तरकारीबाटै वार्षिक १० लाखको आम्दानी

tarkariनेपालगञ्ज, मङ्सिर ११ गते ।  कुँवर बब्बन सिंहले राजनीतिसँगै तरकारी खेती पनि गरिरहनुभएको छ ।  गत ३ वर्षदेखि उहाँले आफ्नै जग्गामा तरकारी खेती गर्दै आउनुभएको हो  ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका नेता तथा तत्कालीन जिल्ला विकास समिति, बाँकेका पूर्वउपसभापति सिंह नेपालगञ्ज उपमहानगरको परसपुरमा छ बिघा जमिनमा तरकारी खेती गरिरहनुभएको छ ।  वर्षमा ३० देखि ४० लाखको तरकारी बिक्री गरेर उहाँले करिब १० लाख रुपियाँ नाफा भइरहेको सिंहले बताउनुभयो ।  मैले उत्पादन गरेको तरकारी नेपालगञ्ज, कोहलपुर, जुम्ला, दाङ, सुर्खेतसम्म पुग्छ, नेता सिंहले थप्नुभयोे, उत्पादन गर्न सक्ने हो भने तरकारी खेतीमा धेरै नाफा छ  ।  उहाँको खेतीबाट मात्र दैनिक पाँच क्विन्टल तरकारी बजार जाने गर्छ ।
उहाँले बेमौसमी तरकारीभन्दा मौसमी तरकारी बढी उत्पादन गर्ने गरेको बताउनुभयो ।  बेमौसमी तरकारी खेतीमा सिँचाइ र प्राविधिक ज्ञान नभएकाले मौसमी तरकारी खेतीलाई नै प्राथमिकता दिएको सिंहले जनाउनुभयो ।  तरकारी खेतीबाट दैनिक १५ जनाभन्दा बढीलाई रोजगारी दिँदै आएको उहाँले बताउनुभयो ।  उहाँले राजनीतिसँगै तरकारी खेती पनि गरेपछि अहिले राजनीति गर्नका लागि पैसा कहाँबाट ल्याउने भन्ने चिन्ता हटेको बताउनुभयो ।  तरकारी खेतीमा लागेपछि एकातिर सर्वसाधारणलाई रोजगार र अर्कोतर्फ उपभोक्तालाई ताजा तरकारी खुवाउन सकेको उहाँको अनुभव छ ।  तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अब पहिले जस्तो घरबाट खर्च गर्नुपर्ने अवस्था अब छैन, सिंहले भन्नुभयो ।
उहाँले राजनीति जस्तो तरकारी खेतीमा जालझेल र खु्ट्टा तानातान नरहेको पनि बताउनुभयो ।  कृषि पेसा सोझो तरिकाले अगाडि बढ्ने गरेको बताउँदै उहाँले राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको जनाउनुभयो ।  राजनीतिभन्दा कृषि व्यवसाय धेरै सजिलो रहेछ, न कसैको ‘टेन्सन’ न त कसैको गाली खानुपर्छ, कृषि व्यवसायजस्तो आनन्द अरू केही रहेनछ, सिंहले भन्नुभयो ।
वार्षिक ४० लाख सम्मको तरकारी बिक्री गर्ने यस क्षेत्रकै ठूला तरकारी किसान सिंहले आफूले तरकारी खेती सुरु गरेपछि भारतीय तरकारी विस्थापित भएको पनि बताउनुभयो ।  नेपालका लागि नेपालमै किन तरकारी उत्पादन नगर्ने भन्ने लागेर आफूले तरकारी व्यवसायमा हात हालेको उहाँले जनाउनुभयो ।
भारतको तरकारी विस्थापित गर्न सरकारले तरकारी खेतीमा लागेका नेपाली किसानलाई हर प्रकारको सहयोग र सहुलियत दिनुपर्ने सिंहको माग छ ।  हाल बाँकेमा पाँच हजार एक ८६ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको र सो बर्सेनि बढ्दैगएको जिल्ला कृषि विकास कार्यालय बाँकेले जनाएको छ ।  हिउँदमा एक हजार नौ सय ४८ हेक्टरमा, वर्षायाममा एक हजार छ सय हेक्टर र गर्मीयाममा एक हजार ६३८ हेक्टरमा तरकारी खेती हँुदैआएको सो कार्यालयले जनाएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना