आसन्न चुनाव र जनअपेक्षा

bharat p kiiralaभरतप्रसाद कोइराला

२०७४ साल नेपालीहरूको लागि अविस्मरणीय साल यस अर्थमा हुनेछ कि यति धेरै चुनाव एकै सालभित्र न यसअघि भएको थियो न सायदै पछि होला । यही साल करिब डेढ दशक पछि जनतालाई अधिकार सम्पन्न बनाउने स्थानीय तहको निर्वाचन केही छिटफुट घटना बाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भयो ।  यस बाहेक संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि संविधानमा व्यवस्था भए बमोजिम आगामी माघ ७ भित्र सबै तहको चुनाव सम्पन्न गरी सक्नुपर्ने प्रावधानअनुरूप मंसिर १० र २१ गतेलाई तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावले मौसमको प्रतिकूल वातावरणलाई गर्माएका छन् । यी चुनावमा प्रायः सबै दलले भाग लिने भएकोले यस अघिका स्थानीय चुनावको तुलनामा अझ शान्तिपूर्ण हुने विश्वास गरिएको थियो तर जति जति चुनाव नजिक आउँदै छ त्यति नै प्रचार प्रसारमा हिँडेका उम्मेदवार र चुनावी सभालाई लक्षितगरी बारम्बार र लगातार आक्रमण भइरहनुले चुनाव शान्तिपूर्ण हुनेमा केही संशय पैदा गरेको छ तथापि लोकतन्त्रलाई बलियो बनाउन र संविधानको कार्यान्वयनका लागि हरहालतमा चुनाव सम्पन्न गराउनु लोकतन्त्रमा विश्वास गर्ने सबैको अहम कर्तव्य हो, सायद त्यसैले नेता, कार्यकर्ता तथा जनता यी उच्छृङ्खल गतिविधि हुँदाहुँदै पनि  उत्साहपूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध देखिन्छन् । त्यसै गरी नेपाल सरकारका सुरक्षा निकायले पनि सुरक्षा दिने प्रत्याभूति दिएको सन्दर्भमा केही आश्वस्त हुने आधार मिलेको छ ।
जतिजति चुनावको दिन नजिकिँदै छ स्वभाविकै रूपमा निर्वाचनको रौनक बढ्दै पनि छ, अब जनताको मत खेर नजाने (बदर नहुने) व्यवस्था (निर्वाचन शिक्षा मार्फत) भने गर्नुपर्ने देखिन्छ । यद्यपि यो चुनाव सम्पन्न भएपछि लामो समयदेखि थाति रहेको संविधानको कार्यान्वयनतर्फ सबै कार्य पूरा  हुने भएकोले जनता मतदान गर्नको लागि अत्यन्त उत्साहित छन् । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मुखमा आएर एकाएक देखिएको दलहरूको तालमेल र एकताका कुराले जनतामा केही चासो पनि सिर्जना गरिदिएकै पनि हो । यसबाट सकारात्मक तथा नकारात्मक दुवै पक्ष भएको अनुभव पनि मतदाताहरूले गरिरहेका पाइन्छन् । मुलुकमा स्थिर सरकार तथा राजनीतिक स्थायित्व हुने सकारात्मक अपेक्षा एकातिर छ भने अर्कोतिर यसका कारण पर्दा पछाडिबाट केही अनपेक्षित आशंका पनि जन्माएको छ । गठबन्धनको सकारात्मक वा नकारात्मक  प्रभाव वा असर हेर्न केही समय कुर्नैपर्ने हुन्छ । यी विषयका अतिरिक्त  उम्मेदवार चयनमा भएका भनिएका अपुष्ट लेनदेनका कुरा र समानुपातिक सिटमा चयन गरिएका केही नामावलीले जनतामा निराशा अवश्य देखिएको छ । केही बदनामी कमाएका व्यक्तिलाई विभिन्न दलले आफ्नो पार्टी प्रवेश गराउनाले अब ती पार्टीका सच्चा कार्यकर्ताको भविष्य के हुने भन्ने आशंका उत्पन्न गराएको मात्र होइन राजनेता कतै विचलित त भैरहेका छैनन् भन्ने कुरामा आशंका गर्ने ठाँउ पनि दिएको छ । कतै पैसाको बलमा लोकतन्त्रलाई नै अप्ठ्यारोमा पार्ने स्थिति सिर्जना भैरहेको त छैन भन्ने आशंका पनि जनतामा देखिन्छ । भविष्यले यसको पनि मूल्याङ्कन गर्ला नै तर चिन्ता नेपाली उखान (बुढी मरेकोमा भन्दा पनि काल पल्किने त होइन भन्ने मात्र हो ।
स्थानीय निकायको सहयोगी, परिपूरक वा पुलको कार्य गर्ने यी चुनावले जनतामा अत्यन्त उत्साह र उल्लास थपेको भने निश्चित नै हो । सायद जनताले यी चुनाव पछि मुलुकमा लामो समयदेखि विद्यमान संक्रमणकाल र विकृतिको अन्त्य हुने,  संविधानको कार्यान्वयनको दिशामा एक खुड्किलो अघि सर्ने र मुलुकमा विकास निर्माणले लय समात्ने र आफूले विकासको फल चाख्न पाउने आशा राखेका छन्, त्यसैले स्वभाविक रूपमा चुनावको दिन जति जति नजिकिदै छ जनतामा निर्वाचनप्रति उत्साह र रौनक बढ्दै जानु स्वाभाविकै पनि हो ।
चुनाव दलहरूको लागि अग्निपरीक्षा र प्रतिष्ठाको विषय पनि हो, त्यसैले सबै दलले यस चुनावलाई जनताको विश्वास जित्ने अवसरका रूपमा लिई जनताका समस्यासँग लड्ने, आफ्नो क्षेत्र लगायत देश विकास गर्ने प्रतिबद्धता गरी आफू र आफ्नो दललाई अब्बल प्रमाणित गर्न लागि परेका छन् । जनता पनि यसअघिका चुनावभन्दा, प्रतिनिधि चुन्ने क्रममा अत्यन्त चनाखो र सचेत देखिन्छन् । कतिपय स्थानमा जनता आश्वासनका आधारमा मात्र होइन, वास्तवमै उम्मेदवारको योग्यता, क्षमता र विगतको कार्य हेरेर आफ्नो विश्वास जित्ने व्यक्तिलाई मतदान गर्ने बताउँदै आएका छन् । शायद यसअघि स्थानीय निकायको चुनावमा स्थानीय प्रतिनिधिले बाँडेका आश्वासन आश्वासनमै सीमित भएकोले जनता अलि सजग भएका हुन सक्छन् । यथार्थमै जनताले अत्यन्त सजग भै कार्यकारी तहका  प्रतिनिधि छनोट गर्दा शासन मात्र होइन सहकार्य गर्ने र हरेक दृष्टिले उपयुक्त उमेदवार वा प्रतिनिधि छान्नुपर्छ, ताकी पछि पछुताउनु नपरोस् भन्ने सोच राखेको स्पष्ट बुझ्न सकिन्छ । सही प्रतिनिधिको चयन र छनोटले दिगो आर्थिक तथा सामाजिक विकास र समृद्धितर्फ अघि बढ्न मद्दत पुग्दछ भने गलत चयनले हामी यथास्थितिमै रहनुपर्ने हुनसक्छ ।
विगत लामो समयदेखि देश अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको छ । तरल सरकार, बारम्बारको सरकार परिवर्तन, राजनैतिक अस्थिरता, बेरोजगारी, युवाको विदेश पलायन, नेताका भाषणमा मात्र सीमित सामाजिक, आर्थिक विकास, हरेक क्षेत्रमा राजनीतिक भागबण्डा, अनियमितता, अपारदर्शिता, भ्रष्टाचार, सधँैको संक्रमणकाल आदिका कारणले  यस्तो विकृति वा संक्रमणकाल लामो समयसम्म राख्नु हँुदैन । यी विकृति समग्रमा मुलुकको राजनीति तथा नेताहरूका लागि पनि अभिशाप सिद्ध हुनसक्छन् । तसर्थ पनि  यी सबै विकृतिको समूल अन्त्यको लागि संविधानको कार्यान्वयन हुनु पर्दछ र संविधानको कार्यान्वयनका लागि संविधानमा व्यवस्था भए बमोजिम हुन गइरहेका  प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सदुपयोग गर्दै सही प्रतिनिधि चयन गरी सफलतापूर्वक सम्पन्न गराउनु राष्ट्रप्रतिकै दायित्व पनि हो ।  
यस अवसरको सदुपयोग जनताले लोभ, लालच र वहकाउमा नलागि आफ्नो विवेकको सहि प्रयोग गरी आफ्ना वा हाम्रा प्रतिनिधि होइन असल वा राम्रा प्रतिनिधि छान्नु पर्दछ, जसले मुलुकमा रहेका विकृतिमाथि सशक्त प्रहार गर्न, प्रभावकारी नेतृत्व दिन र सदा समाजमा सकारात्मक परिवर्तन ल्याउन पहल गरोस् । जनताले अनुहार हेरेर होइन उपयुक्त समयमा आवश्यक निर्णय लिन सक्ने दूरदर्शी, सक्षम, जिम्मेवारी वहन गर्न सक्ने र विकासप्रेमी प्रतिनिधिको छनौट गर्नुपर्दछ, जो हाम्रा हक अधिकारको रक्षा गर्दै मुलुकमा विद्यमान पछौटेपन, अनियमितता, भ्रष्टाचार, नातावाद र कृपावाद जस्ता विकृति अन्त्य गर्न तथा आर्थिक, सामाजिक विकासका लागि हरहमेशा सहयोग गर्न तयार रहुन् । अहिले हुन गइरहेका चुनावले संविधानको कार्यान्वयन, संक्रमणकालको अन्त्यको अलावा विकेन्द्रीकरण, विकास र मुलुकको समृद्धिको लागि अत्यन्त महìव राख्दछ, त्यसैले यस चुनावमा हरहालतमा भागलिई मतदान गरी योग्य प्रतिनिधि चयन गर्नुपर्दछ ।
सार्वभौम (सार्वभौम सत्ता सम्पन्न) जनता जस्तोसुकै निर्णय लिन पनि स्वतन्त्र छन्, तर हामीले निर्णय गलत लिएमा त्यसको सजाय भागी हामी आफै हुनुपर्नेतर्फ पनि उत्तिकै चनाखो हुनु पर्दछ । यो निर्वाचनमा सही प्रतिनिधिको चयनले मुलुका देखापरेका विकृतिको अन्त्य हुने र सबै नेपाली जनतालाई आर्थिक, सामाजिक, प्रशासनिक र राजनीतिक अधिकार सम्पन्न बनाउने वा जनताले आफ्ना आर्थिक, प्रशासनिक, सामाजिक र राजनीतिक हक अधिकार प्राप्त गर्ने तथा विकास निर्माणले गति लिने हुनाले यस निर्वाचनले अत्यन्त महìव राख्दछ । वास्तवमा जनता संक्रमणकालको अन्त्यको मुलुकको दिगो आर्थिक सामाजिक विकासका लागि निर्वाचनमा मतदान गरी आफ्ना जनप्रतिनिधि छनोट गर्न आतुर छन् । उनीहरूमा चुनावको उत्साह र रौनकपनि उत्तिकै देखिएको छ । जनतामा जागृत यो उत्साहलाई उनीहरू मार्फत चुनिएका प्रतिनिधिको नेतृत्व र सहकार्यमा विकास निर्माण र मुलुकको समृद्धिमा प्रयोग गर्नु जरुरी छ ।

प्रकाशित मिति: २०७४/८/७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना