सृष्टि विज्ञानमा गरुड र अरुण

kamal rijalकमल रिजाल


वैदिक मन्त्रद्रष्टा ऋषिहरूमा पक्षीराज गरुड पनि बिर्सनै नसकिने नाम हो ।  यसो त उनीहरू वैदिक ऋषिहरूभन्दा बढी देवता हुन् ।  वेद, पुराणादि श्रुति र स्मृतिपरक प्रायः सबै ग्रन्थमा उनका देनबारे धेरथोर चर्चा भेटिन्छ ।  अझ इतिहास र पुराणादि ग्रन्थमा त उनको बढी नै सम्झना गरिएको छ ।  पौराणिक दर्शनकाअनुसार उनी खग, खगेन्द्र, गरुत्मान, सूर्य आदि विशेषणले सुसज्जित पाइका छन् भने उपनिषद् दर्शनकाअनुसार पनि उनी अन्तरिक्षको शक्ति, प्रकाश, सूर्य, प्राण, खगेन्द्र आदि विशेषणले युक्त नै देखिन्छन् ।   तथापि उनको स्थान वैदिक मन्त्रद्रष्टा ऋषिमण्डलीमा समेत कम्ती समुन्नत छैन ।  यस अर्थमा उनी वेद पुराण सर्वत्र वर्चस्व कायम गर्न सफल देवता र ऋषि दुवै हुन् भन्नु मनासिव हुनेछ ।  खासगरी ऋग्वेद दशौमण्डलको १४४ औँ सूक्त उनै (तारक्षपुत्र सुपर्ण) द्वारा साक्षात्कार भएको सूक्त मानिन्छ ।  देवराज इन्द्रको प्रशस्तिमा गाईको यस सूक्तमा कुल छवटा मन्त्र छन् ।  यस सूक्तमा उनले आफूलाई जु्न किसिमको आध्यात्मिक ज्ञानको शिखरमा उभ्याएका छन् भौतिक विज्ञानमा पनि त्यति नै निपूण देखिएका छन् ।  
ऋग्वेदमा गरुडबाहेक गरुडवंशीय जरिता आदि पक्षीको समेत उपस्थिति भेटिन्छ ।  विद्वानहरूकाअनुसार ऋग्वेद दशाँै मण्डलको १४२ औा सूक्त यिनै जरितादि पक्षीहरूद्वारा साक्षात्कार भएको सूक्त हुन् तर यसमा उनीहरूकै बारेमा खासै केही उल्लेख भएको पाइन्न ।  कुल आठवटा मन्त्र रहेको यस सूक्तले विशुद्ध रूपमा अग्निको मात्र स्तवन गरेको छ ।  साथसाथै ऋग्वेद दशौँ मण्डलको ९१ औँ सूक्तका ऋषि अरुण मानिएका छन् ।  अरुण भनेका पनि गरुडकै भाइ (कतै दाजु पनि भनिको) को नाम हो ।  यस अर्थमा यो सूक्त पनि उनैसित सम्बन्धित रहेको अनुमान गर्न सकिन्छ तर कतिपय विद्वान्ले यिनलाई गरुडको भाइ नभई वीतहव्यका छोरा कुनै क्षत्रीय वंशी ऋषि हुन् भन्ने गरेका पनि पाइएका छन् ।  त्यसैले विस्तृत अनुसन्धान विना यसबारे भने यसै भन्न सकिने अवस्था छैन ।  
तारक्षपुत्र सुपर्ण (गरुड) ले उल्लिखित ऋग्वेद मण्डल १० सूक्त १४४ मा लोकहितका लागि देवराज इन्द्रसित जे जस्ता कामना गरेका छन् त्यो त ज्ञानका दृष्टिले यसै पनि प्रशंसनीय छदैछ साथै इन्द्रले लोकहितमा प्रस्तुत हुँदा अपनाउनु पर्ने विधि र व्यवहारलाई जसरी प्रस्तुत गरेका छन् त्यो त झन् वैज्ञानिक दृष्टिले मननीय देखिएको छ ।  सूक्तको पहिलो मन्त्रमै इन्द्रलाई सृष्टिको मूल स्रोत मान्दै सृष्टि प्रक्रियामा उनी र उनका भूमिकाबारे सुन्दर विवेचन भएको पाइन्छ भने दोस्रो मन्त्रले इन्द्रको बज्र कसरी बन्छ र त्यसलाई कुन शक्तिले कसरी निरन्तर शक्तिशाली बनाउँदै ल्याएको छ भन्ने कुरालाई प्रष्ट पार्ने प्रयास गरेको देखिन्छ ।  त्यस्तै सूक्तको तेस्रो, पाँचौं र छैटौं मन्त्रमा इन्द्रले लोक प्रशासनमा प्रस्तुत हुँदा निर्वाह गर्नुपर्ने दायित्व र भूमिकालाई केलाउने प्रयास भएको पाइन्छ भने चौथो मन्त्रमा तारक्षपुत्र गरुडले के कसरी इन्द्रको काममा सहयोग गर्दै आएका छन् भन्ने कुरालाई प्रष्ट्याउने प्रयास भएको पाइन्छ ।  
पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार नाताले दाजुभाइ पर्ने गरुड र अरुण जति बढी ज्ञानी, गुणी र विवेकी देखिएका छन् त्यति नै परोपकारी, लोकहितकारी र दिव्य गुणले सम्पन्नसमेत रहेका छन् ।  उनीहरूमध्ये दाजु गरुडले त यसै पनि पालन कर्ता विष्णुको वाहन बनेर संसारको स्थिति व्यवस्थापनमा विशेष सहयोग पु¥याउँदै आएका छन् तर सूर्यको सारथि बन्न पुगेका भाइ अरुणको पनि यस मामिलामा कम योगदान छ भन्न मिल्दैन ।  सारथि बनेका नाताले उनको गति त यसै पनि सूर्यको न्दा एक पाइलो अगाडि रहँदै आएको हुन्छ भने योगदानकै कुरा गर्ने हो भने पनि रथिको भन्दा सारथिकै भूमिका अगाडि रहेको हुन्छ ।  उदाहरणका लागि महाभारतको युद्धमा रथि र सारथि बनेर होमिएका अर्जुन र कृष्णलाई नै लिन सकिन्छ ।  
अतुल पराक्रम र प्रचण्ड वेगका धनी गरुड र अरुण दुवै कश्य प्रजापतिका पुत्र हुन् भने आमाको नाम दक्षप्रजापति पुत्री विनता हो ।  आदि कल्पमा सृष्टि प्रक्रिया अघि बढाउने क्रममा कश्यप्रजापति र विनताको गर्भबाट उनको जन्म भएको थियो ।  कश्यप्रजापतिले दक्षप्रजापतिकी १३ वटी कन्यालाई एकै लगनमा विवाह गरेका थिए ।  यिनै १३ वटी कन्याहरूबाट देवासुर तथा पशुपक्षीलगायत समग्र प्राणी समुदायको जन्म भएको थियो ।  तिनै प्राणी समुदायमध्ये विनतापुत्र गरुड र अरुणले पक्षी समुदायको प्रतिनिधित्व गरेका छन् ।  भागवतादि पौराणिक ग्रन्थमा व्यासजीले यसको सुन्दर विवेचन गरेका छन् ।  उनीहरूका जन्म वृतान्त पनि त्यति नै मार्मिक रहेको छ ।   
महाभारतकाअनुसार एकपटक कश्य प्रजापतिकी दुई पत्नी कद्रु र विनताले असल सन्तानका लागि विशेष साधना गरेका थिए ।  समय पूरा भएपछि कद्रुले एक हजार अण्डा उत्पादन गरेकी थिइन् भने विनताले मात्र दुईवटा ।  त्यसमा पनि कद्रुका अण्डाबाट धमाधम नागहरूका जन्म हुन थालिसकेका थिए भने विनताको चाहिँ अत्तोपत्तो नै थिएन, जसले गर्दा उनी यति बढी आक्रोशित हुन पुगिन् कि आफ्नै हातले हानेर एउटा अण्डा फोरिदिइन् ।  विधि विधान भनौँ कि नियतिको खेल त्यसबाट बच्चा त निक्यो तर उसको पूर्णत शारीरिक विकास भने भइसकेको थिएन ।  पछि गएर सोही बच्चा नै अरुणको नामले सूर्यको सारथि बनेर अमर हुन पुग्यो ।  उता अर्को अण्डा भने समय पूरा भएपछि आफैँ फुट्यो र त्यसबाट अति तेजस्वी बालक उत्पन्न भयो, जो पछि गएर गरुणको नामले ख्याति पाए ।  
अब आयो उनीहरू कसरी विष्णुको बाहन र सूर्यका सारथि बने भन्ने कुरा, त्यो त झनै बढी रोचक छ ।  एकपटक आमाको इच्छा पूरा गर्न गरुडले इन्द्रलाई समेत जिती अमृतको घडा खोसेर ल्याएका थिए ।  स्वर्गबाट आउने क्रममा बाटामा सर्वप्रथम उनको भेट विष्णुसित भएको थियो ।  यतिबेला उनको अमृतप्रतिको निष्ठा र वफादारिता देखेर विष्णु यति बढी प्रभावित भए कि दायाबायाँ कतै नहेरी बरदान माग भनेका थिए ।  गरुड बल र विद्यामा जति पारङ्गत थिए बुद्धिमा पनि त्यत्तिकै तेज थिए ।  त्यसैले उनले पनि दायाँ बायाँ कतै नहेरी तत्कालै भने– ‘अन्तरिक्षमा तपाईंको भन्दा पनि मेरो स्थानमाथि होस् र अमृत नखाएर पनि अमर बन्न सकुँ । ’ यतिबेला विष्णुले तथास्तु मात्र पनि राम्ररी भन्न भ्याएका थिएनन् के भएछ कुन्नि उनले पनि विष्णुलाई बरदान माग्ने आग्रह गरे ।  विष्णु पनि के कम थिए र तत्कालै भनिदिए – ‘त्यसो हो भने आजदेखि तिमी मेरा बाहन बन्ने छौ । ’ त्यसपछि आपसी सम्झौताअनुसार गरुड विष्णुको वाहन बने ।  विष्णुले गरुणलाई आफ्नो ध्वजामा अङ्कित गरे ।  जहाँसम्म अरुण सूर्यको सारथि कसरी बने भन्ने कुरा छ त्यसमा भने उनको त्याग र महानताकै विशेष भूमिका रहेको बुझिन्छ ।  

प्रकाशित मिति: २०७४/८/१०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना