मतदाताका अगाडि निरीह नेता

shiv kumarशिवकुमार भट्टराई

 

लोकतन्त्रमा जनचाहनाविरुद्ध जाने राजनीतिकर्मीको कुनै स्थान रहँदैन ।  जनता खुसी भए नेताको भाग्य जाग्ने हो ।  यसका लागि राजनीतिक दलहरूले जनताको मन जित्ने नेता नै चुनावमा उम्मेदवार बनाउँछन् लोकतन्त्रमा तर हाम्रो जस्तो मुलुकमा भने जनचाहनाभन्दा नेताको इच्छा बमोजिम उम्मेदवार थोपरिन्छन् ।  आसन्न निर्वाचनमा पनि दलहरूले यही अवस्थालाई बढावा दिएका छन् ।  त्यसैले धेरै उम्मेदवार यतिबेला जनतासमक्ष निरीह र भिजेको बिरालो बनेका छन् ।  जति गाली गरे पनि लुरुक्क बनेका छन् ।  
दुई दिनपछि अर्थात् पर्सि आइतवार प्रतिनिधि तथा प्रदेशसभाका लागि पहिलो चरणको निर्वाचन हुँदैछ ।  नेपालको संविधान, २०७२ जारी भएपछि पहिलो पटक नयाँ संरचना अन्तर्गत प्रदेशसभाको लागि समेत हुन लागेको यो निर्वाचनको ऐतिहासिक महŒवको रहेको छ ।  उच्च हिमाली र पहाडी ३२ जिल्लामा हुन लागेको पहिलो चरणकोे निर्वाचन प्रचारप्रसार बिहीबार मध्यरातदेखि नै औपचारिक रूपमा अन्त्य भएको छ तर दलका उमेदवार भने कोठे बैठक र छलफलमा व्यस्त छन् ।  यो अन्तिम चरणको मेहनत बढी फलदायी हुने सबैको अनुमान छ ।  
पहिलो पटक हामी सङ्घीय संरचनामा गएका छौँ ।  प्रदेशसभाको अभ्यास हाम्रा लागि नौलो हो ।  जनताका हक अधिकार जनताकै घरदैलोमा पु¥याउन यो संरचना उपयोगी हुने ठानिएको छ ।  स्थानीय तहको निर्वाचनले कोरेको गोरेटोलाई चौडा बनाउन प्रदेशसभाको गठनले थप बल प्रदान गर्ने विश्वास गरिएको छ ।  
दोस्रो चरणको निर्वाचन भने एघार दिनपछि अर्थात् मङ्सिर २१ मा हुँदैछ ।  राजधानीलगायत देशका तराई भेगसमेत कुल ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको निर्वाचनको प्रचार प्रसार भने तीव्रता साथ चलिरहेको छ ।  मुलुकका चर्चित हस्ती र प्रमुख नेताहरू दोस्रो चरणको निर्वाचनमा पनि उम्मेदवार रहेका छन् जसले गर्दा दोस्रो चरणको निर्वाचनको चर्चा कम छैन ।  दुवै चरणको निर्वाचनपछि मात्रै मतगणना थालिने निर्वाचन आयोगले जनाएको छ ।  त्यसैले पहिलो चरणमा भएका निर्वाचनको मतपेटिका पनि कडा सुरक्षा घेरामा राखिने निश्चित छ ।   
पहिलो चरणको निर्वाचनको तीन दिन बाँकी रहँदासमेत ठूला दलका नेताहरू निर्वाचनबारे संशय पालिरहेका छन् ।  नेकपा एमाले अध्यक्षसमेत रहनुभएका पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीले नै सरकार चुनाव नगराउन झेलझाल गरिरहेकोे आरोप लगाउनुभएको छ ।  अब सरकारले चाहेर मात्रै निर्वाचन सार्न सक्ला त ? उता सरकार पनि चुनावको दुई दिन अघिसम्म प्रमुख जिल्ला अधिकारी सरुवा र प्रहरी प्रमुखको बढुवा गर्न तम्सिएको पाइन्छ ।  यसमा निर्वाचन आयोग स्वयं स्वीकृति दिन पछि पर्दैन ।  यसले निर्वाचनको स्वच्छतामा अवश्य पनि प्रश्न खडा हुन्छ नै ।  यो प्रवृत्तिले नेपालमा चुनाव जित्न शक्तिको दुरुपयोग गर्नुपर्ने रहेछ भन्ने सन्देश प्रवाहित गरेको छ ।    
चुनावमा विजयश्री प्राप्त गर्नकै लागि एमाले र माओवादी केन्द्रले वाम गठबन्धनका नाममा र नेपाली काँग्रेसले पनि पूर्व पञ्चलगायत मधेसी दलसँग तालमेल गरेको छ ।  वाम र लोकतान्त्रिक गठबन्धन रूपमा जस्तो देखिए पनि सारमा भने सत्ताप्राप्तिमै लिप्त रहेको प्रतीत हुन्छ ।  जनताका लागि वा मुलुकको सुदूर भविष्यबारे चिन्तित भएर यी गठबन्धन गरेको मान्न सक्ने अवस्था छैन ।  गएको तीन दशकदेखि मुलुकले बहुलवादी प्रजातान्त्रिक संसदीय अभ्यास गर्दै आएको छ ।  यस अवधिमा मुलुकमा क्रियाशील प्राय सबै राजनीतिक दल सत्तामा पुगेका छन् ।  सत्तारुढ भइसकेपछि सबैले आफ्ना पूर्व वाचा चटक्कै भुलेका छन् ।  त्यतिबेला उनीहरूले न त वाम गठबन्धनको औचित्य कहिल्यै महसुस गरे न लोकतान्त्रिक शक्ति बलियो बनाउनुपर्ने सोच नै बनाए ।  बरु सत्ता सहयात्री वाम दलका अर्का नेतालाई पूर्व सहमति भए पनि सत्ता हस्तान्तरण नगर्ने बहानाबाजी गर्ने काम भने धेरै गरिए ।  यो वास्तविकता नेपाली नागरिकले राम्ररी बुझेका छन् ।  चुनावी प्रक्रिया सुरु हुनु एक साता अघिसम्म एकआपसमा सत्तोसराप गर्ने वाम नेताहरू नाटकीय रूपमा एकताको राग अलाप्न थाल्छन् भने यसलाई कसरी बुझ्ने हो ?
नेपाली नागरिकले यी दल र नेतालाई धेरैपटक परीक्षण गरिसकेका छन् ।  धेरै नेतालाई कार्यकारी प्रमुख बनाइसकेका छन्  अर्थात् अहिले अस्तित्वमा रहेका दल र नेताको विगत सबैले बेहोरिसकेको अवस्था हो ।  जसले जे भने पनि भोलि चुनाव सकिएपछि हुने र गरिने व्यवहार पुरानै हो ।  यसमा कुनै भ्रम नपाले हुन्छ ।  त्यसैले दल वा पार्टी विशेषभन्दा अब भने देशले जित्ने चुनाव हुनुपर्छ ।  देशले जित्दा सबैको विजय हुनेछ ।  मतदाताले पनि गठबन्धन भन्दा मुलुकलाई माया गर्ने शक्तिलाई विजयमाला पहि¥याउनु पर्छ ।  यसपालि आम मतदाताको सोच पनि यस्तै देखिएको छ ।  सबै पार्टीका सबै नेता कार्यकर्ता गलत हैनन् ।  सही प्रतिनिधि पनि उम्मेदवार छन् तर ती गठबन्धनका ब्यानर मुन्तिर नहुन पनि सक्छन् ।  यस्तालाई न्याय गर्न मतदाता सजग हुनुपर्छ ।  दलका नेताले पटक पटक चुनाव जितेका छन् ।  जितेपछि निजी हित र स्वार्थमै सधैँ तल्लीन भएकाले मतदाता अब भने नयाँ प्रतिबद्धताका साथ आउने उम्मेदवारलाई विजयमाला पहि¥याउन चाहन्छन् ।  दुःखको कुरा यस्ता उम्मेदवारको सङ्ख्या ज्यादै न्यून छ ।  तिनले चुनाव जिते पनि सरकार बनाउन सक्दैनन् ।  सरकार बनाउने हैसियत फेरि पनि अहिलेकै प्रमुख दलको हुनेछ ।  जसले गर्दा भोलि पनि ठूलो परिवर्तनको अपेक्षा गर्न सकिन्न ।  जनता भने परिवर्तनको पक्षमा रहेको देखिन्छ तर त्यो परिवर्तन संसद्मा एकआध व्यक्तिको उपस्थितिले मात्रै सम्भव हुँदैन ।  मुलुक बनाउनुपर्छ भन्ने सोच भएका मानिस ठूला दलमा पनि छन् तर अहिले देखापरेका कतिपय दलमा आबद्ध व्यक्ति वास्तवमै आशलाग्दा पनि छन् ।  उनीहरू पनि चुनावकै मुखमा आएर दल दर्ता गर्ने र नयाँ काम गर्ने नारा दिन तम्सिएका छन् ।  खासगरी शहरी मतदाताले उनीहरूबाट परिवर्तनको अपेक्षा गरेका छन् ।  उनीहरू पनि चुनावकै लागि मात्रै मतदाताबीच आएकाले आशङ्का गर्न सकिन्छ  तैपनि उनीहरूलाई शङ्काको लाभ प्राप्त छ ।  यस्ता परिवर्तनका आवाज  बढाउन  खोज्नेले देशैभरि सङ्गठन गर्न सकेका छैनन् ।  केही सीमित शहरी क्षेत्रमा मात्रै आफ्नो उपस्थिति देखाउन खोजेकाले पनि अब हुने चुनावबाट मुलुकले नयाँ सोच र विचारलाई संसद्मा प्रवेश गराउने हैसियत राख्दैन ।  
यसबाट के स्पष्ट हुन्छ भने अबको चुनावले पनि विगतकै दल र नेता कार्यकर्ताको भार उठाउनुपर्नेछ ।  प्रतिनिधिसभा होस् या प्रदेशसभा यिनै नेताको उपस्थितिले सुसज्जित हुनेछन् ।  प्रधानमन्त्री, मन्त्री वा मुख्यमन्त्री पनि यिनैमध्येबाट चुनिने निश्चित छ ।  त्यसैले खराबै भए पनि कम खराबलाई चुन्नेतिर मतदाताले ध्यान दिनुपर्ने अवस्था छ ।  वाम गठबन्धन  र लोकतान्त्रिक तालमेल पनि चुनावमा जीत हासिल गर्नैका लागि भएको स्पष्टै छ ।  यीमध्ये कुन चाहिं उपयुक्त भन्ने कुरा नेपाली नागरिकलाई राम्रोसँग थाहा छ ।  त्यसैले चुनावले दल वा उम्मेदवार विशेषभन्दा देशलाई विजय गराउनुपर्छ ।   यसका लागि सचेत नेपाली मतदाता तयार छन् ।  आगामी दुई सातापछि नेपाली जनताको भावना र धारणा सार्वजनिक भइसक्नेछ ।  

प्रकाशित मिति:  २०७४/८/८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना