मताधिकार प्रयोगमा नचुकौँ (सम्पादकीय)


आज मतदान गर्ने दिन ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणमा हुनेछ ।  प्रदेशका ३२ जिल्ला अन्तर्गत पर्ने ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ७४ प्रदेशसभा निर्वाचन क्षेत्रमा आज मतदान हुँदैछ ।  आजको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि २८२ र प्रदेशसभा सदस्यका लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन् ।  कुल एक करोड २१ लाख ९८ हजार मतदातामध्ये ३१ लाख ९१ हजार ९४५ अर्थात् २६ प्रतिशत मतदाताले मतदानको अवसर पाएका छन् ।  बाँकी मतदाताले आगामी मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।   सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले परिकल्पना गरेको संरचना अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव पहिलोपटक हुन लागेको हो ।  यो संविधान बमोजिम निर्वाचन नागरिकले ‘सार्वभौमसत्ता र राजकीयसत्ता’ प्रयोग गर्ने महìवपूर्ण अवसर पनि हो ।
२०७२ साल असोज ३ गतेदेखि लागू भएको नेपालको संविधान कार्यान्वयनको दिशामा यो निर्वाचन महìवपूर्ण छ ।  संविधानले धारा २९६ मा गरेको व्यवस्था अनुसार २०७४ माघ ७ गतेभित्र नयाँ संरचना बमोजिमका सङ्घीय र प्रादेशिक सांसद् गठन भइसक्नुपर्ने बाध्यात्मक व्यवस्था पूरा गर्ने यो निर्वाचन नै प्रमुख कदम पनि हो ।  संविधान जारी हुँदाका बखत र त्यसपछि पनि संविधान कार्यान्वयन हुनसक्दैन वा तोकिएको म्यादभित्र निर्वाचन हुन सक्दैन कि भन्ने विभिन्न वर्ग र समुदायको आशङ्का र अनुमानलाई असत्य साबित गर्दै मङ्सिर १० र २१ गते हुने निर्वाचनबाटै प्रतिनिधिसभा र प्रदेशसभा गठन हुँदैछन् ।  यो संविधान जारी भएपछि महìवपूर्ण फड्को हो र मुलुकमा अस्थिरता बनाइराख्ने तथा मुलुक र जनताको समृद्धि नचाहने समूहका लागि गतिलो झापड पनि हो ।  यो निर्वाचनको सफलताले मुलुकमा रहेको एक दशक लामो सशस्त्र द्वन्द्व र अर्काे एक दशक लामो राजनीतिक अस्थिरताको अन्त्य मात्रै गराउने नभई मुलुक समृद्धिको बाटोमा अग्रसर बनाउनेछ ।  संविधान जारी भएपछि छोटो अवधिमा मुलुकले जसरी सङ्क्रमणकालको व्यवस्थापनमा सफलता प्राप्त ग¥यो, त्यो विश्वकै लागि उदाहरणीय बनेको छ ।  यति छोटो अवधिमा तीन तहको निर्वाचन सम्पन्न हुनुले राजनीतिक तरल अवस्थामा पनि राज्यको व्यवस्थापन क्षमता उच्च रहेको पुष्टि गरेको छ ।  
आवधिक निर्वाचन लोकतन्त्रको आधार हो ।  निर्वाचन नागरिक र राजनीतिक अधिकार संरक्षण र सम्मान गर्ने माध्यम हो ।  मताधिकार नागरिकको अधिकार र कर्तव्य पनि हो ।  ठूलो आन्दोलन र बलिदानबाट पाएको यो अधिकार व्यक्ति वा पार्टी विशेषसँगको असन्तुष्टि वा निजी अनुकूलता÷प्रतिकूलता र स्वार्थभन्दा धेरै माथि छ ।  असन्तुष्टि वा फरक मत व्यक्त गर्ने माध्यम पनि निर्वाचन नै हो र त्यसको पनि सम्मान हुनुपर्छ ।  नागरिकको मत केवल कुनै व्यक्तिलाई पाँच वर्षका लागि सांसद् बनाउने, मन्त्री बनाउने र ऊबाट आफूले पनि सके जति लाभ लिनेसँग मात्रै सीमित छैन ।  एकपटकको निर्वाचनले पाँच वर्षसम्मको अवधिमा मुलुक, समाज र आफ्नो समुदायलाई असर गर्छ ।  यसको असर अरु धेरै वर्षसम्मलाई हुन्छ ।  नागरिकको छनोट र मतदानले त्यस्तो व्यक्तिलाई अधिकार दिइन्छ, जसले आगामी पाँच वर्षसम्मसम्म मुलुक, समाज र समुदायलाई डो¥याउँछ ।  त्यसैले आफ्नो मताधिकारको विवेकपूर्ण प्रयोग गरौँ र नागरिकलाई आफ्नो मताधिकार स्वविवेकमा गर्ने अवसर प्रदान गरौँ ।  यो नै प्रजातन्त्रको सर्वाेत्तम प्रयोग हो ।  निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न सबै पक्ष, राजनीतिक दल, नेता, कार्यकर्ता र नागरिकले सहयोग गरौँ ।  असन्तुष्टिको बहानामा मताधिकार प्रयोग नगर्दा नागरिकले आफ्नो कर्तव्य पूरा गरेको ठहर्दैन, बरु आफूलाई सही लागेको उम्मेदवार र पार्टीलाई मत दिएर मात्रै आफ्नो, समुदायको र मुलुकको हित हुन्छ, विवेकपूर्ण तरिकाले आफ्नो मताधिकार प्रयोग गर्न नचुकौँ ।  


प्रकाशित मिति: २०७४/८/१०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना