काठमाडौँबाट जन्ती जाने

काठमाडौँ, मङ्सिर ६ गते ।  जनकपुरस्थित जानकी मन्दिरमा हुने विवाह पञ्चमीमा काठमाडौँबाट पनि साइपाटासहित जन्ती जाने तयारी भइरहेको छ ।  प्रचलित कानुनी व्यवस्थाअनुसार काठमाडौँ र रामजानकी मन्दिर जनकपुरको टोलीसहित विवाहमा ५१ जनाको जन्ती हुनेछ ।  
विवाह आयोजक गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार विवाह सम्पन्न भएपछि फूलमाला र फलफूलबाहेक सीताका साथमा दाइजो पठाइने छैन ।  पुरोहित दक्षिणा पनि न्यून गरिएको छ ।  
प्रचलित कानुन बमोजिमको विवाह सम्पन्न गराउन गुठी संस्थानका प्रशासक नारायण चौधरीको अगुवाइमा संस्थानको शाखा अधिकृत दर्जासम्मका कर्मचारीको टोली बुधबार जनकपुरतर्फ प्रस्थान गर्दैछ ।  
जानकी विवाहमा जन्तीका मुख्य पात्रलाई हात्तीमा चढाएर विवाह मण्डप परिक्रमा गराइने भएकाले विवाहको यो आकर्षणलाई तडकभडकपूर्ण नबनाउन पनि काठमाडौँबाट त्यसतर्फ जन्ती जान लागेको हो ।  विगतमा अयोध्याबाट आइपुग्ने लावालस्करलाई जन्तीमा मिसाइने छैन र उनीहरू यो मेला भर्ने भीडका रूपमा रहने प्रवक्ता थपलियाले बताउनुभयो ।  
रामसीता विवाह मङ्सिर शुक्ल पञ्चमीका दिन बिहीबार परेको छ ।  संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेका अनुसार पूर्वाङ्गलगायतका कार्यको पूर्वतयारी शनिबारदेखि सुरु भएको छ भने विवाह सकिएपछि आगामी शुक्रबारसम्म उत्सव चलिरहन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds