जोखिममा जैविक विविधता

    स्नेहा पोखरेल





पृथ्वीमा भएको सूक्ष्म तथा स्थूल जीव अनि वनस्पतिको समष्टि रूपलाई जैविक विविधताको रूपमा लिइन्छ ।  भौगोलिक तथा पारिस्थितिकीय विविधताका कारण सिर्जित पारिस्थितिकीय, प्रजातिगत, आनुवांशिक विविधता नै जैविक विविधता हो ।  जैविक विविधतालाई अणु वा अनुवंशको सूक्ष्मतम तह देखिलिएर बृहत् पारिस्थितिक तहसम्म अध्ययन गर्न सकिन्छ ।  जिवशास्त्रीले पृथ्वीमा रहेका करिब १५ लाख जीव तथा वनस्पतिको प्रजातिको पत्ता लागइसकेका छन् भने अझै तीस लाखदेखि एक करोड प्रजातिको पत्ता लाग्न सक्ने बताउँदै आएका छन् ।  यसबाट पनि बुझ्न सकिन्छ कि पृथ्वीको जैविक विविधता कति व्यापक छ भनेर ।  पृथ्वीका हरेक जैविक र अजैविक तŒव एक आपसमा अन्तरसम्बन्धित हुन्छन्, जसको चक्र प्रणालीबाट जीवको अस्तित्व सम्भव हुन्छ ।  कुनै पनि तŒव लोप भएर गयो भने त्यसको असर समग्र प्रणाली वा चक्रमा पर्न जान्छ जो दूरगामी हुन्छ ।  पछिल्लो समयमा मानवीय क्रियाकलापका जैविक विविधता नाश हुँदै जाँदा यही सनातन पारिस्थितिकीय चक्रमा असर पर्दैछ ।  जनसङ्ख्या वृद्धिका कारण प्राकृतिक स्रोतको अत्यधिक दोहन तथा बासस्थानको विनाश अनि बढ्दै गएको जलवायु परिवर्तन र विश्व उष्णीकरणका कारण जैविक विविधता सङ्कटमा परिरहेको बताइन्छ ।   
तथ्याङ्कले बताइरहेका छन्, बासस्थान विनाशको कारण दैनिक करिब १४० प्रजातिका वनस्पति तथा प्राणी हामीबाट लोप हुँदै गइरहेका छन्, जसअनुसार बर्सेनि करिब ५० हजार प्रजाति हराइरहेका छन् ।  जैविक विविधता विनाशको यही रफ्तार कायम रहने हो भने सन् २०५० सम्ममा हामीबाट विश्वमा भएका ५० प्रतिशत जीव तथा वनस्पति लोप भएर जाने वैज्ञानिकको ठहर छ ।  एक तथ्याङ्कका अनुसार गएको ४० वर्षमा मानवीय क्रियाकलापका कारण पृथ्वीमा भएका करिब एकतिहाइ वन्यजन्तु लोप भइसकेका छन् ।  बढिरहेको मरुभूमिकरण र जलवायुको परिवर्तनले एक हजार दुई सयभन्दा बढी चराका प्रजाति सङ्कटापन्न अवस्थामा पुगेको केही समयअघि एक अन्तर्राष्ट्रिय संस्थाले एक सर्वेक्षणले देखाएको थियो ।  गएको ३५ वर्षमा मात्रै स्थलजीवका प्रजातिको सङ्ख्या २५ प्रतिशतले घटेको छ भने सामुद्रिक जलचरका प्रजाति २८ प्रतिशतले र नदिनाला र धापमा पाइने जलचरका प्रजातिको सङ्ख्यामा २९ प्रतिशतले कमी आएको छ ।  मानवजन्य क्रियाकलापले सिर्जित प्रतिकूलता र विपत्तिका कारण प्रत्येक वर्ष एक प्रतिशत वन्यजन्तु नासिने क्रममा रहेको वैज्ञानिक बताउँछन् ।  
पृथ्वीमा एक करोडभन्दा बढी प्रजातिका जीवजन्तु, वनस्पति तथा सूक्ष्म जीव पत्ता लागिसकेका छन् ।  तिनै जीवजन्तु तथा वनस्पति र तिनीहरूको आवहवाको समग्र रूप नै जैविक विविधता हो ।  पृथ्वीमा पाइने झण्डै एक करोड प्रजातिका जीव वनस्पतिमध्ये मानिसले खाना, आवास, लत्ताकपडा तथा औषधिको रूपमा झण्डै ४० हजार प्रजाति विभिन्न तरिकाले उपयोग गरिरहेको हुन्छ ।  वनको जैविक विविधता सबैभन्दा उन्नत जैविक विविधता हो ।  अझ उष्ण प्रदेशीय वन क्षेत्रमा पुथ्वीमा पाइने स्थल जीव तथा वनस्पतिका अधिकांश प्रजाति पाइन्छन् ।  उष्णप्रदेशीय वनक्षेत्रको पारिस्थितिक पद्धति पृथ्वीको सबैभन्दा पुरानो पारिस्थितिक पद्धतिको रूपमा लिइन्छ ।  वनपैदावार वा वनजन्य जैविक विविधता मानिसलगायतका सबै जीवको जीवनको आधार पनि हो र वन पारिस्थितिक पद्धतिको अनिवार्य तŒव हो तर पछिल्लो समयमा वन विनाश, वन खण्डीकरण तथा वनको क्षयीकरणको कारण वनको जैविक विविधता निकै सङ्कटमा परेको छ ।  बढ्दो तस्करी तथा चोरी शिकारी र मिचाहा प्रजातिको आगमनका कारण पनि वनको जैविक विविधता खतरामा परेको हो ।  पृथ्वीमा वन विनाश निकै उच्च छ ।  बर्सेनि एक करोड २० लाख हेक्टर वन विनाश भइरहेको र त्यसमध्ये ठूलो हिस्सा जैविक विविधताको खानी रहेको उष्णप्रदेशीय वन क्षेत्रले ओगट्ने विभिन्न अध्ययनले देखाएका छन् ।  
वास्तवमा वनको विनाश मानिसको गरिबीसँग अन्तरसम्बन्धित छ ।  विश्वका धेरै गरिब मानिस जीवनयापनका लागि वनको स्रोतमा निर्भर छन् ।  यद्यपि, वनमा आश्रित स्थानीय बासिन्दासँग वनको दिगो उपयोगको आदिवासी ज्ञान नभएको होइन तर पनि जनसङ्ख्याको बढ्दो चापसँगै वनपैदावारको अनियन्त्रित प्रयोग बढ्दै गएको छ ।  अझ आदिवासी र स्थानीय बासिन्दालाई ढाल बनाएर विभिन्न व्यापारिक कम्पनीले वन पैदापारको अत्यधिक दोहन गर्ने गरेका कारण पनि विश्वका घना जङ्गल एकपछि अर्को गर्दै उजाड मरुभूमिमा परिणत हुँदैछन् ।  
एकातर्फ वन विनाश र चोरी सिकारीले जैविक विविधता सङ्कटमा परेको छ भने अर्कोतर्फ जलवायु परिवर्तन र उष्णीकरणले आगोमा घिउ थपेको छ ।  आखिर वन विनाश वा चोरी शिकारी र उष्णीकरण जुन कारणले भए पनि जैविक विविधताको विनाशको मुख्य कारक भनेको मानिस नै हो ।  जबसम्म मानवीय क्रियाकलाप वातावरणमैत्री हुँदैनन् र विकाश तथा आधुनिकताको नाममा प्रकृतिको अत्यधिक दोहन भइरहन्छ, तबसम्म जैविक विविधताको क्षयीकरणको दर दिन दुगुना रात चारगुना गरी बढिरहने पक्का छ ।  
नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने राजनीतिक अस्थिरताको फाइदा उठाउँदै वनको विनाश गर्ने क्रम विगत देखिनै चल्दै आएको हो ।  पछिल्लो तथ्याङ्कले नेपालमा झण्डै ४४ प्रतिशत जति वन क्षेत्र रहेको देखाउनु र वन तथा जैविक विविधता संरक्षणका लागि देशको कुल भूभागको झण्डै २५ प्रतिशत क्षेत्रलाई संरक्षित बनाइनु सकारात्मक मान्नुपर्छ ।  समुदायमा आधारित जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रमलाई सार्थकता दिनका लागि लागू गरिएको सामुदायिक वन कार्यक्रम सफल तथा उदाहरणीय बनिरहेको छ ।  यद्यपि, फितलो कानुन, खुला सिमाना र चोरी तस्करी, राजनीतिक संरक्षणमा मौलाइरहेको वन विनाश र वन पैदावारको तस्करी, चुरे क्षेत्रको विनाश र क्षयीकरणसँगै सामुदायिक वनका नाममा हुने गरेको भ्रष्टाचार र वन विनाशले गर्दा गुणस्तरीय वन मासिने तथा खण्डीकरण हुने क्रम रोकिएको छैन ।  मौसम परिवर्तन सँगै बढेको खडेरी र डढेलो जस्ता प्राकृतिक प्रकोपले वन तथा वन्यजन्तु झनै सङ्कटमा परिरहेका छन् ।  
हामी जैविक विविधतामा विश्वमै धनी मुलुकमा पर्छौं ।  हरियो वन नेपालको धन भन्ने उखानले पनि हाम्रो वन सम्पदाको महŒवमाथि प्रकाश पार्छ तर पनि हाम्रो वन तथा जैविक विविधताको संरक्षण, सदुपयोग र दिगो व्यवस्थापनमार्फत मुलुकलाई समृद्ध बनाउने दिशामा पहलकदमी हुन सकेको छैन ।  

प्रकाशित मिति: २०७४/८/६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना