‘निर्वाचनमा जनताको आकर्षण तीव्र छ’

२०६४ सालमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचन र २०७० सालमा सम्पन्न दोस्रो निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको अनुभव सँगाल्नुभएका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती यतिबेला आसन्न निर्वाचनलाई नजिकबाट नियालिरहनुभएको छ । संविधानको सफल कार्यान्वयन र मुलुकको आर्थिक विकासको समृद्धिका लागि यसपटकको निर्वाचन कोसेढुङ्गा साबित हुने बताउनुहुने उहाँ निर्वाचनको सफलताका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । आसन्न प्रदेश तथा सङ्घीय निर्वाचन, बढ्दो राजनीतिक गर्मीका साथै निर्वाचनको तयारी लगायतका विषयमा केन्द्रित रही गोरखापत्रका पत्रकार शेषकान्त पण्डितले उप्रेतीसँग गर्नुभएको कुराकानीको सारसंक्षेप :nilkantha


प्रदेश तह र केन्द्रीय तहको निर्वाचन मिति नजिकिँदैछ, राजनीतिक दलहरूले चुनावी सारगर्मीलाई बढाएका छन्, यसलाई यहाँले कुन रूपमा लिनुभएको छ ?
निर्वाचनको माहोल पूर्ण रूपमा बनेको छ । निर्वाचन आयोगले पनि आवश्यक तयारीलाई झण्डै पूर्णता दिइसकेको छ । मतदान केन्द्रमा निर्वाचनको तयारीसमेत शुरु भइसकेको छ । यस बीचमा निर्वाचनका लागि राजनीतिक दलहरूले पनि तयारी गरिसकेको देखिन्छ । गाउँको तल्लो तहसम्म दलहरूले आफ्नो प्रचारप्रसारलाई पु¥याइसकेका छन् । हामी आमनेपाली मतदाताहरू पनि मतको सही सदुपयोग गर्न आतुर भएका छौँ । यसरी हेर्दा निर्वाचनको चरम तयारी र तीव्र आकर्षण छ । राजनीतिक दलहरूले अझै आफ्नो उम्मेदवारलाई विजयी गराउन अन्तिम कसरत गर्ने समय छ । अब सबैले स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन सम्पन्न गराउनेतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता मैले देखेको छु ।

मङ्सिर १० मा पहिलो र २१ गते दोस्रो चरणमा प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्मपन्न हुँदैछ । अरू निर्वाचनभन्दा यसपटकको निर्वाचन के हिसाबले महìवपूर्ण छ ?
खासमा हामीले सहमतिको माध्यमबाट नयाँ संविधान जारी गरेका छौँ । यो एउटा ऐतिहासिक राजनीतिक परिवर्तनपछि गर्न लागिएको निर्वाचन हो । सङ्घीय संरचनाको नयाँ प्रवेशद्वारमा हामी प्रवेश गरेका छौँ । लोकतन्त्रको संस्थागत विकासका लागि यो निर्वाचनको विशेष महìव छ । संविधान प्राप्तिसँगै कार्यान्वयनको चरणका लागि यो निर्वाचन अपरिहार्य थियो । सँगै यो तहको निर्वाचनले मुलुकको शान्ति प्रक्रियाको अन्त्य गर्नेछ भने विकासको द्वार खोल्ने निर्वाचनका रूपमा यसलाई लिन सकिन्छ । सारमा भन्दा संविधानको सफल कार्यान्वयन र देशलाई आर्थिक उन्नतिका माध्यमबाट अगाडि बढाउने काम यो निर्वाचनले गर्नेछ ।

जनस्तरबाट हेर्दा यो निर्वाचनले के परिवर्तन ल्याउने अपेक्षा गर्न सकिन्छ ?
यो निर्वाचनले जनस्तरमा धेरै परिवर्तन र प्रभाव पार्ने निश्चित छ । मैले भने नि संविधानको कार्यान्वयनको शुरुवातसँगै आर्थिक समृद्धिसहितको नयाँ नेपालको परिवेश यसले तयार गर्छ । चलनचल्तीको भनाइ छ, नि यसले सिंहदरबारको अधिकार विकेन्द्रित गरेको छ । स्थानीय सरकार गाउँमा छ । घर छेउमा नै सरकार छ, जहाँ जनताको सहज पहुँच पुग्नेछ । विकासको प्रक्रिया अब स्थानीय तहबाटै शुरु हुँदैछ । प्रदेशको नयाँ संरचना कार्यान्वयनमा आएपछि जनताका सबै समस्याको समाधान हुनेछ र हाम्रो समग्र अवस्था धेरै माथि उठ्ने छ भन्ने विश्वास गर्न सकिन्छ ।

पछिल्लो समय शृङ्खलाबद्ध हिंसाका घटना भइरहेका छन्, यसलाई नियन्त्रण गर्दै अगाडि बढ्न सरकारले कस्तो तयारी गर्नुपर्ला ? यस विषयमा के भन्न चाहनुहुन्छ ?
निर्वाचनको लागि सरकारले सबैखाले सहयोग आयोगलाई गर्नुपर्छ । यो सरकारको दायित्व जिम्मेवारी पनि हो । निर्वाचनको समयमा सुरक्षाको सुनिश्चितता गर्ने काम सरकारले गर्नुपर्छ तर पछिल्लो समय जुन हिंसाका घटना भइरहेका छन् यी साह्रै दुःखद घटना हुन् । कुनै मानवीय क्षति नभए पनि यस विषयमा सबैले सोच्नुपर्ने अवस्थाको सिर्जना गरेको छ । मलाई के लाग्छ भने अब यस विषयमा तयारीका सािथ अगाडि बढ्नुपर्छ । सरकारसँग निर्वाचनमा सुरक्षाको बन्दोबस्ती गर्न आवश्यक सङ्ख्या पनि छ । सरकारले यो क्षमता पनि राख्छ । विगतमा पनि धेरै निर्वाचन भएका छन् र यस्ता खाले गतिविधि विगतमा पनि भएका थिए । त्यसैले अब सुरक्षा व्यवस्थापनमा कहाँ के कस्तो कमी कमजोरी भएको छ, त्यसमा ध्यान दिनुपर्छ । साथै हामी नेपाली संविधानलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्छ । हाल जुन शक्ति वा समूहले यस खालका गतिविधि गराएका छन् त्यतातिर नलागौँ । देश र जनताको त्रास सिर्जना गर्ने काम बन्द नै गरौँ । लोकतान्त्रिक विधिमा समाहित हुनुपर्छ भन्ने मेरो आग्रह छ ।

यसपटकको निर्वाचमा मुख्यतया दलहरू लोकतान्त्रिक र वाम गठबन्धनको माध्यमबाट निर्वाचनमा होमिएका छन् । यसले नेपालको आगामी राजनीतिलाई सकारात्मक नकारात्मक कुन तर्फ अगाडि बढाउँला ?
यसपटकको राजनीति र दलहरूको गठबन्धनलाई हामी सबैले चासोपूर्वक हेरेका छौँ । २६।२७ वर्षको लोकतान्त्रिक अभ्यासमा हामीले ग¥यो, यस बीचमा धेरै राजनीतिक दलका सरकार परिवर्तन भए, कहिले छ महिना, आठ महिनामा सरकार परिवर्तन भए । राजनीतिक स्थिरता र स्थायी सरकारको अभावमा जनताले राहत पाउन सकेनन् । छोटो आयुको सरकारले दीर्घकालीन महìवका काम गर्नसक्ने कुरै भएन तर अबको अपेक्षा के हो भने गठबन्धनबाट स्थायी सरकारको निर्माण हुन सकोस् र स्थायी सरकार पाँच वर्षसम्म टिकोस् । यसले मात्र जनताको हितमा काम गर्न सक्छन् । लोकतन्त्रमा १०१ राजनीतिक दल हुँदैमा त्यो बलियो हुने होइन । लोकतन्त्र मजबुुत हुन राजनीतिक दल ठूला हुनुपर्छ र थोरै दल हुुनुपर्छ । बहुमत ल्याएर सरकार बनाउन सके दलहरूले भने स्थिर सरकारसँगै विकास अगाडि बढ्छ भन्ने मलाई लाग्छ । गठबन्धनबाट निर्वाचनमा जाने विषयलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।

निर्वाचनमा लामो अनुभव सँगाल्नुभएको छ, निर्वाचन आयोगको हालको तयारीलाई कुन रूपमा लिनुभएको छ ?
निर्वाचनको मिति नजिक आइसकेको छ । सरसर्ती हेर्दा आयोगको तयारी पूर्व अवस्थामा छ भन्न सकिन्छ । मतदान केन्द्रसम्म कर्मचारी पुग्ने र कामको शुरुवात गर्ने क्रम शुरु भइसक्यो । निर्वाचनको तयारीमा शङ्का नगरौँ, शङ्का गर्न नपर्ने अवस्थामा आयोगले तयारी गरेको छ तर यसबीचमा आयोगको काम कारबाही आलोचनामुक्त भने हुन सकेन । यसमा सरकारको तर्फबाट पनि कमजोरी भएको छ भन्ने मलाई लाग्छ । खासगरी सरकारले निर्वाचन मिति समयमा नतोकेको, निर्वाचनका लागि आवश्यक सामग्री र पूर्वाधार नहुनु, निर्वाचनका सम्बन्धमा आवश्यक ऐन, कानुन समयमा निर्माण हुन नसक्दा यसको तयारीमा केही कमजोरी भएकै छ । यसका साथै निर्वाचनको मतपत्रको दोहोरो छपाई, कानुनी जटिलताले पनि निर्वाचनको तयारीमा केही विलम्ब भएकै छ । जे होस् अब निर्वाचन हुने सुनिश्चितता आयोगले प्रदान गरेको छ ।

भनेपछि पूर्व प्रमुख निर्वाचन आयुक्तका हिसाबले निर्वाचन आयोगको तयारीप्रति सन्तुष्ट नै हुनुहुन्छ ?
सन्तुष्ट छु म आयोगको तयारीप्रति । आम नेपाली यतिबेला निर्वाचनको मिति कुरेर बसेको अवस्था छ तर अब के छ भने आयोगका आगामी दिन निकै चुनौतीपूर्ण छन् । निर्वाचन स्वच्छ निष्पक्ष हुनुपर्छ र त्यसको ग्यारेन्टी गर्ने भनेको अबका दिनमा हो । आयोगले अब कुनै पनि खालको कमी कमजोरी हुन नदिई अगाडि बढ्नुपर्छ । अन्तर्राष्ट्रिय मान्यता र निर्वाचनसम्बन्धी कानुनलाई आत्मसात् गरेर निर्वाचन आयोग अब अगाडि बढ्नुपर्छ । राजनीतिक दल, उम्मेदवार र आयोगले गर्ने व्यवहारमा निर्वाचन निर्भर गर्छ । यसमा कसैबाट कुनै पनि खालको कमी कमजोरी नहोस् भन्ने मेरो आग्रह छ ।

आसन्न प्रदेश तथा केन्द्रीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनीय हुने कुरामा कत्तिको आशावादी हुनुहुन्छ ?
– निर्वाचन स्वतन्त्र निष्पक्ष हुनैपर्छ । लोकतन्त्रको सबैभन्दा सबल पक्ष निर्वाचन नै हो । यस अर्थमा विश्वासनीय निर्वाचन हामी सबैको चाहना पनि हो तर यसका लागि आयोग, राजनीति दल, उम्मेदवार सबै प्रतिबद्ध हुनुपर्छ । कसैले पनि प्रश्न उठाउन नसक्ने खालको निर्वाचन गराउनु नै अहिलेको आवश्यकता हो ।

निर्वाचनको समय नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता उल्लङ्घनका गतिविधि बढेका छन् भन्ने सुनिन्छ ? यसको प्रभावकारी पालना किन हुने नसकेको होला ?
– निर्वाचनलाई मर्यादिन बनाउने आचारसंहिताले नै हो तर यहाँ केही हदसम्म आचारसंहिता उल्लङ्घनका विषयमा एकअर्कामा आरोप प्रत्यारोप गर्ने क्रम पनि चलिरहेको छ । खासमा निर्वाचन महँगो भएको छ, यसमा पनि आचारसंहिता पालना हुन सकेका छैन । दलहरूले हो यसको कार्यान्वयन गर्ने । अर्को कुरा एउटा डरलाग्दो पक्ष के भने जसरी जे गरेर भए पनि निर्वाचन जित्ने प्रवृत्ति पछिल्लो समय निकै बढेको छ । जति आवश्यक पर्छ यति खर्च गर्ने तर निर्वाचन जित्नैपर्छ भन्ने मानसिकता देखिएको छ । यसमा राजनीतिक दलहरूले तत्काल संयमता अपनाउनुपर्ने आवश्यकता मैले देखेको छु । यही अवस्था हुने हो भने लोकतन्त्रको विकासमा यसले बाधा सिर्जना गर्छ । उम्मेदवारले धनले होइन, जनताको भावना जितेर निर्वाचनमा विजयी हुनुप¥यो । पैसा खर्च गर्ने, बढी पैसा कमाउने, फेरि सत्तामा जाने पुनः निर्वाचनमा आएर मनपरी खर्च गर्ने यो प्रवृत्ति रोकिनुपर्छ ।

निर्वाचनमा यसपटक पनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको गुनासो छ । सबै निर्वाचनमा यो अवस्था किन आइरहन्छ ?
यसमा हामीले प्रभावकारी हिसाबले काम गर्न सकेको छैनौँ । निर्वाचन प्रणाली पनि जटिल भए, यसका लागि आवश्यक तयारी गर्न पनि दिइएन, समय कम भयो । निर्वाचन प्रणाली जटिल हुने तर मतदाता शिक्षाका लागि स्वयंसेवक गाउँमा पठाउने काम निकै ढिला भयो । गाउँमा स्वयंसेवक खटाइएको छ तर उ पुगे नपुगेको, मतदाता शिक्षा कार्याक्रम प्रभावकारी भए नभएको विषयमा ठोस काम हुने सकेन । १९ हजार स्वयंसेवक यसपटक पनि मतदाता शिक्षाका लागि परिचालन गरिएको छ तर घर–घरमा उनीहरू आइपुगेकै छैनन् । मतदाता शिक्षा दिने स्वयंसेवक मेरै घरमा पनि आएका छैनन् । यसमा व्यापक सुधार गर्नेपर्ने अवस्था छ ।

यसपटकको प्रदेश तथा केन्द्रीय तहको निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले गरेको प्रचारप्रसार शैलीलाई कुन रूपमा लिनुभएको छ ?
निर्वाचनको प्रचार शैलीमा घेरै परिवर्तन भएको छ । मैले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा आयुक्तका हिसाबले निर्वाचनलाई हेरेँ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्रमुख निर्वाचन आयु्क्तकै हिसाबले निर्वाचनलाई नियालेँ । यसपटकमा आयोगभन्दा बाहिर बसेर निर्वाचनलाई हेरिरहेको छु । मलाई के लाग्छ भने निर्वाचनको प्रचार शैलीमा धेरै परिमार्जन भएको छ । विगतमा उम्मेदवारका ठूला–ठूला तस्बिर, भित्तेलेखन सडकमा लेख्ने गर्दा गाउँ शहर पूरै प्रदूषित थियो । फेरि अनावश्यक भोज भतेर गर्ने र एकले अर्काे उम्मेदवारलाई नमीठो ढङ्गले आलोचना गरिन्थ्यो तर यसपटक त्यसमा केही कमी आएको छ । एउटै क्षेत्रका उम्मेदवारमा पनि हार्दिकता र सौहार्दता देखिएको छ । सञ्चार माध्यमसँगै सामाजिक सञ्जालको प्रयोग बढेको छ । अब बिस्तारै निर्वाचन सभ्य र व्यवस्थित हुने अपेक्षा गर्न सकिन्छ । यसपटकको निर्वाचनमा पनि अब धेरै दल संसद्मा आउने छैनन् । यसले दलहरूमा एउटा सही संस्कार विकास गर्नसके प्रचार शैली झनै मर्यादित र व्यवस्थित हुने अपेक्षा गर्न सकिन्छ ।

अन्यथा प्रदेश तथा केन्द्रीय तहको निर्वाचनको प्रतिक्षामा रहेका आममतदातालाई के भन्न चाहनुहुन्छ ?
सबै मतदातालाई मेरो के आग्रह छ भने पहिला त आफ्नो मताधिकारको पूर्ण रूपमा प्रयोग गरौँ । घरमा काम भए त्यसको व्यवास्था गर्दै श्रीमान् श्रीमतीले पालो–पालो समय मिलाएर पनि मतदानबाट नछुटौँ । आफ्नो मत खेर नफालौँ । यो निर्वाचनले देशको परिवर्तन मात्र होइन, काचुली नै फेर्छ, त्यसकारण मतदानबाट कोही पनि मतदाता नछुटौँ । फेरि याद गरौँ राम्रा जनप्रतिनिधि छान्ने, पठाउने बेला पनि यही हो, जनताको काम गर्ने, विकासमा सहयोगी हुन सक्ने उम्मेदवारलाई मतदान गरौँ भन्ने मेरो अपिल छ ।


 

प्रकाशित मिति: २०७४/८/७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना