मतदानपछि मतपेटिका सुरक्षित राख्न निर्देशन


Ayodhi-Prasad-Yadav-faces-parliamentary-hearingकाठमाडौँ,  मङ्सिर ७ गते ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सकिएपछि मतपेटिकाको ढुवानी र भण्डारण सुरक्षित गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
प्रमुख आयुक्त डा. यादवसहितको आयोगको उच्चस्तरीय अनुगमन टोलीले बुधबार आकस्मिक रूपमा सोलुखुम्बु र दोलखाको स्थलगत अनुगमन गर्नेका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको निर्वाचन आयोगले जनाएको छ । मङ्सिर १० मा मतदान भएपछि मतपेटिका सुरक्षित राखी मङ्सिर २१ गते दोस्रो चरणको मतदान सकिएपछि मात्रै मतगणना हुनेछ । निर्वाचन तयारी, जनशक्ति व्यवस्थापन एवम् खटनपटन र सुरक्षा बन्दोवस्तीबारे दुवै जिल्लाका अनुगमन टोलीका प्रमुख, मु्ख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूबाट डा. यादवले जानकारी लिनुभएको थियो ।
भ्रमणमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले जिल्लामा सुरक्षा व्यवस्था सुदृढ रहेको र निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको थियो । त्यस क्रममा प्रमुख निर्वाचन आयुक्त डा. यादवले जिल्लाको भौगोलिक विकटताको व्यवस्थापन गर्दै मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानीको व्यवस्थापन र सुरक्षा, निर्वाचन आचारसंहिता पालना गर्ने गराउने लगायतका कार्यमा कुनै त्रुटि नहुने गरी काम गर्न निर्देशन दिनुभयो ।
सोलुखुम्बुको सल्लेरी बजार अनुगमन गर्ने क्रममा त्यहाँ निर्वाचन आचारसंहिता विपरीत टाँगिएका तुल व्यानर तत्काल हटाउन डा. यादवले सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएपछि तत्कालै सुरक्षाकर्मीले त्यस्ता तुल ब्यानरहरू हटाएको जानकारी आयोगका प्रवक्ता नवराज ढकालले दिनुभयो । यसैगरी, प्रमुख निर्वाचन आयुक्त डा. यादवले दोलखामा स्थानीय तह निर्वाचनका क्रममा भएको जस्तो दुःखद घटना कुनै हालतमा पनि नदोहोरिने गरी विशेष सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो ।
यसैबीच, प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनका लागि शान्ति सुरक्षालगायत प्रभावकारी व्यवस्था गरिएकाले निर्धक्क भएर निर्वाचनमा सहभागी हुन सबैसँग आग्रह गर्नुभएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई केन्द्रित गरी प्रदेश ३ का रेडियो नेपालका संवाददाताका लागि रेडियो नेपाल सिंहदरबारमा बुधबारदेखि सुरु भएको तीन दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो विचार राख्नुभएको हो । उहाँले प्रतिनिधि सभा र प्रदेश सभाको दुुई चरणमा निर्वाचन सम्पन्न हुनेमा अब कुुनै शङ्का नरहेको बताउनुभयो । प्रमुख आयुक्त डा. यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचन महत्वपूर्ण रहेको र त्यसका लागि रेडियो नेपाल लगायतका आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुुरेशकुमार कार्कीले देशको विशेष परिस्थितिमा रेडियो नेपालले सधैं महत्वपूर्ण भुमिका खेल्दै आएको छ भन्नुहुँदै  सत्थतथ्य समाचार सम्प्रेषणमा रेडियो नेपाल सधैँ लागिरहने बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना