मत सदुपयोग गर्ने ऐतिहासिक दिन

Shreedhar Acharya श्रीधर आचार्य




आज मुलुकका ३२ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ ।  सङ्घ र प्रदेश सभाको निर्वाचन एकैपटक हुन लागेकाले यो निर्वाचन ऐतिहासिक पनि हुने भएको छ ।  नयाँ संविधानले व्यवस्था गरेको तीन तहको राज्य प्रणालीमध्ये स्थानीय तह, प्रदेश र केन्द्रका निर्वाचन एकवर्ष र अझ भनौँ आठ महिनाभित्रै सम्पन्न हुँदैछन् ।  संविधान सभाबाट संविधान जारी गरिएपछि संविधानप्रति केही मधेशवादी दल र नेताबाट असन्तुष्टि र विरोध भएका कारण संविधान जारी भएको वर्ष संविधान कार्यान्वयनको काम चुनौतीपूर्ण बनाउन खोजिए  पनि २०७४ को माघ ७ गतेभित्र तीनै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थितिप्रति सबै दल तथा नेता संवेदनशील, जिम्मेवार र गम्भीर बनेपछि सबै तहका निर्वाचन सम्पन्न हुने वातावरण बन्दै गयो र आजको सुखद दिनमा आउन सकिएको होे ।  
यद्यपि दुई चरणमा हुने यस निर्वाचनको दोस्रो चरणका लागि ११ दिन अझ बाँकी छन् ।  निर्वाचन विथोल्ने प्रयासका हिंसात्मक घटना नभएका होइनन्, साना ठूला घटना भइरहेकै छन्, नेता तथा उम्मेदवार लक्षित कतिपय डरलाग्दा हिंसात्मक घटनासमेत भए पनि ठूलो क्षति हुन नपाउँदै सुरक्षाको राम्रो प्रबन्ध गरिएकाका कारण त्यस्ता घटना मतदानको दिन आइपुग्दासम्म निस्तेज भइरहेको देखिन्छ ।  यसले दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण र मतदाताको उत्साहजनक सहभागितामा निर्विघ्न सम्पन्न हुने अपेक्षा गर्न सकिन्छ ।  
स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, धाँधलीरहित र नागरिकको ठूलो उत्साह र सहभागितामा सम्पन्न भएको छ भने संवैधानिक समयसीमा र मुलुकको भौगालिक तथा मौसमी अवस्थालाई ध्यानमा राखी दुई चरणमा तर एकैचोटि गर्न लागिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि सोहीअनुसार सम्पन्न हुनेमा शङ्का गर्र्नुपर्ने अवस्था हट्दै गएको छ ।  
यसबाट  सङ्क्रमणकालीन समयमै सम्पन्न गर्नुपर्ने निर्वाचनका चुनौतीपूर्ण काम सम्पन्न होलान्–नहोलान्, मुलुकमा राजनीतिक स्थिरता कायम होला–नहोला वा मुलुक यो वा त्यो कारणले राजनीतिक दुर्घटनातर्फ त जाने होइन ? जस्ता आम नागरिकमा जुन आशङ्का पैदा भइरहेको थियो त्यो समेत करिब मेटिएको छ ।  र, राजनीतिक आन्दोलनको ऐतिहासिक यात्रा पूरा गरी मुलुक आर्थिक विकास र समृद्धिका दिशामा अगाडि बढ्ने अवस्था सिर्जना भएको छ ।
आज मङ्सिर १० र मङ्सिर २१ गते गरी दुई चरणमा  सम्पन्न गर्न लागिएको यस निर्वाचनबाट प्रतिनिधि सभाका २७५ सदस्य र सात प्रदेशका ५५० प्रदेशसभा सदस्य निर्वाचित हुने छन् ।  यसबाट स्वाभाविक रूपमा केन्द्रमा नयाँ सरकार बन्नेछ भने पहिलो पटक प्रदेशमा पनि प्रदेश सरकार बन्ने छन् ।  प्रदेशमा संसद् र सरकार बन्ने कुराले राजनीतिकर्मीले नयाँ अवसर पाउने मात्र छैनन्, मुलुकमा सङ्घीयता कार्यान्वयनले  पूर्णता पाउनेछ ।  राजनीतिक अधिकार प्राप्ति आन्दोलनको राप र तापबाट अप्रत्याशित रूपमा उत्पन्न सङ्घीय राज्य व्यवस्था हाम्रोजस्तो सानो र गरिब मुलुकका लागि ज्यादै खर्चिलो हुने आवाज विस्तारै परालको आगोजस्तै सल्किएको विगत अवस्थाले यसको  कार्यान्वयन तहमा पुग्ने कुरामा प्रश्न उठिरहेको थियो, कार्यान्वयन होला– नहोला भन्ने सबैको कौतुहलको विषय थियो ।  संविधानमा नेपाल धर्मनिरपेक्ष मुलुक घोषणा गरिएकामा अहिले पनि ठूलो समूह असन्तुष्ट छ ।  यसैले पनि असन्तुष्ट सबैखाले शक्ति प्रत्यक्ष अप्रत्यक्ष रूपमा संविधान कार्यान्वयन विफल पार्ने चाहिरहेका र प्रयास नभएका होइनन् ।  सबै अप्ठ्यारा र अवरोधलाई पाखा लगाउँदै संविधान कार्यान्वयन गरी मुलुलाई सही दिशा दिने दृष्टिले पनि यो निर्वाचन ज्यादै महìवपूर्ण र कोशे ढुङ्गाका रूपमा रहेको छ ।
मुुलुक विकास र निर्माणको नयाँ चरणमा प्रवेशका लागि आतुर छ अर्थात्, राजनीतिक दलको भनाइ, उनीहरूका चुनावी घोषणा पत्र र मुलुकको टड्कारो आवश्यकताका रूपमा रहेको आर्थिक विकास र समृद्धिको दिशामा देश अगाडि बढ्नेछ ।  
विगतमा विकासका लागि राजनीतिक अस्थिरता बाधकका रूपमा रहेको विश्लेषण दलहरूको छ ।  केही गर्न चाहँदा पनि काम गर्न नपाउँदै सरकारबाट बाहिरिनुपर्ने जुन अवस्था विगतमा व्यहोर्नु प¥यो अब त्यस्तो अवस्था हुनु हुँदैन भन्ने चेतका साथ यस निर्वाचनमा दलले आफ्ना कदम उठाएका छन् ।  नयाँ संविधान जारी गर्दा मिश्रित निर्वाचन प्रणाली अपनाइएको र यसले संसद्मा सबै समुदायको प्रतिनिधित्व गराए पनि सरकार निर्माणका सन्दर्भमा भने यो प्रणालीले एउटा दललाई बहुमत दिने कुरा फलामको च्यूरा चपाउनुसरह रहेकाले आलोचनाको घेरामा परेको छ ।  त्यसैले दलहरूले चुनावी गठबन्धन निर्माण गरी सरकारमा स्थायित्व दिने विकल्प खोज्नु निर्वाचन प्रणालीको स्थायित्वका लागि पनि सकारात्मक पक्ष बनेको छ ।  
अबको निर्वाचनपछि पनि सरकारमा अस्थिरताकायम रहँदा विगतमा जस्तै राजनीतिमा विकृति र विसङ्गति मौलाइरहने, कुनै पनि सरकारले लामो समय काम गर्न नपाउने, कामका बारेमा मन्त्रीले सोच्न र बुझ्न पाउँदा नपाउँदै सरकारबाट बाहिरिनुपर्ने र आम नागरिकमा समेत निराशा पैदा हुने कुराको अन्त्य आवश्यक थियो ।  त्यस अर्थमा दलको बनाएका चुनावी गठबन्धन बलिया बन्न सक्नुपर्छ ।  अझ भनौँ, त्यस्ता गठबन्धन नीति, विचार, सिद्धान्त र दृष्टिकोण मिल्ने दलबीच हुनसक्दा र निर्वाचनमा बहुमत ल्याउन सक्दा कमसेकम पाँचवर्षे कार्यकाल काम गर्ने अवस्था सिर्जना हुने छ ।  दल र नेताले सरकारमा रहेर कामै गर्न पाइएन भन्ने गुनासो पटकपटक मतदाताबीच राख्ने अवस्थाको अन्त्य हुने छ ।  
चुनावी एकता, तालमेल, गठबन्धन जे भनिए पनि अहिले राजनीतिक दलबीच अभूतपूर्व रूपमा धु्रवीकरण भइरहेको छ ।  मतदानको दिनसम्म पनि पार्टी प्रवेशका परिदृश्य देखापरिरहेका छन् ।   यसक्रममा सम्भावना र अवसरका खोजी अवसरवादमा परिणत हुनुहुँदैन भने अधिकार प्राप्तिको लामो सङ्घर्षमा हातेमालो गरेका दलबीच ध्रुवीकरणले शत्रुतापूर्ण व्यवहार सिर्जना गर्नु पनि उचित हुँदैन ।  निर्वाचन प्रतिस्पर्धाका कारण अहिले कुन गठबन्धनले बहुमत प्राप्त गर्ने र कुन गठबन्धन दोस्रोमा खुम्चिएर प्रतिपक्षको भूमिकामा चित्त बुझाउनुपर्ने भन्ने होडले एकअर्कालाई दोषारोपण गर्ने काम भइरहे पनि निर्वाचन सम्पन्नसँगै यस विषय पनि समाप्त हुने नै छ ।  
मतदाताका लागि भने राम्रा उम्मेदवार र घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता साँचो अर्थमा कार्यान्वयन गर्ने दललाई विजयी बनाउने सुअवसर यही हो ।  सबै दल उस्तै हुन्, सबै नेता भ्रष्ट हुन् भन्ने आम टिप्पणी सजिलो हुनसक्छ र सबै दलका घोषणापत्र करिब उस्तैउस्तै पनि पाइन्छ ।  निर्वाचन प्रतिस्पर्धाका कारण घोषणापत्र कसको बढी लोकप्रिय भन्ने उद्देश्यले बनाउन थालिएकाले मतदाताका लागि अन्योलको पुलिन्दा पनि भएको हुन सक्छ ।  त्यसबाहेक अहिले लोकतन्त्रमा खतराको जुन नारा लगाइएको छ, त्यो खतरा देख्नेबाटै हिजो लोकतन्त्रलाई कहाँ पु¥याइयो भन्ने कुराको मनन गर्नुपर्ने समय भएको छ ।  गाउँमा विकास बजेट कहिलेदेखि जान थाल्यो, ज्येष्ठ नागरिक, एकल महिला, पिछडिएको वर्ग र समुदायप्रति राज्यको दायित्व हुनुपर्छ भन्ने मान्यतामा कुन सरकारले बजेट विनियोजन गर¥यो, गरिब र विपन्न परिवारका लागि तराईमा धमाधाम आवास निर्माण भइरहेका छन् ती कसका अवधारणामा र कुन आर्थिक वर्षको बजेटबाट अगाडि बढे भन्ने कुराको हेक्का राख्नुपर्ने बेला भनेकै निर्वाचन हो ।  निर्वाचनबाट त्रिशङ्कु संसद् नबनोेस् र विगतजस्तो सरकार निर्माणमा भ्यागुताको धार्नी पु¥याउने अवस्था सिर्जना नहोस् भनी दुई ध्रुवमा बनाइएका राजनीतिक गठबन्धनका उद्देश्यलाई सफल पार्न मतदाताले आफ्नो भूमिकाप्रति हेक्का राख्नुपर्ने भएकोे छ ।  

प्रकाशित मिति: २०७४/८/१०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना