आर्थिक विकासको मेरुदण्ड उद्यमशीलता

उद्धवप्रसाद भट्टराई   

 

नेपालमा राजनीतिक परिवर्तनका शृङ्खला धेरै भए पनि आर्थिक विकासले फड्को मार्न सकेको छैन ।  राष्ट्रिय अर्थतन्त्रको विकास, विस्तार र अभिवृद्धिका लागि नयाँ स्तरमा दूरदर्शी बृहत्तर योजना अघि बढ्न सकेको पनि देखिँदैन ।  अर्थतन्त्रले फड्को मार्न नसक्नुको प्रमुख कारणमध्ये राजनीतिक अस्थिरता, गरिबी, अशिक्षा र उद्यमशील संस्कृतिको विकास हुन नसक्नु तथा आर्थिक अनियमितता र इमानदार प्रशासनको अभाव मुख्य हुन् ।  त्यस्तै राजनीतिक दल वा नेतामा दूरदर्शीताको अभाव, नैतिकता र चरित्रमा इमानदारीको अभाव एवं राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्तिमा जोड दिन नसक्नु समस्याको प्रमुख जड हुन् ।  देशमा योजनागत विकासको अवधारणा भए पनि कार्यान्वयन पक्ष ज्यादै फितलो भएको कारणले अर्थतन्त्रमा परिवर्तन आउन सकेन ।  देशको सबलता राजनीतिक स्थिरता र तीव्र आर्थिक उन्नतिको बाटोले देखाउने भएकोले नेपालको सन्दर्भमा यी दुवै पक्ष सदियौँदेखि कमजोर बन्दै आएको छ ।  
आउँदा दिन राजनीतिक स्थिरताको अपेक्षा गरिए अनुरूप अर्थतन्त्रलाई सबल, दिगो र सक्षम बनाउन बाटो खुल्दै गएको छ ।  यसैले अर्थतन्त्रलाई उँभो लगाउने सन्दर्भमा देशले गहिराइमा गएर सोच्नुपर्ने बेला भएको छ ।  कारण के हो भने पुरानो सोच, पुरानो व्यावसायिकता एवं पुरानै ढङ्गको आर्थिक विकासको कार्यप्रणालीले हामी देशको तुलनामा निकैपछि परिसकेका छौँ ।  हाम्रा शिक्षा प्रणाली पनि व्यावहारिक, उद्यममुखी र प्रविधि उन्मुख नभएको कारण आर्थिक विकासको क्षेत्रमा देशले गम्भीर समस्या भोग्दै आएको छ ।  परिश्रमी, उद्यमी तथा उद्योगी बन्नुपर्छ भन्ने संस्कारको विकास पनि हुन सकेको छैन ।  यसैले समाजमा उद्यमशीलतामुखी विचार, चिन्तन तथा तालिमको खाँचो देखिन्छ ।  गुणवान्, दक्ष र योग्य जनशक्ति उत्पादनमा कमी छ ।  कतिपय दक्ष एवं योग्य जनशक्ति तयार भएको भए पनि उनीहरू रोजगारको अभावका कारण विदेश पलायन भइसके ।  यसैले अब आउँदो समयमा गाउँ, नगर, महानगर, प्रदेश तथा प्रतिनिधिसभामा चुनिएर गएका जनप्रतिनिधिले उद्यमशीलता विकासको तालिमलाई राष्ट्रव्यापी गराउन सकेमा आर्थिक विकासले छिट्टै फड्को मार्नेछ ।  व्यवसायमूलक दक्षजनशक्ति उत्पादन गर्ने कार्य शैक्षिक क्षेत्रको पनि हो ।  
तर, शैक्षिक क्षेत्रमा सङ्ख्यात्मक रूपमा विकास बढी देखिए पनि गुणात्मक रूपमा त्यस्तो परिवर्तन भएको छैन ।  आर्थिक विकासका लागि प्रभावकारी र रणनीतिक योजनाको अत्यन्तै जरुरी हुन्छ ।  किनकि देशको आर्थिक नीति र विकास प्रणालीमा धेरै कुरामा कमी कमजोरी देखिएकोले आमूल सुधारको खाँचो महसुस गरिएको छ ।  देशमा पर्याप्त रोजगारीका अवसर र सम्भावनाको खोजी गरी त्यसको व्यवस्थापनमा राष्ट्रले गम्भीर चासो दिनुपर्ने ठाउँमा राजनीति र व्यवस्थाको चाँजोपाँजो मिलाउने कार्यमै लामो समय व्यतीत भइसक्यो ।  पर्याप्त रोजगारी र स्वरोजगार सिर्जना गर्नका लागि उत्पादनमूलक उद्यमशीलताको संस्कार विकसित गर्नु अति जरुरी हुन्छ ।  युवा विदेश पलायन हुनुका प्रमुख कारणमा रोजगारीको अभाव, राजनीतिक अस्थिरता र अशान्ति नै हो ।  मुलुकको सामाजिक र आर्थिक रूपान्तरणका लागि युवाशक्तिलाई परिचालन गर्न सक्नुपर्छ ।  श्रम र शक्तिको सदुपयोगबाट नै राज्यले उत्पादन बढाउन सक्छ ।  उत्पादन वृद्धि हुनसके निर्यात बढ्छ, निर्यात बढाउन सके अर्थतन्त्र स्वतः बढ्छ ।  व्यवसायको विकास, उद्यमशीलताको विस्तार, शिक्षाको वैज्ञानिक विकास, राजनीतिक चेतनामा सुधार गरी इमानदार जनशक्तिको निर्माण गर्न सकेमा मात्र सबल र दिगो अर्थतन्त्रको परिकल्पना गर्न सकिन्छ ।  राज्यले लगानी गरेर मात्र हुँदैन, प्रतिफल कति मात्रामा हासिल गर्न सकेको हुन्छ, त्यही आधारमा अर्थतन्त्र विकसित भएको मानिन्छ ।  जनशक्तिको समुचित उपयोग, अर्थको गुणात्मक लगानी र व्यवस्थापनमा पारदर्शी भूमिका एवं भ्रष्टाचार नियन्त्रणका सदन्र्भमा राज्य गम्भीर हुनैपर्छ ।  राज्यले लगानी गरेर निर्माण गरेको जनशक्तिलाई बाहिर जानबाट रोक्न सक्नुपर्छ ।  विश्वव्यापीकरणको युगमा मानिसलाई सर्वत्र धुमफिर गर्न र देश विदेशमा गएर काम गर्नको लागि प्रोत्साहन नगर्नु भन्न खोजेको होइन ।  जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि स्थानमा रोजगारीका लागि जाने र आउने क्रमलाई रोक्न त सकिन्न तर असल, प्राविधिक ज्ञान भएको, प्रतिभाशाली जनशक्तिलाई भने राज्यले राम्रो सुविधा दिएर देशमा राख्नुपर्छ ।  जति पनि जनशक्ति बाहिर गएर ज्ञान, सीप र कला सिकेर आउँछन्, तिनीहरूबाट राज्यले फाइदा लिन सक्नुपर्छ ।  अहिलेको युग कस्तो भइसक्यो भने सीमित स्थानमा बस्नेले केही कुरा पनि सिक्न सक्दैन ।  धुमफिर गर्नु पनि शिक्षा हासिल गर्नु नै हो ।  आफ्ना जनशक्तिले बाहिर गएर धन, सीप र ज्ञान पाउन सकून् र पुनः फर्केर देश सेवामै लागून् भन्ने चासोमा देश गम्भीर हुनुपर्छ ।  अर्थात् विदेशमा गएर राम्रो काम गरेर कमाएको अर्थले राष्ट्रको अर्थतन्त्रलाई अभिवृद्धि गर्नमा पनि सहायता पुगोस् भन्ने नीति राज्यले लिनु जरुरी हुन्छ ।  
युगअनुरूप कुनै पनि जनशक्ति एकै स्थानमा सीमित हुनुपर्छ भन्ने होइन ।  विकसित हुँदै गएको मानव मस्तिष्क विस्तार हुन चाहन्छ र फैलिन चाहन्छ ।  फैलिनु गल्ती होइन ।  यसैले राज्यले अर्थतन्त्रको परनिर्भरतालाई घटाउँदै स्वदेशमा नै पर्याप्त रोजगारीको अवसर सिर्जना गरी युवालाई मुलुककै विकासमा लगाउन सक्नु बुद्धिमत्ता हुन्छ ।  प्रत्येक वर्ष राज्यले अधिकांश खाद्यान्न, तरकारी तथा दालहरू भारत तथा अन्य मुलुकबाट आयात गर्छ ।  युवा खाली जागिरलाई नै मुख्य रोजगारको मानसिकतामा छन् ।  उद्यमशीलताको संस्कार एवं संस्कृति मौलाउन नसक्नुको कारणले यस्तो भएको हो ।  जागिरभन्दा उद्यम तथा व्यवसायले छिटो आर्थिक जीवनस्तर माथि उठ्न सक्छ भन्ने चिन्तनको विकास हुन जरुरी छ ।  व्यवसायमा सबै खर्च गरेर बाँकी रहेको आय रकममा कर तिर्नुपर्छ भन्ने कुराको ज्ञान नभएर पनि धेरैजसो मानिस जागिरमा समय बिताउँछन् ।  व्यवसाय र उद्यमले छिटोभन्दा छिटो आर्थिक उन्नति हुन्छ ।  देशको अर्थतन्त्रलाई छिटो सबलतातिर लग्ने हो भने उत्पादनमूलक उद्यमशीलतालाई प्रोत्साहन गर्नु सिवाय अर्को विकल्प नहुन सक्छ ।  
देशमा बैङ्क, वित्तीय संस्था, सहकारी संस्था च्याउझैँ उम्रेका छन् ।  तिनीहरूले उद्यम र व्यवसायको विकासलाई ध्यान दिई रोजगारीको वातावरण सिर्जना गर्नमा सहयोग गर्नुपर्नेमा खाली पैसा किनबेचमा मात्र अल्मलिरहेका छन् ।  मानिसलाई उद्यमी बन्न प्रेरणा जगाउनुपर्छ ।  उद्यम र व्यवसायले स्वरोजगार मात्र सिर्जना गर्दैन कि यसबाट अरूलाई रोजगारी प्रदान गरी मुलुकको समग्र अर्थतन्त्रलाई माथि उठाउन टेवा दिन्छ ।  देशमा रोजगारीको अवसर नपाई दिनानुदिन हजारौँ युवा विदेशिन बाध्य छन् ।  यसलाई कम गर्न राज्यले कस्तो नीति अवलम्बन गर्नुपर्छ ।  त्यसतर्फ ध्यान दिनुपर्ने बेला भइसकेको छ ।  वर्तमान विश्वको परिवेश, खुला अर्थतन्त्र र विश्वव्यापीकरणको युग भएकोले श्रमबजार विस्तार हुने युग आइरहेछ, अर्थतन्त्रको विकास सीमित मुलुकभित्र मात्र रहने कुरा मात्र होइन ।  अर्थतन्त्र समाजदेखि विकसित हुँदै विश्व अर्थतन्त्रसँग गाँसिनुपर्छ ।  समग्र रूपमा हेर्नुपर्दा आज हामीले हाम्रो अर्थतन्त्रको विकाससँगै विश्व अथतन्त्रको विकासमा पनि ध्यान दिनुपर्छ ।  किनकि विश्वका सबै मानिसको आवश्यकता पूरा होस् भन्ने कल्याणकारी सोच राख्नु नै मानवीयता हो ।  राज्यले यही मानवता र मनुष्यताको भावलाई सर्वोपरि ठानेर आर्थिक विकासमा अगाडि बढ्नुपर्छ ।  

प्रकाशित मिति: २०७४/८/११

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना