विवाह पञ्चमीको रौनक

Rajeshor nepaliराजेश्वर नेपाली

राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग शुक्ल पञ्चमी तिथिमा राम जानकी विवाह पञ्चमी मेला लाग्छ र यसपालि मङ्सिर ७ गते बडो भव्यताको साथ मेला मनाइँदै छ ।
यस अवसरमा गाउँगाउँबाट विभिन्न समूहमा मैथिल किशोरी, तरुणी, वृद्धासमेतले चलु सखि देखन् आजू जनकपुर, सीयाजी के आयल वरात हे१ गीत गाउँदै रमाउँदै विवाहोत्सव हेर्न लाखौँको सङ्ख्यामा पुग्छन् । देशको सबैभन्दा ठूलो मेलामध्येको एक यो मेलाका दिन सार्वजनिक बिदा नदिइए पनि नेपाल र भारतको विभिन्न भागबाट लाखौँ श्रद्धालुहरू यहाँ पुग्छन् र यस अवसरमा १५ दिवसीय धार्मिक प्रवचन र रामलीला प्रदर्शन गरिन्छ ।
जनकपुरधाममा हरेक महिनाको अन्तिम तिथिमा पूर्णिमाको मेला लाग्छ । त्यस्तै चैत्र शुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जयन्ती रामनवमी मेलाका रूपमा र त्यसको एक महिनापछि वैशाख शुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सव जानकी नवमीका रूपमा बडो भव्यताको साथ मनाइन्छ । यसका साथै श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला महोत्सव तथा फाल्गुण शुक्ल पक्षमा पन्द्र दिवसीय मिथिला पञ्चकोसी परिक्रमा जनकपुरधामदेखि पाँच कोस टाढा रहेको जानकीको बाललीलासम्बद्ध ठाउँंहरूको परिक्रमाको अन्त्यमा फागूपूर्णिमाको दिन जनकपुरधामको अन्तःगृह परिक्रमा बडो धुमधामका साथ हुन्छ । तर, ती सबैमा हजारौँ हजार वर्षपूर्व मार्ग शुक्ल पञ्चमी तिथिमा भएको राम जानकी विवाहको यादगाडीमा हरेक वर्ष मनाइने राम जानकी विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा निष्ठा र उत्साहको साथ भव्यतापूर्वक मनाइन्छ ।
सतोपख्यान उतरार्थको दोस्रो अध्यायको श्लोक २७ देखि ४२ तथा अष्टम अध्यायको श्लोक १६ देखि २३ सम्ममा सीता स्वयम्बरको बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाको दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेका थिए । त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकी (सीता) को शुभ विवाह भएको थियो । मार्ग महिनामा विवाह भएर सीता वनवास हुनुपरेकाले अचेल पनि मिथिला क्षेत्रमा समान्यतः त्यस तिथिपछि नै छोराछोरीको विवाह गर्ने परम्परा चल्दै आएको छ ।
यस अवसरमा दुई दिनपूर्व तृतीय तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधु सन्त र नगरका प्रमुखजनको साथ पुगेर तिलकोत्सव गरिन्छ भने दोस्रो दिन चतुर्थी तिथिमा साँझमा सीताजीको मटकोर गङ्गासागरमा पुगेर गर्ने परम्पराको निर्वाह गरिन्छ । पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाको साथ नगर परिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दा जानकी मन्दिरबाट ल्याइएको जानकी माताको मूर्ति सुसज्जित मण्डपको साथ मन्दिरको महन्थ साधु सन्त र समाजका प्रबुद्ध नागरिकहरू सम्मिलित सरियाती दलद्वारा स्वागत अभिवादन गरिन्छ र राम मन्दिरबाट पुगेको डोलाको जानकी मन्दिरबाट पु¥याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार लगाइन्छ । राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरती पूजनपछि स्वयम्बर पूरा हुन्छ । त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछि–पछि लाग्छन् र जानकी मन्दिर पु¥याएर आरती पूजन गरिन्छ । त्यसपछि राम मन्दिरको डोला लावा लस्करको साथ राम मन्दिर फर्कने गर्छ भने राति मिथिला परम्पराअनुसार वैवाहिक कार्यक्रम हुन्छ, जसलाई हेर्न हजारौँ हजारको भीड लागेको हुन्छ ।
अयोध्याबाट आएको बरात दल नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादो बेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत अभिवादन गरिन्छ । विवाहोत्सवका अवसरमा बेलाबखतमा राष्ट्राध्यक्ष पनि पुग्ने गरेको पाइन्छ । विवाह पञ्चमीको अवसरमा परापूर्वकालदेखि पन्द्र दिवसीय मेला तिरहुतिया गाछी मैदानमा लाग्ने गथ्र्याे तर एक दशकयता विवाह पञ्चमी महोत्सव रङ्गभूमि मैदानमा बडो भव्यताको साथ आयोजना गरिन्छ । राष्ट्रिय विभूति जनक र उनकी पुत्री जानकीको पुण्यभूमि जनकपुरधामको विवाह पञ्चमी मेलामा कुनै खासै सजीसजावट नभए पनि जगत् जननीप्रतिको श्रद्धा र विश्वासले नेपाल र भारतका लाखौं श्रद्धालुहरू दर्शनार्थ पुग्छन् र त्यो क्रम बढ्दै गएको छ ।
प्राचीन जनकपुरधामको विकासका लागि नगरको प्रमुख स्थल कपिलेश्वर, कुपेश्वर, दुधेश्वर र मनोकामनानाथ महादेव स्थलहरूका साथै हनुमानगढी, मणिमण्डप र सिंहपुरगढीसमेतलाई जोड्दै वृहत् परिक्रमा पथको निर्माण हुनु अत्यावश्यक छ । उपरोक्त स्थलहरूका दर्शन पूजन गर्दै अहिले पनि साधु सन्तहरू फाल्गुण पूर्णिमाको दिन अन्तःगृह परिक्रमा गर्छन् । त्यसको निर्माण भएमा नगर विस्तारको साथै यसको पौराणिकताको संरक्षण हुनेछ ।
जनकपुर नगरपालिकाद्वारा स्थानीय विकास मन्त्रालय र जीटीजेडको सहयोगमा आश्विन २०६७ साल ९ र १० गते आयोजित वृहत् भेलाद्वारा ऐतिहासिक जनकपुरधामलाई धार्मिक पर्यटकीय समृद्ध नगरका रूपमा विकास गर्ने सहमतिअनुसार २०६७ साल मार्ग १८ गते भएको वृहत् एक भेलाले जनकपुरधामको प्रमुख स्थलहरू उत्तरमा मणिमण्डप उत्तर–पूर्वमा सिंहपुरगढी जोड्दै महुवा मठको पश्चिम भई दक्षिणमा हनुमानगढी पूर्वमा कपिलेश्वरनाथ महादेव कुपेश्वरनाथ दक्षिण पश्चिममा सोनामाई थान पश्चिममा बसबिट्टी गाउँसमेतलाई जोड्नेगरी तीस किलोमिटर लामो नयाँ रिङरोड निर्माणको अनुमोदन गरेको थियो । हालसम्म पनि त्यसको निर्माणका लागि कुनै पहल हुन सकेको छैन । रिङरोड निर्माणका लागि १० अर्बको बजेट आवश्यक पर्ने बताइएको छ, यो क्षेत्र जनकपुर उपमहानगरपालिका क्षेत्रभित्र पर्ने हुनाले केही आशा गर्ने ठाउँ भने बाँकी नै छ ।
    जनकपुर बौद्धिक समाजले जनकपुरधामको गरिमा र महिमा संरक्षण तथा विकासका लागि जानकी नवमी २०७४ को अवसरमा तयार पारेको ७४ सूत्रीय जनकपुर विकास सुझावपत्र राष्ट्रपति, प्रधानमन्त्री तथा संविधानसभा अध्यक्षलाई जेठमा दिनुको साथै अन्य सम्बद्ध निकायहरूमा जतिसुकै पत्राचार गरे पनि कुनै काम आरम्भ भएको छैन । यस्तै प्राचीन जनकपुरधामलाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्ने माग दोहो¥याउँदा नेताहरूले प्रतिबद्धता जनाए पनि त्यसका लागि उल्लेखनीय केही कार्य हुन नसक्नु आफैँमा दुःखलाग्दो कुरो हो । यदि यो प्रतिबद्धता कार्य रूपमा परिणत भएमा मिथिला क्षेत्रको मात्र होइन कि नेपालकै विकासमा ठूलो मद्दत पु¥याउन सक्छ ।
देश विदेशका भक्तजनहरूको उल्लेख्य सहभागिता रहने यस भव्य धार्मिक मेलाको प्रचार–प्रसार पनि उल्लेखनीय रूपमा हुन सकेको छैन । हालसम्म पनि विवाह पञ्चमी महोत्सवको नेपाल टेलिभिजनलगायतका सञ्चारमाध्यमहरूले समेत प्रत्यक्ष प्रसारण गरेका छैनन्, जुन यस क्षेत्रका प्रचार–प्रसारका लागि निकै महŒवपूर्ण छ ।
देशकै सबैभन्दा ठूलो महोत्सव विवाह पञ्चमीको अवसरमा सरकारले सरकारी बिदा दिएर यसको महिमा र गरिमा संरक्षण गर्नु आवश्यक छ । नेपालकै सांस्कृतिक राजनधानीका रूपमा रहेको मिथिलाको प्राचीन राजधानी जनकपुरधामको चतुमुुर्खी विकासका लागि सबैको सहयोग त्यत्तिकै लाभदायी हुनेछ ।

 

प्रकाशित मिति: २०७४/८/७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना