेनाको निम्ति मिलिटरी अस्पताल स्थापना गरियो ।  त्यसैवर्ष क्षयरोगको उपचारको निम्ति सात लाख रुपियाँ निकासा गरिएको थियो ।  चन्द्रशमशेरकै शासनकालमा वीर अस्पतालमा ब्याक्टिरियोलोजी विभागको स्थापना र विद्युत् चिकित्साको व्यवस्था गरिएको थियो ।  यिनको कार्यकालमा मुलुकका विभिन्न भागमा डिस्पेन्सरीको स्थापना गरिएको थियो ।
राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना भएको तीन वर्षपछि २०१० सालमा राष्ट्रिय शिक्षा आयोगको गठन भएपछि चिकित्सा शास्त्रको अध्ययन अध्यापन गराउनुपर्ने कुरामा जोड दिएको थियो ।  राष्ट्रिय शिक्षा आयोगले प्रस्तुत गरेको प्रतिवेदनमा नेपालमा रोगले जनताको अपहरण भइरहेको छ, त्यसको निम्ति चिकित्सा महाविद्यालयको स्थापना हुनु आवश्यक छ भनी लेखिएको थियो ।  उक्त प्रतिवेदनमा चिकित्सा महाविद्यालयको साथै औषधि बनाउने विभागको स्थापना गर्न सिफारिस गरिएको थियो ।
राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८–३२ लागू भएपछि चिकित्सा शास्त्रको अध्ययन अध्यापन गराउनेतर्फ राष्ट्रको ध्यान आकर्षित भएको थियो ।  २०४५ सालमा त्रिभुवन विश्वविद्यालयअन्र्तगत चिकित्साशास्त्र अध्ययन संस्थानका साथै विभिन्न प्रतिष्ठानको स्थापना भएपछि चिकित्सा शास्त्रमा निकै विकास भएको थियो ।  यस्ता प्रतिष्ठानमा बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठानजस्ता प्रतिष्ठान खोलिएका थिए ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि चिकित्सा क्षेत्रमा क्रान्तिकारी परिवर्तन आयो ।  यस प्रतिष्ठानको स्थापनाका साथै उक्त प्रतिष्ठानमा एमबीबीएस तथा इन्टर्नसीप, बीएस नसिङ, ब्याचलर अफ डेन्टल सर्जरी, प्रमाणपत्र नसिङ र पोष्टग्य्राजुयटजस्ता कार्यक्रमको थालनी गरिएको थियो ।  यस प्रतिष्ठानमा दुई सय आठ शिक्षक र एक हजार चार सय १९ विद्यार्थी अध्यनरत छन् ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खोलिएपछि २०५९ सालमा वीर अस्पताललाई केन्द्रबिन्दु मानी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरिएको थियो ।  यस प्रतिष्ठानमा दुई सय पाँच शिक्षक र तीन सय ७३ विद्यार्थी अध्यनरत छन् ।  यसैगरी २०६४ सालमा पाटन अस्पताललाई आधार मानी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भयो ।  यस प्रतिष्ठानमा एक सय २७ शिक्षक र दुई सय ९५ विद्यार्थी अध्यनरत छन् ।  पाटन स्वास्थ्य विज्ञानको स्थापना हुनुभन्दा एक वर्षअघि नै कर्णाली अञ्चलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको थियो ।  
त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्थापित चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जका सात वटा आङ्गिक र १६ वटा सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।  चिकित्सा शास्त्र अध्यन संस्थानका सात वटा आङ्गिक क्याम्पसमध्ये तीन वटा काठमाडौँमा र बाँकी चार वटा विराटनगर, वीरगञ्ज, पोखरा र नेपालगञ्जमा रहेका छन् ।  यस संस्थानका १६ वटा सम्बन्धन प्राप्त क्याम्पसमध्ये पाँच वटा काठमाडौँ, दुई वटा ललितपुर र बाँकी नौ वटामध्ये चार वटा वीरगञ्ज र एक–एक वटा भैरहवा, जनकपुर, भरतपुर, सुनसरी र कास्कीको पोखरामा रहेका छन् ।  काठमाडौँ र पूर्वाञ्चन विश्वविद्यालयका पनि आआफ्नै चिकित्सा अध्ययन संस्थान रहेका छन् ।
नेपालमा २१ वटा मेडिकल कलेज र छ वटा डेन्टल कलेज सञ्चालन रहेका छन् ।  नेपाल नर्सिङ परिषद्मा दर्ता रहेको नर्सको सङ्ख्या ४८ हजार आठ सय ७१ पुगेको छ ।  यसैगरी चिकित्सकको सङ्ख्या १५ हजार छ ।   एउटा राम्रो मेडिल कलेजको निम्ति सात सय शय्याको सबै विभाग भएको आफ्नै शिक्षण अस्पताल र कम्तीमा दुई सय ४० चिकित्सक हुनुपर्ने मान्यता रहिआएको छ ।  हालसालै नेपाल सरकारले चिकित्सा शास्त्र अध्ययन गर्न चाहने विद्यार्थीको निम्ति शुल्क निर्धारण गरेको छ ।
नेपालमा उत्कृष्ट मेडिकल कलेज र अस्पतालको विकास भइरहेको छ ।  नेपाल बाहिर छिमेकी मुलुक भारतबाट पनि हजारौँको सङ्ख्यामा चिकित्सा सेवा प्राप्त गर्न यहाँ बिरामी आउने गर्छन् ।  यस आधारमा नेपाललाई चिकित्सा हवको रूपमा विकास गर्न सकिन्छ ।  
मेडिकल कलेज तथा अस्पतालको विकासको साथै केही मानवीय त्रुटी तथा विसङ्गतिको चर्चा हुने गर्छ ।  चिकित्सकबाट नै बेलाबखत चिकित्सासम्बन्धी सुधारको निम्ति आन्दोलन तथा अनसन हुने गरेका छन् ।  बेलाबखत बिरामीबाट एकथरिको शल्यक्रिया गर्नुपर्नेमा अर्कोथरि गरेको गुनासो सुन्ने गरिन्छ ।  लाखौँ रुपियाँ खर्च गरेर चिकित्सा शिक्षासम्बन्धी प्रमाणपत्र लिएका व्यक्ति मेडिकल काउन्सिलबाट लिइने परीक्षामा अनुत्तीर्ण हुने गर्छन् ।  यसप्रकार चिकित्सा शास्त्र अध्ययन संस्थानका दुई चुनौती रहेका छन् ।  पहिलो चुनौती चिकित्सा शिक्षालाई सस्तो र सर्वसुलभ बनाउनु र दोस्रो यस शिक्षालाई गुणस्तरीय बनाउनु हो ।  

प्रकाशित मिति: २०७४/८/५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना