आन्तरिक पर्यटकले भरियो राइनासकोट होमस्टे


नवीनराज कुइँकेल

लमजुङ, मङ्सिर १० गते ।  लमजुङको ऐतिहासिक स्थल राइनासकोटमा सुरु गरिएको होमस्टे आन्तरिक पर्यटकले भरिभराउ भएको छ ।  भूकम्पले भत्किएका घरको पुनर्निर्माणसँगै सुरु गरिएको होमस्टे  यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।  
भूकम्पले भत्काएका राइनासकोटका घरमध्ये होमस्टे सञ्चालनका लागि १४ घर आधुनिक तवरबाट बनाइएका छन् ।  निर्माण भएका मध्ये नौ घरमा होमस्टे सुरु गरिएको छ ।  ‘होमस्टेका लागि घरहरू तयार भएका छन् ।  पाउनाका लागि बस्ने खाने राम्रो प्रबन्ध मिलाइएको छ, होमस्टे सञ्चालिका विष्णु गुरुङले भन्नुभयो, यो  सुरु भएको प्रचारसँगै पर्यटकहरू आउन थालेका छन् ।  थानीमाई आमा समूहकी अध्यक्षसमेत रहनुभएकी गुरुङले भर्खर मात्रै होमस्टे सञ्चालनमा ल्याइएकाले व्यवस्थापकीय पक्ष सुधार्दै लगेको बताउनुभयो ।
अमेरिकी नागरिक नतसा बाजनियाकको सहयोगमा घरहरू पुनर्निर्माण गरिएपछि होमस्टे अवधारणा अघि बढाइएको सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो ।  उहाँले राइनासमा भत्किएका घर बनाउनुको साथै विस्थापित हुन लागेको गाउँ जोगाएको बताउनुभयो ।  
राइनसकोटकी होमस्टे सञ्चालिका दिलमाया गुरुङ पर्यटकलाई बस्न, खान र दृश्यावलोकनका साथै गाउँमा सांस्कृतिक कार्यक्रम  पनि देखाउने प्रबन्ध मिलाइएको बताउनुहुन्छ ।  गाउँ आउने पर्यटकका लागि अर्गानिक खानेकुरा, लोकल कुखुरा, ढिँडो, गुन्द्रुक, कुरिलोलगायतका खानेकुरा खुवाउने प्रबन्ध मिलाइको छ ।  यस्तै घाँटु, सेर्का, कृष्णचरित्रलगायतका सांस्कृतिक कार्यक्रम पनि हेर्न पाइने होमस्टे सञ्चालिका रामप्यारी गुरुङले बताउनुभयो ।
स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले राइनासकोट होमस्टे प्रवद्र्धनका लागि जिल्ला समन्वय समितिबाट सहयोग गरिने बताउनुभयो ।
राइनासकोटमा होमस्टेसँगै वातावरणमैत्री अवधारणा पनि सुरु भइरहेको  छ ।  वातावरणमैत्री अवधारणा अनुसार गोबरग्यास, धुवाँरहित चुल्हो, फोहोरमैला र पानीको व्यवस्थापनका लागि काम भइरहेको छ ।  प्रत्येक घरमा सोलार प्यानल जडान गरिँदैछ । rainas
प्रत्येक घरहरूमा गाउँले तवरबाट पिंढी, फलैंचा, आकाशेपानीको व्यवस्थापनका लागि ट्याङ्क जडान, सडक बत्ती जडान कार्यसमेत अघि बढाइएको छ ।  राइनासकोटमा रहेका केही पुराना घरहरू भने पौराणिक महìव झल्काउन पहिलैकै स्वरूपमा सुरक्षितसँग छन् ।  गुरुङ जातिको बस्ती रहेको राइनासकोटमा उनीहरूको कला, संस्कृतिलाई जोगाउन सङ्ग्रहालय समेत स्थापना गरिएको छ ।  
त्यस्तै वैशाख १२ गतेको भूकम्पलाई सम्झना गर्दै स्मारकसमेत निर्माण गरिएको छ ।  पुनर्निर्माणपछि बनाइएका संरचनाले पर्यटक भित्र्याउन सहज हुने अपेक्षा लिएको राइनासकोट पर्यटन समितिका अध्यक्ष खड्कबहादुर गुरुङले बताउनुभयो ।
राइनासकोटको पुनः निर्माणसँगै एग्रोटुरिजम अवधारणा पनि सँगसँगै अघि बढ्ने भएको छ ।  राइनासकोट लमजुङ प्रवेशद्वार पाउँदीबाट तीन घण्टाको पैदल यात्रा र दुई घण्टाको सवारी यात्रापछि पुग्न सकिन्छ ।  यहाँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छ्रे, लमजुङलगायत गरी १८ वटा हिमशुङ्खलाहरू देख्न सकिन्छ ।  
यहाँ बाइसे चौबीसे राज्यकालमा निर्माण गरिएको ऐतिहासिक राइनसकोट किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट, किल्ला र गढीलगायतका ऐतिहासिकस्थल रहेका  छन् ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना