उत्साहपूर्ण मतदान (सम्पादकीय)


प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत पहिलो चरणमा छ प्रदेशका हिमाली र उच्च पहाडी भेगमा पर्ने ३२ जिल्लामा मतदाताको उत्साहपूर्ण ढङ्गबाट आइतबार निर्वाचन सम्पन्न भएको छ ।  ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २८२ र ७४ प्रदेशसभा निर्वाचन क्षेत्रमा ४२० गरी जम्मा ७०२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।  ३१ लाख ९१ हजार ९४५ मतदाताले मतदानको अवसर पाएका छन् ।  केही मतदान केन्द्र वरपर बम विष्फोट र केहीमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भए पनि समग्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।  उच्च भूू–भागमा चिसो भएको र विभिन्न ठाउँमा बम विष्फोट गराएर त्रास फैलाउने काम भए पनि मतदाताको सहभागिता उत्साहपूर्ण रहेकाले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सफल भएको छ ।  
विभिन्न आशङ्काबीच पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ ।  संविधानले निर्धारण गरेको समयभित्र तीनै तहको निर्वाचन हुँदैन कि भन्ने आम नागरिकको आशङ्का थियो ।  यतिसम्म कि मौन अवधि सुरु हुन केही घण्टा बाँकी रहँदासमेत मुख्य राजनीतिक दलका शीर्ष नेताले सरकार निर्वाचन रोक्ने षडयन्त्रमा रहेको अरोप लगाउनुभएको थियो ।  निर्वाचनको तयारी भइरहँदा विभिन्न ठाउँमा निर्वाचनविरोधी गतिविधि बढ्दै गएकाले नागरिकलाई थप सशङ्कित बनाएको थियो तर केही ठाउँमा भएका बम विष्फोट र हिमाली क्षेत्रमा भएको अत्यधिक चिसोको वास्ता नगरी मतदाताले जसरी आफ्नो अधिकारको प्रयोग र कर्तव्य पालना गरे, यसले लोकतन्त्रलाई झन् बलियो बनाएको छ ।  हुम्ला, डोल्पा, गोरखा, मनाङका उच्च भेगमा रहेका शून्यभन्दा कम तापक्रम रहेका मतदान केन्द्रमा केही ढिलो मतदान सुरु भए पनि मतदाताको सहभागिता राम्रो रह्यो ।  मतदाता तर्साउने उद्देश्यले रोल्पा, रुकुम, खोटाङ, ताप्लेजुङ, भोजपुरलगायतका जिल्लामा रहेका केही मतदान केन्द्र वरपर बम विष्फोट भए पनि यसले मतदातालाई रोक्न सकेन ।  दोलखा, ओखलढुुङ्गा, धादिङ, जाजरकोट, खोटाङलगायतका केही जिल्लामा दलका कार्यकर्ताबीच झडप भएर केही समय अवरुद्ध भएको मतदान पुनः सुरु भयो र समयमै सम्पन्न भयो ।  
स्थानीय तह पुनःसंरचनामा असन्तुुष्ट सोलुखुम्बुको तिङ्लावासी स्थानीय निर्वाचनको जस्तै यसपटक पनि मतदानमा सहभागी भएनन् ।  शान्तिपूर्ण ढङ्ले आफ्नो असन्तुष्टि व्यक्त गर्दै आएका तिङ्लावासीको माग समयमै सम्बोधन गर्नेतर्फ राज्यको ध्यान जानुपर्छ ।  केही छिटफुट घटना भए पनि समग्रमा प्रतिनिधिसभा र प्रदेशसभाको ऐतिहासिक निर्वाचनको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ ।  संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले परिकल्पना गरेको संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव पहिलोपटक भएको हो ।  पहिलो चरणको निर्वाचनको सफलतासँगै दोस्रो चरणको निर्वाचनमा पनि थप उत्साह देखिएको छ ।  यी दुवै चरणको निर्वाचन र प्रतिनिधिसभा र प्रदेशसभाको गठन भएपछि संविधान कार्यान्वयनको महìवपूर्ण चरण पार हुनेछ ।  यसबाट करिब दुुई दशकको राजनीतिक सङ्क्रमणको अन्त्य भई मुलुक आर्थिक समृद्धितर्फ अग्रसर हुने सबैको अपेक्षा छ ।  दोस्रो चरणको निर्वाचन मङ्सिर २१ गतेका लागि तोकिएको र दोस्रो चरणको निर्वाचन सम्पन्न नभएसम्म पहिलो चरणमा निर्वाचन भएको क्षेत्रको मतगणना नगर्ने आयोगको निर्णय भएको छ ।  अब पहिलो चरणको निर्वाचन भएका क्षेत्रको मतपेटिका सुरक्षित गर्नु राज्य र आयोगको कर्तव्य हो ।  सानो गल्ती वा कमजोरीले जनताको भावनामाथि कुठाराघात हुने अवस्था आउन सक्ने भएकाले यसमा सबै पक्ष संवेदनशील हुन आवश्यक छ ।  

प्रकाशित मिति: २०७४/८/११

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना