निर्वाचनमा सञ्चार माध्यम

 रमेश दवाडी


 

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मतदान सम्पन्न भएसँगै मङ्सिर २१ गतेको दोस्रो चरणको निर्वाचनको व्यग्र उत्सुकतासाथ प्रतीक्षा भइरहेको छ ।   राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ता दोस्रो चरणको चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।  प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभिन्न सङ्घ–संस्था, नागरिक समाज र स्थानीय समुदाय निर्वाचनसँग जोडिन पुगेका छन् ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको समेत चासो रहेको निर्वाचनमा सञ्चार क्षेत्रको पनि ध्यान केन्द्रित नहुने कुरै भएन ।  निर्वाचनसँग सञ्चार क्षेत्रको प्रत्यक्ष संलग्नता छ ।  निर्वाचनको वातावरण बनाउनेदेखि निर्वाचन पछि मत परिणाम पाठक, दर्शक र श्रोतासम्म पु¥याउन सञ्चार माध्ययमको भूमिका महŒवपूर्ण छ ।  
निर्वाचन लोकतन्त्रको चाडपर्व र उत्सव पनि हो ।  निर्वाचनद्वारा जनप्रतिनिधि चयन गरिन्छन् ।  निर्वाचनमा निर्वाचन आयोग मात्र नभई सरकार, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, प्रबुद्ध समूह, सञ्चार जगत् आदिको सहभागिता रहन्छ ।  निर्वाचन प्रणालीमार्फत नागरिक र राष्ट्रका लागि विधिको शासन स्थापित हुन्छ ।  सार्वभौमसत्ता सम्पन्न जनताको मताधिकारबाट निर्वाचनमार्फत प्रतिनिधि छनोट गरी विकास–समृद्धि र न्यायमूलक समाज निर्माण गर्ने विश्वव्यापी मान्यता हो ।  सर्वमान्य प्रक्रिया र पद्धति पनि हो ।  निर्वाचनको वातावरण निर्माण गर्नेदेखि निर्वाचन प्रक्रियामा के गर्ने, के नगर्ने भन्ने कुराको निक्र्यौल गरी समाचार तथा समाचारजन्य सामग्री प्रकाशन प्रसारण गरेर सूचीत पार्नु सञ्चार माध्ययमको दायित्वभित्र पर्छ ।  त्यस्तै स्वच्छ, मर्यादित र शान्तिपूर्वक निर्वाचन सम्पन्न गर्न र निर्वाचनबाट सही र योग्य जनप्रतिनिधि छनोट गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने कार्य पनि सञ्चार माध्यमकै हो ।
अहिले मिडियाले निर्वाचनका गतिविधिलाई प्राथमिकतामा राखेर प्रकाशन तथा प्रसारण गरेका छन् ।  त्यस क्रममा राजनीतिक मुद्दा समेटिएका भए पनि निर्वाचनका प्रक्रिया, राजनीतिक दल र उम्मेदवारका गतिविधिमा बढी जोड दिएको देखिन्छ ।  मुलुकमा भएका सबै निर्वाचन गतिविधिमा जोडिएको छ ।  २०१५ सालको आम निर्वाचन, २०३६ सालको जनमत सङ्ग्रह, २०४६ सालमा भएको व्यवस्था परिवर्तनमा मिडियाले मिसनको रूपमा भूमिका खेल्यो ।  थोरै सञ्चार माध्यम भएका कारण त्यसबेला यसको महŒव बढी थियो ।  बहुदलीय प्रजातन्त्र पुनः स्थापनाका प्रारम्भिक दिनमा सञ्चार माध्यमको विकास हुन सकेको थिएन ।  २०५१ सालको मध्यावधि, २०५४ सालको स्थानीय र २०५६ सालको संसदीय आम–निर्वाचनसम्म केही साप्ताहिक, दैनिक र केही एफ.एम. रेडियोको मात्र विकास भएको पाइन्छ ।  २०४७ सालमा बनेको नेपाल अधिराज्यको संविधानमा सूचना र छापाखानालाई मौलिक हकको रूपमा व्यवस्था गरियो ।   २०४९ सालमा राष्ट्रिय सञ्चार नीति बनेपछि सञ्चारमा क्षेत्रमा नयाँ फड्को मार्न मद्दत पु¥यायो ।  त्यतिबेला हिजोआजको जस्तो अनलाइन र छापा मिडियाको प्रचुरता थिएन ।  दल विशेषका पत्रकारले नै निर्वाचन आचारसंहिता विपरीत समाचार सम्प्रेषण गर्थे ।  २०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा नेपाली मिडियाको तीव्र विकास भइसकेको थियो ।  विकास हुनुको श्रेय अन्तरिम संविधानमा सञ्चारलाई मौलिक हकको रूपमा व्यवस्था गरिनु र लोकतन्त्रको उपलब्धि अभिव्यक्ति स्वतन्त्रता नै थियो ।  ती दुई निर्वाचनमा सद्भावपूर्ण वातावरण तय गर्न मिडियाले खेलेको भूमिकालाई बिर्सन सकिँदैन ।
जनताले सबै किसिमका घटना तत्काल थाहा पाउन नसक्ने भएकाले कहाँ के भयो भन्ने खबर हेर्न, सुन्न र पढ्न आतुर हुन्छन् ।  त्यसैले उनीहरूलाई मिडियाको माध्यमबाट देखाउने, सुनाउने र पढाउने काम हुने भएकोले मिडिया जनताका लागि आँखा, कान र मस्तिष्क हुन् ।  निर्वाचनको समयमा त झन् आफूले मतदान गरेको उम्मेदवारको स्थिति के छ, जित्छन् कि हार्छन् भन्ने जिज्ञासा सहितको उत्सुकता छिनछिनमा हुन्छ ।  यस्तो अवस्थामा सही सूचना छिटो दिएर उत्सुकता मेटाउने कार्य मिडियाको हो ।  छिटो सूचना दिन खोज्दा गलत सूचना जान्छ कि भन्नेमा भने सञ्चारकर्मी सचेत हुनुपर्छ ।  स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन मिडियाको सहयोग र सक्रियबाट सहभागिता मात्रै हुन्छ ।  मिडियाको जिम्मेवारी निर्वाचन पूर्व, निर्वाचन भइरहेका बेला र निर्वाचन सम्पन्न भइसकेपछि पनि उत्तिकै हुन्छ ।  सञ्चार माध्यममाथि लोकतान्त्रिक निर्वाचन सफल पार्न ठूलो अभिभारा रहन्छ ।  निर्वाचनको समयमा के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने जानकारी जनसाधारणलाई दिन, निर्वाचनमा अनधिकृत एवं अख्तियारीको दुरुपयोग र आचारसंहिताको उल्लङ्घनप्रति मिडिया चनाखो बन्नुपर्छ ।  मर्यादित र शान्तिपूर्ण तवरमा निर्वाचन सम्पन्न गर्न सञ्चार माध्ययम अग्रसर हुनुपर्छ ।
निर्वाचनसम्बन्धी समाचारका कारण सामाजिक, सांस्कृतिक, जातीय, क्षेत्रीय, धार्मिक, वर्गीय, लैङ्गिक, अशक्तता, अपाङ्गता भएका वा अन्य कोहीप्रति पनि हिंसा हुन्छ कि र सामाजिक सद्भाव भड्किन्छ कि भन्नेमा सञ्चारकर्मी सचेत बन्नुपर्छ ।  कस्ता समाचार दिने र कस्ता समाचार नदिने भन्नेमा सही निर्णय गर्नुपर्छ ।  अर्कोतर्फ राजनीतिक रूपमा विभाजित रहेको कारण राजनीतिक दलको प्रचारप्रसारमा केही पत्रकार तथा सञ्चार माध्यम संलग्न भएको पनि देखिन्छन् ।  यसले गर्दा मिडियामा एकपक्षीय समाचार तथा सामग्रीले बढी स्थान पाएको भान हुन्छ ।  फरक आस्थाका उम्मेदवार तथा दलप्रति आक्रामक रूपमा प्रस्तुत हुने र गालीगलोज तथा घृणायुक्त अभिव्यक्ति प्रस्तुत गर्ने प्रवृत्ति केही अनलाइन र साप्ताहिक पत्रिकामा देखिएको छ, यो राम्रो होइन ।  सञ्चार माध्यमले निर्वाचनाको विषयमा समाचार सामग्री प्रस्तुत गर्दा व्यावसायिक धर्म निर्वाह गर्नुपर्छ ।  त्यस्तै सञ्चार माध्यमले निर्वाचनसँग जोडिएका विषयमा सकारात्मक तथा आलोचनात्मक सबै खाले समाचार प्रकाशन तथा प्रसारण गर्न आवश्यक छ ।  यसो गर्दा घटना वा प्रक्रिया प्रधान मात्र नभई विषयको पहिचान गरी सबै पक्षको खोजी गरेर समाचार प्रकाशन तथा प्रसारण गर्नु मिडियाको पेसागत धर्म हो ।  धम्की आउन सक्छ भनेर वास्तविक सूचना लुकाउनुहुँदैन ।  निर्वाचनका बेला समाचार सङ्कलन गर्दा जोखिमलाई पनि ध्यान दिनुपर्छ ।  जोखिम महसुस भए सम्बन्धित सञ्चार माध्यम र सुरक्षा निकायसँग समन्वय गर्नुपर्छ ।
 निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्न महŒवपूर्ण भूमिका निर्वाह गर्छ ।  त्यसैले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन जरुरी हुन्छ ।  मिडिया निर्वाचन अभियानको सशक्त मञ्च हो ।  स्वतन्त्र निर्वाचन र मिडिया दुवै लोकतन्त्रको सुन्दरता हुन् ।  लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुने भएकाले यी एक सिक्काका दुई पाटा हुन् ।  मिडियाले जनतालाई सुसूचीत गर्दै निर्वाचन प्रक्रिया, पद्धति र उम्मेदवारबारे जनतालाई सही सूचना दिनुपर्छ ।  जसले गर्दा मतदाताले सही उम्मेदवार छनोट गर्न सकून् ।  मिडियालाई निर्भिकताका साथ समाचार सङ्कलन, प्रकाशन र प्रसारण गर्ने वातावरण हुनुपर्छ ।  खोजी पत्रकारिता गर्ने, जनचासोका विषय उठान गर्ने, निर्वाचनमा हुने गलत क्रियाकलापलाई उजागर गर्ने, आलोचनात्मक रूपमा प्रस्तुत हुनेमा मिडिया केन्द्रित हुनुपर्छ ।  पत्रकारिताका मूल्य मान्यतामा रही आचारसंहिता पालना गर्दै सत्य तथ्यमा आधारित समाचार प्रकाशन तथा प्रसारण गर्नुपर्छ ।  त्यसैगरी पत्रकारका लागि सूचनामा सहज पहुँच उपलब्ध गराउन र भयरहित वातावरण बनाउन सम्बन्धित पक्षले ध्यान दिनैपर्छ ।  

प्रकाशित मिति: २०७४/८/११

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना