घट्यो छुर्पीको उत्पादन

chhurpiताप्लेजुङ, मङ्सिर १० गते ।  दुग्धजन्य वस्तुमध्ये धेरै उपभोक्ताले मन पराउने र राम्रो आम्दानी दिँदै आएको छुर्पी उत्पादन बर्सेनि घट्दै गएको छ ।  पछिल्लो समय पशुपालन व्यवसाय अर्थात् गोठ राख्ने पुरानो चलन हराउँदै गएपछि हिमाली जिल्ला ताप्लेजुङमा गतिलो आयको स्रोतका रूपमा रहेको छुर्पी उत्पादन घट्दै गएको हो ।  छुर्पी उत्पादन घटेसँगै दुग्धजन्य वस्तुबाट हुने आम्दानीमा निर्भर किसानको आम्दानी पनि गुम्दै गएको छ ।  
विषेश गरेर हिमाली भेगमा चरनको अभाव भएको र यो अभावसँगै पशुपालक किसानले गोठ राख्न छाडेको तथा पशुपालनको सट्टामा अन्य वैकल्पिक व्यवसाय अँगाल्न थालेकाले छुर्पीको उत्पादन घट्दै गएको हो ।  यसअघि पशुपालन व्यवसाय गर्दै आउनुभएका पासाङ शेर्पाले अहिले हिमाली क्षेत्रमा गाईवस्तु चराउने ठाउँ नभएको बताउनुभयो ।  दुई÷तीन वर्ष अघिसम्म जङ्गलमा स्वतन्त्ररूपमा गाईवस्तु चराउने गरिएकोमा हाल चरनको अभाव खड्किएसँगै वस्तु पाल्न छोडेको शेर्पाले बताउनुभयो ।  
यस्तै फुङ्लिङ नगरपालिका ११ फावाखोलाका पशुपालक किसान जीतमान भट्टराईले पनि चरन क्षेत्र साथै घाँस परालको अभाव भएपछि व्यवसाय छाडेको बताउनुभएको छ ।  केही समय अघिसम्म पशुपालनलाई नै मुख्य पेसा ठानेर व्यवसाय अँगाल्दै आउनुभएका भट्टराईले हाल चरन क्षेत्र, घाँस–पानीको अभावकै कारण व्यवसाय छाडेको बताउनुभयो ।  फावाखोलाका अन्य किसानले पनि पशुपालन व्यवसाय त्यागेका उहाँको भनाइ छ ।
चरन क्षेत्रको अभावसँगै पशुपालन व्यवसाय तथा गोठ राख्ने पूरानो चलन हराउँदै गएपछि नै छुर्पी उत्पादन घट्दै गएको किसानहरू बताउँछन् ।  हिमाली गाउँ फक्ताङ्लुङ गाउँपालिका ७ याङ्माका स्थानीय दावानुपु शेर्पाले चरणको अभाव हुन थालेपछि हाल अधिकांस किसानले पशुपालनको सट्टा अरू नै व्यवसाय गर्न थालेको बताउनुभयो ।  डेढ÷दुई सयदेखि तीन सय ५० वटासम्म चाँैरी पाल्दै आएका धेरै किसानले व्यवसाय छाडिसकेका शेर्पाले बताउनुभयो ।  “हिजोआज सीमित किसानले मात्र पशुपालन गर्दै आएका छन्, पशुपालन गर्नेले पनि गोठमा गाईवस्तु थोरै पालेका छन् त्यसैले छुर्पी उत्पादन घट्ने नै भयो” शेर्पाले भन्नुभयो ।
त्यस्तै जिल्लाको पूर्वी सिदिङ्बा गाउँपालिका १ कालीखोलाका याम बानियाले पशुपालनका लागि चरनको अभाव हुँदै गएपछि पशुपालन व्यवसाय छाडेर किसान पलायन हुँदै गएका बताउनुभयो ।  बानियाका अनुसार कालीखोलामा पर्ने तिम्बुङपोखरी, तावानागी, इवानागी, सिदिङ्बालगायतका क्षेत्रमा चरनको अभाव भएपछि पशुपालकहरूले व्यवसाय छाड्न बाध्य भएका छन् ।  पहिले चरन क्षेत्र रहेको माथिल्लो भेग संरक्षणका कारण र तल्लो क्षेत्रमा अलैंची, चिराइतो र अन्य जडिबुटी खेती लगाउन थालिएकाले चरनको अभाव हुँदै गएको किसान बताउँछन् ।  साविक ओलाङ्चुङगोला, लेलेप, याम्फुदिन, तापेथोक र मामाङ्खे गाविस जिल्लाकै आधा क्षेत्रफल ओगटेको फराकिलो तथा धेरै वनजङ्गल रहेको हिमाली क्षेत्र कञ्चनजङ्घा संरक्षण क्षेत्र पर्दछ ।  अन्य हिमाली र फराकिलो भूभाग रहेको क्षेत्र निघुरादिन, चाँगे, साँघु, फाकुम्बा, थुकिमा, पापुङ, साँबा, खेजेनिम, खेबाङ, सुरुम्खिम, कालिखोलालगायतका गाउँमा नगदेबाली तथा जडिबुटी खेती लगाउन थालेपछि पशुपालनका लागि चरन क्षेत्र साँघुरिँदै गएको हो ।    
यसरी पशुपालन व्यवसाय हराउँदै गएपछि विगत वर्षहरूको तुलनामा अहिले ताप्लेजुङमा करिब ४५ प्रतिशतले छुर्पीको उत्पादन घटेको किसान तथा व्यवसायी बताउँछन् ।  उत्पादन घट्दै गएपछि छुर्पीको मूल्य भने आकाशिएको स्थानीय व्यापारी तथा व्यवसायीको भनाइ छ ।  ताप्लेजुङको कोसेली वा चिनोको रूपमा समेत स्थापित छुर्पीको उत्पादन घटेसँगै मागअनुसार बजारमा पाउन छाडिएको उपभोक्ता तथा सेवाग्राहीहरूले बताएका छन् ।  
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरादेवीको दर्शनमा आउने देशविदेशका दर्शनार्थीले यहाँको कोसेलीको रूपमा छुर्पी किन्ने गर्दछन् ।  ताप्लेजुङमा पाइने गुणस्तरीय र धेरै रसिलो चौरीको छुर्पीप्रति ग्राहकको आकर्षण हुने गरेकामा अहिले छुर्पीको मूल्य पनि महँगिएको र चाहेजति पाउनै छाडेको सेवाग्राही बताउँछन् ।
यता सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायीले पनि ग्राहकले खोजे जस्तो छुर्पी उपलब्ध गर्न नसकिएको बताएका छन् ।  अहिले बजारमा मागअनुसारको छुर्पी आपूर्ति हुन छोडेकोले ग्राहकहरूले मागे जति दिन नकिने भएको स्थानीय व्यवसायी बाङ्गे शेर्पाले बताउनुभयो ।  “सयौं हजारौं केजीसम्म पनि सेवाग्राहीले खोज्ने गरेका छन् तर उत्पादन हुन छाडेकाले त्यो ग्राहकको मागलाई पूर्ति गर्न सम्भव छैन” शेर्पाले भन्नुभयो ।
चौँरीको दूध र मोहीबाट बनाइने छुर्पी प्रशस्त नभएपछि हाल प्रतिकेजी ९५० देखि एक हजार रुपियाँसम्म छुर्पीको मूल्य पर्न थालेको बताइएको छ ।  स्थानीय व्यवसायीका अनुसार सदरमुकाम फुङ्लिङबजार, सुकेटारलगायत बजारमा दुई÷तीन वर्ष अघिसम्म छुर्पीको मूल्य प्रतिकेजी ४०० देखि ५०० रुपियाँसम्म पर्ने गर्दथ्यो ।  हाल चरनको अभावसँगै पशुपालन व्यवसाय हराउँदै गएको र पशुपालन हराएपछि दुग्धजन्य वस्तुको उत्पादन घटेपछि यसको आम्दानीमा निर्भर किसानको आयस्रोत गुम्दै गएको छ ।    

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना